रोग सर्ने डरले घरपरिवार र माइतीले दिएनन् आश्रय
भारतबाट उद्धार गरिएकी सुत्केरीलाई स्वदेशमै उपेक्षा, कोरोना छैन भन्ने थाहा हुँदाहुँदै समाजबाट उनले जे भोगिन्

समस्या परेका बेला आश्रय दिने र जोगाउने को होला ? धेरैलाई लाग्न सक्छ, घरपरिवार र माइती । त्यसपछि आफन्त वा इष्टमित्र ।
तर कोरोना सन्त्रासका कारण भारतबाट आएकी रूपन्देहीकी एक सुत्केरीलाई आश्रय दिने कोही भेटिएनन् । यसले गर्दा उनी स्वदेशमै अलपत्र परेकी छन् । उनी जहाँ–जहाँ पुगिन्, कोरोना सर्ने डरले त्यहाँ–त्यहाँका ढोका बन्द गरिए । कोरोना छैन भन्ने पुष्टि हुँदा पनि कसैले विश्वास गरेनन् ।
घर, माइती र आफन्तले आश्रय नदिएपछि तिलोत्तमा मंगलापुरकी लक्ष्मी दर्जी अलपत्र परेकी हुन् ।
भारतको दिल्लीस्थित गाजियावादमा ३३ दिनअघि सुत्केरी भएकी लक्ष्मी अहिले चिचिलो शिशु, २ र ३ वर्षे छोरीसहित कहाँ बस्ने पिरलोमा छन् । के खाने, के लगाउने संकटमा छन् ।
“आफ्नै देश, घर र माइतीमा पनि बास नपाइँदो रहेछ,” उनी दुखेसो पोख्छिन्, “सबैले छिछि र दूरदूर भनेर भगाए ।” कतै आश्रय नपाएपछि उनी एक रात सडकमै बसिन् । अर्को दिनदेखि क्वारेन्टाइनमा चिनजान भएका साथी दीपक क्षत्रीले आफ्नो घरबाहिर ओसारी बारेर बस्न दिएका छन् । तर कति दिन उनले ओसारीमा बस्न दिने हुन् । त्यसपछि कहाँ जाने ? उनी आफैँलाई थाहा छैन ।
लक्ष्मी घरभेटीले आश्रय नदिएपछि सुत्केरी भएको ५ दिनमै गाजियावादबाट हिँडेकी थिइन् । उनी २ दिन पैदलै हिँडिन् । त्यसपछि डेढ दिन बस यात्रा गरिन् । २ दिन भारतीय बजार सुनौलीको सडकपेटीमा पल्टिइन् । एक दिन नेपाली सीमा क्षेत्र बेलहिया नाकामा बित्यो । भोको पेट र चिचिलो शिशु छोरालाई दूध चुसाउँदा उनी छिनछिनमा बेहोस हुन्थिन् । छिनछिनमा ब्युँझिन्थिन् ।
नाजुक अवस्था देखेपछि १० दिने सुत्केरीको २४ दिनअघि रूपन्देही प्रशासन र तिलोत्तमा नगरपालिकाले लक्ष्मीलाई उद्धार गरेका थिए । उद्धारपछि उनी १४ दिन तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसिन् ।
शंकरनगरस्थित दुर्गादत्त माविमा उनलाई ठीकै थियो । पेटभरि रुखोसुखो खान र ओत लागेर सुत्न पाएकी थिइन् । त्यसपछि घर जाने, पोषिला कुरा खाएर दूध निकाल्ने र छोराको पेट भरिदिने कल्पना गरेकी थिइन् । तर जब क्वारेन्टाइनबाट निस्केर उनीहरू घर गए, घरपरिवारले ढोकै बन्द गरिदिए ।
सासूससुरासहितको संयुक्त घरमा सुत्केरी लक्ष्मी र उनको परिवारले बास पाएन । काखमा र काँधमा बच्चा च्यापेर जब श्रीमान् मनोज र लक्ष्मी आँगनमा पुगेका थिए, घरपरिवार उनीहरूमाथि नै खनिए । “रोग लाग्छ । यहाँ बस्न दिन्नम् । गइहाल भनेर हकार्नुभयो,” लक्ष्मी सुनाउँछिन्, “रोग छैन । बास दिनुस् भनेर लाख बिन्ती गर्दा पनि सुनेनन् ।”
क्वारेन्टाइनमा उनीहरूको आरडीटी (र्यापिड) टेस्ट भएको थियो । त्यसपछि कोरोना छैन भन्ने पुष्टिसहितको कागज पाएका थिए । उनीहरूले उक्त कागज देखाए पनि घरपरिवारको मन पग्लिएन ।
