सप्तरीमा किसान सत्याग्रह
पहिलोपटक ३ वैशाख २०११ सालमा किसानका समस्या उठाएर सप्तरीमा सत्याग्रह आन्दोलन सुरु गरेका थियौँ।
सत्याग्रह आन्दोलनलाई दृष्टिगत गरेरै हामीले सप्तरीलाई चार भागमा बाँडेका थियौँ। हरेक भागमा संघर्ष समिति बनाएका थियौँ र जिल्ला आधारमा संयुक्त संघर्ष समिति बनाएका थियौँ। पहिलो दिन लहानका चन्द्रशेखरको नेतृत्वमा १ सय ५० जनाको समूह राजविराज, गोस्वारा अड्डाअगाडि धर्नामा बसेको थियो। पहिलो समूह ४ नम्बर क्षेत्र अर्थात् गुदी गाउँ प्रगन्ना र रायझमुना प्रगन्नाका किसानहरू सत्याग्रहमा आएका थिए।
सत्याग्रहको पहिलो दिन हामीले आफ्ना माग बडाहाकिम मिन्टोजंग राणालाई बुझायौँ र बजारको परिक्रमा, आमसभा र दिनभरि गोस्वाराअगाडि नारा लगाएर धर्ना बस्ने काम भयो। दोस्रो दिन ३ नम्बर क्षेत्रबाट एउटा समूह आएको थियो र यसको नेतृत्व झालु लेखीले गरेका थिए। सोही दिनदेखि प्रशासनले अड्डा इलाकामा पस्न बन्देज लगाएको थियो।
चौथो दिनदेखि सरकारले लगाएको प्रतिबन्ध तोड्न प्रदर्शन गर्नु र धर्ना बस्नु सत्याग्रहीहरूको कार्यक्रम बन्यो, जसले गर्दा प्रहरीसँग भिडन्त हुन पुग्यो। सरकारी दमन बढ्न थाल्यो। गुजाई यादवलाई चारैतिर आगो बालेर बीचमा राखी नाकमा पानी खन्याएर यातना दिइएको थियो। पछि उनलाई मरे भनेर फालिएको अवस्थामा हामीले भेटेका थियौँ। चौथो दिन निर्मम रूपमा प्रहरीले लाठीचार्ज गर्दा जितु यादव सख्त घाइते भए। १० जना सत्याग्रही गिरफ्तार गरिए। त्यस दिनको भिडन्तपछि सरकारतर्फबाट वार्ताका लागि मौखिक रूपमा सन्देश पठाउने काम भयो। तर, मौखिक आमन्त्रणलाई हामीले स्वीकार गरेनौँ। सातौँ दिनसम्म हाम्रो सत्याग्रह आन्दोलन सुचारु रह्यो।
हाम्रो सत्याग्रह आन्दोलनको राप केन्द्रसम्म पनि पुग्यो। आन्दोलनको समर्थनमा काठमाडौँमा एक भव्य आमसभा भयो। तत्कालीन सरकारलाई केन्द्रीय प्रतिनिधिमण्डलले भेटेर माग पूरा गर्न दबाब दियो। सप्तरीका किसानमा माग सम्बोधन नभए सडक आन्दोलन चर्काउने चेतावनी पनि दियो। आठाँै दिनमा हामीले सत्याग्रहका साथै सप्तरीमा एउटा आमसभा गर्ने पूर्वनिर्णय नै गरेका थियौँ। तर, गोस्वाराका तर्फबाट नाराजुलुस र आमसभा गर्न पूर्ण प्रतिबन्ध लगाएको इस्तिहार जारी गरियो। हाम्रो अनुरोध/विनयको कुनै वास्ता गरिएन। कुनै हालतमा पनि प्रतिबन्ध नहटाउने निर्णय सुनाएपछि हामीले सरकारी प्रतिबन्ध तोड्दै जुलुस प्रदर्शन र सभा गर्यौँ। प्रहरीसँग मुठभेड भयो। तैपनि, उक्त सभालाई मैले १५ मिनेटसम्म सम्बोधन गरेँ।
१३ दिनसम्म यसरी नै आन्दोलन अघि बढ्यो। त्यस क्रममा दिनमा १५/१६ जनाका दरले हाम्रा किसान कार्यकर्ता गिरफ्तारीमा पर्दै गए। १४औँ दिनदेखि हामीले सरकारी प्रतिबन्ध तोड्दै सहरका दुई नाकाबाट किसानहरूलाई मोर्चामा खटाउने निर्णय गर्यौँ। त्यसपछि सरकारले व्यापक गिरफ्तारी थाल्यो। त्यतिबेलासम्म करबि १ सय ५० जनाको गिरफ्तारी भइसकेको थियो तर तीमध्ये ३५ जना सक्रिय कार्यकर्ताबाहेक अरूलाई गिरफ्तार गर्दै छोड्दै गररिहेको थियो। १४औँ दिन प्रशासनले एक्कासि ६० जनालाई गिरफ्तार गर्यो र तिनलाई खानासमेत नदिएर थुनेर राख्यो। हामीले प्रल्हादप्रसाद न्यौपानेको नेतृत्वमा बडाहाकिमकहाँ प्रतिनिधिमण्डल पठाएर कडा विरोध जनायौँ।
१५औँ दिन मेरै नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग बडाहाकिमले कुराकानी गरे र हाम्रा मागका बारेमा लिखित रूपमा आश्वासन दिन मञ्जुर भए। त्यस दिन निकै ठूलो र प्रभावशाली जुलुस निस्किएको थियो। सायद त्यसले पनि सरकार बढी नरम देखिएको थियो कि !
