दुई साता क्वारेन्टाइनमा बस्नु सजिलो कहाँ छ र ! त्यहाँ कसरी समय कटाउने ? धेरैलाई तनाव छ । य...
विकल्प तातोपानी
खोला र धाराको पानीमा बरफ जमेको छ । नुहाउन र कपडा धुन मुस्किल । हिमाली क्षेत्रमा हिउँ अधिक बढेपछि सर्वसाधारणको विकल्प एउटै छ, तातोपानी । मुगुको भुसेकुना आसपासका गाउँ रुगा, थार्प, इमा, निगाले हेन्निकाँध, श्रीनगर र भामबाडाबाट कपडा र साबुन बोकेर आउनेको भीडभाड हुन्छ । “हिउँको जाडोले धाराको पानीमा नुहाउन सकिँदैन,” छायानाथ रारा नगरपालिका रुगा गाउँका धनजीत लावड भन्छन्, “तातोपानीमा पनि महिला, पुरुष, बच्चा भरिभराउ हुँदा पालो कुर्नुपर्छ ।”
जाडो बढेपछि सोरु गाउँपालिकाको जिमा कुलाहा तातोपानी कुण्डमा पनि नार्थपु, कालै, रारा, सिप, धैनकोट, पुरुमुरु, सिप ख्याल्च, रारा गिलाहालगायत दर्जनौँ बस्तीबाट सर्वसाधारण ओइरिन्छन् । छिमेकी हुम्ला लुमछहरा तातोपानीमा मुगुको फोतु, भीई, नार्थपु, हुम्लाको श्रीनगर, तुम्च, जैर, कल्खे गाउँका वासिन्दा धुइरिन्छन् । त्योभन्दा टाढाका वासिन्दालाई दुई–चार दिन बस्ने गरी सातुसामल नबोकी धर छैन ।
जमिनमुनिबाट निस्कने बाफिलो र नुनिलो तातोपानीमा नुहाउँदा शरीर दुख्ने, चिल्याउने, दादलगायत रोग निको हुने जनविश्वास छ । त्यसैले गर्मी समय सुनसान हुने तातोपानी कुण्डमा जाडो लागेसँगै स्थानीयको चहलपहल बढ्छ ।
स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका तातोपानी कुण्डलाई व्यवस्थित बनाउन नसक्दा महिला र पुरुषलाई सँगै नुहाउन भने समस्या छ ।
हिउँद लाग्नु तीन महिनाअगावै वनपाखाबाट दाउरा र बाक्ला कपडाको जोहो हुन्छ, मुगुमा । हिउँद समय तराईमा जस्तै कठ्यांग्रिएर ज्यान गएको रेकर्ड नभए पनि बूढापाकालाई पुस र माघ कटाउन निकै कष्ट हुने गरेको छ ।
छायानाथ रारा नगरपालिका गाउँकी चाउरी विक, ७५, प्राय: चुल्होमै बसेर समय कटाउँछिन् । तर आगोको धुवाँमा बस्नुपर्दा रुघाखोकी, आँखा पाक्नेजस्ता समस्या आउने स्थानीयको भनाइ छ ।
जाडोका कारण उत्तरी तिब्बत सीमा क्षेत्रका गाउँबस्ती, कार्यालय, विद्यालय सुनसान हुन्छन् । मुगम कार्मारोङ गाउँपालिका वडा–२ को मुगु गाउँका वासिन्दा मंसिर दोस्रो सातादेखि नै पारिलो बेँसीतिर झरेका छन् ।
करिब १ सय २० घरधुरी र ४ सय जनसंख्या रहेको उक्त गाउँका सबै घरगोठमा ताला झुन्ड्याएको अवस्था छ । त्यहाँ आकाशमा बादल आउनेबित्तिकै हिउँका फुल्का खस्छन् । मुगु गाउँका स्थानीयलाई पाँच महिना कहाँ घाम ताप्न जाने भन्ने पिरलो हुने गरेको छ । हिउँद महिना गाउँमै बस्दा चिसो र हिमपातले बाहिर निस्कन नसकिने, दिसा–पिसाब गर्न र धाराबाट पानी ल्याउन सास्ती हुने स्थानीयको भनाइ छ । उनीहरू आफूसँगै घरपालुवा कुखुरा, बिराला, कुकुर, चौँरी, झोवा, घोडा पनि साथमै लिएर झर्ने गर्छन् । औलतिर झर्दा तिब्बतबाट बोकेर ल्याएको खाद्यवस्तु, बारीमा उत्पादित आलु, फापर, उवा कुटपिन गरेर बोकेरै ल्याउने गरेका छन् ।
