सूर्यास्तमा रामदास

कपिलवस्तु नगरपालिकास्थित बुद्धस्थल निग्रोधारामबाट अर्को बुद्धस्थल गोटिहवा जाँदै गर्दा मनमोहक दृश्य देखियो । यसलाई अविस्मरणीय र चित्ताकर्षक रूपमा क्यामेरामा कैद गर्नेतर्फ ध्यान मोडियो ।
मधुरो प्रकाशसँगको कोमल लालीको सेकेन्ड–सेकेन्डको समय महत्त्वपूर्ण थियो । त्यसका लागि छेउछाउका मानवीय गतिविधिले तस्बिरलाई अझ जीवन्त बनाउँथ्यो ।
त्यसैको खोजीमा रहँदा कपिलवस्तु–२ कुदाननजिक नहर छेउमा कृषिकर्ममा व्यस्त थिए, रामदास माली । तर उनको अनुहार निन्याउरो थियो । कारण, उनको गहुँ खेतमा आकासे पानी जम्यो । अधिक चिस्यानले बाली बिगार्यो । उनी त्यही पानीलाई कुलो बनाएर खेतबाहिर निकाल्दै थिए ।
पंक्तिकार भने अस्ताउँदो सूर्यको मनमोहक लालीसँगै उनका कर्मशील हात र घरेलु औजार कोदालोलाई क्यामेराको ट्रिगरले ट्रयाक गरिरहेको थियो । उनको मलिनो अनुहार र थकित मुद्राले साथ दिएन । “के गर्ने हजुर ? ५ परिवारको घरव्यवहार गर्नै समस्या हुने भयो । ८ कठ्ठामा लगाएको गहुँ सप्रिन सकेन । तनाव र चिन्तामा छु,” उनले वेदना पोखे ।
उनी बाबु रामकिशनसँगै बाली स्याहारसुसार गर्न आइपुगेका रहेछन् । साँझ छिप्पिँदै गर्दा उनी कोदालो पनि छिटोछिटो चलाउँथे । पहिले घर जान हतारिएका उनी मज्जैले गफिए । गफसँगै मन हल्का भएको पनि बताए । त्यसपछि मैले अनन्त क्षितिजसम्म देखिएका सूर्यको लालीसँग नयाँ–नयाँ एंगलमा स्न्याप लिएँ र रामदासलाई देखाएँ । उनले अनुहार हँसिलो बनाए ।
प्रकृति र मनोरम छटाको उन्मुक्त खुसी तथा आनन्द खेतबारीमै मज्जाले पाइँदो रहेछ । रामदासले एकैछिन भए पनि आनन्द र रोमाञ्चकताको अनुभूति गराएकामा मलाई धन्यवाद दिए । अवधी भाषामा ‘फिर मिलब’ भन्दै साइकलमा घर फर्किए ।




