अनुकूलतामा लोभिएको शासक
पल थमस एन्डरसनको सिनेमामा अन्तिममा डेनिस एक्लै भएको र ऊसँग बाँकी केही नभएको दृश्यमा जस्तै अहिलेका शासन–सत्ता हाँक्नेहरूको हविगत हुन सक्छ

डेनिल प्लेनभ्यु कठोर र निर्दयी तेल व्यापारी हो । लसएन्जलसमा तेलखानी उत्खनन गर्दा एक कामदारको मृत्यु भएपछि उसको छोरालाई डेनिलले आफ्नो छोराको रूपमा लिएको हुन्छ । पछि जब पल सिड्नी नामक युवकले उसलाई क्यालिफोर्नियामा तेलखानी भएको बताउँछ, डेनिलले नयाँ ठाउँमा तेल उत्खनन थाल्छ ।
त्यहाँ भएको चर्च र गाउँलाई उत्खनन गर्ने क्रममा कुनै बाधा उत्पन्न नहोस् भनेर डेनिलले थुप्रै आश्वासन दिन्छ । उत्खननका क्रममा मृत्यु भएका कामदारलाई केवल एउटा वस्तुको रूपमा व्यवहार गर्नेदेखि आफूअनुकूल परिस्थिति नभए जस्तोसुकै क्रुर काम गर्न पनि पछि हट्दैन । कतिसम्म भने एक दुर्घटनामा श्रवण शक्ति हराएको आफ्नो छोरा एचडब्लुलाई उसले अन्तिम समय आएर मानिसको विश्वास जित्नका लागि मात्रै छोरा बनाएको बताउँछ । तेल उत्खनन गर्नका लागि जमिन आवश्यक पर्ने र सानो बालकको मायालु अनुहार हेरेपछि जोसुकै पनि पग्लिएर आफूलाई जमिन दिने भएकाले एचडब्लुलाई छोरा बनाएको रहस्यको पोको खुल्छ ।
पल थमस एन्डरसन निर्देशित र सन् २००७ मा निस्किएको सिनेमा ‘दियर विल बी ब्लड’ मा एउटा शासक मानसिकताको मानिसले कति हदसम्म निर्दयी भएर आफूअनुकूलका निर्णय गर्न खोज्छ भन्ने विषय प्रस्तुत गरिएको छ ।
चलचित्रमा भएको मानवता र अमेरिकी सपनाको पाटो एकातिर छँदै छ भने अर्कातिर शासकले आफ्नो काम पूरा गर्न र अनुकूल परिस्थिति सिर्जना गर्न जुनसुकै हदसम्म जाने देखाइएको छ । शासकले आफ्नोबाहेक अरूको सोच्दैन र जुन कुरामा आफूलाई फाइदा हुन्छ, त्यसैको पछि लाग्छ भन्ने सिनेमाको एउटा पाटो हो ।
सामान्य अवस्थामा असामान्य परिस्थिति सिर्जना हुँदा सामान्य बन्न सकिन्छ । तर जब परिस्थिति असामान्य भइसकेको हुन्छ, यस्तो समय सामान्य बन्ने प्रयत्न गर्न सक्नु नै ठूलो कोसिस बनिदिन्छ । अहिले विश्व सामान्य देखिने प्रयत्नमा छ तर त्यस्तो देखिन सकेको छैन ।
एकातिर विश्वभर फैलिएको महामारीसँग जुधिरहेको सम्पूर्ण मानव जाति छ भने अर्कातिर यो समयलाई प्रतिस्पर्धात्मक अवसरको रूपमा लिएर अगाडि बढ्नेहरू पनि सँगै छन् ।
समानान्तर बाटोमा बांगा धर्साहरू एक भएर हिँड्दैनन् । कतै न कतै ठोकिनुपर्छ । ०७२ सालको भूकम्प, जुन जनआन्दोलनपछि विश्वमा नेपालको नामलाई एक पटक फैलाएको कारण बनेको थियो । त्यो समय शासन प्रणालीमा रहेकाहरूले आफ्नो अनुकूलताको रूपमा राहतमा आएको खाद्यान्नदेखि अन्य वस्तुलाई निकट र आफ्नै लागि बचाउ गरेका थिए । एकातिर तत्कालीन समयका राहतलगायत प्रसंग छन् भने अर्कातिर भूकम्पपछिको अवधिमा वाचा गरिएका सन्दर्भ छन् । महिनौँ हुँदै वर्षौं बितेर गएको समय अहिलेसम्म पनि कतिपय अवशेष उस्तै छन् ।
