लकडाउनमा बढ्यो वन तस्करी
वन समूहका पदाधिकारीको मिलेमतोमै वन्यजन्तु र वनजन्य वस्तुको चोरी–सिकार
जिल्लामा लकडाउनको समय वन तस्करी मौलाइरहेको छ । दिनहुँजसो तस्करी अभियोगमा मानिसहरू पक्राउ परिरहेका छन् । वन्यजस्तु सिकार र काठ तस्करी भएका घटना आइरहेका छन् । लकडाउनको समय मानिसको चहलपहल कम हुने भएकाले तस्करहरू सक्रिय भएको वन कार्यालयको भनाइ छ ।
९ वैशाखमा शान्तिनगर गाउापालिका– ५ स्थित हात्तीखाल सामुदायिक वन क्षेत्रबाट चार जना सिकारी चार वटा मोटरसाइकल र एक थान भरुवा बन्दुकसहित पक्राउ परे । वन्यजन्तु सिकारी गर्न १५ जनाको टोली वन क्षेत्र प्रवेश गरेको सुराकी पाएपछि डिभिजन वन कार्यालय घोराहीबाट गएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउापालिका– ५ का मधु शाह, गंगाराम चौधरी, सुकराम चौधरी र रामबहादुर चौधरी छन् । हतियारसहितका सिकारी रहेको जानकारी पाएपछि सहायक वन अधिकृत सिद्धान्त बराल नेतृत्वको गस्ती टोलीले प्रहरी सहयोग मागेको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी र वनकर्मीहरूले वन क्षेत्रमा व्यापक खोजतलास गरेपछि सिकारी पक्राउ परेका थिए ।
५ वैशाखमा बबई गाउँपालिका– ७ हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट वन गस्ती टोलीले सिकार गर्न प्रयोग गरिएको भरुवा बन्दुक, बारुद र गोली बरामद गर्यो । चोरी–सिकार हुने गरेको सुराकीका आधारमा पुरन्धारा सवडिभिजन वन कार्यालयबाट गएको गस्ती टोलीले सिकारीले प्रयोग गर्ने एक थान भरुवा बन्दुक, बारुद, २ थान सिसा गोली र ३ थान बेरिङ बरामद गरेको हो । वन गस्ती टोलीलाई देखेपछि सिकारी बन्दुर फालेर भागेका थिए । उनीहरूको खोजी जारी रहेको वन कार्यालयले जनाएको छ ।
११ वैशाखमा तुलसीपुर उपमहानगर– १५ पतकौलीस्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट घाइते चित्तलको जीवितै उद्धार गरियो । नदी उकास क्षेत्रमा वृक्षारोपण गरी बनाइएको वनबाट गाउँनजिकै रहेको वनमा चर्न आएको चित्तललाई स्थानीय युवाहरूले सिकार गर्ने क्रममा घाइते बनाएका थिए । स्थानीय दुई गाउँका युवाले चार वटा कुकुर प्रयोग गरेर मार्न लागेको सूचना पाएपछि डिभिजन वन कार्यालयबाट गएको टोलीले चित्तललाई फेला पारेको हो ।
चित्तललाई सामुदायिक वनको भवनमा थुनेको अवस्थामा फेला पारिएको थियो । वन टोली आएको थाहा पाएपछि युवाहरू चित्तल थुनेर भागेका थिए ।
१३ वैशाखमा डिभिजन वन कार्यालय दाङको टोलीले लोपोन्मुख हुचिलको बच्चा र घाइते जनावर ओतको उद्धार गर्यो । तुलसीपुर उपमहानगर– १८ हेमन्तपुरबाट लोपोन्मुख पन्छा हुचिलको बच्चा र घाइते ओतको उद्धार गरिएको थियो । सिकारीले गुलेली हानी घाइते भएको ओत र हुचिलको बच्चा बस्ती नजिक आएपछि स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । घाइते जनावरको उपचार गरी पुन: जंगलमै छाड्ने गरेको वन कार्यालयले जनाएको छ ।
१७ वैशाखमा चित्तल मारेको आरोपमा लमहीमा दुई जना पक्राउ परे । पक्राउ पर्नेमा लमही नगरपालिका– ९ रिहारका झग्गु वली र मानसिंङ वली छन् । १६ वैशाख बेलुका चित्तल पानी खान रिहारको तलाउमा आएका बेला ढुंगा र दाउराले हानेर मारेका कारण उनीहरूलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।
