फैलिँदै जमरा जुस
शरीरमा भएका अनावश्यक रसायन हटाउन प्रभावकारी
त्रिभुवन विश्वविद्यालय हाताभित्र गौरी थामीले जमरा जुसको व्यापार गर्न थालेको करिब दुई वर्ष भयो । यसअघि उनी सोही व्यवसाय सातदोबाटोस्थित घरबाट गर्थिन् । खासै चित्तबुझ्दो व्यापार हुँदैनथ्यो । प्रशस्त हरियाली भएकाले कीर्तिपुरमा मर्निङ वाक गर्न आउनेको संख्या सातदोबाटोभन्दा बढी हुन्छ । त्यस्ता व्यक्ति अचेल जमराको जुस नछुटाई खान्छन् । त्यसै कारण थामीले कीर्तिपुरमा आफ्नो व्यापारको राम्रो बजार भेटेकी छन् ।
कीर्तिपुरबाहेक उनी हरिसिद्धिस्थित क्यान्सर अस्पतालनजिकै पनि यो व्यापार गर्छिन् । दुवै ठाउँमा ग्राहकको चहलपहल बाक्लो रहेको उनी बताउँछिन् । त्यसैले नियमित रूपमा जौ र गहुँ रोपी तिनको जुस निकाल्नुलाई उनले दिनचर्या बनाएकी छन् । उनैलाई पछ्याउँदै कीर्तिपुरमा थुप्रैले बिहानीपख जमरा जुसको व्यापार गर्न थालेका छन् ।
कीर्तिपुर मात्र होइन, मर्निङ वाकको बेला अन्य स्थानमा पनि जमरा जुस अत्यधिक बिक्री हुने गरेको छ । थामीकै अनुसार यसमा प्रशस्त क्लोरोफिल हुने हुँदा मानव स्वास्थ्यका लागि लाभकारी छ ।
जमराको जुसलाई भिटामिन र मिनरलको पनि राम्रो स्रोत मानिएको छ । प्रोटिनको आधारभूत तत्त्व एमिनो एसिड हो । जमरामा १७ प्रकारका एमिनो एसिड पाइने अमेरिकाको फ्लोरिडा राज्यस्थित हिप्पोक्रेट्स हेल्थ इन्स्टिच्युटका ब्रायन क्लिमेन्ट र आना मेरी क्लिमेन्टले एक अनुसन्धानमार्फत सार्वजनिक गरेका छन् । शरीरमा भएका अनावश्यक रसायन हटाउन जमराको जुसजति प्रभावकारी केही नरहेको जिकिर यिनको छ । मानिसलगायत अन्य जीवको प्रजनन प्रणालीको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने मान्यता राख्छन् । स्वस्थ तथा चम्किलो छाला चाहने जोकोहीका लागि यो जुस फलदायी सिद्ध हुन सक्ने पनि बताइएको छ ।
कीर्तिपुरका रमण अधिकारी नियमित रूपमा जमराको जुस पिउँछन्, गौरीको जुस स्टलमा । यसका फाइदा–बेफाइदाबारे उनी अनभिज्ञ छन् । तर, अरूले राम्रो हुन्छ भनेका भरमा मर्निङ वाकसँगै जमराको जुस सेवन गर्नु पनि उनको दिनचर्या बनेको छ । सोही स्टलमा जुस पिउन आउने बल्खुकी अस्मिता आचार्य भने निरोगी रहन सेवन गर्दै आएको बताउँछिन् ।
आयुर्वेद विशेषज्ञ ऋषिराम कोइराला भन्छन्, “परापूर्वकालदेखि नै जमराको जुस स्वास्थ्यका लागि फाइदाजनक छ भन्दै प्रयोग गरिन्थ्यो । नेपालमा भने यसको अत्यधिक सेवन हुन थालेको केही वर्ष मात्र भयो ।” शरीरमा घटित हुने अत्यधिक प्रक्रिया अम्लीय (एसिडिक) हुन्छन् । त्यसको मात्रा सन्तुलनमा राख्न अल्काली आवश्यक पर्छ । त्यही अल्काली जमराको जुसबाट प्राप्त गर्न सकिने उनको भनाइ छ । कोइरालाको मान्यता छ, जमराको जुस एउटा राम्रो एन्टी–अक्सिडेन्ट मात्र नभएर रगतका कोषिका बढाउन मद्दत गर्ने तत्त्व पनि हो ।
शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन, रगत शुद्धीकरण गर्न, आन्द्रा सफा गर्न, शरीरबाट आउने दुर्गन्ध कम गर्न र क्यान्सरको निराकरण गर्न क्लोरोफिल अत्यावश्यक छ भनी केही अनुसन्धानले पनि देखाएका छन् । शरीरमा उचित रक्तसञ्चार होस् भनी यो जुस खाने मानिस पनि प्रशस्तै भएको कोइरालाको ठहर छ । तर, उनी स्वीकार्छन्, जमराको जुस कुनै रोगको प्रत्यक्ष औषधोपचार प्रक्रियामा प्रयोग हुन सक्दैन । शरीरका विकार हटाउँदै लैजानमा यसको भूमिका नकार्न नहुने पनि उनको जिकिर छ । जमराको जुसबाट पूर्ण रूपले फाइदा उठाउन स्वस्थकर बीउ र रोगरहित माटो प्रयोग गर्न सुझाव दिन्छन् । ठिमाहा बीउ प्रयोग गर्दा ध्यान पुर्याउनुपर्ने मान्यता उनको छ ।
