शरणार्थी शिविरभित्रको सकस
शरणार्थी शिविरमा रहेका भुटानीहरूलाई कोरोना संक्रमणको चिन्ता त छँदैछ, त्यसभन्दा बढी भोकै मरिएला भन्ने भय छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमै छ, भुटानी शरणार्थीहरूको शिविर । बेल्डाँगीमा अहिले करिब २५ सय संख्यामा शरणार्थी बस्छन् । शरणार्थी शिविर आफैँमा एउटी बन्दीगृहजस्तो छ । त्यसमाथि कोरोना संक्रमणको त्रासले लकडाउनको अवस्था । सुनसान छ, शिविर । सकसपूर्ण छ, शरणार्थीको दैनिकी । छाप्रोबाहिर निस्किने अवस्था छैन । छाप्रोमै दिन काट्छन् । ७५ वर्षका सहबहादुर मगरको अनुहारमा कुनै चमक छैन । मलीन छ । सरकारले किस्ताबन्दीमा लकडाउन थपेको छ । यिनको अनुहार पनि लकडाउनमा जस्तै पीडा थपिँदै गएको छ ।
लकडाउनले सहबहादुरजस्ता धेरै शरणार्थीको बेहाल छ । कतिपय त भोकै छन् । गिठ्ठाको भरमा पनि छन् । सहबहादुर तेस्रो देश पुनर्वासको विपक्षमा थिए । उनका छोराछोरी सबै ‘पाताल’ भासिए । तर, यिनलाई आफ्नो पितृभूमि छाड्न मन लागेन । यतिबेला भने उनी थकथकाउँछन्, “अमेरिकातिरै गएको भए भोकै त बस्नु पर्दैनथ्यो कि !”
मगरलाई कोरोना संक्रमणबाट मरिएला भन्ने डर छैन । बरु खान नपाएर चाहिँ मरिन्छ कि भन्ने चिन्ताले डेरा जमाएर बसेको छ । मगर आफू मात्रै भए त जसोतसो बाँच्ने थिए । तर, उनी परिवारसहित छन् । यो अवस्थामा सिंगो परिवार पाल्न भने उनलाई धौधौ छ । “छाप्रोबाहिर निस्किन पाए केही बनिबुतो गरेर भातसम्म खाइने थियो,” मगर दु:ख बिसाउँछन्, “बाहिर निस्किने अवस्था छैन । घरमै बस्यो, रित्तो भाँडा र ओसिएको चुल्हो हेर्यो ।”
राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) ले शरणार्थीलाई उपलब्ध गराउँदै आएको रासन वर्ष दिनयता कटौती गरेको छ, जसले शरणार्थी जीवनमा दु:खको पहाड थपेझैँ भएको छ । “रासन नपाउँदा जीवन निर्वाह गर्न साह्रै–गाह्रो भइरहेको छ,” छाप्रोको पिँढीमा बसेका रहलसिंह समाल भक्कानिन्छन्, “लकडाउनले त झनै पीडामाथि पीडा थपिदिएको छ ।” केही संघसंस्थाले उनीहरूलाई साताअघि थोरै राहत दिए तर त्यो पर्याप्त थिएन । “१० किलो चामलले १० जनाको परिवारलाई कति दिन खुवाउने ?,” समाल सुनाउँछन्, “त्यो हात्तीको मुखमा जिराजस्तो मात्रै भयो ।”
धेरैजसो शरणार्थीहरू आफूले पालेका खसी, बाख्रा र सुंगुर बेचेर लकडाउन अवधिमा गर्जो टारिरहेका छन् । दुई दिनकी सुत्केरी विष्णु पौडेल अस्पतालबाट आउँदा घरमा खानेकुरा केही थिएन । घरको खसी बेचेर भात खाइरहेकी छन् । भन्छिन्, “जसरी पनि खानु त पर्यो । साना बालबच्चालाई भोको राख्नु त भएन नि ।”
८० वर्ष पुग्न लागेका पूर्णबहादुर गुरुङ तेस्रो देश पुनर्वासमा गएनन् । छोराछोरी सबै अमेरिका लागे । उनी ज्वाइँसँगै बसे । सरकारबाट मासिक २ हजार २ सय रुपैयाँ निर्वाह भत्ताको भरमा यो वृद्ध ज्यान थामेर बसेका छन्, गुरुङ ।
सपनामा भुटान
सहबहादुर मगर विगत अढाई दशकदेखि शरणार्थी शिविरमा आश्रित छन् । तर, यिनी सपनामा भने मातृभूमि भुटानतिरै डुलिरहेको देख्छन् । केही बिघा जमिन, घर छाडेर प्रवासिनु परेको पीडाले यिनलाई सधैँ सताइरहन्छ । “सपनामा प्राय: म भुटानतिरै पुगेको हुन्छु,” मगर भन्छन्, “सायद मातृभूमिको मायाले होला ।”
सन् ९० को दशकमा भुटानी शासकले जब नेपालीभाषीलाई लखेट्नु सुरु गर्यो । त्यही बेला उनी पनि लखेटिए, करिब लाख बढी भुटानीहरूसँगै । नेपालीभाषीमाथि भुटानी शासक जाइलाग्दा उनीजस्ता डेढ लाख जति नेपालीभाषी घर जमिन छाडेर भाग्न बाध्य भए ।
भुटानी शासक नेपालीभाषीविरुद्ध यति कठोर बन्यो कि धेरैलाई गोली ठोक्यो । धेरैलाई जेल हाल्यो । “मार्छ भनेर भागेर नेपाल आइपुगेँ, म पनि,” उनी भन्छन्, “भुटान फर्कने आशमा २५ वर्ष बितेछ ।” साना लालाबाला च्यापेर नेपाल आएको सम्झना छ, मगरकी श्रीमती तिलमायालाई । “भुटानी शासकले मार्ने भएपछि ज्यान बचाउन बालबच्चा च्यापेर भाग्यौँ,” उनी सुनाउँछिन्, “त्यो समयदेखि अहिलेसम्म दु:खले छाडेको छैन ।”
