कोरोना संक्रमित पत्रकार के भन्छन् ?
संक्रमितले आफ्नो पहिचान लुकाइरहेका बेला सञ्चारकर्ममा क्रियाशील चार जना कोरोना पोजेटिभ पत्रकारले खुलेरै आफ्ना अनुभव बाँडिरहेका छन्

नियमित फिल्डमा खटिने कपिलवस्तुका चार सञ्चारकर्मीमा जेठ दोस्रो साता कोरोना संक्रमण देखियो । उनीहरूमध्ये २ जना सेल्फ आइसोलेसन बनाएर कार्यालयमै र २ जना बुटवलको कोरोना आइसोलेसन सेन्टरमा छन् ।
कोरोना कहरको सुरुमा अरू व्यक्तिसरह उनीहरू पनि विचलित बने । तर जब परामर्श पाउँदै गए, तिनमा आत्मबल बढ्यो । अन्य रोग नभएका र कोरोना पोजेटिभ भए पनि लक्षण नदेखिएका उनीहरू स्वस्थ व्यक्तिसरह छन् । नियमित आहारविहार र इमेल/इन्टरनेटबाटै दैनिक काम गरिरहेका छन् ।
कोरोना संक्रमित व्यक्तिको पहिचान लुकाइरहेका बेला उनीहरू खुलेरै आफ्ना अनुभवसमेत बाँडिरहेका छन् । “कोरोना संक्रमण जोकोहीलाई, जतिसुकै बेला पनि हुन सक्दो रहेछ,” पत्रकार जानु पाण्डे भन्छन्, “त्यसैले हामी ४ जना खुलेरै आफ्ना अनुभव बाँडिरहेका छौँ ।”
यसले समाजमा संक्रमितलाई हेर्ने हेलाँहोचोको भाव घट्ने र कोरोना संक्रमण हुँदैमा मरिहालिन्छ भन्ने त्रास घट्ने उनले दाबी गरे ।
त्यसमध्येका अर्का पत्रकार हुन्, वसन्त बन्जाडे । कोरोना संक्रमण पुष्टि भएपछि उनी छाँगाबाट खसेझैँ भए । हातखुट्टा कामे । मन डरायो । पत्नी र ४ वर्षे नाबालक छोरालाई सम्झेर धुरुधुरु रोए । माहुरी होममा समेत काम गर्ने बन्जाडेले त्यहाँ रहेकै बेला कोरोना भएको थाहा पाएका थिए । यसपछि आफू रिपोर्टिङमा जाँदा भेटिएका र बुटवलको अस्पतालबाट निको भएर घर फर्केका संक्रमितलाई सम्झे ।
“झट्ट हेर्दा मलाई केही भएको छैन । रोगलाई जित्छु भनेरै अठोट लिएँ,” वसन्त भन्छन्, “त्यसपछिबाट आत्मबल कहिल्यै गुमाइनँ ।” संक्रमण पुष्टिपछि उनले पत्नी, छोरासहित आफूसित छोइछिटो भएका व्यक्तिलाई सम्पर्क गरेर सुरक्षित रहन भने ।
१० दिनअघि अर्थात् ९ जेठमा कोरोना देखिएका तिनै वसन्त अहिले कार्यालयका कोठालाई नै आइसोलेसन सेन्टर बनाएर बसेका छन् । उनीसँगै अर्का संक्रमित पत्रकार पनि छन् ।
नियमित आहारविहारका साथै झोल खानेकुरा र तातोपानी बढी खाएका छन् । कार्यालयको काम पनि भ्याएकै छन् । वसन्त भन्छन्, “सामान्य व्यक्तिसरह छु । कुनै समस्या छैन । कोरोना पोजेटिभ हुनासाथ अस्पताल जानैपर्ने वा मरिन्छ भनेर डराउनैपर्ने रहेनछ भन्ने भएको छ ।”
वसन्तका घरपरिवार र सम्पर्कमा रहेका व्यक्तिको स्वाब परीक्षण गर्दा कसैमा कोरोना पोजेटिभ देखिएन । यसमा उनी अझ सन्तुष्ट छन् । “खुसी–खुसी कोरोना जितेर घर जाने विश्वास पलाएको छ । सुरक्षित बसाइ र आत्मबल नै ठूलो कुरा रहेछ ।”
नियमित फिल्डमा खटिने कपिलवस्तुस्थित एक टेलिभिजन सञ्चारकर्मी योगेश पाठक पनि कोरोना संक्रमित भए । ९ जेठमा कोरोना पोजेटिभ भएको थाहा पाउँदा उनी केही बेर अत्तालिए । के गर्ने/नगर्ने खुट्याउन सकेनन् । आफन्तलाई जानकारी गराएर नआत्तिन भने । तर उनको शरीरले थात छाड्यो । मन बेस्सरी रोयो । विस्तारै कार्यालय सहकर्मीहरू ढाडस दिन आए । चिनजानका स्वास्थ्यकर्मीले फोन गरे । आफैँले समाचार बनाएका अन्य संक्रमित सम्झे अनि सम्हालिए ।
सुरुमा कपिलवस्तुमा आइसोलेसन सेन्टर वा कोरोना अस्पताल थिएन । त्यसै बेला साथी वसन्तले सँगै बस्ने प्रस्ताव राखे । अनि, योगेश तौलिहवास्थित माहुरी होमको कार्यालय गए, जहाँ १० दिनदेखि बसिरहेका छन् ।
