वर्ग विभाजन कोरेको कोरोना महाव्याधि
कोरोना भाइरसको पहिलो सिकार बन्न गएको छ : समाजको पीँधमा रहेको कमजोर वर्ग । गरिब, सुकुम्बासी, मजदुर र आप्रवासी कामदार यसका सिकार बन्न पुगेका प्रमाण यथेष्ट छन्
कोभिड–१९ महाव्याधिको यस समय संसारभर एउटा लोकप्रिय तथा अमूर्त भ्रम व्याप्त छ । महामारीले वर्ग, जात, उमेर, धर्म, लिंग, केही भन्दैन । यो पूर्ण सत्य होइन ।
वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय र राष्ट्रिय पूर्वाग्रह बोकेको व्यवस्थामा अहिलेको कोरोना महाव्याधिबाट समाजको शक्तिविहीन तथा आवाजविहीन तप्का नै बढी मारमा परेको देखिन्छ । यसबाट राजनीतिक, आर्थिक रूपमा कमजोर तथा शक्तिविहीन वर्ग र उमेरको हिसाबले ज्येष्ठ नागरिक, असक्त, तथा दीर्घरोगी बढी मारमा परेका छन् । समाजको पीँधमा रहेको कमजोर वर्ग जस्तै, गरिब, सुकुम्बासी, मजदुर र आप्रवासी कामदार यसको पहिलो चपेटामा परेका छन् ।
दुई किसिमले यो वर्ग बढी प्रताडित हुने देखिन्छ । उद्योग तथा व्यापार/व्यवसाय ठप्प हुँदा अनन्त पुँजी र नाफालाई मान्छेभन्दा ठूलो ठान्ने व्यवस्थाबाट यही तप्का सबभन्दा पहिला कामबाट निकालिने सम्भावना छ । यसरी एकातिर उनीहरूले जागिर गुमाउनुपर्ने स्थिति छ । अर्कोतिर संक्रमणको पहिलो कुरूप छनोट तथा उच्च जोखिममा यही वर्ग पर्ने देखिएको छ ।
सेल्फ आइसोलेसनमा बस्नुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने यो समय यी दुवै सुविधा गरिब, मजदुर तथा सुकुम्बासीलाई छैन । उपल्लो वर्ग (व्यापारिक तथा प्राविधिक वर्ग, नेता र सहरी प्रशासक) लाई जस्तो भाइरसको डरले आफ्ना हबेलीका पर्खालभित्र लुक्न र कृत्रिम बौद्धिक साधनका माध्यमबाट घरैबाट काम गर्ने सुविधा यो वर्गलाई हुँदैन ।
भीडभाडपूर्ण बसोबास तथा असुरक्षामा बाँच्न बाध्य सुकुम्बासीलाई त झनै भौतिक दूरी कायम गर्ने र घरैबाट काम गर्ने कुरा भयंकर द्विविधापूर्ण छ । सुकुम्बासीको बस्ती कति भीडभाडयुक्त छ भन्ने दिल्लीको सुकुम्बासी बस्तीको जनघनत्व गैरसुकुम्बासीको भन्दा दसदेखि सय गुणा बढी र न्युयोर्क सहरमा यो दर तीस गुणा बढी हुनुले पनि पुष्टि गर्छ ।
गरिबी, अभाव र दीर्घ रोगका कारण भौतिक दूरी तथा अन्य सावधानी अपनाउँदा अपनाउँदै पनि महामारीको समय यस्ता क्षेत्र डेंगु र इन्फ्लुयन्जाको जोखिममा हुन्छन् । गलत दिशा पक्रेको राजनीति र अर्थतन्त्रमा महामारी पनि वर्ग सचेत भइदिन्छ ।
सन् २०१४ र २०१६ बीच पश्चिम अफ्रिकामा देखिएको इबोला मूलत: लाइबेरिया, गिनी तथा सियरालियोनका घना सहरी क्षेत्रका गरिब तथा सुकुम्बासी बस्तीमा फैलिएको थियो । त्यसैले यस महाव्याधिमा विश्वभरिकै करिब एक अर्ब सुकुम्बासी उच्च जोखिममा बाँचिरहेका छन् । सुकुम्बासी बस्ती मुम्बई (भारत) को धारावी, पाकिस्तानको कराँचीस्थित ओरन्गिटाउन, मनिला (फिलिपिन्स) को पयाटासमा त कोरोनाका बिरामीको पहिचान पनि भइसकेको छ ।
