जसले मलामी पनि पाइनन्
कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामकी पत्नीको पीडा
भनिन्छ, आफन्त जिउँदाका जन्ती र मर्दाका मलामी हुन् । तर सैनामैनाको सिसौडाडाकी रीता थापाले तिनै मलामी पनि पाइनन् । ४ दिनअघि मृत्यु भएका पति बाबुरामको मृत शरीर लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा छ ।
कोरोना संक्रमणको आशंकामा उपचार गराइरहेका बेला बाबुरामको मृत्यु भएको थियो । उनको स्वाब परीक्षण नेगेटिभ देखियो तर आफन्तले रिपोर्टको विश्वास गरेनन् । रोग सर्ला भनेर कोही अघि सरेका छैनन् ।
रीता डेराघर सिसौडाडामा छन् । नाबालक २ छोरा आमासित बस्छन्, जो ६ र ८ वर्षका छन् । उनीहरू छिनमा कोठाभित्र–बाहिर गर्छन् । कतिबेला आमाको आँसु पुछिदिन्छन् । कतिबेला टाउको थिचिदिन्छन् । उनीसहित ३ परिवार एउटै घरमा छ तर उनलाई भेट्न आउने, के छ भनेर सोध्ने पनि कोही छैन ।
“मान्छेहरूको भीडमा म एक्लै भएँ,” रीताले दु:खेसो पोखिन्, “नरोऊ भन्ने त कोही छैन । शव उठाउने र दाहसंस्कार गर्ने मान्छेसमेत कोही पाइनँ ।”
स्थायी घर पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कि रीता अघिल्लो वर्ष छोराछोरी पढाउने भन्दै पाल्पाबाट सैनामैना आएकी हुन् । रीताले त्यहाँ थुप्रै साथी बनाएकी थिइन् तर उनीहरू अहिले काम लागेका छैनन् ।
“कोही कोठाभित्र पस्दैनन्,” उनले भनिन्, “परपरबाट आउँछन् र रमिता हेरेर फर्कन्छन् ।”
रीता आफैँ अस्वस्थ छन् । त्यसैमाथि जीवनसाथी गुमाउनुको पीडा । उनी कतिबेला मुर्छा पर्छिन् । कतिबेला आफैँ सम्हालिन्छिन् । श्रीमान् नहुँदा अब कसरी नाबालक छोरा पाल्ने ? मैले त्योसमेत सोच्न भ्याएकी छैन,” रीताले दु:खेसो पोखिन्, “कम्तीमा शव ल्याएर काजक्रिया गर्नु पाए हुन्थ्यो भन्ने छ । त्यो पनि भएन ।”
रीताका ससुरा छैनन् । पाल्पामा सासू र जेठाजुको परिवार छ । जेठाजु पनि भारतबाट १० चैतमा पाल्पा आएका थिए । अहिले रिब्दीकोटकै क्वारेन्टाइनमा बसेका उनलाई भाइको मृत्यु भए पनि निस्कन दिइएन । २० चैतमा मात्रै छाडिदिने बताएको छ । गाउँमा अरू दाजुभाइ पनि छन् । “पटक–पटक फोन गरेर दाजुभाइ, इष्टमित्रलाई आउन भने पनि आएका छैनन् ।”
चैत १० मा बाबुराम घर आएका थिए । दुबईमा ट्याक्सी ड्राइभरको काम गर्ने उनलाई त्यही नै ज्वरो आएको थियो । त्यसैमाथि कोरोना संक्रमणको त्रास बढेपछि उनी जागिर छाडेर आएका थिए । ११ चैतमै मुर्गिया चेक गराए । डाक्टरले टाइफाइड भएको छ भनेर औषधी दियो तर बीसको उन्नाइस भएन ।
त्यसपछि घरभेटी कृष्णप्रसाद ज्ञवालीलगायतको सल्लाहमा कोरोना टेस्ट गराउने भन्दै १३ चैतमा बुटवलको कोरोना अस्पताल ल्याइएको थियो । “त्यहाँ पुगेपछि हामीलाई घर जान अह्रायो । उहाँलाई छाडेर एकलै डेरामा आएकी थिएँ । सधैँका लागि एक्लै भएँ,” रीताले सुस्केरा हालिन् ।
१३ चैत बिहान एकाएक अस्पतालबाट फोन आयो । श्रीमान्को अवस्था नाजुक छ, आउनुस् भने । रीता अवाक भइन् । छाड्न जान हारगुहार गरिन् तर कोही राजी भएन । जसोतसो एक छिमेकीले हिम्मत निकालेर छाडेर आए । उनी पुग्दा श्रीमान् मृत्युसितको अन्तिम लडाइँमा थिए । भित्र जान र मुख हेर्न दिइएन । केही बेरमा मृत्यु भएको खबर गरे । उनी एक्लै रोइन् । एक्लै गिडगिडाइन् । न उनका नजिक चिकित्सक गए, न त सुरक्षाकर्मी । नरोऊ भन्ने पनि कोही भएन ।
दिउँसो २ बजेतिर पुगेका अस्पतालका मेसु राजेन्द्र खनालले आफूले लगेको पानीको बोतल दिए । उनले धक फुकाएर घटघटी एक बोतल पानी तुरिन् । मेसुले नजिकै बसेर सोध्न थाले ।
आफन्तका नम्बर मागे । रीता र मेसु मिलेर २०–३० जना आफन्त र दाजुभाइलाई खबर गरे । तर कोही आउन राजी भएनन् । मेसुले रीताकै अगाडि प्रहरीलाई बोलाए । महिला प्रहरी बोलाएर सहयोग गर्न अह्राए तर आएनन् । साँझ पर्दै गयो । रीता एक्लिँदै गइन् । मेसु खनाल फेरि पानी बोकेर आए । “उहाँले एम्बुलेन्स खोजेर घर लग्यो भने जानुुहुन्छ भन्नुभयो । मलाई नाबालक छोराको यादले सताएको थियो । हुन्छ भनेँ,” रीताले सुनाइन्, “तर एम्बुलेन्स चालक र घर आउँदा घरभेटी र छिमेकीसमेत नजिक नपर्दा फेरि थप पीडा भयो ।”
२ दिन रीताका ३ आमाछोरा एक्लै बसे । पानी खुवाउन कोही आएन । १८ चैतमा दिदीका छोरा पर्ने एक किशोर आएका छन् । उनले पानी तताएर खुवाएका छन् । पति मरेदेखि रीताले खाना खाएकी छैनन् । “जुन दिन उहाँको दाहसंस्कार गर्न सकूलाँ, त्यही दिन खाउँला,” रीताले सुस्केरा हालिन्, “दैव लागोस् तर मलाईजस्तो मलामी पनि नपाइने गरी कोरोनाको त्रासले कसैलाई नछोओस् ।”
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनाल जनप्रतिनिधिलाई समेत फोन गरेर शव उठाउन खबर गरेको बताउँछन् । भन्छन्, “कोरोना संक्रमण नभएको पुष्टि भयो । स्थानीय सरकारले शव उठाउनुपर्यो भनेर खबर गर्यौँ तर कोही आएनन् ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...