सुरु भयो खतराको घण्टी, परीक्षण भने कछुवा चालमा
भारतबाट फर्किएका व्यक्ति र स्थानीयमा कोरोना संक्रमण देखिएपछि नेपाल कोरोना संक्रमणको जोखिम चरणमा प्रवेश गरेको छ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई सातादेखि दिन बिराएर नयाँ संक्रमित भेटाइरहेको थियो । २२ चैतका तीन रिपोर्टले भने सिंगो मुलुकलाई झस्काइदियो । १४ चैतमा संक्रमित भेटिएर सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका धनगढीका युवाका आफन्तमा कोरोना सरेको पाइयो । त्यस्तै, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय युवा र उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय व्यक्तिमा कोरोना पोजेटिभ देखियो । भारतबाट फर्किएका व्यक्तिमा पहिलोपटक कोरोना देखिएसँगै चैतयता स्वदेश फिर्नेको ठूलो संख्याले जनस्वास्थ्य अधिकारीहरूलाई झस्काईदिएको छ ।
विदेशबाट फर्किएका व्यक्तिबाट स्थानीयमा संक्रमण सरेको पुष्टि भएपछि नेपाललाई प्रकोपको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताउँछन् । २२ चैत साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान समेत रोक लगाएको छ । साथै, कोरोना फैलिएको आशंकामा पोजेटिभ भेटिएका कैलाली, कन्चनपुर र बाग्लुङमा र्यापिड टेस्ट गर्ने निर्णय पनि गरेको छ । संक्रमित भेटिएका कैलालीका २१ वर्षिय युवा लकडाउनपछि गौरीफन्टा नाकामा आएका थिए । त्यहाँ सयौ व्यक्तिको भीडमा रहेकाले संक्रमण फैलिएको हुनसक्ने आशंका जनस्वास्थ्य अधिकारीहरूले गरेका छन् ।
सरकारले ११ चैतदेखि लगाएको लकडाउन लम्बाइरहे पनि आंशका गरिएका व्यक्तिको परीक्षण भने कछुवा गतिमा छ । अहिलेसम्म १ हजार ५ सय २१ व्यक्तिको कोरोना परीक्षण गरिएको छ । तीमध्ये नौ जनामा पोजेटिभ भेटिएकोमा चीनबाट फर्किएका विद्यार्थी निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिमका चार संक्रमित सेती प्रादेशिक अस्पतालमा छन् भने टेकु र बाग्लुङ अस्पतालमा दुई–दुई जना संक्रमित उपचारार्थ भर्ना छन् । देशभर अहिले ६९ जना आइसोलेसनमा छन् । कोरोना रोकथाममा अब पनि सरकारले युद्धस्तरमा गर्न नसके संक्रमणले महामारीको रुप लिनेभन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
र्यापिड टेष्टको शतप्रतिशत विश्वसनीय नभए पनि त्यसले ठूलो भीडबाट संभाव्य संक्रमितको स्क्यानिङ गर्ने स्वास्थ्य अधिकारी बताउँछन् । विवादास्पद स्वास्थ्य सामाग्री खरिदमा ७५ हजार त्यस्ता र्यापिड टेष्ट किट पनि ल्याइएको छ । कोरोनाले महामारीकै लिएर सयौमा संक्रमण फैलिएमा परीक्षण गर्नका लागि भनेर र्यापिट किट मगाइएको उनीहरूको दाबी छ । “संक्रमण भेटिएका व्यक्तिको वरपर र्यापिड टेष्ट पहिल्यै गर्नुपर्थ्यो” स्वास्थ्य विभागमा पूर्व महानिर्देशक डा यशोबर्द्धन प्रधान भन्छन्, “सरकार अब युद्धस्तरमै जानुपर्छ । संक्रमण फैलियो र महामारी भयो भने हाम्रो साधनस्रोत र सामथ्र्यले नियन्त्रण गर्न सक्दैन, भगवान भरोसा हुनेछ ।”
सरकारले ११ चैतमा लकडाउन लगाएपछि पनि भारतीय सीमा र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट आवागमन भईरहे । १२ चैतमा अन्तिमपटक भन्दै सीमानाकासम्म आइपुगेका नेपालीलाई क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता दिएर स्वदेश प्रवेश गराइयो । केहीलाई गृहजिल्लासम्मै पुर्याउने व्यवस्थासमेत कैलाली र कन्चनपुर प्रशासनले गरेका थिए । लकडाउन अघि र पछि स्वदेश फर्किएकाहरूको १४ दिने क्वारेन्टाइन यसै साता सकिँदैछ । त्यसैले यो साता नेपालका लागि कोरोना संक्रमणको जोखिमका दृष्टिले धेरै महत्वपूर्ण हुने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्की बताउँछन् । “संक्रमणलाई परिवारकै सदस्यभित्र नियन्त्रण गर्न सकियो भने पनि ठूलो सफलता हुनेछ” भन्छन्, “अबको एक साता/१० दिनको स्थिति हेरेर संक्रमणको आंकालन गर्न सकिने छ । संक्रमण फैलिनबाट मुलुकलाई जोगाउन लकडाउनलाई कडाई गर्ने र विदेशबाट फर्किएका सबै क्वारेन्टाइनमा बस्नुपर्छ ।”