त्यस्तै, यो महाव्याधिको कुरूप पहिलो छनोटमा संसारभरका अर्बौं मजदुर देखिएका छन् । जस्तै, अमेरिका तथा युरोपेली हवाई सेवा, खाद्यान्न पसल, ग्यास स्टेसनमा काम गर्ने आप्रवासीदेखि नेपाल र भारतका मजदुर संक्रमणको उच्च जोखिममा छन् । नेपाल, भारतमा यसका जिउँदाजाग्दा परिदृश्य देखिए ।
मजदुर सबभन्दा असल नवउदारवादी कर्ता हो किनभने उसले आफ्नो दु:खलाई आफ्नै भाग्यको नियति मान्छ । तर यसैबेला नेपाली मजदुरले उनीहरूको दु:खको कारण आफू नभई कागजमा समाजवादी लेखेको दलाल र परनिर्भर पुँजीवादी राज्य हो भन्ने थाहा पाए । छिमेकी चीनले समयमै चाहिने स्वास्थ्य सामग्रीको लिस्ट माग्दा सुन्दै नसुनेजस्तो अभिनय गर्दै सरकारले देश कोरोनामुक्त भएको डिङ हाँक्यो । साथै, विपद् तयारीको महत्त्वपूर्ण समय अमेरिकी नयाँ रणनीतिक विकास कार्यक्रम एमसीसीको वकालतमा खेर फाल्यो ।
कुनै पूर्वतयारीबिनै प्रदेश र स्थानीय सरकारसँग समन्वय नै नगरी लकडाउन घोषणा गर्यो । त्यसपछि तत्काल जागिर गुमाउन सक्ने गरिब तथा मजदुरका लागि राहत प्याकेज ल्याउनुपर्ने अर्थमन्त्री लामो समय सार्वजनिक वृत्तमै देखा परेनन् ।
भारतले पनि बिनापूर्वसूचना नै लकडाउन घोषणा गरेको थियो । उद्योग र निर्माणका कामबाट हटाइएका मजदुर त्यहाँका विभिन्न सहरबाट आफ्नो घर फर्कन लङमार्चमा निस्किए । यसरी निस्कनेमा नेपालको सीमा आसपास जिल्ला घर भएका भारतीय मजदुर बढी थिए । सयौँको संख्यामा आप्रवासी नेपाली मजदुर पनि नेपाल फर्किन हिँडे ।
भारत र नेपाल दुवैतर्फका मजदुरले प्रहरीको डन्डा, लात्ता र बुट खाए । उनीहरूले बाटोमा धेरै प्रताडना भोग्नुपर्यो । बन्दाबन्दी उल्लंघनको सजायस्वरूप भ्यागुता शैलीको उफ्राइमा तिनले बीसौँ किलोमिटर हिँड्नुपर्यो । बढी दु:ख पाउनेमा भारतीय मजदुर थिए ।
उनीहरू टाढाटाढाका सहरबाट हिँडेका थिए । बरेलीमा त एउटा ठूलो श्रमिकको समूहमाथि रासायनिक स्प्रेसमेत छरियो । दसौँ दिन लामो बाटो हिँडेर घर फर्किनेमा कयौँ बूढाबूढी, महिला, र केटाकेटी पनि थिए । कतिपय भारतीय मजदुरको बाटैमा मृत्यु भयो ।
रोजगारी गुमेपछि हप्तौँ हिँडेर भारतीय प्रहरीको लाठी/बुट खाँदै देशको सीमानाकासम्म आइपुगेका नेपालीलाई आफ्नै भनिएको देशले झनै विभेदपूर्ण व्यवहार गर्यो । जस्तो, दार्चुलापारिसम्म आइपुगेका सयौँ मजदुरले आफ्नो देश प्रवेश गर्न महाकाली नदीको पानी स्पर्स गर्दै, नांगै/भोकै तीन दिनसम्म नाराबाजी गरिरहे पनि राज्यले उनीहरूको आवाज सुनेन र तिनलाइ वारि आउन दिएन । तिनलाई रोक्न राज्यले प्रमुख जिल्ला अधिकारीमार्फत नयाँनयाँ प्रपञ्च रचिरह्यो ।