भूकम्पपछिको समय शासनमा रहेकादेखि नरहेकासम्म कुनै पनि राजनीतिक दल वा संगठनको मुखमा बिर्को लागेको थियो । आफू स्वयं कुनै न कुनै रूपमा यी पक्षसँग जोडिएका विभिन्न दलहरू मौनतामा थिए, छन् । यदाकदाबाहेकले प्रश्न उठाउने सन्दर्भ शासनमा प्रत्यक्ष र अप्रत्यक्ष रहेकाहरूको अनुकूल नहुने भइगयो ।
सामान्य अवस्थामै पनि आर्थिकदेखि राजनीतिक विषयमा गरिएका अप्रासंगिक र अन्यायिक कदमबारे मुकदर्शक बनेर शासन–सत्ता हाँक्ने मान्छे बस्नुमा गन्यबाहेक प्रश्नहरू उठेनन् । आफूअनुकूल प्रश्न नउठ्नु र केही मात्रामा भए पनि जवाफदेहिताको माग गर्दा शासन–सत्ता हाँकिरहेकाहरूले ‘काम गर्न दिएनन्, आलोचना मात्रै गरियो’ भन्ने जवाफ दिए ।
असामान्य अवस्थामा सकेसम्म परिस्थितिलाई सामान्य बनाउनमा केन्द्रित हुनैपर्छ । अवस्था सामान्य हुँदा विभिन्न घटना घटिरहन्छन् । असामान्य अवस्थामा परिस्थितिले सिर्जना गर्न सक्ने भविष्यको पूर्वानुमान गरी कदम चाल्न आवश्यक हुन्छ ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा कोभिड– १९ को संक्रमणलाई घोषणा गरिसक्दा पनि नेपालमा शासन–सत्तामा रहेकाहरूले ‘नेपाल कोरोनामुक्त क्षेत्र’ भन्दै घोषणा गरिरहेका थिए ।
छिमेकको परिस्थितिसँग दूरदेशहरू परिचित भइसक्दा पनि ‘कोरोनामुक्त क्षेत्र’ भन्दै भ्रमणका लागि आउन विज्ञापन गरिरहेका शासकहरूले परिस्थिति अध्ययन गरेर भविष्यको पूर्वानुमानमा कदम चाल्नु अकल्पीय पर्याय हो । तर सामान्य अवस्था रहिरहँदा नचालिएका कदमहरू दोस्रो संक्रमित देखिएपछि रातारात चालिए । रातारात औषधी किनियो, लकडाउन घोषणा गरियो । आफूले चालेका कदमहरूले कस्तो असर पार्छ भन्ने कुराको पूर्वानुमान नहुनु निर्णय गर्ने संस्थाको सबभन्दा ठूलो कमजोरी हो ।
प्रधानमन्त्रीदेखि सरकारका प्रवक्ता, महामारीको समयका लागि स्थापना गरिएका सम्बन्धित निकायले असामान्य परिस्थितिमा उठेका प्रश्नलाई सम्बोधन गरेनन् । बरु, उल्टै प्रक्रियागत रूपमा भएको ठोकुवा गरिदिए । छानबिन त परको कुरा, समाचारगृहले गरेको औषधी खरिद प्रक्रियाबारेका समाचारमा आफू अनभिज्ञ भएको जानकारी प्रस्तुत भयो, सत्ता प्रमुखबाट ।
उठेका प्रश्नहरू छन् । यसको जवाफ परिस्थिति असामान्य भएपछि अवश्य खोजिनेछ । अर्कातिर जोखिममा प्रमुख युद्ध लडिरहेकाहरूले सुरक्षा माग गर्दा ‘भात पकाउनेसम्मलाई पीपीई’ भन्ने ठट्यौलीमा शासन–सत्ता रमायो । विश्वका ‘मै हुँ’ भन्नेहरू आछु–आछु भएको यो अवधिमा नेपालका महामहिमहरूले ठट्यौली गरिरहे ।
