ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिंगो विश्वमा प्रभाव पार्न सक्ने विशिष्ट छविका कारण उनको नेपाल आगमनले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो सांकेतिक अर्थ राख्दथ्यो ।
अमेरिकी विदेश मन्त्रालय, तत्कालीन समयमा प्रकाशित अखबार , भारतीय अधिकारीले तयार गरेको ईलेनोर रुजबेल्टको भ्रमण तालिका र रुजबेल्टको आफ्नै डायरीमा उल्लेख भएका विवरणहरूमा आधारित भएर उनको नेपाल भ्रमणबारे यो लेख तयार गरिएको छ ।
ईलेनोर रुजबेल्ट लोकप्रिय अमेरिकी राष्ट्रपति फ्र्याङ्क्लिन डिल्यानो रुजबेल्टकी पत्नी थिइन् । दोश्रो विश्वयुद्धका कारण पनि उनी सबैभन्दा लामो समय (सन् १९३३-४५) लगातार १२ वर्षसम्म अमेरिकी प्रथम महिलाका रुपमा रहिन् । तर त्यतिले मात्र उनको परिचय अपुरो हुन्छ । उनको अर्को सशक्त परिचय हो आजीवन अधिकारकर्मीको । संयुक्त राष्ट्रसंघको मानवाधिकार समितिको अध्यक्षका रुपमा उनको सबैभन्दा महत्त्वपूर्ण योगदान हो विश्वव्यापी मानवाधिकार घोषणापत्र जारी गर्नु । त्यही घोषणापत्रलाई मानवीय इतिहासमा पहिलोपटक सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गर्यो ।
संयुक्त राष्ट्रसंघको मानवाधिकार समितिमा अमेरिकाको प्रतिनिधि रहेको समयमा सन् १९५१ को डिसेम्बर ३१ देखि सन् १९५२ को ०१ अप्रिलसम्म ईलेनोर रुजबेल्ट विश्व भ्रमणमा निस्किएकी थिइन् ।
बेलायती उपनिवेशबाट भारत स्वतन्त्र नहुँदै सुरु भएको नेपाल अमेरिका सम्बन्धमा पद्म शमशेरका पालामा सन् १९४५ को नोभेम्बर १६-२२ मा पहिलोपटक पहिलो अमेरिकी अधिकारीका रुपमा दिल्लीबाट जर्ज आर. मेरल काठमाडौँ आएका थिए । त्यस्तै सन् १९४७ अप्रिल १३-२६ सम्म 'वाणिज्य तथा मैत्री' सन्धिका लागि तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमेनको विशेष प्रतिनिधिका रुपमा मन्त्रीस्तरमा साथरवेट एक अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरी नेपाल आएर फर्किसकेका थिए ।
सन् १९४७ को अप्रिलमा नेपाल र अमेरिकाबीच 'वाणिज्य तथा मैत्री' सन्धिमा हस्ताक्षर भई अर्को वर्ष सन् १९४८ देखि मिनिस्टर तहमा नेपालले बेलायत र त्यस्तै अमेरिकाले दिल्लीबाट आ-आफ्ना राजदूत खटाएका थिए । दुबै मुलुकले सन् १९५१ अगस्टमा सम्बन्धलाई राजदूत स्तरमा स्तरोन्नति गरेका थिए । त्यसै क्रममा सन् १९५१ अक्टोबरमा दिल्लीका लागि नवनियुक्त अमेरिकी राजदूत चेस्टर बाउल्स जो नेपालका लागि समेत अमेरिकी राजदूत तोकिएका थिए । उनै चेस्टरले सन् १९५२ फेब्रुअरी १६ मा काठमाडौँमा तत्कालीन राजा त्रिभुवन समक्ष नेपालका लागि पहिलो फुल अमेरिकी