स्वअध्ययनबाटै सर्पको उद्धारमा लुरेभाइ
सर्पलाई उद्धार गर्ने काम साहसिक मात्र होइन, जोखिमपूर्ण पनि छ । स्वअध्ययनबाटै यसमा लागेका रोहित गिरिको कथा
गाउँले आमा : अर्को पटक यहाँ सर्प लिएर आयौ भने म डोरीले बाँधिदिन्छु ।
रोहित : हामीले सर्प ल्याउने होइन आमा, सर्प बचाउने हो । मान्छे सर्पको ठाउँमा आएर बसेको हो, सर्प होइन ।
गाउँले आमा : कुन्नि, म के जानूँ ?
रोहित : त्यही भएर त हामी तपाईंहरूलाई सिकाइरहेछौँ, सर्पलाई बचाउनुपर्छ, मार्नुहुन्न भनेर ।
माथिका संवाद हुन्, कपर हेडेड ट्रिन्केट रेस्क्यु फिट रोहित गिरि नामक भिडियोको । ८ फागुनमा अपलोड गरिएको उक्त भिडियोमा सिंघाने सर्पलाई उद्धार गरिएको छ । मानव बस्तीमा देखिएका सर्प भनौँ या सर्पको बस्तीमा मानवको कब्जा ।
सर्प देखेपछि मानिस आत्तिन्छन् । त्यस्ता सर्पहरूको उद्धारमा हिँड्ने गर्छन्, रोहित । उमेरले भर्खर २२ वर्ष छोएका यी युवा जुलोजी (प्राणी विज्ञान) बीएस्सीका विद्यार्थी हुन् ।
रोहितले ६ कक्षा अध्ययन गरिरहेको समय थियो । स्कुलबाट घर फर्कने क्रममा छिमेकीको बारीमा सर्प आउँदा सबै आत्तिएर कराइरहेका थिए । अरू भएको भए कि डराएर भाग्थे, कि सर्पलाई लठ्ठी या ढुंगाले हान्थे । उनले भने त्यसो गरेनन् । उनले लठ्ठीको सहारा लिएर सर्पलाई बचाए र अलि परको जंगलमा लगेर छाडे । त्यस दिन रोहितलाई आनन्द लाग्यो ।
उनले सर्पलाई उद्धार गरेको कार्यक्रम डिस्कभरी च्यानलमा मात्र हेर्ने गरेका थिए । आफूले पनि कुनै दिन सर्पको उद्धार गरौँला भन्ने सोचेका थिएनन् । रोहित विद्यालयको पुस्तकालयमा सर्पसम्बन्धी जानकारी भएको किताब भेटाएपछि झनै हौसिए । किताबबाटै थाहा पाए, सबै सर्प विशालु नहुँदा रहेछन् ।
किताब र डिस्कभरी च्यानलको माध्यमबाट स्वअध्ययन गरेर ८ कक्षा पुग्दासम्म रोहितले थुप्रै सर्पलाई उद्धार गरिसकेका थिए । सुरुमा आमाबुबाले सर्पलाई उद्धार गरेको कामबारे थाहा पाएपछि रोहितले गाली पनि खाएका थिए । तर अहिले रोहितका भाइ रोशन पनि सँगै मिलेर सर्पको उद्धार गर्छन् ।
अहिलेसम्म रोहितले करिब १६ प्रजातिका सर्पको उद्धार गरिसकेका छन् । सर्पबारे जानकारी दिन उनले ८ महिनाअघि ‘रोहित गिरि’ नामक युट्युब च्यानल खोलेका छन् । यो च्यानललाई ६० हजार भन्दा बढीले सब्सक्राइब गरेका छन् ।
च्यानलमा सर्पलाई उद्धार गर्न हिँडेदेखि गरिसकेको दृश्य, सर्पको नाम र विशेषतासहित देखाइन्छ । रोहित भन्छन्, “मान्छेलाई चेतना होस् भनेरै भिडियो बनाएको हो । प्राय: सर्प गर्मी महिनामा विशेषगरी तराईका जिल्लामा बढी निस्कन्छन् । तराईमा उद्धार गर्न जान सक्दिनँ । त्यहाँका सर्पको टोकाइबाट थुप्रै मानिस मर्ने गर्छन् । स्थानीय नडराऊन् र सर्पको उद्धार गरून् भनेरै भिडियो बनाएको हो ।”
रोहितले इन्स्टाग्राममा उद्धार गरेका सर्पको फोटो स्टोरी राख्ने गर्छन् । उनको इन्स्टामा २० हजार भन्दा बढी फलोअर छन् । सामाजिक सञ्जालबाट उनले नेपालमा भएका सर्प र तिनका विशेषताबारे जानकारी दिँदै आएका छन् ।
११ फागुनदेखि देश पूरै लकडाउनमा छ । सरकारले थप १२ दिन लकडाउनको समयावधि थपेको छ । घरमा एकान्तबास बस्दा मान्छेले वाक्कदिक्क भएर सामाजिक सञ्जालमा अनेकथरी भिडियो र तस्बिर हालेको देखिन्छ । तर लकडाउनका बेला पनि रोहित भने उत्तिकै व्यस्त छन् ।