यो असामान्य परिस्थिति उनीहरू सबैका निम्ति अनुकूल छैन । अनुकूल तिमीहरूका निम्ति छ, जो हरेक समय सुरक्षित भएर बसिरहेको छ । देश नै हाँक्ने जिम्मा पाएकाहरूले आफूअनुकूल परिस्थिति सिर्जना गर्न कुनै तुक छाड्दैनन् । यसको एउटै उदाहरण, नेपालमा चिनियाँ राष्ट्रपति आउँदा परिस्थिति आफूअनुकूल बनाउन रातारात भएको विकास नै पर्याप्त छ ।
पहिलो संक्रमित नेपालमा देखिएपछि दोस्रो संक्रमित देखिनुको बीचमा भएको प्रशस्त समय सरकार ‘भ्रमण’ को विज्ञापन गर्नमा मस्त भयो, सम्भाव्यताको पूर्वआकलन गरेर तयारी गर्नमा होइन । त्यो समय सामान्य थियो तर अहिलेको असामान्य अवस्थाका लागि निकै महत्त्वपूर्ण । संक्रमण बढ्दै गएपछि बल्ल निदाइरहेका शासकको निद्रा खुल्यो । निद्रा खुलेको तान्द्रा गरिएका निर्णयहरू अहिलेसम्म पनि भइरहेका छन् ।
संकटको जोखिम आफ्नो ठाउँमा छँदै छ । तर त्यसलाई लिएर आफूले चालिरहेका कदमले कस्तो असर गर्छन् भन्ने जिम्मेवार व्यक्तिका लागि महत्त्वपूर्ण कुरा हो ।
लकडाउन पटक–पटक थपिरहँदा असर के–कस्तो परिरहेछ भन्नेमा ध्यान दिन आवश्यक हुन्छ । हरेक पटकको सम्बोधनमा आफूले गरिरहेको राहतको घोषणालाई कसरी र के रूपमा कार्यान्वयन भइरहेको छ भन्नेमा ध्यान दिनुपर्छ । सबभन्दा बढी जोखिम परिस्थितिमा झन् असामान्य अवस्था बन्न सक्ने हुन्छ । जिम्मेवारको हातमा सुम्पिएका कामहरू भ्रष्टाचार र नातावादको च्यादरमुन्तिर भइरहनु झन् असामान्य परिस्थिति सिर्जना हुनु हो । यस्तो परिस्थितिले निम्त्याउने जोखिमको तह झन् माथि हुन्छ ।
परिभाषामा शासकले जनतालाई शासन गर्छन् । तर अहिले परिभाषा वा सिद्धान्तमा मात्रै रुमलिएर बस्ने समय होइन । एकातिर पूर्वतयारीबिना गरिएको लकडाउन घोषणाले देशभित्रैको अवस्था दिनानुदिन सकसपूर्ण बन्दै गइरहेको छ । अर्कातिर, देशबाहिर ठूलो आवाजमा क्रन्दन छुटिरहेको छ ।
जसको भोट राष्ट्रिय हुन्छ, जसले पठाउने रेमिट्यान्स र तिर्ने कर राष्ट्रिय हुन्छ, जो देशलाई आवश्यक पर्दा देशको नागरिक हुन्छ, उसलाई आवश्यक परेको बखत देश हुँदैन । नेपालमा लकडाउन घोषणा अपत्यारिलो रूपमा भयो । यसले गर्दा खुला सीमा भएको भारत र विभिन्न देशमा वैदेशिक रोजगारीमा गएकाहरूले कुनै कदम चाल्न पाएनन् । अहिले उनीहरूको चीत्कार छुटिरहेको छ । अरू बेला ‘हामी छौँ ?’ भनिरहेको देशले अहिले उनीहरूलाई ‘तिमीहरू नआऊ’ को शैलीमा पर धकेली रहेको छ ।
अर्को श्रमजीवी जमातको कथा बेग्लै छ । ‘महामारीबाट बरु नमरिएका, कुहिएको चामल खाएर मरिन्छजस्तो छ’ भन्नु सामान्य होइन, न त सोलुबाट कैलालीसम्म हिँड्नु नै हो । घरको अभिभावक जे–जस्तो भए पनि असामान्य परिस्थितिमा साथ दिने र आफू हेर्ने विश्वासमा सदस्यहरू हुन्छन् । शासक जे–जस्तो भए पनि आफूलाई सम्बोधन गर्छ भन्ने विश्वास हुन्छ, जनतामा ।