राजदूतका रुपमा आफ्नो ओहदाको प्रमाणपत्र बुझाएर जिम्मेवारी सम्हालिसकेका थिए । उता अमेरिकामा भने नेपालका तर्फबाट सन् १९५३ को २४ फेब्रुअरीमा बेलायतका लागि तत्कालीन नेपाली राजदूत जनरल शंकर शमशेर जबराले अमेरिकाका लागि पहिलो नेपाली फुल राजदूतका रुपमा अमेरिकि राष्ट्रपति ड्वाइट डी. आइजनआवर समक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए । (यु.एस. डिपार्टमेन्ट अफ स्टेट बुलेटिन)
भारतीय स्वतन्त्रतापछि सन् १९५० मा भएको नेपाल-भारत 'शान्ति तथा मैत्री सन्धि' लाई आफू अनकूल व्याख्या गरी तत्कालीन भारतीय प्रधानमन्त्री जहवारलाल नेहरुले नेपाललाई आफ्नो पूरा प्रभाव क्षेत्र ठान्ने गर्दथे । आफ्नै रोहवरमा वि.सं. २००७ को दिल्ली सम्झौतापछि बदलिएको नेपालको नयाँ राजनीतिक परिस्थितिमा नेपालको वैदेशिक मामिलामा आफ्नो अभिभावकत्व कायम रहोस् भन्ने चाह उनले राखेको विभिन्न घटनाक्रम र उनका सार्वजनिक वक्तव्यबाट प्रष्ट हुन्छ । उनले यही आशय राख्ने अर्को एउटा घटना हो ईलेनोर रुजबेल्टको नेपाल भ्रमण गर्ने चाहसँग सम्बन्धित घटना जसमा नेहरुले नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई २८ फेब्रुअरी १९५२ को पत्रमा नेपालको वैदेशिक मामिला आफ्नो स्वीकृतिमा चलोस् भन्ने आशय रहेको प्रष्ट देखिन्छ ।
माथि उल्लेख गरेझैँ अमेरिकी पूर्व प्रथम महिला आफ्नो विश्व भ्रमणका सिलसिलामा दक्षिण एशियाको भ्रमणका लागि सन् १९५२ फेब्रुअरी २७ मा भारत आइपुगेकी थिइन् । सोही दिन भारतीय प्रधानमन्त्रीसँगको भेटमा ईलेनोरले नेपाल जाने आफ्नो इच्छा व्यक्त गरिन् तर त्यसमा नेहरुले तपाईँ नेपाल जाने म कुनै कारण देख्दिनँ भनी आफ्नो अनिच्छा व्यक्त गरे । नेहरुले नेपालका प्रधानमन्त्री कोइरालालाई अर्को दिन २८ फेब्रुअरीमा लेखेको पत्रमा उनले यस्तो कुरा उल्लेख गरेका छन् । 'श्रीमती रुजबेल्ट हिजो दिल्ली आइपुगिन् । उनले नेपाल जाने इच्छा राखेकी छिन् तर उनी नेपाल जाने म कुनै कारण देख्दिनँ ।' (मातृकाप्रसाद कोइराला अ रोल इन अ रिभोलुसन )
तत्कालीन परिस्थितिमा मातृकालाई नेहरुले पठाएको उक्त पत्रलाई मात्र आधार मान्ने हो भने नेहरुको अनिच्छाका कारण ईलेनोरले नेपाल भ्रमण गर्ने अवसर पाइनन् भन्ने बुझिन्छ । त्यसरी पनि एउटा अवधारणा तयार भएर नेपालमा उनको भ्रमण हुन नसकेको चर्चा पनि चलेको पाइन्छ । वि.