बिरामीहरू, प्रकृतितिर फर्कौं
चल्तीको चिकित्सा प्रणालीभन्दा प्राकृतिक उपचार विधि प्रभावकारी

मानिसलगायत अन्य जीवजन्तुको सिर्जना माटोमा भएकाले तिनमा लाग्ने अधिकांश रोगको निवारण उपाय पनि माटोमै लुकेको हुन्छ भन्ने मान्यता आयुर्वेद विज्ञानले स्थापित गरिसकेको छ । स्कटल्यान्डमा डाक्टरले बिरामीलाई डाँडाकाँडातिर घुम्न जान, समुद्र–किनारमा सयर गर्न, नौका विहार गर्न र ‘बर्ड वाचिङ’ मा जान औपचारिक रूपमा प्रेस्क्रिप्सनमै लेखेर दिन थालेका छन् ।
मानसिक रोग, तनाव, मधुमेह, मुटुरोग आदिको उपचार औषधीमा नभई यस्तै ठाउँमा खोज्ने परामर्श त्यहाँका डाक्टरले दिन थालेसँगै संसारभर यसले तरंग नै पैदा गरेको छ । अन्य देशका चिकित्सक पनि यसलाई औपचारिक रूपमै लागू गर्नुपर्छ भन्ने मान्यता स्थापना गराउन लागिपरेका छन् ।
स्कटल्यान्डको सन्दर्भमा मात्र हेर्दा सेटल्यान्डका दस द्वीप र पक्षी सुरक्षा समाजसँग त्यहाँको मेडिकल बोर्डले सहकार्य गर्ने भएको छ । बिरामीका लागि विभिन्न प्याकेजसमेत यिनले ल्याएका छन् । हेमन्त र शिशिर ऋतुमा हिउँ खेल्ने प्याकेजका साथै हिउँदमा मात्र देखिने चरा हेर्न जाने प्याकेज समावेश गरिएको छ भने वसन्त ऋतुमा समुद्र तट भ्रमण गर्ने प्याकेज समाविष्ट छ । चलनचल्तीमा रहेको चिकित्सा प्रणालीलाई पूर्ण रूपले वहिष्कार गर्न नसकिने यिनको मान्यता छ । तर, त्यसैलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्राकृतिक चिकित्सा विधि अपनाउन आवश्यक रहेको पक्ष यिनले नकार्न सकेका छैनन् ।
यस्तो चिकित्सा पद्धति अपनाउन नेपाल धेरै सक्षम रहेको आयुर्वेद चिकित्सक तथा आरोग्यसाधक रोशन बास्कोटा बताउँछन् । विश्वमा अन्यत्र कतै नपाइने वनस्पति, पशुपक्षी, प्राकृतिक सौन्दर्य पाइने हुँदा प्राकृतिक चिकित्सामा नेपालको उपमा नै नरहेको उनको मान्यता छ । “अहिले चल्तीमा रहेको चिकित्सा पद्धति रोगको पूर्ण निवारण गर्न नभई कामचलाउ उपचारमा केन्द्रित छ,” उनी स्वीकार्छन् । त्यसैले प्रकृतिले नेपाललाई दिएको वरदानलाई नै रोग निवारण विधिका रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिन्छन्, उनी । थप्छन्, “नेपालमा हरेक दस किलोमिटरमा भौगोलिक विविधता देख्न पाइन्छ । यसमा हामीले पर्यटकीय मात्र होइन, चिकित्सकीय सम्भावना पनि देख्न आवश्यक छ ।”
सम्पूर्ण शारीरिक अस्वस्थताको उपचार प्राकृतिक विधिबाटै सम्भव नभए पनि मानसिक अस्वस्थताको भने सम्भव छ । अहिलेको समयमा कुनै न कुनै प्रकारको मनोरोगको सामना अधिकांश व्यक्तिले गरिरहनु परेको विभिन्न अनुसन्धानले देखाएका छन् । फलस्वरूप धेरै मानिसलाई औषधीको बोझले थिचिरहेको बास्कोटा बताउँछन् । यसको तोड प्रकृतिमा खोज्दा अझ प्रभावकारी हुन्छ भनी विज्ञहरूले बारम्बार बताइरहँदासमेत समय अभावका कारण अत्यधिक मानिस औषधीमै आश्रित हुनुपरेको तीतो सत्य उनी पोख्छन् ।