“कागजमा कोरोना छैन भनेर हुन्छ ? शरीरको कुरा कसलाई थाहा हुन्छ भनेर झर्किए”, लक्ष्मी सुकसुकाइन् । घरमा बास नपाएपछि उनीहरूले ओतका लागि छिमेकीलाई एउटा कोठा वा गोठ दिन आग्रह गरे । उनीहरू पनि बास दिन तयार भएनन् ।
बास नपाउँदा हैरान भएको लक्ष्मीको परिवार त्यसपछि करिब एक घन्टा टाढा माइती घर गए । कान्छीबजार छेउको इँटाभट्टीमा उनको माइती छ, जहाँ उनका बाबुआमा र भाइबुहारीको परिवार बस्छ । लाग्यो, माइतीमा त बास पाइन्छ । तर त्यही माइती घर पनि उनका लागि बिरानो भइदियो ।
१० महिना कोखमा राखेर जन्म दिएकी आमाले पनि दया देखाइनन् । आँगनमा उनी पुग्नासाथ माइतीहरू पनि खनिए । बाबुले हामीलाई तिमीहरूका कारण मर्नु छैन भनेर झपारे । आमाले यस्तो बेलामा किन आएको ? जाऊ–जाऊ भनेर दबाब दिइन् । त्यसपछि कहाँ जाने, के गर्ने । त्यस दिनको रात सडकमै बित्यो । चिचिला छोराछोरी भोकाएर रुन थाले । अर्को दिन ९ नम्बर नजिक जुटपानी टोलका दीपक क्षत्रीको घर गए, जुन पञ्जाबबाट लकडाउन सुरु भएपछि फर्केका थिए । यही कारण तिलोत्तमास्थित क्वारेन्टाइनमा बस्दा भेटिएका थिए । त्यही चिनजानका आधारमा घर पछ्याउँदै गए ।
त्यहाँ भने दीपक भगवानका रूपमा उदाए । उनले सहर्ष आँगनमा बास दिए । एक छाक खान दिए । लक्ष्मीको दुखेसो सुनेपछि दीपककी आमा ६५ वर्षीया भगवती रोकाय क्षत्रीको पनि मन पग्लियो । तर एक कोठाको घर । कहाँ बस्न दिनू ! टिनले छाएको ओसारी बोराले बारेर आपद् पर्दासम्म त्यही बस्न दिए ।
तिनै दीपकले तिलोत्तमा नगरपालिकालाई लक्ष्मीको परिवार अलपत्र परेको खबर गरिदिए । नगरपालिकाले एक सेट बिछ्यौना, २५ किलो चामल, ५ किलो दाल, २ लिटर तेल, २ पोका नुन र ४ पोका सोयाबिन लगिदियो । तर लक्ष्मीका लागि त्यही खाना पकाउने भाँडा भएनन् । नगरपालिकाका स्वास्थ्य अहेव अधिकृत गणेश गौतमले आफ्नो घरबाट पकाउने र खाने केही भाँडा जोहो गरिदिए ।
सुत्केरी लक्ष्मीको परिवार अहिले त्यही खाँदै छ । तर उनीहरूका लागि फेर्ने लुगा छैन । एउटा पातलो बिछ्यौना, त्यसमा पनि ५ जना अटिँदैन । ३ छोराछोरी ओछ्यानमा सुत्छन् । सुत्केरी र उनका पति छेउ बसेर रात कटाएका छन् ।
“यस्तो आपद् कसैलाई नपरोस् । आफन्तको बीचमा बेसहारा हुँदा मन रुँदो रहेछ,” लक्ष्मी गुनासो पोख्छिन्, “कहिले लकडाउन खुल्ला र मुग्लानतिरै जान पाए हुन्थ्यो भन्ने भएको छ ।” लक्ष्मीलाई आफ्नै आमाबाबुले आपद्का बेला गरेको गाली विषजस्तै लागेको छ । घर र माइतीका वचनले मुटुमा चोट लागेको छ ।
“शरीर कमजोर छ । कमजोरी त खाना खाए ठीक होला,” लक्ष्मी भन्छिन्, “तर मनमा लागेको चोट जीवनभर मेटिने छैन ।”
सुत्केरीको बिजोग भएको खबर पाएपछि तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरी चौधरी लक्ष्मीको अवस्था बुझ्न गइन् । उनले आफन्त र घरपरिवारबाटै अलपत्र परेकी सुत्केरीको कसरी संरक्षण गर्ने भन्नेबारे नगरपालिकामा छलफल गर्ने बताउँछिन् । “निकै बिजोग भएछ । नगरपालिकाकै अगुवाइमा भएपछि संरक्षण गर्नुपर्नेछ,” उनी भन्छिन् ।