वैकल्पिक मार्गबाट भित्रिँदै हुलका हुल नेपाली
भारत तथा तेस्रो देशबाट आउनेहरूमा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै सरकारले सीमाबन्दसँगै लकडाउन गरेको छ । तर खुला सीमामा पूर्ण रूपमा आउजाउ रोक्न गाह्रो छ ।
सरकारले एक साता लामो लकडाउन घोषणा गरेकै दिन ११ चैतमा पूर्वी नाकाबाट २ सय ५० जना भित्रिए । स्थानीय प्रशासनको समन्वयमा गृह मन्त्रालयले आदेश गर्यो, ‘आज जति आएका छन्, प्रवेश दिनू, अब उप्रान्त प्रतिबन्ध लगाउनू ।’
प्रवेश गरेका अधिकांश दक्षिण भारतका विभिन्न सहरबाट फर्किएका थिए । उनीहरूलाई सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा बस्ने सर्तमा पठाइयो ।
लकडाउनसँगै यातायात चल्न छाडे तर भारतबाट आउने क्रम रोकिएन । १२ चैतमा पुन: ८ नेपालीलाई प्रवेश दिइयो, क्वारेन्टाइनमा बस्ने सर्तमा । १३ चैतमा २ जना र १४ चैतमा ९ जना आए । १५, १६ र १७ चैतमा भने एक जना पनि आएनन् । १८ चैतमा पुन: ३ र १९ चैतमा ४ जना भित्रिए ।
१९ चैतमा सप्तरीका इन्द्रेश्वर यादव नामका नेपाली पश्चिम बंगालको सिलिगुडीबाट मालवाहक ट्रकमा लिफ्ट मागेर राती पानीट्यांकी नाका आएका थिए । उपचारका लागि सिलिगुडी पुगेका उनी मुलुक फर्किने क्रममा लकडाउन भइसकेको थियो । पानीट्यांकीको सीमा सुरक्षा बल (एसएसबी) ले उनलाई नाकामै रोक्यो । यादवले सुनाए, “देश फर्किन नपाएसम्म पुलमै बस्छु भनेर धर्ना कसेँ ।”
तर एसएसबीले उनको मागलाई खासै महत्त्व दिएन । त्यो रात पुलकै मुखमा बिताए । भोलिपल्ट एसएसबीले नेपाली सुरक्षाकर्मीसँग समन्वय गरेपछि बल्ल नेपाल छिर्न पाए । हाल उनी क्वारेन्टाइनमा छन् । “लकडाउनयता भित्रिएका अधिकांशलाई मुख्य नाकाबाट नभएर सहायक नाकाबाट उद्धार गरेर पठाइएको हो,” सीमाको सशस्त्र प्रहरी बलका एक अधिकृत भन्छन्, “मुख्य नाकाबाट लकडाउन भएपछि आउन दिइएकै छैन ।”
झापाको १ सय ४४ किलोमिटर क्षेत्र खुला सीमा छ । त्यही कारण निगरानी बढाउन सुरक्षाकर्मीलाई गाह्रो छ । “मूल नाकामा रोके पनि अन्य वैकल्पिक नाकाको प्रयोग गरेर नेपाली घर फर्किने प्रयत्नमा रहेको पाइएको छ,” झापाका एसपी कृष्णप्रसाद कोइराला भन्छन्, “खुला सीमामा पूर्ण रूपमा आउजाउ रोक्न गाह्रो हुने गरेको छ ।”
झापाका मुख्य नाका काँकडभिट्टा र भद्रपुरमा बढी निगरानी छ । तर उत्तरका सहायक नाकाहरू बाहुनाडाँगी, नकलबन्दा, सतिघट्टा तथा दक्षिणका सहायक नाका केचना, कुमरखोद र गौरीगन्जमा निगरानी बढाउन गाह्रो हुने गरेको छ । भारततर्फ पनि २१ दिन लामो लकडाउन छ । त्यसका बाबजुद पनि विभिन्न उपाय अपनाएर नेपाली घर फर्किने प्रयत्नमा देखिएका छन् । “मरिहाले नेपालमै मरौँ भनेर फर्किन खोजेको हो”, सप्तरीका यादवले सुनाए ।
सरकारले भारत तथा तेस्रो देशबाट आउनेहरूमा कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै सीमाबन्दसँगै लकडाउन गरेको हो ।
सरकारको आदेशलाई स्थानीय प्रशासनले पूर्ण कार्यान्वयन गर्न खोजेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको दाबी छ । भन्छन्, “सकेसम्म भारतबाट आएकालाई नाकाबाट प्रवेश निषेध गर्ने हो ।”
झापा यस्तो जिल्ला हो, जहाँ भारतको पश्चिम बंगाल र बिहारसँग सीमा जोडिन्छ । त्यही कारण पनि यो जिल्ला अन्यभन्दा बढी संवेदनशील छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...