परिवार सम्झेर क्वारेन्टाइनमा छटपटिएका भारतीयहरू
लकडाउनका कारण १ सय ५४ भारतीयको नेपालमा क्वारेन्टाइन बास

भारतको मुरादावाद जिल्ला कठघर थानाका राजा अन्सारी, २१, बुटवलस्थित एक भाँडावर्तन उद्योगमा १२ वर्षदेखि मजदुरी गर्थे । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन गरेसँगै उद्योग बन्द भएपछि उनको रोजगारी गुम्यो ।
“साहूले अब घर जाओ, यहाँ खानापिनको व्यवस्था हुन सक्दैन भनेपछि उद्योगमा सँगै काम गर्ने एकै ठाउँका पाँच जना हामी पैदलै हिँडेर सुनौली सिमानासम्म आइपुग्यौँ,” हाल भैरहवास्थित निमा प्रतिमान स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा रहेका राजाले भने, “सिमानाबाट अघि बढ्न भारतीय सुरक्षाकर्मीले दिएनन् । नेपाल सरकारले यहाँ ल्याएर क्वारेन्टाइनमा राख्यो ।”
सुनौलीदेखि ९ किमि पर नौतनवा घर भएकी ललिता ठाकुर पाल्पाको तानसेनस्थित प्रशान्ति चिल्ड्रेन एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । उनीसहित बुबाआमा, दाजुभाइ, काकालगायत १४ जनाको परिवार तानसेनमा बस्ने गरेको छ । ठाकुरका बुबा, काका कपाल, दाह्री काट्ने काम गर्छन् । परिवारका अन्य सदस्य पनि पाल्पामै काम गर्छन् ।
१४ जनाको यो परिवार पाल्पाबाटै दुई दिनको पैदल यात्रा गरेर सुनौली सिमानासम्म आइपुगेको थियो । “नेपालमा लकडाउन भएको मौकामा नौतनवाको खेतमा लगाइएको गहुँ खेती स्याहार्न हामी सपरिवार यता आएका थियौँ,” ठाकुर भन्छिन्, “घर जान नपाएपछि सबै जना फस्यौँ ।” नौतनवादेखि पाल्पा नजिकै पर्ने हुँदा बेलाबेला आउजाउ भइरहने उनी सुनाउँछिन् ।
उनीहरूजस्तै नेपालका विभिन्न स्थानबाट आफ्नो घर (भारत) जान सुनौली सीमानाका पुगेका १ सय ५४ भारतीय नागरिक १८ चैत साँझदेखि सीमा नजिकै निमा प्रतिमान स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा छन् । तीमध्ये १४ महिला र बालबालिका छन् ।
१८ चैतअघिसम्म भारत सरकारले सिमानासम्म आइपुगेका आफ्ना नागरिकलाई कोरोना संक्रमणको प्रारम्भिक स्वास्थ्य जाँचपछि जान दिएको थियो । तर त्यसपछि आफ्नो देश जान लागेका सयौँ भारतीय नागरिक नेपालतर्फै अड्किए । भारतमा लकडाउनपछि विभिन्न स्थानबाट घर फर्केका झन्डै ३ सय नेपाली नागरिक पनि दुई दिनदेखि सीमा क्षेत्रको भारततर्फ रोकिए । नेपालीले त अघिल्लो रातदेखि नेपाल आउन पाउनुपर्ने माग राख्दै दसगजा सिमानामा धर्नासमेत दिए ।
१८ चैत साँझपख नेपाल र भारत दुवै पक्षको सहमतिमा नेपालतर्फ आउन चाहेका नेपाली नागरिकलाई भारतले र भारत जान खोजेका भारतीयलाई नेपालले १४ दिनसम्मको क्वारेन्टाइनमा राखेर छाड्ने भन्दै उनीहरूलाई सिमानाबाट उठाइयो ।
दुवै देशको सरकारले सिमाना नखोल्ने भनेपछि उनीहरुको व्यवस्थापनका लागि सीमावर्ती सुरक्षा अधिकारीले १४ दिनको क्वारेन्टाइन बसाइको उपाय अपनाएका थिए । नेपालीलाई नौतनवा इन्टर कलेजमा राखिएको छ ।
दुवैतर्फका क्वारेन्टाइनको व्यवस्थापन आ–आफ्नै मुलुकका तर्फबाट गरेका छन् । नेपालतर्फको क्वारेन्टाइनको व्यवस्थापन सिद्धार्थनगर नगरपालिकाले लिएको छ । यसबीच दुवै देशका सीमावर्ती सुरक्षा अधिकारी र जनप्रतिनिधिले एकअर्का देशका क्वारेन्टाइनमा रहेका आफ्ना नागरिकको अवस्था बुझ्ने काम गरेका थिए ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ नौतनवाको क्वारेन्टाइनमा रहेका सबै नेपालीको अवस्था र त्यहाँको व्यवस्थापन राम्रो रहेको बताउँछन् । पन्थका अनुसार अब उनीहरूलाई छाड्नेबारे केन्द्रको निर्देशन पर्खाइ छ ।
सिद्धार्थनगर नगरपालिका मेयर हरिप्रसाद अधिकारी पनि नेपालतर्फको क्वारेन्टाइनमा रहेकालाई सकभर कुनै समस्या नहुने गरी व्यवस्थापन गरिएको दाबी गर्छन् । भन्छन्, “खाना, नास्ता र औषधोपचारको व्यवस्थामा सकेसम्म कमी नआउने हिसाबले गरेका छौँ । हालको विषम परिस्थितिमा धेरै जनाको व्यवस्थापन गर्नुपर्दा सामान्य आलोचना आउनुु स्वाभाविकै हो ।”
प्रतिष्ठानमा राखिएका अधिकांश नेपालमा रोजगारी गर्ने भारतीय नागरिक हुन् । तीमध्ये रूपन्देहीसँग सीमा जोडिएको भारतको महाराजगन्ज जिल्ला र गोरखपुर क्षेत्र आसपास घर भएकाको बाहुल्य छ ।
हरियाणा, नैनीताल, मेरठ, कानपुर, कुशीनगर, मुरादावाद, गोन्डा, मुजफ्फनगर, सन्त कविरनगर, बस्ती, बिहार मोतीहारी, सिद्धार्थनगर, फरिदावाद, लखनउदेखिका भारतीय नागरिकसमेत नेपालतिरको क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका धेरैजसो आफूलाई उपलब्ध गराइएको खाना–नास्ता सन्तोषजनक रहेको प्रतिक्रिया दिन्छन् । रातमा झुलको व्यवस्था नहुँदा लामखुट्टेले सताएको उनीहरुको गुनासो छ ।
घर फर्किंंदा सीमामै अड्किएका उनीहरू क्वारेन्टाइनको बसाइबाट आजित छन् । जतिसक्दो चाँडो परिवारसँगै बस्ने चाहनाले घर जान आतुर रहेको उनीहरू सुनाउँछन् ।
“घरका परिवार कसरी बसेका होलान् भन्ने चिन्ता लागेको छ,” काठमाडौँस्थित एक गार्मेन्ट उद्योगमा काम गरी घर फर्केका गोरखपुर नजिकैको सन्त कविरनगरका राजु भन्छन्, “सँगै फर्केको हाम्रो २८ जनाको समूहमध्ये कतिपयका घरका अभिभावक नै छन् । सबैलाई आफ्नो परिवारको देखभालको चिन्ता छ ।”