विपन्न वर्गका सुत्केरी भोकभोकै
लकडाउनका कारण रोजीरोटी खोसिएपछि पोषिलो खानेकुराको सट्टा पेट भर्ने पिरलोमा सुत्केरी आमाहरू
२७ चैतमा सुमित्रा सुवाल सुत्केरी हुँदा घरमा अन्नको गेडा थिएन । उनले पोषिलो खानेकुरा त होइन, पेटभरि दालभात खान पनि पाइनन् । निर्माण मजदुरीको काम गरेर ५ जनाको परिवार पालेकी सुमित्रा आलो सुत्केरीमै भोकै परिन् ।
“बाथका रोगी श्रीमान् र म मजदुरी गरेरै खाने खर्च जुटाउँथ्यौँ,” सुमित्रा दु:खेसो पोख्छिन्, “काम खोसिने र सुत्केरी हुने समय एकै पटक भयो । धन्न भोकले मरिएन ।”
वैशाख पहिलो साता छिमेकीको सहयोगमा बुटवल उपमहानगरले दुई पटक दिएको राहतमा १५ किलो चामल, ३ किलो दाल र १ लिटर तेल थियो । जोखिमका सुत्केरी उद्धारका लागि भन्दै ५ किलो चामल र आधा लिटर घिउसमेत पाइन् । उक्त राहतले १५ दिन टिकेन । फेरि उस्तै दु:ख सुरु भए ।
“सुत्केरी भएकै दिनबाट पेटभरि खाएकी छैन । आफूले खान नपाएपछि छोरीलाई दूध पनि आउँदो नरहेछ,” सुमित्रा भन्छिन्, “आफू त भोको पेट कसेरै बस्छु । चिचिला केटाकेटीले भोक लाग्यो भनेर पिरोल्दा धरधरी आँसु बग्छ ।”
दुर्गानगरकै सखिना मिया २८ चैतमा सुत्केरी भइन् । पेटमा पानी जमेको भन्दै एक महिना छिटो शल्यक्रिया गर्दा उनका आफन्त कोही साथमा थिएनन् । घरबेटी र छिमेकीले अस्पताल पुर्याए । सुत्केरी भएपछि डेरासम्म ल्याए । नातामा बहिनी पर्नेले स्याहार गरिन् ।
तर कोरोना सन्त्रास र लकडाउनका कारण काठमाडौँमा चुरी बनाउने काम गर्ने पति आयुद आउन सकेनन् । भर्खर काम सुरु गरेकाले पैसा पठाउन पनि सकेनन् । सुत्केरी सखिना धेरै दिन छिमेकी र घरबेटीले दिएको खाएर बसिन् । १० दिनपछि उपमहानगरले दुई पटक गरेर १० किलो चामल, २ किलो दाल र १ लिटर तेललगायत दियो । त्यसले १५ दिन पनि थेगेन । सुत्केरी राहतबापत पाएको ५ किलो चामल र आधा किलो घिउ पनि एक सातामै सकियो ।
फेरि उनका दु:खका दिन सुरु भए । “न घरमा पैसा छ, न त उधारो माग्ने ठाउँ । कहिले भोकै बस्छु, कहिले कसैले दया गरेर दिएको खाएर बस्छु,” सखिना गुनासो गर्छिन्, “रोग त कताकता छ, थाह छैन । हामी गरिब कुन दिन भोकभोकै मर्ने हो ।”
सुत्केरी समय आमा र शिशुको स्वास्थ्यका लागि धेरै पोषणयुक्त खानेकुरा खानुपर्ने बेला हो । तर कोरोना सन्त्रास र लकडाउनका कारण विपन्न वर्गका धेरै महिला पोषणयुक्त खानेकुरा खान होइन, भोको पेट कसरी भर्ने समस्यामा छन् । कोही भोकभोकै छन्, कोहीले सीमित राहत र मागेरै गुजारा चलाएका छन् ।
तिनाउ नदी किनारमा बसेका दैनिक मजदुरी गर्ने व्यक्ति, सुकुम्बासी, अल्पसंख्यकलगायतमा यस्तो समस्या धेरै छ । यसले गर्दा सुत्केरी महिला र शिशुको स्वास्थ्य जोखिममा परेको छ ।