प्रतिरोधस्वरूप ज्यानको बाजी थाप्दै हाम फालेर नदी तरेर दार्चुलावारि आएका युवालाई प्रहरीले हतकडी लगाएर नांगै घुमायो । देशको ढोकैमा पुगेका हजारौँलाई पारिपट्टि नै लखेटेर अव्यवस्थित क्वारेन्टाइनमा भेडाबाख्राजस्तो कोचिएर बस्न बाध्य बनायो ।
यसैबीच महाकालीपारि आफ्नी आमा गुमाएर उतै किरिया बसेका युवालाई स्वदेश ल्याउने निर्णय गर्न सरकारलाई सात दिन लाग्यो ।
महाकाली नदीले उनीहरूका निम्ति वर्गीय पर्खालकै रूपमा काम गर्यो । यसका बाबजुद पनि सयौँले ज्यानको बाजी थापेर हाम फालेर नदी तर्ने क्रम रोकिएन । भारत उत्तरप्रदेशस्थित रामपुरमा पनि बजाङका ९३ जना दूषित पानी, एक छाक खानाको भरमा ४० दिनदेखि एउटै कोठाको सिमेन्टीको भुइँमा कोचिएर बसिरहेका छन् । दुई देशबीच सहमति छ भन्दैमा सरकारले आफ्ना नागरिकलाई यसरी डेथ ट्रयापमा धकेल्न मिल्दैन ।
यतिबेला कमसेकम भिखारी मानसिकता त्यागी नेपाली सेना तैनाथ गरेर सीमा क्षेत्रमा हजारौँको संख्यामा व्यवस्थित क्वारेन्टाइनसहित चेकजाँचको व्यवस्था गर्ने समय हो । राम्रो जाँच र व्यवस्थित क्वारेन्टाइन नभएका कारण लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । आपतमा भारत वा अन्य कुनै देशबाट घर फर्कन चाहने लाखौँ आफ्ना नागरिकलाई रोक्नु भनेको तिनको जीवनलाई अवमूल्यन गर्नु हो ।
नेपालमा पहिलो चरणको लकडाउनको समाप्तिपछि यस्तै कहालीलाग्दा दृश्य देशभित्रै पनि देखिए । निर्माण व्यवसाय तथा ठेकापट्टा र इँटाभट्टामा काम गर्ने मजदुर कामबाट गलहत्याइएपछि उनीहरू आफ्नो घर फर्किन काठमाडौँबाट कैलाली, सोलुखुम्बुदेखि बर्दिया, काठमाडौँदेखि सुनसरीसम्मको लङमार्चमा निस्किए । उनीहरूले भोगेको सास्ती, भोक, प्यास, खुट्टामा उठेका ठेलाको वर्णन गरिसाध्य छैन । बथानका बथान हँसिया–हथौडा अंकित टिसर्ट र खुट्टामा साधारण चप्पल लगाएका ठूलो संख्याका मजदुर कहिले खाली खुट्टामा बाटो नाप्दै त कहिले ट्रकमा कोच्चिँदै हप्तौँ हिँडेर आफ्नो घरतर्फको लामो यात्रामा निस्किए । अझै पनि यात्रा रोकिएको छैन । यस्तो बेला उनीहरूका निम्ति समाजवादी राज्य कतै देखा परेन ।
मजदुरलाई यहाँ कसैले मान्छे गनेन । यद्यपि केही स्थानीय सरकारले मजदुरलाई खाना खुवाए र संकटमा चाँदीको घेराको रूपमा प्रकट भए । जबकि संसारका धेरैजसो देश समाजको सम्पत्तिविहीन तथा शक्तिविहीन वर्ग जोगाउनपट्टि लागे । जस्तो, स्क्यान्डिनेभियन मुलुक नर्वे, स्वीडेन, डेनमार्कले निजी उद्योग तथा निर्माण कम्पनीलाई कोभिड– १९ को अवधिभर कामबाट ननिकाल्न र तलब तथा ज्याला दिइरहन बाध्यकारी बनाए । त्यस्तै, पूर्वीएसिया, अमेरिका तथा तथा युरोपले पनि समाजको कमजोर तप्कालाई नि:शुल्क उपचार, भोजनदेखि नगद हस्तान्तरणसम्मका कार्यक्रम ल्याए र विपद्सँग सामना गर्न ठूलो धनराशि लगानी गरिरहेका छन् ।
