राजा त्रिभुवनको शवमा भारतीय राष्ट्रिय झन्डा !
कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ ।
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडिएको छ ।
आफ्नो विद्यावारिधि शोधग्रन्थलाई पटना युनिभर्सिटीका प्राध्यापक वीरेन्द्रकुमार बर्माले ‘इट विल बी अ हटकेक...’ भन्दा फुरुंग परेका थिए, गेहेन्द्रमान उदास ‘पोखरेली’ । विडम्बना के भने लामो समय प्रकाशक मात्र नभेटिएको होइन, पाण्डुलिपि पढ्ने विद्वान्समेत पाएनन् ।
राणा प्रधानमन्त्री चन्द्रशमशेर दुनियाँसामु आफैँलाई ‘राजा’ भन्थे र भन्न लगाउँथे । ५ वर्ष ६ महिनाको हुँदा नै नेपालको राजगद्दीमा बसेका त्रिभुवनलाई भने स्त्रीलम्पट, भोगविलासी, रक्सीबाज र मूर्ख बनाइराख्न चाहन्थे । आफू राणाको बन्दी भएको बुझेका तिनै त्रिभुवन जनक्रान्तिमार्फत आफ्ना पूर्वज सुरेन्द्रवीरविक्रम शाहको पालामा गुमेको शक्ति फर्काउन सफल भए ।
राणाविरोधी आन्दोलनमा त्रिभुवनले खुलेर साथ दिए । विसं १९९३ मा खुलेको नेपाल प्रजा परिषद्लाई उनले आर्थिक सहयोग मात्र दिएनन्, आफूलाई सक्रिय सदस्य नै ठाने । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकताका निम्ति प्रेरित गरे, सहयोग पनि पत्याए ।
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग उनको नसनाता जोडिएको छ । पुस्तकमा खासगरी प्रजा परिषद्मा त्रिभुवनको संलग्नता, ००७ सालको क्रान्ति र त्यसपछिको चार वर्षे शासनकालबारे विस्तृत विवेचना गरिएको छ ।
रोलवाला राणाहरूको सामूहिक हत्या गर्ने त्रिभुवनको योजना र त्यसको असफलतापछि दरबारमा गरिएको खानतलासीबारे पनि पुस्तकमा चर्चा छ । जैतुनको तेल मालिस गर्न आएकी फ्रान्सेली युवती एरिका लुस्टाग त्रिभुवन र भारतीय दूतावासमा सम्पर्क सेतु थिइन् । एक पटक राजाले एरिकालाई यस्तो प्रतीकात्मक चिठी लेखेछन्, ‘चरा (राजदूत) मेरो बगैँचामा आयो र मलाई डाक्टर (नेहरु) को फूल (चिठी) दियो ।’
त्रिभुवन छोरा ज्ञानेन्द्र, धीरेन्द्र र तीन छोरीलाई दरबारमै छाडेर राजनीतिक शरणमा गएपछि राणाहरूले मुख्य साहेबज्यू रामविक्रम शाहलाई राजगद्दीमा राख्न खोजे । तर उनी नमानेपछि नाबालक ज्ञानेन्द्रलाई तयार गरियो । त्यतिबेला त्रिभुवन श्रीपेच लुकाएर गएकाले मोहनशमशेरको हडबडमा श्री ३ कै श्रीपेचले काम चलाइएको प्रसंग पनि पुस्तकमा छ ।
राजा र युवराजको खटपट पुस्तकको उल्लेख्यनीय पाटो हो । त्रिभुवनभन्दा महेन्द्र १५–१६ वर्ष मात्र कान्छा रहेछन् । १२ वर्षको उमेरमै त्रिभुवनको कान्ति र ईश्वरी नामक दुई राजपुत कन्यासित विवाह भएको थियो । राणा परिवारसँग सम्बन्ध नगाँस्ने राजेच्छाविपरीत जेठा छोरा महेन्द्रको जुद्धशमशेरकी नातिनी इन्द्र, माइला हिमालयको जुद्धकै पनातिनी प्रिन्सेपसँग र जुद्धकी अर्की पनातिनी हेलेनसित कान्छा बसुन्धराको विवाह हुन पुग्यो ।
रत्नसँगको दोस्रो विवाहले त्रिभुवन अझ चिढिएका थिए । शरणमा जाने अन्तिम क्षणमा मात्र महेन्द्रलाई जानकारी दिएको, उपचारका लागि युरोप जाँदा युवराजलाई भन्दा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई अधिकार दिएको, मृत्युशैय्यामा रहँदा पनि राजकीय शक्ति हस्तान्तरणमा आनाकानी गरेको आदि प्रसंग पुस्तकमा समेटिएका छन् ।
७ फागुन ००७ को त्रिभुवनको वक्तव्यमा ‘गणतन्त्रात्मक’ शब्द जानीबुझीकन परेको लेखकको निष्कर्ष छ । गणतन्त्रका सन्दर्भमा त्रिभुवनले भनेका रहेछन्, ‘म असल हुँदैमा मेरा सन्तान पनि असल हुन्छन् भन्ने निश्चित छैन ।’ त्यस घोषणाअनुसार संविधानसभा चुनाव हुन नसक्नुमा नेताहरूको अपरिपक्वता, अनुभवहीनता अनि आपसी कलहलाई जिम्मेवार ठहर्याएका छन्, लेखकले । राष्ट्रपिता भनिने त्रिभुवनको शासनकाललाई पुस्तकमा ‘तानाशाहीबिनाको तानाशाही’ टिप्पणी गरिएको छ ।
प्रजातन्त्र स्थापनापछि नेपाली कांग्रेससँग त्रिभुवनको सम्बन्ध त्यति राम्रो देखिँदैन । राजाले विश्वेश्वरप्रसाद कोइरालाभन्दा उनका दाजु मातृकालाई काखी च्यापेको र पार्टी फुटाएको दोषारोपण छ । लेखकले दाजुभाइको पदलोलुप स्वभाव, अदूरदर्शी जोस र अहंकारले त्रिभुवनलाई एक्लो बनाएको र विश्वेश्वर मोहनशमशेर प्रधानमन्त्री भएपछि मात्र राणाविरोधी अभियानमा लागेको दाबी गरेका छन् । उनको शब्दमा त्रिभुवनमा स्वेच्छाचारी र अधिनायकवादी मनसुवा नभए पनि केही विवशता पक्कै थिए ।
इतिहास लेखन, पठन, विश्लेषण र विवेचनाको तात्पर्य यथार्थको नजिक पुग्नु हो । पुर्खाले गरेका गल्ती नदोहोर्याउने, राम्रा कामको प्रवर्द्धन गर्ने अनि इतिहासका अतिरञ्जना, अन्धविश्वास र आडम्बरको शुद्धीकरण गर्ने मान्यता राख्छन्, पोखरेली । यस पुस्तकले अतीतको अनुभव बाँड्नुका साथै भुल्न नमिल्ने पाठसमेत दिएको छ ।
००७ सालको क्रान्ति छेउछाउको इतिहास मिहीन उत्खनन गरिएको यो पुस्तक आद्योपान्त रोचक छ । तर लेखकका केही पूर्वाग्रह पनि नदेखिने होइनन् । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र बहाल भएको र सार्वभौमसत्ताको स्रोत जनतालाई मानिएको अवस्थामा पुस्तकको नाम आफैँमा विरोधाभास हो । भलै, यो शोधग्रन्थको पुनप्रकाशन नै किन नहोस् ।
यो पनि पढ्नुस
कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ ।
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...