१६औँ दिन प्रथमलाल चौधरीको नेतृत्वमा निस्किएको विशाल समूह सबै बारबन्देज तोड्दै गोस्वाराअगाडि नै पुगेको थियो। त्यस दिन ५३ जना गिरफ्तारीमा परेका थिए। थानामा नअटेर केही अगुवा किसान कार्यकर्तालाई आर्मफोर्सको ब्यारेकमा राखिएको थियो। आन्दोलनको बढ्दो दबाब देखेर बडाहाकिमले हाम्रा माग सम्बोधन गर्दै लिखित पत्र पठाए तर पत्र अस्पष्ट भएकाले हामीले स्पष्ट हुन माग गर्दै १७औँ दिन पुन: पत्र पठायौँ। तर, हाम्रो सत्याग्रह आन्दोलन भने जारी रह्यो।
यसरी निरन्तर रूपमा आन्दोलन चलिरहेपछि केन्द्रबाट नेकपाका नेता पुष्पलालको नेतृत्वमा केदारप्रसाद उपाध्याय र विष्णुबहादुर मानन्धरसमेतको प्रतिनिधिमण्डल सत्याग्रहमा प्रहरी दमन र अत्याचारको निरीक्षण गर्न ६ चैत ०१३ का दिन राजविराज आयो। पुष्पलालजीको स्वागतमा हामीले आमसभा राखेका थियौँ। युवक संगठन र कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा उक्त जुलुस र आमसभाको आयोजना गरिएको थियो। जिल्ला प्रशासन त्यस दिन पनि कुनै प्रकारको सभा गर्न दिने पक्षमा थिएन। एकातिर युवक र कम्युनिस्ट पार्टीको आयोजनामा विशाल आमसभा र अर्कोतर्फ सत्याग्रह आन्दोलन।
यस्तो देखेपछि प्रशासन पूरै तिलमिलायो। प्रहरी मुठभेडमै उत्रियो। मुठभेडमा हाम्रा झन्डै एक सय जना घाइते भए। प्रशासनले आर्मफोर्सलाई पनि सडकमा उतार्यो। प्रहरी प्रशासन र आर्मफोर्स यति निर्मम ढंगले प्रस्तुत भए कि यशोदानन्द मिश्रलगायत थुप्रै घाइते भए। स्थानीय व्यापारी रामपाल शारदाहरूसमेत पिटिए। प्रहरी आक्रमणबाट बच्न रूखमा चढेर बसेका मानिसलाई तल खसालेर समेत यातना दिइएको थियो।
संयोग कस्तो भने ७ चैतदेखि मुलुकभरिका नेपाली कांग्रेसका जिल्ला सभापति र जिल्ला सचिवहरूको भेला राजविराजमा हुँदै थियो। त्यसमा सहभागी हुन बीपी कोइरालासहित सबै ठूला नेता आएका थिए। शान्तिपूर्ण रूपमा सत्याग्रह गररिहेका किसानहरूमाथि भएका बर्बर दमनबारे पनि सम्बोधन होला भनेर हामीले आशा गरेका थियौँ तर बीपीले एक शब्द बोल्नुभएन।
यसरी ७ चैतका दिन एकातिर नेपाली कांग्रेसको आमसभा भइरहेको थियो भने अर्कोतर्फ प्रतिबन्धित क्षेत्रबाहिर आर्मफोर्स र प्रहरीकै घेराभित्र हामीले आमसभा गर्यौँ। तर आन्दोलनले प्रशासनलाई झुकाएर छोड्यो। २३औँ दिन जिल्ला प्रशासन र हामीबीच माग पूरा गर्ने सम्झौतामा हस्ताक्षर भयो। यसरी १५ फागुन ०१३ देखि सुरु भएको सप्तरीको सत्याग्रह आन्दोलन २३ दिन चली ८ चैतमा पुगेर सम्झौतामा टुंगियो ।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...