सुदूरपश्चिममा बढ्दै कोराना त्रासको ग्राफ
र्यापिड टेस्टबाट नेगेटिभ निस्केकालाई पनि कोरोना पोजेटिभ देखिएपछि थप सन्त्रास
देशभरमै सुदूरपश्चिम प्रदेश कोरोना पोजेटिभबाट बढी प्रभावित छ । हालसम्म कैलालीमा ४ र कञ्चनपुरमा १ गरी ५ जना कोरोना पोजेटिभ संक्रमित फेला परेका छन् ।
लकडाउनको २१ दिने अवधि र र्यापिड टेस्टबाट नेगेटिभ निस्केकालाई पनि कोरोना पोजेटिभ देखिएपछि स्थिति भयावह हुने त्रासको ग्राफ जनमानसमा बढ्दो छ ।
नयाँ वर्ष ०७७ को पहिलो दिन कैलालीको लम्कीमा ६० वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएको सनसनीपूर्ण खबरले सुदूरपश्चिमलाई पुन: स्तब्ध पारेको हो ।
“सबैभन्दा ठूलो कुरा र्यापिड टेस्टबाट नेगेटिभ निस्केपछि क्वारेनटाइनबाट घर फर्केकी ती वृद्धामा कोरोना पोजेटिभ देखिनु नै चिन्ताको विषय बनेको छ,” धनगढी– ५ का लेखराज ओझा भन्छन् ।
उनलाई यसअघि सुदूरपश्चिममा दुई हजार बढीको र्यापिड टेस्ट भइसकेको र कसैलाई पनि पोजेटिभ नदेखिएको सञ्चारमाध्यमका खबरले अब त्यति डरलाग्दो रूपमा देखिँदैन कि भन्ने लागेको थियो । ओझा भन्छन्, “यो घटनाले कोरोना लुकेको छ र यसले कुनै पनि बेला भयावह तस्बिर अघि सार्न सक्छ भन्ने देखिएको छ ।”
कोरोना पोजेटिभ देखिएकी लम्की चुहाकी वृद्धाको ट्राभल्स हिस्ट्रीले पनि संक्रमणलाई बढाएको देखिएको ओझा सुनाउँछन् । संक्रमित वृद्धा १७ चैतमा पर्साको वीरगन्जबाट कैलाली लम्कीस्थित घर आएकी थिइन् । वीरगन्जमा चिया पसल चलाएर जीविकापार्जन गर्ने संक्रमित वृद्ध घरका तीन सदस्यको साथमा बसयात्रा गरेर घर फर्केको खुलेको लम्की चुहाका मेयर महादेव बजगाईं बताउँछन् ।
उनका अनुसार पीसीआरबाट उनको रिपोर्ट पोजिटिभ आए पनि कैलाली बहुमुखी क्याम्पसको क्वारेनटाइनबाट घर पठाइएका उनीसहित १७ जनालाई लम्कीमा पुन: क्वारेनटाइनमै राखिएको छ । यसअघि क्वारेनटाइनमा बसेका सबैको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको थियो ।
र्यापिड टेस्टबाट सबैको रिपोर्ट नेगेटिभ दिएपछि क्वारेनटाइनबाट गत ३० चैत बेलुकी घर पठाइएको थियो । “यो घटनाले र्यापिड टेस्टको गुणस्तरमा स्थानीयको मनमा प्रश्न खडा भएको छ,” सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशी भन्छन्, “तर कोरोना भाइरस संक्रमित व्यक्तिलाई खोज्न द्रूतगति (र्यापिड टेस्ट) नै आवश्यक छ ।”
र्यापिड टेस्टलाई पहिलो परीक्षणको रूपमा लिनुपर्ने उनको सुझाव छ । “कोराना पोजेटिभको कन्फर्म पीसीआर पद्धतिबाट हुन्छ,” डा जोशी भन्छन्, “तर पोजेटिभ व्यक्तिलाई चाँडो समात्नका लागि र्यापिड टेस्टबाट सहयोग मात्र पुग्ने हो ।”
उनका अनुसार पीसीआर पद्धतिबाट आरएनएको जाँच गरेर कोरोना पोजेटिभ पत्ता लगाउने हो ।
