रेडपाण्डाको घाँटीमा स्याटेलाइट कलर
संरक्षित सूचीमा रहेको रेडपाण्डाको आनीबानी र जीवनचक्रबारे अध्ययन गरिने
इलाम, ताप्लेजुङ र पाँचथरका संरक्षित क्षेत्रमा रहेका १० वटा रेडपाण्डा (हाब्रे) का घाँटीमा स्याटेलाइट कलर जडान गरिएको छ । ९ महिनाको अन्तरालमा धेरै संख्याका रेडपाण्डाको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको रेडपाण्डा संरक्षण कार्यक्रमले जानकारी दिएको हो ।
संघीय सरकार मातहतको वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा रेडपाण्डा नेटवर्कले यो जन्तुबारे अनुसन्धान गर्दै आएको छ । आफ्ना साझेदार संस्था र समुदायसँगको सहकार्यमा रेडपाण्डाको जीवनशैली र जीवनचक्रका विषयमा अध्ययन गर्न स्याटेलाइट कलर जडान गरिएको हो ।
स्याटेलाइट जडान गरिएकामा इलामको सन्दकपुर क्षेत्रमा समातिएका ६ पोथी र ४ भाले रेडपाण्डा छन् ।
सरकारले रेडपाण्डा संरक्षणका लागि सन् २०१९ देखि २०२३ सम्म पाँच वर्षे कार्ययोजना बनाएको छ । सोही कार्यक्रमका लागि सरकारले राष्ट्रिय/अन्तर्राष्ट्रिय सस्थासँगको साझेदारीमा संरक्षण र अनुसन्धानमूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।
स्थानीय स्तरमा हाब्रे र पुँडेकुँदोसमेत भनिने रेडपाण्डालाई सरकारले संरक्षित जीवको सूचीमा राखेको छ ।
रेडपाण्डा नेटवर्कका राष्ट्रिय प्रतिनिधि आङफुरी शेर्पा कलरले हाब्रेको विचरण, तिनको इकोलोजी, आनीबानी थाहा पाउनुका साथै कार्ययोजनामा उल्लेख भएका उद्देश्य हासिल गर्न सहयोग पुग्ने बताउँछन् ।
स्याटेलाइट कलरले सर्भरमा दिने संकेतको सहायताबाट हरेक दुई घन्टामा रेडपाण्डाको गतिविधिसम्बन्धी तथ्यांक लिन सकिने वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का सुनाउँछन् ।
कलर जडान गरिएका १० वटा हाब्रेको नामसमेत स्थानीय भाषामै राखिएको छ । तिनको नाम पारु, डोल्मा, छिन्तापु, मेच्छा, भूमो, सेनेहाङ, ङिमा, बियान, निनाम्मा र प्रह्लाददेवी नाम राखिएको रेडपाण्डा नेटवर्कले जनाएको छ ।
देशका विभिन्न भागमा हाब्रेका छाला र अन्य अंग चोरी–सिकार हुने गरेको छ । २ हजार मिटरभन्दा बढी उचाइमा पाइने हाब्रेलाई राष्ट्रिय निकुञ्ज ऐन, ०२९ ले संरक्षित सूचीमा राखेको छ । रेडपाण्डालाई दुर्लभ वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले अतिसंकटापन्न वन्यजन्तुको अनुसूची १ मा राखेको छ ।
विश्व संरक्षण संघ आईयुसीएनले समेत संवेदनशील सूचीमा राखेको यो रेडपाण्डालाई ठाउँअनुसार हाब्रे, पुँडेकुँदा आदि नामले पनि चिनिन्छ ।
वन्यजन्तु अपराधबारे प्रहरीले अनुसन्धानका क्रममा हाब्रेको छाला वा अंग बेचबिखन हुने गरेको फेला पारेपछि मान्छेले त्यसको सिकार गर्ने गरेका छन् ।
रेडपाण्डा नेपालका ३३ जिल्लामा पाइने गरेको अध्ययनहरूले देखाएका छन् । रेडपाण्डा नेटवर्कको अध्ययनकाअनुसार नेपालसँगै म्यानमार, भारत भुटान र चीनमा रेडपाण्डा पाइन्छ । विश्वभर यसको संख्या १० हजारभन्दा कम छ । नेपालका २४ वटा उच्च पहाडी र हिमाली जिल्लामा १ हजार हाराहारी रेडपाण्डाको संख्या छ ।