नियमित रूपमा जमराको जुस सेवन गर्दै आएका मानिसलाई १४ कात्तिकयता वरिष्ठ कलेजो रोग विशेषज्ञ सुधांशु केसीले गरेका केही ट्वीटले आतंकित तुल्याइदिए । सुरुको ट्वीटमा उनले लेखे, ‘जमराको जुसमा केही भिटामिन र मिनरल होला, जसले स्वस्थ रहन मद्दत गर्ला तर यसले रोगलाई निको पार्ने कुरा ठीक होइन । कलेजोका रोग भएका व्यक्तिका लागि त यो प्राणघातक पनि हुन सक्ने रहेछ ।’ त्यसपछिको उनको ट्वीट पनि जमरा जुसकै थियो । लेख्छन्, ‘आज पनि जमरा जुसपीडित भर्ना भएका छन् । जमराको जुसले सबै रोग निको पार्छ र यसको साइड इफेक्ट छैन भनेर प्रचार गर्नेलाई केही त गर्नैपर्ने भयो । नत्र थुप्रै बिरामी ‘सहिद’ हुनेवाला छन् ।’
त्यसो त, ब्रायन र आना क्लिमेन्टले जमराको जुसमा पाइने क्लोरोफिलले कलेजो रोग निवारण गर्ने कुरा पनि आफ्नो अनुसन्धानमा लेखेका छन् । तर, केसी त्यसलाई मान्न तयार छैनन् । रक्सीले असर पारेको कलेजो ‘डिटक्सिफाई’ गर्न पनि उक्त जुसले सहयोग गर्ने बताइन्छ । त्यसको ठीक विपरीत मान्यता राख्छन् केसी ।
‘औषधी होइन’
डा सुधांशु केसी
वरिष्ठ कलेजो रोग विशेषज्ञ
स्वस्थ मानिसले जमराको जुस खाँदा केही फरक पर्दैन । तर, रोग लागिसकेकाले नखाएकै राम्रो । नेपालमा केही कुरा पनि बुझेर गर्ने बानी छैन । एकचोटि केही लहर आउँछ, सबै त्यसकै पछि लाग्छन् । वैज्ञानिक कारण खोजौँ भन्ने प्रवृत्ति कसैको छैन । त्यसैले कहिलेकाहीँ दु:ख पाइन्छ । भन्नेले भन्छन्, तर जमराको जुसमा क्यान्सर निको पार्ने क्षमता छैन ।
सबै प्राकृतिक तत्त्व औषधी नै हुन् भन्ने छैन । कलेजोका रोगीका लागि त जमराको जुस विष नै हो । गत साता मात्रै जमराको जुस खाएर बिरामी भएका दुई बिरामी वीर अस्पतालमा भर्ना भए । एक जना समयमै डिस्चार्ज भए भने अर्कालाई नर्भिक अस्पतालमा सारियो । हालसम्म २०–२५ जना यस्ता बिरामी आइसकेका छन् । कलेजो सिरोसिसका बिरामीले ‘अर्गानिक’ भनेर खाएको जमराको जुस अभिशाप प्रमाणित भएका घटना हाम्रै आँखाअगाडि छन् । तर, हामीले कहिले महसुस गर्ने ? जुसका फाइदैफाइदा छन् भन्दा सबैले पत्याए । मैले बेफाइदाबारे ट्वीट गर्दा धेरैले पत्याएनन् । उल्टै ममाथि खनिए । मैले खाँदै नखानुस् पनि भनेको होइन । रोग लागिसकेको छ भनेचाहिँ नखानुस् भनेको हुँ ।
सम्बन्धित
जलवायु परिवर्तन र व्यवस्थापनको लापरबाहीका कारण कोरोनालगायत संक्रामक भाइरसको जोखिममा नेपाल ...
बढ्दै छ संक्रामक भाइरसको सन्त्रास
सरकारले कहिले लैजाने हो ? हामी कुरेर बसिरहेका छौँ ।...
चीनमा काेराेना सन्त्रास भाेगिरहेकी पत्रकार भन्छिन् – सरकार कुर्दैछौँ
कुनै भ्याक्सिन या औषधी नै नबनेको कोरोना भाइरसबाट बच्ने उपायहरू...
कसरी बच्ने कोरोना भाइरसबाट ?
दाल, भात पनि पत्रु खाना हुन सक्छ भनेर कोही व्यक्तिले गलत भनेका छन् । तर दाल, भात पत्रु होइ...
पत्रु र स्वस्थकर खानाको बहस
चाउचाउले दिँदैन पोषण...
पत्रु खान्कीको पासो
राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल कलेज सञ्चालकविरुद्ध विद्यार्थी आन्दोलन चर्क...