पोखरामै अड्किएका स्पेनिसलाई नातिनातिना भेट्ने रहर
युरोपमै सबभन्दा बढी कोरोना संक्रमित देशका घुमन्ते, जो एउटा इमेल पर्खिरहेका छन् ।

सिट अग्लो पारिएको साइकलको डन्डीमा लेखिएको छ, ‘लस्ट इन द वर्ल्ड’ । स्पेनका जोसे जिनेस्टर यही साइकलबाट संसार चहार्छन् । साइकलमै नेपाल छिचोल्ने योजना बनाएका यी मनोचिकित्सक यतिखेर पोखराको एक होटलमा ‘लक्ड’ छन् ।
१२ जनवरीमा उनी साइकल लिएरै काठमाडौँ झरे । दुई दिन काठमाडौँ बिताएर तेस्रो दिन पूर्वतिर हान्निए । दोलखा, रामेछाप, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी हुँदै काँकडभिट्टा नाका पुगे ।
पूर्वका डाँडाकाँडा साइकलमा घुमे । सुरु भयो– भारत यात्रा । दार्जिलिङबाट सिक्किम हुँदै आसाम पुगेर बंगलादेश र भारतको सिमानासम्म यात्रा सोझ्याए । गंगा नदीको तीरैतीर बनारस पुगे । गोरखपुर हुँदै सुनौली नाकाबाट ६ मार्चमा पुन: नेपाल भित्रिए । लुम्बिनी गए ।
१० मार्चमा पोखरा आइपुगे उनी साइकल लिएरै जोमसोम उक्लिए । १२ औँ दिनमा पोखरा फर्किएको भोलिपल्ट १० चैतदेखि नेपालमा ‘लकडाउन’ सुरु भयो ।
वर्षको ५ महिना घुम्न निस्कने उनको होटलको चार भित्ताभित्र कैद भएर बस्ने स्वभाव होइन । साइकलमै अमेरिका, युरोप, दक्षिण अफ्रिका र एसियाका धेरै देश डुलिसके पनि त्यसको संख्या र स्थानबारे उनलाई कण्ठ छैन । घुम्दाको साँझ डायरी लेख्छन् ।
नेपालीहरू उनलाई भद्र लाग्छन् । यहाँको वातावरणले उनलाई उसै पनि लोभ्याएकै थियो । “भारतमा अलि बढी ठूला सहर छन् । ट्राफिक र मानिसको भीडभाड बढी छ,” भन्छन्, “साइक्लिङका लागि भारत त्यति ठीक होइन । नेपालमा उकालाओराला बढी छन् । भारत सम्म परेको छ ।”
भारतमा एक दिनमा उनले १ सयदेखि १ सय २० किलोमिटरसम्म साइकल चलाएको अनुभव छ । नेपालमा भने दिनमा मुस्किलले ४५ किलोमिटर चलाउन सकेको उनले सुनाए ।
प्रकृतिसँग भलाकुसारी गर्न, हिमालसँग बात मार्न उनी औधी मन पराउँछन् । ५६ वर्षीय यी घुमन्ते आफूलाई ‘स्वतन्त्र आत्मा’ भन्न
रुचाउँछन् । अहिले यिनी लेकसाइडस्थित होटल माउन्ट भ्युमा बसेर यताउति गरिरहन्छन् । घरि छतमा पुगेर हिमालतिर निर्निमेष हेरिरहन्छन् । घरि ढोकामा बसेर दर्किंदो पानीको बाछिटा नियाल्छन् ।
सबेरै उठ्छन् । व्यायाम गर्छन् । होटलको बगैँचा डुल्छन् । लेख्छन् । कहिलेकाहीँ फलफूल किन्न निस्कन्छन् । एकनासको दिनचर्याले उनलाई दिक्क बनाएको छ ।