काठ तस्करी पनि उस्तै
१० चैतमा तुलसीपुर उपमहानगर– १८ स्थित रानी सामुदायिक वनमा सालका दुइटा रुख काटी गोलिया बनाई लैजान थालेको अवस्थामा १६ वटा गोलिया काठसहित ट्याक्टर बरामद भयो । ११७.२१ घनफिटको उक्त गोलियासहित रा१त११७७ नम्बरको ट्याक्टर र तस्करीमा संलग्न ट्याक्टर मालिक घोराही उपमहानगर– १२ रतनपुरका सुदन गिरीलाई पक्राउ गरिएको थियो ।
२२ चैतमा घोराही उपमहानगरको ज्यामिरे खोलास्थित भालुचिप्ला सामुदायिक वनमा गोलिया काठ चिरान भइरहेको अवस्थामा १ सय १२ घनफिट काठ र कटानमा प्रयोग भएको हतियार फेला पर्यो । तत्कालीन अवस्थामा तस्करी गर्नेहरू फेला नपरे पनि विशेष सूचनाको आधारमा २७ चैतमा वनको गस्ती टोलीले स्थानीय पूर्णबहादुर राउलेलाई पक्राउ गर्यो ।
२३ चैतमा बबई गाउँपालिका– ५ स्थित खयरभट्टी सिमगैरा सामुदायिक वनमा अतिक्रमण गरी करिब २ हेक्टरमा लगाइएको फलफूल र नगदेबाली हटाइयो । २४ चैतमा दंगिशरण गाउँपालिकाको सिमठाना सामुदायिक वनमा सिसौ र खयर प्रजातिका ५५ वटा रुख काटिएको भेटियो । घटनामा वन समूह कार्यसमिति पदाधिकारी नै संलग्न रहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइयो ।
२६ चैतमा घोराही उपमहानगर–१ सिरुखर्कमा सालका ४ थान गोलियासहित स्थानीय शोभाराम महरा पक्राउ परे । उनी १० वर्षदेखि नै काठ तस्करीमा संलग्न रहेको डिभिजन वन कार्यालयले जनाएको छ । उनले अवैध काठ ओसारपसारमा प्रयोग गरेको रा१त३९४१ नम्बरको ट्याक्टरसमेत नियन्त्रणमा लिइएको छ । २७ चैतमा नेपाली सेनासँगको समन्वयमा तुलसीपुर–१३ फूलबारीबाट अवैध रूपमा काठ–दाउरा ओसारपसार गरिरहको रा१त२३९५ नम्बरको ट्याक्टरसहित चालक गोपाल चौधरीलाई पक्राउ गरियो ।
लकडाउनको मौका छोपी भएका वन क्षेत्र चोरी तस्करीका महत्त्वपूर्ण उदाहरण हुन् । लकडाउनमा मानिसको चहलपहल कम भएपछि वन्यजन्तु पनि बस्ती नजिक आइरहेका छन् । यसले गर्दा पनि तस्करलाई सिकार गर्न सहज भइरहेको डिभिजन वन कार्यालयल दाङका सूचना अधिकारी खिमबहादुर केसी बताउँछन् । जंगलमा मानिस कम जाने भएकाले काठ चोरी निकासी गर्न पनि तस्करहरूलाई सहज भइरहेको केसीको तर्क छ ।
“यो वन्यजन्तु प्रजननको समय हो । केही वन्यजन्तु बच्चा चराउन पनि निस्कन्छन् । यस कारण यो समय वन्यजन्तुको गतिविधि बढी नै हुन्छ,” भन्छन्, “यस्तो बेला सिकारीहरू पनि सक्रिय हुन्छन् । बच्चासहितका वन्यजन्तु धपाउने, आगो लगाएर अप्ठेरोमा पार्ने गर्छन् ।”
लकडाउनसँगै वन सिकारीहरूलाई झनै सजिलो भएको केसी सुनाउँछन् । लकडाउनकै कारण तस्करी गर्दै आएका मानिस सक्रिए भएको केसी बताउँछन् । “केही तस्करी गर्दै आएका मानिस छन् । कतिपय त लकडाउनका बेला फुर्सद भएपछि सिकार गर्न गएको पाइयो,” भन्छन्, “गस्ती र पक्राउ गर्ने क्रम बढाएपछि तस्करहरू तर्सिएका छन् । विस्तारै कम हुँदै गएको छ ।”
अहिले वन्यजन्तु र वनजन्य वस्तुको तस्करीविरुद्ध चेतनामूलक अभियानहरू पनि सञ्चालन गरिरहेको उनको दाबी छ ।
रातदिन गस्ती