शरणार्थीले स्वदेश फिर्तीका लागि लामै प्रयत्न गरे । तर, सफल भएन । नेपाल सरकारको असहयोगले भुटान फिर्न नपाएको घिटघिटो छ उनीहरूको । “नेपालले भूमिका खेलिदिएको भए हामी भुटान जान पाउने थियौँ,” पदमलाल तामाङ गुनासो गर्छन्, “नेपालले चासो नदिएकाले हामीले दु:ख पायौँ ।” शिविरमा भुटान फर्कनेहरूको जनमत बढ्दै गएपछि र शिविरभित्रै भुटानविरोधी भूमिगत र अर्धभूमिगत गतिविधि बढ्न थालेको थियो । भुटान कम्युनिस्ट पार्टी माओवादीजस्ता भूमिगत संगठनहरूले शिविरभित्रै व्यक्ति हत्या सुरु गरेका थिए । सन् २००७ को अन्त्यतिर राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) ले शरणार्थीहरूलाई तेस्रो देश पुनर्वासमा लैजान सुरु गरेपछि शिविरमा बढ्दो आपराधिक गतिविधि निस्तेज मात्रै भएन, शिविर नै लगभग रित्तिन पुग्यो ।
युएनएचसीआरले पुनर्वास सुरु गरेदेखि नै हो, शरणार्थीको स्वदेश फिर्ती अभियानमा पूर्णविराम लागेको । भुटान फर्किनु पर्छ भन्ने नेताहरू पनि धमाधम तेस्रो देश हिँडे । यो अभियान धरासायी बन्यो । डा भम्पा राई, बलराम पौडेलजस्ता केही नेता भने अझै स्वदेश फिर्तीकै अभियानमा सक्रिय रहेको पाइएको छ ।
पुनर्वासको इच्छा
निरबहादुर क्षत्री (३०) ले सन् २००७ तिरै तेस्रो देश पुनर्वासका लागि फोटो खिचाएका थिए । उनी यति बेला अमेरिका या अन्य युरोपेली मुलुकमा हुन्थे । तर, परिस्थितिले यिनी अहिले पनि शिविरमै छन् । निरबहादुर फोटो खिचाएर सिक्किमतिर गए काम गर्न । लामो समय फर्किन पाएनन् । उनी जब फर्किए, अवस्था अर्कै भइसकेको थियो । भन्छन्, “पहिलो चरणमा फोटो खिच्ने शरणार्थीमा पर्छु म,” उनी भन्छन्, “सिक्किमबाट आउन नसक्दा तेस्रो देशको सपना तुहियो ।” उनी शिविर फर्किदा पुनर्वासको कार्यक्रम स्थगित भइसकेको थियो । अहिले भने यिनलाई तेस्रो देश उड्ने हुटहुटी भइरहेको छ । बुबा, आमा, दाजु दिदी सबै अमेरिकामै छन् । कान्छी आमासँग शिविरमा बसेका छन्, उनी । भन्छन्, “अमेरिकामा बुबा मानसिक बिरामी पर्नुभएको छ, बुबाको हेरचाह गर्न जान पाए हुन्थ्यो भन्ने लागेको छ ।”
कौशिला खड्काको इच्छा पनि बुढेसकालमा अमेरिकामै मर्ने इच्छा थियो । तर, यिनको इच्छामा श्रीमान् नरबहादुर तगारो बनिदिए । नरबहादुर तेस्रो देश पुनर्वासको विपक्षमा थिए । श्रीमान्का भनाइ उद्धृत गर्दै कौशिला सुनाउँछिन्, “हराएको माइलो छोरा फेला नपन्जेल शिविर नछाड्ने पतिको अडान छ ।” कामका लागि सिक्किम गएका माइला छोरा श्रीमती र बच्चासहित बेपत्ता छन् । कौशिला सुनाउँछिन्, “मरे/बाँचे, केही थाहा छैन ।” सुस्मिता रसाइलीले पनि बुबाआमासँगै पुनर्वासका लागि फाराम भरेकी थिइन् । तर, उड्ने बेलामा गर्भवती भएपछि जान पाइनन् ।
सोमाया राई बच्चाहरू र बुढ्यौलीले गाँजेका बुबाआमा रुंगेर बसेकी छन् । ‘बुबाआमा जान मान्नुभएन,” उनी सुनाउँछिन्, “छाडेर जान मन मानेन ।” अहिले यिनलाई पनि अमेरिका जान मन छ । बुबाआमालाई पनि जान मञ्जुर गराइसकेकी छन् । तर, समय अब बितिसक्यो । किनकि युएनएचसीआरले पुनर्वास कार्यक्रम टुंग्याइसक्यो । “बेलामा बुद्धि पुगेन, अहिले दु:ख पाइयो,” उनले आफैँलाई धिक्कार्छिन् ।
युएनएचसीआरले पुनर्वास कार्यक्रम स्थगितपछि तेस्रो देश जान इच्छा भएका र नभएका शरणार्थी शिविरमा छन् । युएनएचसीआरका अनुसार करिब १ लाख १० हजार शरणार्थी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत आठ देशमा पुनर्स्थापित भइसकेका छन् । दमकको बेल्डाँगी र मोरङको पथरी–शनिश्चरेस्थित शिविरमा करिब ६ हजार शरणार्थी आश्रित छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...