कागजको नागरिकताका लागि मात्रै नागरिक हुँ भनेर कसैले आफ्नो परिचय दिँदैन । देश र सरकारप्रति उसका विश्वासहरू हुन्छन् ।
पटक–पटक विश्वास टुटे पनि अहिलेको परिस्थितिसम्म आइपुग्दा राज्यले नागरिक नमानेका नागरिकहरूले सरकारलाई सहयोग गर्दै आएका छन् । परिस्थितिअनुसार सबै मिलेर लड्नुपर्छ भन्ने भावना नागरिकमा छ । र, पटक–पटकको भ्रष्टाचारको परिदृश्य आँखैसामु हुँदा पनि उनीहरू सरकारले स्थापना गर्ने कोषमा हरेक परिस्थितिमा सहयोग गरिरहेका हुन्छन् । अर्थतन्त्रको मुख्य हिस्सा रेमिट्यान्स छ । यसरी सरकारको कोषमा जनताले विश्वास गरेर जम्मा गर्ने सहयोग रकममा पनि मुख्य हिस्सा पसिना र क्रमकै उब्जनी हुन्छ ।
तर प्रत्येक पटकको आशाविपरीत जनता नभएर शासकअनुकूल भएर सत्तामा भएकाहरूले कदम चालिरहेका छन् । महामारीको असामान्य परिस्थितिमा जनता पक्षबाट नभई सत्तापक्ष र सत्ता निकट पक्षलाई अनुकूल हुने गरी निर्णय भइरहेका छन् । एकातिर यस्ता निर्णयले विश्वासको झिनो धागो पनि टुक्रिँदै गएको सत्य सामुमै छ भने अर्कातिर यस्ता निर्णयको परिणामस्वरूप राज्यले जनताको जीवनमाथि उभिएर तान्डव नाचिरहेको छ ।
पटक–पटक निर्णयमा आफू र निकटका निमित्तको अनुकूलतालाई मुख्य महत्त्वमा राख्ने यो राज्यसत्तासँग के जनताका लागि जिम्मेवारी बुझ्ने मानसिकता छ त ? परिस्थितिमा लिइएका निर्णय र त्यसका परिणाम हेर्दा अहिलेको सरकार र सत्ताका लागि जनता केही होइनन् । चारैतिर डुंगामा प्वाल पाररे देशलाई हिँडाइरहेको सत्तासँग अहिलेको परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे निश्चित नीति छैन । सरकार आफैँले बनाएका कार्यविधिको पालना भएको छैन । ‘पशुपतिनाथले रक्षा गर्छन्’ भन्ने उक्ति शब्दमा बोल्न नसके पनि व्यवहारमा सोहीअनुरूपका काम भएका छन् । भोलि के परिस्थिति आउने हो भन्ने कुराको अनुमान अभावमा भइरहेको तयारीले सत्तासवार डुंगा कुन बेला डुब्छ र सँगै देश पनि डुब्छ भन्ने निश्चित छैन ।
अरू बेलाजस्तो आफ्ना कमी–कमजोरीको ढाकछोप गरेर विकासको भाषण दिन यो परिस्थितिमा सुहाउँदैन । हरेक पटक संकटमा नांगिने सत्ताले आफ्नो तयारीलाई गतिशील बनाएर सम्भावित जोखिमलाई ध्यानमा राख्दै आफूअनुकूल नभएर जनतालक्षित निर्णय लिन र उक्त निर्णयलाई जनस्तरको पहुँचमा पुग्ने गरी कार्यान्वयन गराउन आवश्यक छ ।
पल थमस एन्डरसनको सिनेमाको अन्तिममा डेनिस एक्लै भएको र ऊसँग बाँकी केही नभएको दृश्यमा जस्तै यो परिणाममा अहिलेका शासन–सत्ता हाँक्नेहरूको हविगत हुन सक्छ ।