सं. २००८ सालमा राणा-कांग्रेस संयुक्त सरकारको विघटन भएपछि राजा महेन्द्रको आगमन नहुँदासम्मको अवधिमा नेपाल आफ्नो सार्वभौमसत्ता प्रयोग गर्नसम्म भारतमा निर्भर थियो । त्यतिबेला नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय प्रतिनिधि उपस्थित मात्र हुँदैनथे, मन्त्रिमण्डल गठन र पुनर्गठनका लागि राजा त्रिभुवनको कलकत्ता र दिल्लीमा भारतीय प्रधानमन्त्री नेहरुसँगको भेटमा चर्चा हुन्थ्यो । उक्त चर्चा र नेहरुको सुझावलाई भारतीय अखबारले प्राथमिकता साथ छाप्दथे । तत्कालीन परिस्थितिमा भारत नेपाल मामिलामा कतिसम्म हावी हुन्थ्यो भन्ने घटनाका केही प्रतिनिधि उदाहरण हुन् यी । (दी इन्डियन एक्स्प्रेस १३, सेप्टेम्बर १९५३)
राणा शासनको अन्त्यपछिको प्रजातान्त्रिक नेपालमा त्यति बेलासम्म भारतीय अधिकारीका अलवा प्रधानमन्त्री नेहरु मात्र नेपाल आएका थिए । बेलायत र भारतको दूतावास नेपालमा स्थापना भएको थियो । नेपालसँग कुटनीतिक सम्बन्ध भएका दुई अन्य मुलुक अमेरिका र फ्रान्सका कुटनीतिक अधिकारी दिल्लीबाट नै नेपालमा ओहदाको प्रमाणपत्र बुझाउन आउनेदेखि उतैबाट नेपाल मामिला हेर्ने गर्दथे ।
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा नभए पनि अमेरिकासहित सिंगो विश्वमा प्रभाव पार्न सक्ने विशिष्ट छवि थियो । त्यसैले उनको नेपाल आगमनको घटनाले मात्र पनि तत्कालीन समयमा अन्तर्राष्ट्रिय मञ्च र नेपालको वैदेशिक मामिलामा ठूलो सांकेतिक अर्थ राख्दथ्यो । नेहरुको त्यो अनिच्छाका बाबजुद पनि कालान्तरमा उनको इच्छाले साकार रुप लियो । उनको भ्रमणको मुख्य संयोजक भने अमेरिकाका लागि भारतीय राजदूत विजयालक्ष्मी पण्डित थिइन् । दिल्लीमा राजनीतिक भेटघाट सकिएपछि उनको भ्रमण उत्तर दक्षिण भारतीय राज्यहरूको शैक्षिक संस्था, पर्यटकीय क्षेत्र र विश्वविद्यालय केन्द्रित भएको थियो । १९ मार्चका लागि उनको एकदिने नेपाल भ्रमणको मिति तय भएको जानकारी भ्रमण तालिका सहित १० मार्चमा भारतीय विदेश मन्त्रालयले जारी गरेको थियो । (भारतीय शिक्षा मन्त्रालयलाई विदेश मन्त्रालयको १०, मार्च १९५२ को पत्राचार )
अमेरिकी राष्ट्रपति रुजबेल्टको एफडीआर डिजिटल आर्काइभमा रहेको ईलेनोरको ब्यक्तिगत डिजिटल डायरीमा २५, मार्च १९५२ को मितिमा काठमाडौँमा भारत बनारसको विवरण लेखिएको पाइए पनि नेपाल बारे थप विवरण भने उल्लेख छैन । तर 'कोलम्बिएन कलेज अफ आर्टस एन्ड साइन्स' मा डिजिटल स्वरुपमा उपलब्ध रहेको 'माई डे बाई ईलेनोर रुजबेल्ट' डिजिटल डायरीमा भने २५, मार्च १९५२ मा कलकत्तामा अघिल्लो दिनको नेपाल भ्रमणको विवरण लेखिएको छ । उनको डायरीमा उल्लेख गरिएको विवरणले हामीलाई नेपालको तत्कालीन अवस्थाको झल्को दिन्छ । साथै उनी सीधा काठमाडौँमात्र ओर्लिएको र केही घण्टा काठमाडौँमा रहेकाले त्यही अनुसारको उनको नेपालप्रतिको बुझाई देखिन्छ ।