विकसित मुलुकमा अत्याधुनिक चिकित्सा प्रविधि तथा पर्याप्त औषधी उपलब्ध छन् । उम्दा डाक्टरहरूको पनि कमी छैन । तर, उनीहरू आफैँ बिरामीलाई प्रकृतितर्फ फर्कने सन्देश दिन्छन् । नेपालमा यसको चेत पलाउन नसक्नु दु:खद पक्ष रहेको बास्कोटाको विचार छ । भन्छन्, “रिट्रिट पर्यटन फस्टाउने सम्भावना नेपालमा प्रशस्त छ । तर, आवश्यक जनशक्ति र सचेतता नै छैन ।” एउटै रोगको अनेकौँ निवारण विधि छन् । डाक्टरको एकोहोरो प्रयत्नभन्दा बिरामी स्वयं उपचार विधिमा सामेल हुनु झन् बढी प्रभावकारी हुने मत राख्छन्, उनी ।
अन्नपुर्ण आधार शिविरमा पदयात्री | तस्बिर : एजेन्सी
केही समयअघि मात्र काठमाडौँका श्रेय थापालाई डिप्रेसनको लक्षण देखियो । मानसिक अस्पताल गए । दिनहुँ दुई–तीन थरी औषधी खान डाक्टरले सुझाए । उनले डाक्टरले भनेअनुरूप गर्दै गए । औषधी खान थालेको सात महिना बितिसक्दा उनको मानसिक स्वास्थ्यमा केही सुधार आउन थाले पनि शरीर कमजोर हुँदै गइसकेको थियो । दसैँको छुट्टीमा साथीभाइसँग शे–फोक्सुन्डो घुम्न जाँदाको समयलाई उनी ‘लाइफ चेन्जिङ’ भन्न रुचाउँछन् । “म पहिले नै किन गइनँ, किन औषधीको सहारा लिएँ भन्ने भयो,” उनले अफसोस प्रकट गरे । अस्पतालमा सँगै उपचार गर्न आउने अर्का व्यक्तिलाई पनि उनले कतै मनोरम स्थान घुम्न जाने सल्लाह दिएका छन् । भन्छन्, “उसले पनि मेरोजस्तै अनुभव गर्नेछ भन्नेमा विश्वस्त छु ।”
मानिसको शरीरमा रहेको एड्रिनाल ग्रन्थीले तनावका बेला कर्टिसोल नामक हर्मोन पैदा गर्छ । थोरै पैदा हुँदा त्यसलाई सामान्य मान्नुपर्छ भने अत्यधिक हुँदा तनाव निवारणबारे सोच्न सुरु गरिहाल्नुपर्छ । यसको उत्पादन कम गर्न औषधीमा निर्भर हुनुभन्दा प्रकृतिको निकट जाँदा लाभदायक हुने बास्कोटाको जिकिर छ ।
लागूऔषध विशेषज्ञ डन्केन स्टेवर्टले लागूऔषधको लत छुटाउन पुनस्र्थापना केन्द्र गएका केही व्यक्तिमाथि गरेको अनुसन्धानले एक अम्मली कम्तीमा पनि डेढ महिना पुनस्र्थापना केन्द्रमा बस्ने गरेको देखाउँछ । तर, सोही व्यक्ति सहरी क्षेत्रभन्दा पर घुम्न गए एकदेखि दुई सातामै उसमा सकारात्मक नतिजा देखापर्न थाल्ने स्टेवर्टको अनुसन्धानमा उल्लेख छ । उनले प्रस्तावनामै लेखेका छन्, ‘यस अनुसन्धानको उद्देश्य पुनस्र्थापना केन्द्रको अवधारणा हतोत्साहित गर्नु होइन, अन्य प्रभावकारी विकल्पमाथि प्रकाश पार्नु हो ।’
चराचर्या : जगदीशपुर,तौलिहवा | तस्बिर : मनोज पौडेल
हिन्दुहरूले विष्णुको अर्को रूप ठानी पूजा गर्ने पीपलमा सबैभन्दा बढी अक्सिजन उत्पादन हुन्छ । बिहानको समयमा यस वरिपरि घुमे वा धागो बाँधे फलिफाप हुन्छ भन्ने धार्मिक मान्यता छ । बुद्ध पीपलकै रूखमुनि बसी तपस्या गरेको विश्वास गर्ने बौद्धमार्गी यसलाई पूजा गर्छन् । यसपछाडिको वैज्ञानिक कारण भने पर्याप्त अक्सिजन प्राप्त हुने उचित समय बिहान हो भन्ने रहेको छ । विष्णुसँगै सम्बन्धित भएकाले हरेक घरका आँगनमा उमारिने र पूजा गरिने तुलसी पनि त्यसै रोपिएको होइन । आयुर्विज्ञानले यसलाई ठूलो औषधीका रूपमा लिएको छ । धेरै रोगको उपचारमा तुलसी प्रयोगमा आउँछ । जापानमा एक प्रचलित मिथक नै छ, कुनै रूखवरपर घुमे मात्र पनि जस्तोसुकै रोग निवारण गर्न सहज हुन्छ । यस्ता थुप्रै मिथक अनेकौँ स्थानमा प्रचलित छन् । यी सबलाई धार्मिक मात्र नभई वैज्ञानिक हिसाबले पनि हेर्नुपर्ने वैज्ञानिकको मान्यता छ ।