वन्यजन्तु चोरी सिकार र वनपैदावर तस्करी मौलाएसँगै डिभिजन वन कार्यालयले रातदिन गस्ती बढाइरहेको छ । जिल्लास्थित आठ वटै सवडिभिजन कार्यालयबाट सबै कर्मचारीलाई चरणबद्ध रूपमा राती तथा दिवा सत्रमा खटाई गस्ती गर्ने गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवाली बताउँछन् ।
लकडाउन अवधिमा मात्रै १६ वटा वन मुद्दामा २१ मानिस पक्राउ परेका छन् । ज्ञवालीका अनुसार लकडाउन अवधिमा एक एक्जाभेटर, ४ ट्याक्टर, ४ मोटरसाइकल, २ भरुवा बन्दुक र गोली/बारुद बरामद भएको छ ।
“लकडाउनको मौका छोपी तस्करी बढ्यो । प्रायश: तस्करी नहुने नयाँ ठाउँहरूमा समेत अहिले भएको छ,” ज्ञवाली भन्छन्, “लामो सयमदेखि तस्करीमा संलग्न पेशेवरहरू नै अहिले पक्राउ परेका छन् । वनमै रुख काटिरहेको र वन्यजन्तुको सिकार गरिरहेको अवस्थामा तिनलाई फेला पारेका छौँ ।”
सामान्यत: ५ जना सम्मलाई नियन्त्रणमा राख्न सकिने क्षमताको सशस्त्र वन सुरक्षा शाखाको थुनामा अहिले दर्जन बढी राख्नु परेको ज्ञवालीको तर्क छ । उनका अनुसार पहिले एउटा मात्रै कोठा रहेकामा थुनुवा बढेपछि थप तीन कोठा पनि थुनाका लागि प्रयोग भएको छ ।
गस्ती टोलीमा १ अधिकृत, १ रेन्जर वा फरेस्टर स्तरका सहायक कर्मचारी तथा सम्बन्धित सवडिभिजनका सहयोगी कर्मचारी २ जना र वन कार्यालयका सशस्त्र सुरक्षा बलका ३ जना समावेश रहेको ज्ञवाली बताउँछन् । बढी चोरी तस्करी तथा चोरी सिकारीका घटना हुने धर्नाको धारापानी, रज्जे, रामपुर, सुनपुर, लक्ष्मीपुर, बबईको हापुरे, पुरन्धारा, कालाखोला, शान्तिनगर, दंगीशरण, फूलबारी अमिलिया, नारायणपुर, बिजौरी, बंगलाचुली, तुलसीपुर र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गस्ती बढाइएको उनको दाबी छ ।
वनमा शून्य डढेलो अभियान
वनमा भइरहेको तस्करी नियन्त्रणसँगै शून्य डढेलो अभियान पनि थालिएको छ । ‘शून्य वन डढेलो महाअभियान’ नाम दिइएको उक्त कार्यक्रमको पहिलो चरणमा डिभिजन वन कार्यालय दाङ मातहतका ८ वटा सवडिभिजन वन कार्यालयलाई तीन जोखिम क्षेत्रमा विभाजन गरी सुरुआत गरिएको छ ।
ती क्षेत्रमा पर्ने सबै वन समूहमा डढेलोको संवेदनशीलताका आधारमा जोखिम क्षेत्र पहिचान गरी डढेलो जोखिम नक्सा तयार गरिएको छ ।
जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा बाँडिएको छ । यसअन्तर्गत उच्च जोखिममा ८३ वन समूह परेका छन् । त्यस्तै, मध्यम खाले जोखिममा ४६ र सामान्य जोखिम क्षेत्रमा ४४ वटा वन समूह रहेको ज्ञवाली बताउँछन् । अहिले शून्य वन डढेलो अभियानमा ९२ वटा वन समूह सक्रिय रहेको उनले जनाए । ज्ञवालीका अनुसार ८१ वटा वन समूह भने वन डढेलो नियन्त्रणमा निस्क्रिय छन् ।
बबई गाउँपालिका एवं घोराही उपमहानगरअन्तर्गतका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वन क्षेत्र डढेलोको उच्च जोखिममा रहेको ज्ञवाली सुनाउँछन् । उनका अनुसार बंगलाचुली र दंगीशरण गाउँपालिकाअन्तर्गतका वन क्षेत्र मध्यम जोखिममा तथा तुलसीपुर उपमहानगर र घोराही उपमहानगरको नारायणपुर तथा हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा छन् ।
शून्य डढेलो रणनीति