हाम्रै छिमेकी भारतको केरला राज्यले कमजोर वर्गलाई जोगाउन र संक्रमण फैलन नदिन करिब २० खर्ब विपद् कोषमा लगानी गर्यो । पहिल्यैदेखि मानब विकासमा अब्बल केरलाले मल्याली चमत्कारमार्फत कोरोनालाई पनि जितिरहेको छ । नेपाल भने लकडाउन समय कमजोर वर्गको सुरक्षा गर्ने मामलामा नराम्ररी चुक्यो । निजी क्षेत्रमा काम गर्नेलाई वैशाखसम्मको आधा तलब दिने आदेश दिएर गोहीको आँसु चुहाएर मात्र सरकारको जिम्मेवारी पूरा हुँदैन । जबकि यो महाव्याधिबाट विश्व बाहिर आउन अझै डेढदेखि दुई वर्ष लाग्ने आकलन गरिएको छ ।
लकडाउनको ४७ दिन बितिसक्दा पनि गरिब तथा मजदुरलाई कुनै राहत दिइएको छैन र कोरोनासँग लड्न कुनै ठूलो लगानी घोषणा गरिएको छैन । गरिब तथा मजदुरलाई जोगाउने कुनै कार्यक्रम नभएपछि उनीहरू कोरोनाको मतलब नगरी हिँडेका हुन् । यो सब गर्न अर्थमन्त्री वार्षिक बजेट अधिवेशन कुरिरहेका छन् । सरकारले यस महाव्याधिका निम्ति ठूलो बजेट छुट्याउन कन्जुस्याइँ गरिरहेको छ । उसको ध्यान आफ्ना वितरणमुखी आयोजना तथा असारे विकासमै केन्द्रित भएको देखिन्छ ।
नेपालगन्जजस्तै देशमा अरू पनि थुप्रै हटस्पट हुन सक्छन् । रकेटको गति र फराकिलो दायरामा टेस्ट नभईकन कहाँ कति संक्रमण छ, यसै भन्न सकिँदैन । यसका लागि लगानी चाहिन्छ । कमजोर वर्गलाई जोगाउने ठोस कार्यक्रम ल्याउन छाडेर निर्माण ठप्प भएको समय पनि विकासको नाम जप्नु कमिसनका लागि हो भन्ने कुरा प्रस्टै छ ।
नेपालबाट तेस्रो देशमा श्रम गर्न गएका श्रमिकहरू पनि कामबाट धमाधम निकालिँदै छन । सरकारले जो जहाँ छन्, तिनका निम्ति टेलिफोनमार्फत काम गरेको अभिनय गरिरहेको थियो । अहिले पनि देशभित्रका उद्योग सिध्याउने, मान्छे बेचेर धनी बनाउने सपना बाँड्ने तथा श्रमिकले पठाएको रेमिट्यान्सबाट आर्थिक वृद्धिको भ्रम बाँड्ने मिति गुज्रेका अर्थशास्त्रीको सल्लाहमै देश चलिरहेको छ । तर भर्खरै रोजगारी गुमाएका करिब ४ लाखलाई खाडी मुलुकबाट आफैँ नेपाल ल्याएर छाडिदिने खबर आयो ।
देशभित्र हालसम्म कसैको मृत्यु नभए पनि कोरोना संक्रमणबाट विदेशमा सयौँको संख्यामा नेपाली नागरिकको ज्यान गइसक्यो । विभिन्न कारणले ज्यान गएका १ सय ११ श्रमिकका कफिन–बक्स खाडीमा अलपत्र छन् । कतिपय संक्रमित र असंक्रमित एकै ठाउँ बस्न बाध्य आप्रवासी नेपाली एवं तिनका आफन्तलाई कस्तो भएको होला ? यसरी रोजगारीका लागि विदेश भौतारिएका सम्पूर्ण ७० लाख नेपाली संक्रमणको उच्च जोखिममा छन् । गरिब देशका धनी शासक उनीहरू देश फर्के आफ्नो स्वास्थ्यमा असर पर्छझैँ गरिरहेका छन् ।
रेमिट्यान्सबाट चल्ने देश सधैँभरि यस्ता सरुवा रोगको जोखिममा रहन्छन् । अहिले देशको आँखा बजेटमा छ । सरकारले कमजोर वर्गलाई जोगाउँदै कोरोनाविरुद्ध लड्ने र शिक्षा, स्वास्थ्य एवं उद्योगको प्रवद्र्धन गर्ने बजेट ल्याउँछ वा पहिलेजस्तै धनीमानी पोस्ने वितरणमुखी बजेट । त्यो भने हेर्नै बाँकी छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...