भारतीय अधिकारीले तयार गरेको उनको भ्रमण कार्यतालिका अनुसार उनी सन् १९५२ मार्च १९ (वि.सं. २००८ चैत्र ०७ बुधवार) का दिन भारतीय राज्य उत्तर प्रदेशको इलाहवाद (प्रयाग) बाट ११ बजे लन्च समयमा काठमाडौँ पुग्ने गरी त्यहाँका लागि उड्ने कार्यक्रम उल्लेख छ । त्यस्तै २० मार्चको 'इन्डियन डेली मेल' अखबारले हिजो आफ्नो एक दिने नेपाल भ्रमणका लागि ईलेनोर रुजबेल्ट विमानबाट काठमाडौँ अवतरण गरिन भन्ने खबर छापेको रहेछ । गौचर हवाईअड्डामा उनलाई नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासहितका नेपाली अधिकारीहरू त्यस्तै भारतीय राजदूत सिपीनएन सिंह र बेलायती राजदूत क्रिस्टोफर समरथेसले समेत स्वागत गरेको लेखिएको छ । अमेरिकी दूतावासले तय गरेको नेपालको कार्यक्रम अनुसार उनी विमानस्थलबाट सिधा रवि भवन पुगिन् । त्यहीँ उनलाई एकरात बस्ने प्रबन्ध अमेरिकी सहयोग पोइन्ट फोर प्रोग्राम अन्तर्गतको अमेरिकी कार्यालय रहेको रवि भवनमा मिलाएको स्टार न्युज अखबारले समेत उल्लेख गरेको छ ।
उनको काठमाडौँ आगमन र काठमाडौँमा रहँदाको गतिविधिलाई अब उनकै डायरीको टिपोटबाट हेरौँ । भारतमा तय भएको उनको भ्रमण तालिकाबाट उनी बिहान ११ बजे त्यहाँबाट काठमाडौँका लागि उड्ने र लन्चको समयमा आइपुग्ने भनिए पनि उनको डायरीबाट भने उनी सूर्यास्तको समयमा काठमाडौँ उत्रिएको देखिन्छ ।
उनले लेखेकी छन्-
चारैतिरबाट पहाडले घेरिएको पछाडिपट्टि सेता हिमाल देखिने करिब चार हजार फिटभन्दा अग्लो भूभागमा अवस्थित सुन्दर काठमाडौँ उपत्यकामा ओर्लिंदा सूर्यास्तको समय भइसकेको थियो । विमानस्थलबाट पोइन्ट फोर प्रोग्रामसँग जोडिएका पउल रोज र श्रीमती रोजका साथ हामी उनीहरू बसोबास गरिरहेको एउटा सुन्दर नेपाली दरबारसम्म पुग्दाको यात्रा अत्यन्तै रोचक थियो । पउल केही समय यता त्यहाँ बस्दै आइरहेको भए पनि उनकी श्रीमती र सानी छोरी भने दस दिन अघिमात्र त्यहाँ आइपुगेका हुन् । बेलुकी ७ बजेतिर बेलायती राजदूत म कहाँ आइपुगे । हामी तयार भई बेलुकी ८ बजे राजा त्रिभुवनलाई भेट्न नारायणहिटी राजदरबारमा पुग्यौँ । जहाँ हलमा राजाले हाम्रो स्वागतमा रात्री भोजको आयोजना गरेका थिए त्यहाँ मलाई लिएर गए । केहीबेरमा त्यहाँ नृत्य चल्यो । सैनिकहरूले तरवारसहित प्रदर्शन गरेको विशेष नृत्यले भने साह्रै प्रभावित पार्यो ।
(नारायणहिटी राजदरबारमा तत्कालीन राजा त्रिभुवन र उनका दुई रानीहरु ईश्वरी राज्यलक्ष्मी र कान्ति राज्यलक्ष्मीका साथमा शेर्पा पहिरनमा सजिएकी ईलेनोर रुजबेल्टको एउटा दुर्लभ सामूहिक तस्बिर मात्र हालसम्म भेटिएको नेपाल भ्रमणको तस्बिर हो ।)