“अहिले गाउँमा कोही छैन । सबै औलतिर झरिसके,” मुगु गाउँका तण्डुल लामा भन्छन्, “हिउँले ढोका थुन्छ, चिसोले हातखुट्टा कठ्यांग्रिन्छन् । कसरी घरमा बस्नू ? चिसोले धाराखोलाको पानी जम्छ, आगो बाल्न पनि कठिन छ ।”
मुगु गाउँका अधिकांशले सिरानीचौर, पिलाडी, चितैकुना, तिहार बगरलगायत स्थानलाई पनि चिसो कटाउन अस्थायी बासको रूपमा प्रयोग गर्दै आएका छन् । यार्सा टिप्ने पाटन उक्लिनुपर्ने, घाम ताप्न औल झनुपर्नेजस्ता दु:खकष्ट सहेरै जीवन बिताउनु परेको अर्का स्थानीय टासी लामा दुखेसो पोख्छन् । भन्छन्, “यार्सा र जडीबुटीको लोभले चटक्कै गाउँ छाडेर अन्यत्र जान पनि सकिँदैन ।”
जडीबुटीबाट आम्दानी हुने भएकाले सधैँका निम्ति घर खाली गर्न भने कोही चाहँदैनन् । अर्कोतिर राज्यका सेवा–सुविधा वृद्ध भत्ता, बाल अनुदान पनि उपभोग गर्न पाइने लोभ त छँदै छ ।
मंसिरमा घाम ताप्न औल झरेका स्थानीय करिब ५ महिनापछि अर्थात् चैतमा लहरै गाउँ फर्किन्छन् । गाउँमा अनाज, दाउरा, घाँस चोरी भए–नभएको बुझ्न महिनाको दुई–चार पटक घरपिच्छे पालैपालो गरेर दुई–चार जना गाउँ पुगेर हेरचाह गरी फर्किने गरेका छन् ।
काठ ल्याउन तीन–चार घन्टा तल जानुपर्ने भएकाले बलियो र तातो घर बनाउन मुस्किल हुन्छ । मसिनो काठ र खर प्रयोग गरेर बनाइएका घर हिउँदमा अधिक चिसो हुने गरेको
अनुभव स्थानीयको छ ।
गाउँले औलतिर झरेपछि स्वास्थ्य केन्द्र, प्राथमिक विद्यालय, सीमा प्रहरी चौकी, भन्सार, वडा कार्यालयमा पनि ताला लागेको छ । प्रहरी चौकीमा ताला लगाएर १५ जवान पाँच महिनासम्म गमगढी केन्द्रित हुने गरेका छन् । मुगु र तिब्बत सीमा सुरक्षाका निम्ति मुगु गाउँमा चौकी स्थापना गरिएको हो । गाउँले फर्किएको जानकारी पाएपछि सुरक्षाकर्मी बन्दोबस्तीसहित चौकीतिर लाग्छन् ।
चिसो गाउँमा कोही नबस्दा प्रहरी जवानलाई पनि पुलु चौकी गमगढीतिर झार्नु परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर ऐर सुनाउँछन् । विद्यालय फागुन, चैतसम्म बन्द हुन्छन् । मुगु गाउँका बालबालिका एक वर्षमा ८० दिन पनि राम्रोसित पढ्न पाउँदैनन् । मुगम कार्मारोङ गाउँपालिका शिक्षा इकाइ शाखा प्रमुख सुवास रावल प्रश्न गर्छन्, “गाउँले नै नबसेपछि शिक्षकले के पढाउने ?”
सम्बन्धित
मध्यपहाडी लोकमार्गको यात्रामा रहँदा चिसो सिरोटोले मनै काँप्छ । तर प्रकृतिको सौन्दर्यमा रम्...
मनै लोभ्याउने मध्यपहाडी लोकमार्गको सेरोफेरो
साँझ छिप्पिँदै गर्दा लुम्बिनीस्थित मायादेवी मन्दिर र नजिकैको पुष्करणी पोखरी मधुर बत्तीका क...
लकडाउनमा मनमोहक लुम्बिनी
लकडाउनका बेला सकेसम्म घरबाहिर ननिस्कनु नै उचित सावधानी अपनाउनु हो । तर वरपर ननिस्की धरै छै...
भोकले भुलाएको लकडाउन
कतिपय चरा ओथारो बसिसके । कति भाले आकर्षित गर्न नाचिरहेका छन् । कतिपयले गुँड बनाउने शिल्पी ...
चराको संसारमा लकडाउन छैन
भिक्षु सिङकाङ दैनिक ६ घन्टा समय खर्चेर बुद्ध जन्मस्थलको हेरचाह गरिरहेका छन् । ...