हुन त उनलाई मुस्ताङ हुँदा नीलगिरि हिमालको फेदमै बस्न सजिलो कहाँ नलागेको हो र ! होटल बन्द भएर खानासमेत नपाउने ठाउँमा उनलाई स्थिर भएर बस्न मन लागेन । जब पोखरा आए, तब बाटाघाटा सुनसान देखे । लेकसाइडमा कुनै चहलपहल देखेनन् । जोमसोमबाट पोखरा फर्किएपछिको उनको योजना थियो– पोखराबाट लमजुङ, गोर्खा, धादिङ, नुवाकोट हुँदै काठमाडौँ पुग्ने । लकडाउन नहुँदो हो त उनीे २ वैशाख राती टर्किस एयरलाइन्सबाट स्पेनतिर सोझिएका हुन्थे ।
स्पेनमा उनले आफ्नै घरमा कार्यालय बनाएका छन्, जहाँ दिनमा ३–४ जना परामर्श लिन आउँछन् । सरकारी सेवानिवृत्त उनले पेन्सन पनि बुझ्छन् । २० वर्ष ‘फायरम्यान’ को रूपमा काम गरे । स्की खेलमा पारंगत उनले हिमालमा फसेकाहरूलाई पनि जागिरका क्रममा उद्धार गर्ने र मनोचिकित्सवको रूपमा काम गरेको भने १५ वर्ष भयो ।
देश फर्किएर पहिलेकै काममा व्यस्त हुने उनको योजना थियो । लकडाउनले थुनिएपछि उनको सोच फेरिएको छ । “मलाई लाग्दैन, अब काम गर्ने मुडमा हुन्छु,” भन्छन्, “अब फर्किएर काम गर्न सम्भव छैन ।”
लकडाउनपछि अमेरिका र युरोपियन युनियनअन्तर्गतका केही देशले आफ्ना नागरिक धमाधम पोखराबाट काठमाडौँ लगे । पर्यटन बोर्डको पहलमा झन्डै ८ सय विदेशी पर्यटक पोखराबाट काठमाडौँ पुगे । बसमा कोच्चिँदै काठमाडौँका होटलमा बन्द भएर बस्न उनलाई उचित लागेन । “उडान कहिले हुन्छ भन्ने केही भर छैन । काठमाडौँ गएर पनि के गर्नू ?” भन्छन्, “मलाई पोखरामै धेरै राम्रो छ ।”
दिल्लीस्थित स्पेनी दूतावासमा उनले नेपालमा रहेका आफ्नो देशका नागरिकको सूचीमा नाम दर्ता भने गराएका छन् । दूतावास र एयरलाइन्स कम्पनीबाट उडान हुने जानकारीसहितको इमेलको पर्खाइमा छन्, उनी ।
कोभिड–१९ को संक्रमणबाट स्पेनमा १८ हजारभन्दा बढीको निधन भइसकेको छ । लाखौँ संक्रमित छन् । कोरोना संक्रमणले युरोपमै सबैभन्दा बढी प्रभावित मुलुक हो, स्पेन । भन्छन्, “नेपाल सुन्दर छ । यहाँमा मान्छे एकदमै असल छन् भन्नेमा कुनै द्विविधा छैन । स्पेन सम्झिएर मन उतै पुग्छ ।”
अहिले स्पेन पूरै बन्द छ । भ्यालेन्सियाको गान्दियास्थित घरमा श्रीमती एक्लै छिन् । अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाउँदिनन् । श्रीमतीसँग उनको दिनैजसो च्याट हुन्छ । दुवैले एकअर्काप्रति चिन्ता दर्शाउँछन् । ८१ वर्षीया आमा, दाजुभाइ, दिदीबहिनी, आफन्तको उनलाई चिन्ता छ ।
छोराबुहारी अर्कै सहरमा छन् । उनकी बुहारी गर्भवती छिन् । अबको दुई सातामा पहिलो बच्चालाई जन्म दिनेछिन् । स्पेनका अस्पतालमा आकस्मिक सेवा मात्रै चलिरहेकाले उनलाई झनै चिन्तित तुल्याएको छ । “यतै भइरहेँ भने नाति/नातिनीको मुख देख्न पाउँदिनँजस्तो लाग्छ,” चिन्तित सुनिन्छन्, “संसारभर गतिला खबरहरू छैनन् ।”