अर्को बिहान हामी चाँडै उठ्यौँ र बिहानको नास्ताभन्दा पहिले रोजकी छोरीको साथ लागेर मैले नेपालका पूर्व राणा महाराजा परिवारको उक्त दरवारलाई राम्रोसँग अवलोकन गरेँ त्यस्तै चौरमा पनि केही बेर चक्कर लगाएँ । त्यसपछि हामी चिनियाँ लामा बस्ने केही टाढाको बौद्ध मन्दिर घुम्न गयौं । हामी त्यहाँ सडकमा डुल्दै अन्य थुप्रै मन्दिरहरु पनि घुम्यौं जुन यात्रा मलाई साँच्चै रोमान्चित लाग्यो । हामीले अन्य तिर धेरै ध्यान नदिई काठमाडौँमा धेरै डुल्यौँ र श्रमिक र बजारहरु पनि हेर्यौँ । नेपालमा दुई वर्णका मानिस देखिन्छन् एकथरी आर्यन र अर्कोथरी केही हदसम्मका मंगोलियन । त्यहाँ कुनै उद्योग छैन त्यस्तै त्यहाँका सडकको अवस्था पनि त्यति राम्रो रहनेछ । त्यहाँ कृषि मुख्य पेशा रहेछ त्यस्तै रेलमार्ग समेत छैन । मलाई लाग्यो कि त्यहाँका केही मानिसहरूको पेशा पछाडी पिठ्युँमा सामान बोक्ने रहेछ ।
त्यहाँ जुन मोटरगाडीमा हामी सवार भयौँ ती मोटरगाडीहरू समेत त्यहाँका मानिसले आफ्नो काँधमा बोकेर पहाड छिचोल्दै त्यहाँसम्म पुर्याएका रहेछन् । ठूला ट्रकका अन्य सामग्रीहरू समेत त्यसैगरी बोकेर त्यहाँ पुर्याइने रहेछ र त्यहाँ पुगेपछि तिनलाई जोडेर पुनः तयार गरिने रहेछ । भारत पाकिस्तानबाट नेपालको सीमासम्म तिनीहरू रेलमा आउने रहेछन् । तराई सीमाबाट घोडा चढेर पहाड छिचोल्दै काठमाडौँ उपत्यकासम्मको यात्रा गर्न दुई दिन लाग्ने रहेछ । नेपाल आजको दुनियाँ भन्दा धेरै परको अर्को दुनियाँ जस्तो लाग्यो हामीलाई तर पनि जलवायु र प्राकृतिक दृष्टिकोणले भने अत्यन्तै सुन्दर छ ।
नेपालको वर्तमान सरकार वामपन्थीहरूको नेतृत्वमा छ । एकहिसाबले प्रगतिशील पनि । तर उनीहरूले यी कुनै वास्तविकतालाई एकैरातमा तुरुन्तै बदल्न सक्दैनन् त्यसका लागि भने अवश्य समय लाग्छ । त्यहाँ कुनै पनि तथ्यांक नै रहेनछ त्यसैले कुनै पनि पक्षले हामीलाई यो बताउन सकेनन् कि त्यहाँको जनसंख्या बढिरहेको छ वा घटिरहेको छ त्यस्तै त्यहाँको मानिसको जीवनशैली र औषत आयु कति छ भन्ने थाहा हुन सकेन । तर पनि मलाई एकजनाले यो बताए कि त्यहाँको स्वास्थ्य अवस्था खराब छ र अस्पतालहरू राम्रा छैनन् । सरकारले केही छात्रहरूलाई पोइन्ट फोर प्रोग्राम अन्तर्गत चिकित्सा शिक्षा अध्ययनका लागि अमेरिका पठाएको छ र त्यस्तै अन्य कार्यक्रम (कोलोम्बो प्लान) अन्तर्गत अरु केही विद्यार्थीहरू कृषि र वनविज्ञान पढ्नका लागि विदेशमा गएका छन् ।