“मलाई एकदम ठीक छ,” योगेश सुनाउँछन्, “सामान्य व्यक्तिसरह आइसोलेसनबाटै नियमित काम र खानपानमा ध्यान दिइरहेको छु ।” कोरोना संक्रमण देखिए पनि उनमा कुनै लक्षण छैन । न त अन्य रोगको संक्रमण नै ।
कपिलवस्तुकै पत्रकार सरिता थारुमा १० जेठमा कोरोना संक्रमण देखियो । सँगै काम गर्ने योगेशमा संक्रमण देखिएपछि सरिता त्यसलगत्तै आत्तिइन् । निकै बेर रोइन् । आफ्नै कारण बाबुआमा र घरपरिवारलाई पनि सरे होला भन्ने चिन्ताले पिरल्यो । सहकर्मीले सम्झाउन खोज्थे । उनको आँसु थामिएन ।
बिहान ८ बजे कोरोना पुष्टि भएकी उनलाई बुटवल ल्याउन दिनभर एम्बुलेन्स खोज्दा पनि भेटिएन । राती करिब १० बजे प्रहरीको गाडीले बुटवलको कोरोना विशेष अस्पताल पुर्यायो । त्यसपछि चिकित्सकीय परामर्श र स्वास्थ्य जाँच गरियो । उनलाई उकुसमुकुस भयो । तर अर्को दिन जब एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा ल्याइयो, उनको मन फेरियो । त्यहाँ आफूजस्तै अन्य संक्रमित थिए । खुला ठाउँ । मनमोहक वातावरण । त्यसपछि चिनजानकै संक्रमिसमेत त्यही थिए । विस्तारै उनी सामान्य बन्दै गइन् ।
“रमाइलो ठाउँ र स्वास्थ्यकर्मीहरूको मित्रवत व्यवहारका कारण मलाई संक्रमण भएर आएझैँ लागेन,” उनी भन्छिन्, “सायद कुनै स्वास्थ्य समस्या नभएकाले पनि यस्तो भएको हो ।”
आइसोलेसन सेन्टरमा सरिताजस्तै १८ जना संक्रमित छन् । ८ वर्षे बालिका उनीसँगै आन्टीआन्टी भन्दै काखिन्छन् । उनको स्याहारसुसार सरिताले गरिरहेकी छन् । दिनको २ पटक खाजा खान्छन् । २ पटक खाना । बिहान/साँझ शारीरिक कसरत । संगीतमा रमाउँछन् । इन्टरनेट र फोन सुविधा भएकाले आफन्त र मन लागेकासित गफिन्छिन् ।
“अहिले त मनमा संक्रमण छ भन्ने फिल नै हुन छाड्यो,” सरिता सुनाउँछिन्, “नाचगान गरेरै गुप्तवास कटाइरहेकी छु ।” अब खुसीखुसीमै कोरोनालाई जितेर घर फर्कने आशमा छन्, उनी । “अन्य रोग छैन र लक्षण देखिएन भने कोरोना संक्रमण हुँदैमा आत्तिनुपर्ने रहेनछ,” सरिता भन्छिन्, “यही कुरा अब काममा फर्केर समुदायमै पुर्याउने सोच छ ।”
चार दिनअघि पत्रकार जानु पाण्डे यशोधरा गाउँपालिकामा अलपत्र २४ जनाको समाचार बनाउँदै थिए । दिउँसो करिब २ बजे गाउँका स्वास्थ्य संयोजकले फोन गरेर कोरोना भाइरस पुष्टि भएको जानकारी गराए । त्यसपछि एकछिन उनी बेचैन भए । घरमै थिए । पीरले कता जाऊँ, के गरूँझैँ भए तर केही बेरमै सम्हालिए । समाचार पूरा गरे । पत्नीलाई आफूलाई कोरोना पुष्टि भएकाले सुरक्षित हुन आग्रह गरे र लुगाफाटो निकालिदिन भने ।
हुन त पाण्डे कोरोना संक्रमितको रिपोर्टिङमा जाँदादेखि नै घरमा सुरक्षित बसेका थिए । यही आशले पनि उनको मन बलियो बन्यो ।
लुगाफाटो र ल्यापटप क्यामेरासहित पोको पारेर आफैँ बाइक चलाएर पाण्डे बुटवल आए । करिब २ घन्टा एन्फा एकेडेमी बाहिर उभिएपछि बल्ल प्रवेश पाए । पाण्डे यतिबेला खुसी छन् । न त कुनै शारीरिक र मानसिक समस्या नै देखिएको छ ।
आइसोलेसन बेडमै बसेर फोन–इमेलबाटै समाचार लेखिरहेका छन् । भन्छन्, “यो केही रहेनछ । मात्र नियमित आहारविहार र सामाजिक दुरी कायम राखे हुँदो रहेछ । अहिले त्यही पालना गरेको छु ।”
आइसोलेसन सेन्टरमा बिहान–साँझ घन्किने संगीतमा आफूसँगै अन्य संक्रमितलाई पनि नचाउँछन् । “जति मानसिक रूपमा स्वस्थ हुन सक्यो, संक्रमणलाई जितिदो रहेछ,” पाण्डे भन्छन्, “त्यसैले पनि मनलाई हरदम खुसी बनाउने प्रयासमा छु ।”