सरकारले सात वटै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरी संचालनमा ल्याएको छ । चितवन र बुटवलबाट पनि २३ चैतदेखि परीक्षण थालिने मन्त्रालयको दाबी छ । तर, नमुना परीक्षणको क्वालिटी नियन्त्रणका लागि प्रदेशमा शंकास्पद देखिएका नमूनालाई केन्द्रीय प्रयोगशालाबाट पुन:परीक्षण गर्ने गरिएको छ । २१ चैतमा पोखराको एउटा नमूनामा पोजेटिभ देखियो । तर, राष्ट्रिय प्रयोगशालामा पुन:परीक्षण गरिदा नेगेटिभ पुष्टि भयो । “सुरुका केही नमूनामा क्वालिटी नियन्त्रणका लागि पुन: परीक्षण भए पनि बिस्तारै प्रदेशकै नतिजा अन्तिम हुनेछ” डा कार्की भन्छन् ।
संक्रमित आठै जनाको स्थिति सामान्य छ । उनीहरूलाई आइसोलेसनमा राखिए पनि विशेष उपचार गर्नुपरेको छैन । ८० प्रतिशतभन्दा कोरोना संक्रमितमा तत्कालै लक्षण नदेखिने र झट्ट हेर्दा स्थिति पनि सामान्य देखिने भएकाले भित्रभित्रै संक्रमण फैलिएको त छैन भन्ने चिन्ता हुन थालेको पूर्वमहानिर्देशक प्रधान बताउँछन् । “भुसको आगोझैँ भित्रभित्रै सल्किएको पनि हुनसक्छ” उनी भन्छन्, “त्यसैले र्यापिड टेष्टलाई बढाउनने र लकडाउन बढाउनुको विकल्प छैन ।”
सरकारले देशभरका डाक्टर र स्वास्थ्यकर्मीलाई हाईअलर्टमा राख्नुपर्ने पूर्वमहानिर्देशक प्रधान बताउँछन् । स्वास्थ्य मन्त्रालयले उपत्यकाभित्र कोरोना बिरामी बढेमा टेकुबाट पाटन र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । तीन सयभन्दा धेरै बिरामी भए बल्ल ठूला सरकारी अस्पताल खाली गराएर वीर, शिक्षण वा सिभिल अस्पतालमा उपचार प्रबन्धको रणनीति लिइएको छ । उपत्यकाका अस्पतालमा तीन सय आईसीयु बेड छन् भने भेन्टिलेटरको संख्या पनि १ सय ५० भन्दा धेरै छैन ।
सबैभन्दा अधिक चार संक्रमितको उपचारार्थ भर्ना गरिएको धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई सुदूरपश्चिमको मुख्य कोरोना विशेषज्ञ अस्पतालका रुपमा विकास गर्नेबारे स्वास्थ्य मन्त्रालयमा छलफल सुरु भएको छ । अस्पतालमा पाँच बेडको आईसीयु र एउटा भेन्टिलेटर छ । तत्कालै ५ बेडको आईसीयु र दुई वटा भेन्टिलेटर थप्न लागिएको अस्पताल प्रमुख डा हेमराज पाण्डे बताउँछन् । तर, आईसीयु, एनआईसीयु, डायलेसिस र विशेषज्ञ प्रसुती सेवा दिदैआएको अस्पतालबाट बिरामी अरु अस्पताल सार्दा ती सेवाहरू बन्चित हुने स्थिति आउनसक्छ ।
२ सय ३० बेडको सेती अस्पतालले अहिले छुट्टै भवनमा २४ बेडको कोरोना वार्ड संचालनमा ल्याएको छ । उनीहरूको उपचारमा संलग्न चिकित्सक र नर्सलाई नजिकै होटलमा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरूका लागि दुई सातालाई पुग्ने पीपीई पनि छ । “एकैपटक धेरै जनशक्ति संक्रमितबाट एक्पोज नहोउन भनेर थोरै संख्यामा डाक्टर र नर्स कोरोना वार्डका लागि खटाएका छौ” अस्पताल प्रमुख डा पाण्डे भन्छन्, “अहिले बिरामी थोरै र स्थितिसामान्य भएकाले खासै गाह्रो छैन । संक्रमण फैलिएर धेरै र सिकिस्त बिरामी आए कसरी काम गर्ने पूर्वतयारी गर्नुपर्छ ।”
कोरोना संक्रमित को कहाँ ?
- १० माघ, काठमाडौ : चीनबाट फर्किएका ३२ वर्षिय युवा । निको भई घर
- १० चैत, काठमाडौं : फ्रान्सबाट कतारहुँदैआएकी १९ वर्षिय युवा । टेकु अस्पतलामा उपचाररत
- १२ चैत, धादिङ : दुबईबाट आएका ३२ वर्षिय युवा । टेकु अस्पतालमा उपचाररत
- १४ चैत, कैलाली : दुबईबाट आएका ३४ वर्षिय युवा । सेती प्रादेशिक अस्पतालमा उपचाररत
- १५ चैत, बाग्लुङ : बेल्जियमबाट कतारहुदैआएकी १९ वर्षिय युवा । बाग्लुङ अस्पतालमा उपचाररत
- २० चैत बाग्लुङ : दुबईबाट आएकी ६५ वर्षिय महिला । बाग्लुङ अस्पतालमा उपचाररत
- २२ चैत कञ्चनपुर : भारत उत्तरान्चलबाट आएका ४१ वर्षिय पुरुष । सेती प्रादेशिक अस्पतालमा उपचाररत
- २२ चैत कैलाली : भारत मुम्बईबाट आएका २१ बर्षिय युवा । सेती प्रादेशिक अस्पतालमा उपचाररत
- २२ चैत कैलाली : दुबईबाट आएका युवाकी ३४ बर्षिय भाउजु । सेती प्रादेशिक अस्पतालमा उपचाररत