सात वर्षअघि गरिएको अध्यननले पाँचथर इलाम र ताप्लेजुङका उच्च पहाडी क्षेत्र (पीआइटी करिडोर) मा १ सय २५ वटा हाब्रे रहेको देखाएको थियो । पछिल्ला वर्षमा यो संख्या वृद्धि भएको रेडपाण्डा संरक्षण कार्यक्रमको तथ्यांकमा उल्लेख छ ।
समुदाय नै संरक्षणमा
पूर्वी नेपालका पाँचथर, इलाम र ताप्लेजुङका उच्च पहाडी र सीमावर्ती क्षेत्रमा कुनै बेला वन्यजन्तुको सिकार खेल्ने समुदायका सदस्य अहिले भने संरक्षणमा जुटेका छन् ।
वन्यजन्तुको संरक्षणमा उनीहरू जुट्न थालेपछि त्यस क्षेत्रमा रेडपाण्डालगायत दुर्लभ वन्यजन्तु पनि देखिन थालेका छन् ।
तीनै जिल्लाका उच्च पहाडी क्षेत्रका जंगलमा सञ्चालित समुदायमा आधारित संरक्षण कार्यक्रम प्रभावकारी भएसँगै यस्ता वन्यजन्तु देखिन थालेका हुन् ।
घरपालुवा र जंगली जनावरको आक्रमण, बासस्थान आसपास सडक निर्माण, भूक्षय एवं रेडपाण्डाले आहाराका रूपमा प्रयोग गर्ने निगालो र मालिंगो मासिँदै गएपछि यस क्षेत्रमा यी जन्तु लोप हुन लागेका थिए । तर तीन वटै जिल्लामा १४ वर्षअघि समुदायमा आधारित संरक्षण कार्यक्रम थालिएसँगै रेडपाण्डाको संख्या बढेको छ ।
रेडपाण्डा नेटवर्कले पाँचथरको दीपज्योति युवा क्लब, इलामको उच्च पहाडी जडीबुटी उत्पादक संस्था इलाम र हिमाली संरक्षण मञ्च ताप्लेजुङसँगको सहकार्यमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रममार्फत स्थानीयलाई संरक्षण शिक्षासम्बन्धी तालिम दिएर वन अभिभावकको जिम्मेवारी दिने, विद्यालयहरूमा रुट एन्ड सुट समूह गठन गरेर बालबालिकाका माध्यमबाट संरक्षणको महत्त्व समुदायसम्म सञ्चार गर्ने तथा समुदायमा आधारित संरक्षण कार्यक्रम लागू भएका क्षेत्रका स्थानीय तहसँग मिलेर रेडपाण्डाकै विषयमा पाठ्यपुस्तक तयार पारेर ऐच्छिक विषयका रूपमा पठनपाठनलगायत गतिविधि गरिँदै आएको छ ।
वन अभिभावकलाई प्राथमिक उपचार तालिम, आवश्यक सामग्री र उपकरण दिएर संरक्षणमा प्रेरित गर्न थालिएपछि विगतमा सिकार गर्नेहरू पनि अहिले संरक्षणमा जुटेको संरक्षण क्षेत्रमा क्रियाशील दीपज्योति युवा क्लब सिदिनका कार्यकारी निर्देशक सुनील वान्तवाको अनुभव छ ।
रेडपाण्डा नेटवर्क एवं साझेदार संस्थाहरूले निरन्तर अन्तर्क्रिया र तालिमसँगै संरक्षण शिक्षा दिन थालेपछि हाब्रे संरक्षणको महत्त्व झल्किएको वन अभिभावकहरू अनुभव सुनाउँछन् ।
रेडपाण्डाप्रतिको नकारात्मक भ्रमले यसको सिकार गर्ने गरिएकामा कार्यक्रम सञ्चालपछि स्थानीयको धारणामा परिवर्तन आएर संरक्षणमा जुटेको पनि उनीहरूको दाबी छ ।
यसरी संरक्षित गरिएका वन्यजन्तुले समुदायले चाहे संरक्षण सम्भव छ भन्ने सन्देश त दिएकै छ, यसबाट सीमावर्ती क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण पनि गरिरहेकै छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...