वन डढेलो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन रणनीति तयार गरिएको छ । दीर्घकालीन रणनीतिअन्तर्गत ठूलो आकारमा फैलिएका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा अग्निरेखा निर्माण गर्ने, वन तथा वन्यजन्तु चोरी निकासीमा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, डढेलोको मुख्य कारण मानिएको खरघाँसको व्यवस्थापनका लागि कागज उद्योग स्थापना गर्न पहल गर्ने, सुरक्षा निकायहरूसँग नियमित समन्वय र सहकार्य गर्ने, सामुदायिक वन उपभोक्ता तथा वन कर्मचारीको चेतना अभिवृद्धिलगायत रणनीति तयार भएको छ ।
त्यस्तै, अल्पकालीन रणनीतिअन्तर्गत वन क्षेत्रमा रहेका ज्वलनशील पदार्थ जस्तै, सुकेका खरघाँस, पत्कर, स्याउला, सोत्तर, मसिना दाउरा समयमै व्यवस्थापन गर्ने, वन क्षेत्रको नियमित गस्ती गर्ने, अग्नि नियन्त्रण सामग्री व्यवस्थापन र नियन्त्रण दस्ता परिचालन गर्ने, सञ्चार माध्यमबाट सचेतनामूलक कार्यक्रम प्रकाशन तथा प्रसारण, डिभिजन वन कार्यालयमा अग्नि नियन्त्रण कक्ष सञ्चालनलगायत कार्यक्रम समेटिएका छन् ।
वन क्षेत्रमा डढेलो लाग्नुमा चोरी सिकारी पनि मुख्य कारण रहेको डिभिजन प्रमुख ज्ञवाली बताउँछन् । “चोरी सिकारी गर्नेहरूले जथाभावी आगो लगाइदिन्छन् । यसका कारण पनि गस्ती बढाइएको छ,” भन्छन्, “हरेक डिभिजन कार्यालयबाट रातदिन गस्ती भइरहेको छ । यसबाट चोरी सिकारी र डढेलो दुवै नियन्त्रण भएको छ । नियमित गस्ती भएपछि आगलागी भए पनि तत्काल थाहा हुन्छ र नियन्त्रण गर्न सकिन्छ ।”
पैदल यात्रु, सवारी चालक, सहचालक र लुकेर लागूपदार्थ, धूमपान गर्नेहरूले असावधानीपूर्वक चुरोटका ठुटा फाल्नु पनि आगलागीको कारण रहेको वन कार्यालयले जनाएको छ । यसैगरी वन्यजन्तुका पाठापाठीलाई तिनका आमाबाट छुटाई पक्रन, काठ चोरी तस्करी गर्न, वन्यजन्तुको सम्भाव्य आक्रमणबाट बच्न एवं वनमा डढेलो लगाए राम्रो घाँस र च्याउ उम्रन्छ भन्ने गलत सोचले समेत डढेलो लगाउने गरेको डिभिजन वन अधिकृत ज्ञवाली बताउँछन् ।
जनचेनताको कमी, वन क्षेत्रमा निर्माण गरिएका सञ्चार टावरहरूले टावर सुरक्षाका लागि अनियन्त्रित आगो लगाउने, निकुञ्जले घाँसे मैदान व्यवस्थापन गर्ने, निजी जग्गाधनीले खेतबारीमा रहेका अनावश्यक झार तथा बुट्यान जलाउने, वन क्षेत्रमा कोइला पोल्ने, अरिंगाल गोला पोल्ने, मेलापात जाँदा चुरोट खाई त्यत्तिकै फाल्नेलगायत कारणले वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।
आगलागीको क्षति
पछिल्लो सात वर्षमा विभिन्न ४ सय ६३ स्थानमा लागेको डढेलोका कारण ४२ हजार ६ सय १९ हेक्टर वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालयले जनाएको छ । उक्त डढेलोबाट एक जनाको ज्यान गएको छ भने ९ घर जलेर नष्ट भएका छन् । वन क्षेत्रमा घाटगद्दी गरी राखिएको ५ सय ३४ क्युफिट काठ जलेर नष्ट भएको छ । हजारौँ बहुमूल्य वनस्पति नष्ट भएका छन् । वन डढेलोका कारण वन्यजन्तुको वासस्थान नासिएको छ । अब यस्तो नोक्सानी हुन नदिन सतर्कता अपनाइएको वन कार्यालयले जनाएको छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...