त्यस्तै जोखिम अवस्थामा छन्, बुटवल मजुवाकी कमला शाही । ७ चैतमा सुत्केरी भएलगत्तै कोरोना सन्त्रासका कारण लकडाउन सुरु भयो । अटोरिक्सा चलाउने पति रमेशको काम ठप्प भयो । काम रोकिएसँगै मालिकले पैसा दिएनन् । सुरुका केही दिन सरसापटी गरेर खाए । त्यो पनि हराएपछि घरबेटी र छिमेकीको सहारामा उपमहानगरबाट राहत लिए ।
पछिल्लो एक महिनायता राहत पनि पाएका छैनन् । “न खल्तीमा पैसा छ, न त घरभित्र केही खानेकुरा । आफूले के खानू अनि छोराछोरीलाई के खुवाउनू,” कमला भन्छिन्, ‘मीठो–मसिनु र पोषिलो खानेकुरा त होइन । पेटभरि खान पनि रहर भएको छ ।”
मैनाबगरकी रामकुमारी श्रीषको अवस्था पनि उस्तै छ । उनी चप्पल उद्योगमा काम गर्थिन् । पति सार्वजनिक सवारीका मजदुर थिए । सुत्केरी भएलगत्तै लकडाउन सुरु भयो । दुवै जनाको काम खोसियो । मीठो–मसिनु खाने बेला भोको पेट कसरी भर्ने भन्ने समस्याले पिरोलिइन् ।
“सरसापटी पाइँदासम्म रुखोसुखो खायौँ । केही दिन राहतले कट्यो,” रामकुमारी भन्छिन्, “अब सबै सकियो । कसरी खाने, के खाने टुंगो छैन ।”
बुटवल उपमहानगरभित्रको तिनाउ नदी किनारमा अव्यवस्थित बस्ती छ, जहाँ दैनिक मजदुरी गरेर गुजारा चलाउने परिवार बस्छन् । कोरोना महामारीका कारण विपन्न वर्गका सुत्केरी भोकभोकै छन् । उपमहानगरले दिएको सीमित राहत सकिएपछि आमा र शिशुको अवस्था जोखिमपूर्ण छ । विपन्न वर्गका सुत्केरीको अवस्था जोखिमपूर्ण परेपछि बुटवल उपमहानगरले कोभिड– १९ सुत्केरी राहत कार्यक्रम ल्याएको छ । उक्त राहतमध्ये उपमहानगरले ३ महिनाभित्रका सुत्केरीलाई ५ किलो चामल, आधा किलो घिउ, १ सय ग्राम ज्वानो, १ बोतल दस मूलारिस्ट दिएको छ । ३१ जेठ दिउँसोसम्म १ सय ५० जनाले उक्त राहत लिएका छन् । उपप्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रमअन्तर्गत आइरन, क्याल्सियमलगायत पनि उपलब्ध गराएको छ ।
उपप्रमुख गुमादेवी आचार्य कोभिडका कारण कुनै पनि सुत्केरी महिलाको घरमा चुलो नबल्ने अवस्था नआओस् भनेरै राहत कार्यक्रम ल्याएको बताउँछिन् । “खाने खर्च नै नभएका विपन्नलाई नियमित राहत दिएकै छौँ,” आचार्य सुनाउँछिन्, “सुत्केरी राहतले कम्तीमा १० दिन सुत्केरीले पोषण खाऊन् भन्ने हो ।”
आचार्यका अनुसार उपमहानगरले अहिले गर्भवती तथा सुत्केरीको लगत संकलन गरिरहेको छ । त्यस्ता महिला उपमहानगरमा साढे ३ सयभन्दा बढी छन् । संकलनपछि जटिल अवस्थामा परेका गर्भवती र सुत्केरी दुवैलाई पुन: राहत वितरण गर्ने योजना रहेको उनले सुनाइन् । “जटिल अवस्थाका सुत्केरीलाई थप राहत ल्याउनुपर्नेछ,” आचार्य भन्छिन्, “वडामार्फत पनि पहल गर्ने भनेका छौँ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...