भन्छन्, “गर्मी लागेको भएर सर्पहरू जमिनमुनिबाट बाहिर निस्कन थालेका छन् । दिनमा ३–४ पटक फोन आइरहन्छ । त्यसपछि सर्पलाई उद्धार गर्न कुदिहाल्यो ।”
लकडाउनले गर्दा गाडीघोडा सबै बन्द छन् । अरू बेला सर्प उद्धार गर्ने ठाउँ पुग्न केही छिटो भए पनि लकडाउनका कारण अहिले अलि ढिलो हुने गरेको सुनाउँछन्, रोहित । कतिपय बेला त चोकमा बसेका सुरक्षाकर्मीको केरकारले झनै ढिलो हुने रहेछ । तैपनि उनले आफ्नो जिम्मेवारी भने भुलेका छैनन् ।
सर्प उद्धारका सबै काम उनी नि:शुल्क गर्छन् । कसैकसैले भने गाडीभाडा तिरिदिन्छन् । फोनको घन्टी बज्नेबित्तिकै कालो झोला र हुक लिएर उद्धारमा निस्कने रोहितले सर्पलाई 'डिस्टर्व' नगर्न सुझाव दिन्छन् । मानिसलाई भीडभाड र हल्ला नगरी बस्न सुझाउँछन् । कुनै बेला सर्पलाई उद्धार गर्न फोन आउँछ । र, सर्प रहेको स्थल पुग्दासम्म स्थानीयले डराएर मारिसकेको घटना सुनाउँदा रोहितलाई ननिको लाग्दो रहेछ । भन्छन्, “मार्नु नै थियो भने फोन किन गर्नू बित्थामा ?”
विषरहित सर्पलाई उद्धार गरेपछि नजिकैको जंगलमा र विशालु सर्पलाई वन विभागको जिम्मा लगाउँछन् । सर्पबारे जनचेतना फैलाउन रोहितले स्नेक कन्जर्भेटिभ सोसाइटी नामक संस्था पनि खोलेका छन् ।
काम साहसी गर्ने भए पनि रोहितलाई गाउँटोलमा लुरे भाइको नामले चिनिन्छ । सर्पलाई उद्धार गर्ने काम साहसिक मात्र होइन, जोखिमपूर्ण पनि छ ।
४ महिनाअघिको घटना सम्झँदै रोहित भन्छन्, “कोब्रा सर्पलाई उद्धार गर्न गएको थिएँ । समाउँदा कोब्राले थुकेको विष मेरो आँखैमा पर्यो । त्यसपछि हतारहतार पानीले आँखा पखालेँ । पोखरास्थित पश्चिामाञ्चल अस्पतालमा देखाउन गएँ । भोलिपल्टै निको भयो ।”
रोहितका अनुसार विदेशमा सर्पको विषलाई ओखतीको रूपमा प्रयोग गरिन्छ । नेपालमा पनि सर्पबारे बृहत् अध्ययन जरुरी रहेको उनी ठान्छन् । पहिले एक नेपालीले सर्पबारे अध्ययन गरे पनि अहिले व्यापक परिवर्तन भएको रोहित औँल्याउँछन् ।
भन्छन्, “किङ कोब्रा भारतमा पाइने सर्प हो । नेपालमा कमै पाइन्छ । तर १ महिनाअघि मैले किङ कोब्राको रेस्क्यु गरेँ । यो विशालु र सबैभन्दा ठूलो सर्प हो । नेपालमा पाइने सर्पको प्रकारबारे हामीलाई नै थाहा छैन । त्यसैले थप अध्ययन हुनु जरुरी छ ।”
विश्वभरि नै वन्यजन्तु तस्करी भइरहेको छ । नेपालबाट पनि थुप्रै जनावरको तस्करी हुने गरेको छ, जसमा सर्प पनि पर्छ । करिब ४ वर्षअघि भारतबाट पोखरा आएका भारतीय सपेराहरूले यहाँका सर्पको तस्करी गर्ने गरेको उनी सुनाउँछन् । सपेरा बनेर आउने त्यस्ता तस्करलाई प्रहरी र समुदाय मिलेर पक्रेपछि अहिले हराएको रोहित सुनाउँछन् ।
चितवन, तराई, काठमाडौँ र अन्य पहाडी बस्तीमा सर्पको उद्धार गर्ने आफूजस्तै युवा जन्माउन चाहेको उनी बताउँछन् । भन्छन्, “सर्पको टोकाइले मर्नेको संख्या कम गर्न चाहन्छु । वातावरण सन्तुलनका लागि सर्प संरक्षण जरुरी छ । समुदाय नै यसको बचाउमा लागोस् भन्ने इच्छा छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...