वीरगन्जबाट गएकी वृद्धासहित कैलालीमा कोरोना पोजेटिभको संख्या चार पुगेको छ । यसअघि लम्की चुहाकै २४ वर्षे युवकमा कोरोना पोजेटिभ देखिएको थियो । उनको ट्राभल्स हिस्ट्री हेर्दा मुम्बईबाट घर फर्केको देखिन्छ । ती युवक गत १० चैतमा नेपाल–भारत सीमा बन्दपछि धनगढीको गौरीफन्टा नाका पुगेका थिए । नाका बन्द भएपछि सीमामा पुगेका १ हजारभन्दा बढी नेपालीसँगै उनले करिब २८ घन्टा गौरीफन्टामै बिताएका थिए ।
स्थानीय प्रशासनले अन्तिम पटकका लागि भन्दै नाकामा रोकिएका हजारभन्दा बढी नेपालीलाई बस व्यवस्था गरेर १२ चैतमा घर पठाएको थियो । घर जानेहरूमा संक्रमित युवा पनि थिए ।
कैलालीका पहिलो संक्रमित लकडाउनअघि ८ चैतमा धनगढीस्थित घरमा कतारबाट फर्केका थिए । उनी कतारबाट भारतको नयाँ दिल्ली–काठमाडौँ–नेपालगन्जसम्म जहाज यात्रा र त्यहाँबाट सार्वजनिक यातायात प्रयोग गर्दै घर पुगेका थिए । उनको घरमा एक जनालाई कोरोना संक्रमण देखिएपछि नै नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो ।
‘व्यक्तिको हिस्ट्री खोजेर परीक्षण गर्दै जानुको विकल्प छैन’
प्रादेशिक अस्पतालका चिकित्सक तथा प्रवक्ता जगदीश जोशी यति बेला व्यक्तिको ट्राभल्स हिस्ट्री एवं कन्ट्याक्ट खोज्दै क्वारेनटाइनमा राख्ने र दुवै प्रविधिबाट जाँच गर्ने कार्य तीव्र पार्नुको विकल्प नभएको बताउँछन् ।
भन्छन्, “गुणस्तर जाँच भएको र्यापिड टेस्टसँगै पीसीआरबाट पनि टेस्ट बढाउनुपर्छ । त्यसका लागि सबभन्दा बढी समुदायभित्रैका व्यक्तिको ट्राभल्स हिस्ट्री र कन्ट्याक्ट पत्ता लागेकाबाट कोरोना परीक्षण बढाउनुपर्ने हुन्छ ।”
भारतमा कोरोना त्रास फैलिएपछि त्यहाँबाट सुदूरपश्चिममा डेढ लाख भित्रिएको अनुमान छ । उनीहरू सरकारले सीमा सिल गरेपछि नेपाल प्रवेश गर्न सकिने विभिन्न वैध/अवैध नाकाबाट छिरेका थिए । ती सबै क्वारेनटाइनमा पनि बसेका छैनन् ।
डा जोशी कैलालीमा कोरोना पोजेटिभ देखिएका तीन जनामा कुनै लक्षण देखा नपरेको बताउँछन् ।
“कुनै लक्षण नदेखिएकामा पनि कोरोना पोजेटिभ देखिएको छ,” डा जोशी भन्छन्, “यसले अहिले मान्छेमा कोरोना भाइरस छ/छैन भन्ने पीसीआर जाँचबिना पत्ता लगाउन सकिँदैन ।” लक्षण नदेखाएर कोरोना भाइरस देखिनु जटिल महामारीको रूप भएको उनको तर्क छ ।
धनगढी नागरिक समाजका अगुवा सिद्धराज भट्ट अहिले मुख्य दुई कारणले सुदूरपश्चिम इपिसेन्टर त बन्ने होइन भन्ने भय बढेको सुनाउँछन् । भन्छन्, “पहिलो भारतबाट घर फर्कने नेपाली सुदूरपश्चिममा बढी छन्, जो क्वारेनटाइनमै बसेका छैनन् । अर्काे, लक्षणबिना पनि कोरोना देखिएकाले आफ्नै वरपरका व्यक्तिमा सरेको छ भन्ने थाहा नहुने भयो । त्यसैले जाँचविधि बढाउनु र सबैले घरगाउँमा लुकिबसेकालाई क्वारेनटाइनमा पठाउन आवश्यक छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...