लकडाउनमा साहित्य सिर्जना
लकडाउन साहित्यकारका लागि पढेर र गमेर संसार बुझ्ने अवसर भएको छ ।
सुख होस् वा दु:ख । उत्साह होस् वा समस्या । हरेक क्षणमा रमाउन सक्ने वर्ग हो, साहित्यकार । लकडाउनले विश्व ठप्प छ । यस्तो बेला पनि उनीहरू निरस छैनन् । कोही पढ्न व्यस्त छन् । कोही रचना रच्न मस्त छन् । लकडाउन साहित्यकारका लागि पढेर र गमेर संसार बुझ्ने अवसर भएको छ । कोही नियमित साहित्य रचनामा छन् । कोही कोरोना अनुभवसहितका रचना लेख्दै छन् ।
यही बेला रूपन्देहीका साहित्यकार लीलाधर प्रतीक गजलमार्फत पोखिन्छन् । गजलका शेरमा लकडाउन र कोरोना कहरको वास्तविकता एकैपटक चित्रण गर्छन्, उनी–
‘धेरै दिनपछि सुनसान सहर देखियो
जताततै कोरोनाको कहर देखियो ।
कोही कुबेर होला कोही सुदामा होला
सबैमा जीवन बाँच्ने रहर देखियो ।
न ज्ञान न विज्ञानसँग छ औषधी
सर्वत्र व्याप्त अनौठो जहर देखियो ।’
फेसबुकमा उनले वाचन गरेको रचना धेरैले मन पराएका छन् । कयौँले वाहीवाही दिएका छन् ।
कोरोना आंशकामा उपचाररत रूपन्देहीको सैनामैनाका बाबुराम थापा क्षत्रीको बुटवलमा मृत्यु भयो । तर, मृत्यु हुँदासम्म कोरोना संक्रमण हो/होइन भन्ने रिपोर्ट आएन । यसले झन् त्रास बढायो । यस्तै अन्योलबीच उनी अर्को व्यंग्यात्मक गजल कोर्छन्–
‘जीवनको मोहमा ऊ अस्पताल धाउँछ,
मरेको केही दिनपछि रिपोर्ट आउँछ ।’
मुक्तकमै विद्यावारिधि गरेका साहित्यकार मुरारी पराजुली प्राध्यापन र समीक्षामा गर्छन् । उनी लकडाउनसँगै थुनिए पनि समयको भरपूर सदुपयोग गर्दै छन् । “अहिले पनि लेखपढमा व्यस्त छु,” उनी भन्छन्, “नयाँ पुस्तक पढ्ने, सिनेमा हेर्ने र पुस्तक समीक्षा गर्ने समय मिलेको छ ।” यही मेसोमा मुरारीलाई रचना पनि फुरेका छन् । उनले व्यंग्यात्मक कविता, मुक्तक र गजल कोरेका छन् । जब कोरोना चीनबाट युरोप हुँदै अमेरिका छिर्यो, टेलिभिजन र सामाजिक सञ्जालमा शवको खात देखिन थाले । यस्तो दृश्यले उनलाई यस्तो हरफ कोर्न बाध्य तुल्यायो–
‘उफ् ! मर्नेको पहिचान गरिन्छ कि नाइँ
उफ् ! बेग्लै चिहान खनिन्छ कि नाइँ
महामारीले लडेका लासका गन्ती सुन्दा
उफ् ! भोलिको बिहान उघ्रिन्छ कि नाइँ ?’
