१३ वर्षमै बच्चा : किशोरी बुहारी बनेर घरमा, किशोर हिरासतमा
कानुन भन्छ- विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी भएको विवाह स्वत: बदर हुनेछ । सम्बन्धित व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । तर पीडित किशोरी बुहारी बनेर किशोरको घरमा बसिरहेकी छन् । र, किशोर जेलमा ।
नवलपुरको हुप्सेकोट–१ सुन्दरबस्ती बेलुवाकी १३ वर्षीया किशोरीले २४ फागुनमा बच्चा पाइन् । घरनजिकैको शान्ति माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्ने ती किशोरी बच्चा पाउनु अघिल्लो दिनसम्म पनि विद्यालय गइरहेकी थिइन् । विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर भण्डारी ती किशोरीले बच्चा पाएको खबर सुन्दा नै छक्क परे ।
ती किशोरीलाई राती २ बजेदेखि ढाड दुख्ने र वान्ता भएको थियो । बिहान ६ बजे आमा र दाजुले उनलाई वडा–३ बेलहानीस्थित चौरंगी चोकको टीका मेडिकल पुर्याए । सो मेडिकल वडा–३ का वडाध्यक्ष छविलाल मिधुनको हो । उनी गाउँका सीएमए पनि हुन् ।
दाजु र आमाले मेडिकल लैजाँदा छविलाल दाँत माझ्दै थिए । आमाले भनिन्, ‘लौन ! छोरीलाई के भयो हेर्नुस् न ।’ त्यही बेला किशोरी ‘दिसा लाग्यो’ भन्दै शौचालय छिरिन् । केही क्षणमै चिच्याएर कराएको आवाज आयो । आमा दौडेर शौचालय छिर्दा दृश्य देखेर तर्सिइन् भने दाजु पनि तर्सेर कराए । आमाले के गरेकी यस्तो भनेर पनि कराइन् ।
यसैबीच वडाध्यक्ष छविलाल पनि हेर्न गए । आधा बच्चा बाहिर निस्केको थियो भने आधा भित्र । किशोरीले चर्पीमा अपांगता भएको मृतक बालक पाइन् । छविलालले ‘यस्तो उपचार गर्न सक्दिनँ’ भन्दै हजुरको सहकारी संस्थामा फोन गरे । त्यतिबेलासम्म किशोरीलाई
बेडमा राखिएको थियो ।
बालिकाले बच्चाको बाबुको नाम बताइसकेकाले १५ वर्षीय किशोरको बुबाआमालाई ल्याउन छविलालले किशोरी बस्ने वडा– १ का वडा सदस्य लालबहादुर शेरपुर्जालाई फोन गरे ।
लालबहादुरका अनुसार दुवैका बाबुआमा र गाउँले जम्मा भएपछि किशोरीलाई किशोरको घरमा भित्र्याइयो । मृत बच्चालाई सुन्दरबस्तीकै जंगलमा गाडियो । बालिका अहिले किशोरको घरमा बुहारी भएर बसेकी छन् भने किशोर १२ दिनदेखि प्रहरी हिरासतमा छन् । पूर्वएमालेबाट जितेका छविलालका छोराले जबर्जस्ती करणी गरी गर्भपतन गराएको आरोप पनि छ ।
घटनाबारे प्रहरीसँग बुझ्न खोज्दा डीएसपी मोहन खाँड किशोरलाई हिरासतमा राखेको मात्र बताउँछन् । नाबालक भएकाले मुद्दाबारे कसैलाई बताउन नमिल्ने उनको तर्क छ । पीडित किशोरी भने ती किशोरसँग ५ वर्षदेखि प्रेममा रहेको बताउँछिन् । भन्छिन्, “सानैदेखि नै सँगै खेलेर हुर्केको । त्यसैले लभ पर्यो ।”
किशोरीसँग कुरा गर्दा उनकी सासू पनि सँगै थिइन् । टेलिफोन सम्पर्कमा गरिएको कतिपय प्रश्नका उत्तर किशोरीलाई सिकाएजस्तो लाग्थ्यो । मेडिकलमा बच्चा पाउँदा किशोरीले हिसाब गरेजस्तो सहजै बताइन् । भन्छिन्, “अलिकति बल गर्नेबित्तिकै बच्चा जन्म्यो ।”
छविलाल पनि मेडिकलमा कुनै औषधी नदिएको दाबी गर्छन् । तर लालबहादुर मेडिकल पुग्दा बच्चालाई प्लास्टिकमा बेरेर राखिएको थियो । छविलालको दाबीलाई उनले इन्कार गरेका छन् ।
घटना हुँदाको दिन शनिबार भएकाले गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे वडा– २ को अनौपचारिक भेटघाट कार्यक्रममा थिइन् । नेपाली कांग्रेसबाट जितेकी जनप्रतिनिधि लक्ष्मी गाउँमा जघन्य अपराध घटेछ भन्दै ३ बजे एसपी दीपकराज जोशीलाई खबर गरेको बताउँछिन् ।
लक्ष्मीका अनुसार किशोरीलाई पहिले भरतपुर सरकारी अस्पताल र त्यसपछि भरतपुर सामुदायिक अस्पताल लगियो । दुवै ठाउँमा पीडितलाई जाँच्न नमानेपछि अन्तत: पुरानो मेडिकल कलेजमा भिडियो एक्सरे भयो । दुवै अस्पतालमा पीडितलाई उपचार गर्न नमान्नुको स्पष्ट कारण अध्यक्ष लक्ष्मीसँग छैन । उनले किशोरी स्वस्थ रहेको दाबी गरे पनि अस्पतालबाटै रिपोर्ट नआएको स्रोतले बतायो ।