अमेरिका लगायतका मुलुकमा अध्ययनका लागि पुगेका ती विद्यार्थीहरू त्यहाँको जीवनशैली अनुसार त्यही पद्धतिमा अभ्यस्त हुने छैनन् भन्ने मलाई विश्वास छ ताकि उनीहरू पुनः नेपाल फर्किँदा उनीहरूलाई नेपालको अवस्थाले निराश नतुल्याओस् । पउल रोजले आयोजना गरेको दिवा भोजमा हामीले ती सबै विद्यार्थीहरूसँग साक्षत्कार गर्यौँ । त्यसपछि हामी पुनः प्रधानमन्त्री कोइरालालाई भेट्न गयौं । उनी हामीसँग असाध्यै सरल र सहज तरिकाले प्रस्तुत भए जसको व्यक्तित्वबाट मैले उनलाई एकदमै सक्षम र प्रगतिशील पाएँ ।
नेपालको भ्रमण सकेर हामी दिउँसो तीन बजे त्यहाँबाट हिमालको छेउ लागेर कलकत्ताका लागि उड्यौँ । बादल भन्दा माथिको बडो सुन्दर सगरमाथालाई हामीले देख्यौँ । जसैजसै माथि दार्जिलिङतर्फ अगाडि बढ्या त्यसै त्यसै त्यहाँ आसपास पनि हामीले सुन्दर पहाड र हिमालहरू देख्यौँ । बेलुकी ६ बजेतिर कलकत्तामा उत्रँदा कलकत्ता शान्त भइसकेको थियो ।
भारतीय अधिकारीले तयार गरेको उनको भ्रमण तालिकामा उनी अर्को बिहान ८ बजे नै काठमाडौँबाट बनारसका लागि उड्ने र बनारसबाट बेलुकी ३ बजे कलकत्ताका लागि उड्ने भन्ने तय थियो । तर उनको डायरीबाट भने उनी काठमाडौँबाट सिधा कलकत्ता उडेको देखिन्छ जसलाई पुष्टि गर्दै २२ मार्चको 'दी स्ट्रेट्स टाइम्स' ले २१ मार्चको खबर साभार गर्दै लेखेको छ- हिजो बेलुकी श्रीमती रुजबेल्ट काठमाडौँबाट सिधा कलकत्ता आइपुगिन् र यहाँ एक दिन बसेर उनी पाकिस्तानको ढाका (तत्कालीन पूर्वी पाकिस्तान) जानेछिन् ।
ईलेनोरको उक्त भ्रमणलाई अमेरिका सरकारले औपचारिक रुपमा नै अमेरिकी प्रतिनिधि पूर्वप्रथम महिलाको नेपाल भ्रमणका रुपमा लिएर नेपाल अमेरिका सम्बन्ध र द्वीपक्षीय भ्रमण आदानप्रदानमा त्यसलाई समावेश गरिरहेको छ । नेपाल अमेरिका सम्बन्धमा हालसम्म दुई पूर्व र एक बहालवाला गरि तीन जना प्रथम महिलाले नेपाल भ्रमण गरेका छन् । पूर्वप्रथम महिला ईलेनोरको नेपाल भ्रमणको ३३ वर्षपछि अर्की पूर्वअमेरिकी प्रथम महिला रोजलिन कार्टरको पति जिम्मी कार्टरका साथमा सन् १९८५ मा नेपाल भ्रमण सम्पन्न भएको थियो । त्यस्तै बहालवाला प्रथम महिलाको रुपमा सन् १९९५ मा हिलारी क्लिन्टनले नेपाल भ्रमण गरेकी थिइन् । नेपाल भ्रमणबाट फर्किएको एक दशकपछि सन् १९६२ मा ईलेनोर रुजबेल्टको निधन भयो । निधन पश्चात् उनको नाममा रहेको 'ईलेनोर रुजबेल्ट मेमोरियल फाउन्डेसन' बाट अहिले पनि संसारभर मानवाधिकार, शिक्षा एवं प्रजातन्त्रका क्षेत्रमा योगदन पुर्याइरहेको छ । त्यहाँबाट सहयोग प्राप्त गर्ने विभिन्न अन्तर्राष्ट्रिय संगठनहरु मार्फत नेपालमा समेत ती क्षेत्रमा लागिरहेका छन् ।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...