गजलमा विद्यावारिधि गरेका अग्रज साहित्यकार हुन् घनश्याम परिश्रमी । उनी पढेका कुरा आफूमा मात्र राख्दैनन् । अरुलाई पनि सिकाउँछन् । गजलका शेर र रदिफ सिकाउन देशभर डुलेका यिनी अहिले घरभित्रै थुनिएका छन् । तर, उनको साहित्य यात्रा थुनिएको छैन । बरु अझ खुलेको छ । “घरभित्र थुनिएको हिँडडुल गर्न नपाएको पटक्कै अनुभव भएको छैन,” उनी भन्छ्न्, “नयाँ नयाँ पुस्तक पढेको छु । हरेक दिनजसो कविता र गजल लेखेको छु ।” परिश्रमीले पढेकामध्ये सुकुम शर्माको प्रगतिशील उपन्यास हिमालमुनिको गाउँ, माधव काफ्ले संस्मरण खुसीको पीरो धुवाँ र रञ्जु दाहालको नियात्रा प्रियसँगको यात्रा धेरै मन परेको उनी सुनाउँछन् । “ज्ञान बढाउन पढ्नुपर्छ,” भन्छन्, “आलोचनात्मक चेत र प्रगतिशील लेखन असाध्यै मन पर्छ ।” परिश्रमीले कोरोनाबारे लेखेको कविताको एक अंश:
‘सर्दै, डस्दै फैलिरहेछ ।
दुनियाँभर सर्वत्र पुगेछ ।
सीमा तोड्दै घुस्दछ भित्र ।’
जागिरको धपेडीले भैरहवाका कवि रुद्र ज्ञवालीलाई लामो समयदेखि आफ्नै रचना संग्रह गर्ने फुर्सद थिएन । लेख्दै राख्दै गर्थे । पढ्न थालिएका कतिपय पुस्तक अधुरै थिए । लकडाउनले उनलाई आफ्ना रचना सम्हाल्ने र नयाँ पुस्तक पढ्ने अवसर दिएको छ । यत्ति मात्रै होइन, लकडाउनका दिनदिनैका फरक प्रसंग उनले कोरेका छन् । “त्यसलाई संग्रह गरेर प्रकाशन गर्ने योजना छ,” उनी भन्छन्, “उत्तम उपायका लागि दिनदिनै रचना लेख्दै फेसबुकमा पोस्ट गरेको छु ।” रुद्रले पोस्ट गरेमध्येको एउटा गजल यस्तो छ–
‘मच्चाउँदै छ कोरोनाले कहर, होश गर्नु
आतंकमा छन् गाउँ सहर, होश गर्नु
सकेसम्म खोल्दै नखोल्नु घरका ढोका
हावामा पनि हुन सक्छ जहर, होश गर्नु
कति मरे लासको हिसाब गन्न सकिँदैन
जानजानी आफ्नै चिहान खन्न सकिँदैन’
बुटवलका युवा साहित्यकार लक्ष्मण क्षत्री बेग्लै छन् । उनी कुनै पनि नयाँ कृतिलाई अनेक कोणबाट विश्लेषण गर्छन् । त्यो पनि एक्लै होइन, आफूजस्तै साहित्यानुरागीहरूसँगै । लकडाउनले उनको यो यात्रा रोकेको छैन । उनले घरमै बसेर लकडाउन साहित्य अन्तर्क्रिया शृंखला चलाइरहेका छन् । उनी फेसबुक लाइभमार्फत विभिन्न प्रकाशन, सामग्री र विषयवस्तुहरूमा बहस गर्छन् । “युवाहरूमा साहित्य, बहस र आलोचनात्मक चेत बढाउने मेरो रुचि हो,” लक्ष्मण भन्छन्, “इन्टरनेटको सहयोगमा अहिले त्यो काम धेरै गर्न सकिएको छ ।”
कोरोना सन्त्रास फैलिरहेका बेला प्राज्ञ वुँद राना भने अलि संवेदनशील भएका छन् । जंगलको शेरभन्दा बलिया गजलका शेर लेख्ने उनमा जागर चलेको छैन । पुस्तक पढ्न र करेसाबारीको गोडमेल एवं फूलबारी स्याहार्न बढी समय दिएका छन् । तर, पछिका लागि एक दुई तुक्का लेख्ने र राख्ने सिलसिला जारी छ । कोरोना उपचारका उपकरण खरिदमा भ्रष्टाचारको गन्ध सुँघेपछि उनलाई राजनीतिप्रति विरक्त लागेको छ ।
“मर्ने बाँच्ने ठेगान नभएको महामारीको बेला पनि भ्रष्टाचार ?,” बुँद भन्छन्, “भ्रष्टाचारको जालो त्यात्नै पर्ने भो । अबका रचना सुशासन र भ्रष्टाचारविरुद्ध गर्नेछु ।” जीवनको उत्तरार्धसम्म गजल लेखेर नथाकेका मनभरि गजल उनीरहेका छन् । कोरोना सन्त्रास सकिनासाथ पुन: सक्रिय हुनेछन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...