किशोरी आफ्नै मर्जीले घरमा बसेको किशोरकी आमाको दाबी छ । किशोरका आमाबुबा पथरी खोलामा गिट्टी कुट्ने काम गर्छन् । किशोरीका बुबा पनि घर बनाउने ज्यामी हुन् । दुवै परिवार दलित समुदायका हुन् । अध्यक्ष लक्ष्मी पीडितका बुबाआमाले ‘हामी गरिब छौँ, मुद्दा–मामिला जान्दैनौँ’ भनेपछि मेलमिलाप गरेर समस्या सल्टिएको बताउँछिन् ।
गाउँ प्रमुख लक्ष्मी किशोरीको दिदीले पनि करिब ६ महिनाको गर्भ बोकेको भन्दै घटनालाई सामान्य पार्न खोज्छिन् । उनका अनुसार किशोरीको असारमै मासिकस्राव सुरु भएको थियो । विवाह गर्ने उमेर २० वर्ष रहेकोबारे समेत किशोरी अनभिज्ञ छिन् । अबउप्रान्त स्कुल नजाने र किशोरकै घरमा बस्ने किशोरी बताउँछिन् ।
लालबहादुर र छविलालले वडा–१ को कार्यालयमा दुवैका आमाबुबालाई बोलाएर मेलमिलाप गरेको प्रधानाध्यापक भण्डारीको भनाइ छ । प्रधानाध्यापकले किशोरीको स्वास्थ्य धरापमा नपारौँ भन्दै बारम्बार ताकेता गर्दा पनि परिवार र सम्बन्धित व्यक्तिले खासै चासो नदेखाएको गुनासो गर्छन् ।
लालबहादुर भने आफू स्थानीय निकायको मेलमिलापकर्तासमेत भएकाले हरिबहादुर परियार, ज्योति लाल र नरमाया गुरुङसहित दुवैको परिवार राखेर मेलमिलाप गराएको तर्क गर्छन् । तर कागजमा आफूले हस्ताक्षर नगरेको उनको दाबी छ । भन्छन्, “केटा–केटी र दुवैको परिवारले एकअर्कालाई स्वीकारेपछि हामीले के भन्ने हो र ? तर आधिकारिक मेलमिलाप गराएको होइन । २० वर्ष कटेपछि बिहे गर्ने सहमति भएको छ । मुद्दा कतै दर्ता गरेको छैन ।
प्रधानाध्यापक भण्डारीका अनुसार ८ कक्षा पढ्ने किशोरले गत वर्ष नै विद्यालय छाडेका हुन् । तर लालबहादुरले भने किशोरले हिरासतमै बसेर ८ कक्षाको जाँच दिइरहेको बताउँछन् । प्रहरीले अनुसन्धानमा केही कुरा नबताउने अनि पीडित परिवार आर्थिक रूपले निकै नै कमजोर भएको र कानुनी प्रक्रिया केही थाहा नभएकाले समस्या झन् बल्झिएको छ ।
यस्तै, बच्चा गाडेकै दिन मुचुल्का उठाउनुपर्छ भन्दै आएको प्रहरीले गाडेको ठाउँबाट बच्चा निकालेर सदरमुकाम कावासोती लगेको थियो । भोलिपल्ट २५ फागुनमा गिरफ्तार गरिएका किशोरमाथि प्रहरीले यौन शोषणको मुद्दा लगायो । लालबहादुरले नै त्यसमा हस्ताक्षर गरेका थिए ।
अर्को किशोरलाई पनि प्रहरीले हिरासतमा राखेको थियो । ती नाबालक किशोरीकै दिदीलाई गर्भाधान गराएको आरोपमा समातिएको लालबहादुर बताउँछन् । पीडित किशोरी केही दिनपछि नै किशोर घरमा आउनेमा ढुक्क देखिन्छिन् ।
अधिवक्ता बाबुराम अर्यालका अनुसार यसमा बालबालिकासम्बन्धी ऐन, ०७५ र मुलुकी देवानी संहिता, ०७४ आकर्षित हुन्छन् ।
बालबालिकासम्बन्धी ऐन, ०७५ को परिच्छेद २ मा बालबालिकाको अधिकारअन्तर्गत ७ मा संरक्षणको अधिकार छ । परिच्छेद ८ को (ज) मा बालयौन शोषण गर्ने वा गराउनेलाई कारबाही हुने उल्लेख छ । परिच्छेद ५ को उपदफा (१) बमोजिम नियन्त्रणमा लिइएको बालबालिकालाई सम्भव भए बालमनोविज्ञ वा बालहितसम्बन्धी काम गर्ने व्यक्तिसँग सम्पर्क गराई आवश्यक परामर्श सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
मुलुकी देवानी संहिता, ०७४ अनुसार परिच्छेद ११ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी भएको विवाह स्वत: बदर हुनेछ । सम्बन्धित व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
यी कानुनका बाबजुद पनि पीडित किशोरी बुहारी बनेर किशोरको घरमा बसिरहेकी छन् । पीडितको मञ्जुरीले यौन सम्बन्ध भए पनि त्यो गैरकानुनी हो । उनको स्वास्थ्यस्थितिबारे स्पष्ट रिपोर्ट कसैसँग छैन ।
छविलालले सुरुमा पीडितको उपचार गराएकाले प्रहरीले कारबाही गर्नुको सट्टा घटनालाई लुकाउन खोजेको स्पष्ट छ । किशोरलाई प्रहरी हिरासतमा मनोचिकित्सकको परामर्शबिना राख्नु कति उचित छ ? त्यसमा गाउँपालिका अध्यक्ष, वडा सदस्य र वडा अध्यक्षले पीडित किशोरीको स्वास्थ्यभन्दा पनि घटना लुकाएर मेलमिलाप गराएको देख्दा पदको दुरुपयोग भएको आशंका छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...