२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजातन्त्र सेनानी तामाङप्रति श्रद्धान्जलीस्वरुप प्रस्तुत छ, २६ मंसिर २०६७ मा नेपाल म्यागजिनमा प्रकाशित उनको संस्मरण :
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान नेपालगन्जमा हृदयघातबाट निधन भयो । ८९ वर्षीय तामाङ क्रान्तिका साक्षी मात्र थिएनन्, योजनाकार र युद्धमोर्चाका सफल कमाण्डरसमेत थिए । क्रान्तिपछि रक्षा दल हुँदै नेपाल प्रहरीको उपरीक्षकबाट सेवानिवृत्त उनका ‘जनमुक्ति सेना : एउटा नलेखिएको इतिहास’ पुस्तक प्रकाशित छ । उनको आत्मकथा प्रकाशनको चरणमा थियो ।
प्रजातन्त्र सेनानी तामाङप्रति श्रद्धान्जलीस्वरुप प्रस्तुत छ, २०१० डिसेम्बर १२ मा नेपाल म्यागजिनमा प्रकाशित उनको संस्मरण :
नेहरुले दिल्ली बोलाए
- श्यामकुमार तामाङ्ग
२००७ साल फागुन ४ गते दिउँसो त्रिभुवन विमानस्थलमा पालै–पालो तीन जहाज ओर्लिए । एउटामा दिल्लीबाट राजा त्रिभूवनको परिवार फर्केको थियो । अरु दुईवटामा पटनाबाट जनमुक्ति सेनाका कमाण्डर र नेपाली काँग्रेसका नेताहरु आएका थिए । विमानस्थलबाटै जनमुक्ति सेनाले नारायणहिटीसम्मै राजालाई स्कटिङ्ग गर्यो । त्यसरी स्कटिङ्ग गर्ने टोलीमा म पनि थिए । त्यो बेला म जनमुक्ति सेनाको ‘स्टाफ अफिसर’ थिए ।
त्रिभूवनलाई नारायणहिटीभित्र पुर्याएर काँग्रेस नेता र जनमुक्ति सेनाका कमाण्डरहरु फर्कियौ र एउटा गम्भीर बैठकका लागि सहिद त्रिबम मल्लको कमलपोखरीमा रहेको घरमा पुग्यौ । राणाबिरुद्धको क्रान्ति सफल भएको निष्कर्षमा सबै काँग्रेस नेताहरु पुगेका थिए । त्यसैले जनमुक्ति सेनालाई विघटन गर्नुपर्ने प्रस्ताव पार्टी सभापति मातृकाप्रसाद कोईरालाले राखे । उनी जनमुक्ति सेनाका ‘सुप्रिम कमाण्डर’ थिए । वीपी कोइराला पनि उनकै पक्षमा थिए । जनमुक्ति सेनाका मुख्य कमाण्डर पुरनसिंह ठाकुर र उप–कमाण्डर ज्ञानबहादुर (जीबी) याक्थुम्बाले भने मानेनन् । गरमागरम लामै छलफल चल्यो । भारतको ‘आजाद हिन्द फौज’ भारतीय सेनामा नगाँभिएकोदेखि रसियामा ‘लाल सेना’ आफै राष्ट्रिय सेना बनेकोसम्मका पक्षविपक्षका प्रसंग निस्किए । किनभने त्यो जनमुक्ति सेनाले जितेको बेला थियो । अन्त्यमा, वीपीले राखेको अर्धसैनिक रक्षा दल बनाउने प्रस्तावलाई सबैले स्वीकारे । यसरी देशै कब्जा गर्ने स्थितीमा पुगेको जनमुक्ति सेना एउटा सानो रक्षा दलमा समेटिन पुग्यो ।
वास्तवमा राणा शासन बिरुद्धको सशस्त्र संघर्ष बेग्लै ढंगले अघि बढेको थियो । जनमुक्ति सेनाले उपत्यका कब्जा गर्न मात्र बाँकी थियो । मलाई लाग्छ, युद्धविराम नभएको भए त्यो पनि सहजै सम्भव थियो । पश्चिमबाट त्रिशुलीसम्म र पूर्वबाट धुलिखेलसम्म एक ब्रिगेड जनमुक्ति सेना पुगिसकेको थियो । तीन महिनाको छोटै समयमै संघर्ष उत्कर्षमा पुगेको थियो । जनमुक्ति सेनासंग के थिएन ? लामो दूरीसम्म प्रहार गर्ने तोप र ट्याड्ढहरु हामी आफैले बनाएका थियौ । थ्री ईन्च मोटार्र, टु ईन्च मोटर्र, ब्रेनगन, स्टेगन, राईफल प्रशस्त थिए । विराटनगर जुटमिलको वर्कशपमा हतियार बनाइन्थ्यो । बर्माको हातहतियार कारखानामा काम गरेका अनुभवी फत्तेहबहादुर नेपाली रातदिन लगाएर नयाँ–नयाँ हतियार तयार पार्थे । उनी त्यो बेलाका ठूलै बैज्ञानिक थिए ।
जित्दै अघि बढेको काँग्रेसका लागि युद्धविराम गर्नुपर्ने कुनै आवश्यकता नै थिएन । डा केआई सिंह त्यही युद्धविरामप्रति असहमत भएर पार्टीबाट अलग्गिए । राणापक्षियभन्दा शक्तिशाली जनमुक्ति सेनाको भरमा काँग्रेसले ठूलै आँट गर्नसक्थ्यो । तर, नेपालजस्ता साना देशका लागि छिमेकीको भूमिकाले ठूलो प्रभाव पार्ने रहेछ ।
सन् १९५१ जनवरी ९ मा राजा त्रिभूवन भागेर दिल्ली पुगे । यो घटनालाई काँग्रेसले गम्भीरताका साथ लियो र १० तारिखमा गोरखपुरमा बैठक बोलायो । त्यतिबेला काँग्रेसको मुख्यालय विराटनगरमा थियो । सबै केन्द्रीय नेताहरु बैठकका लागि गोरखपुर आउँदैथिए, भारतीय प्रधानमन्त्री ज्वाहरलाल नेहरुले त्यहाँका डिष्ट्रीक कलेक्टरमार्फत तुरुन्त दिल्ली पुग्न खबर पठाए । वीपी, मातृका कोईराला, सुर्वणसम्शेरसहित काँग्रेसका नेताहरु दिल्लीमा त्रिपक्षिय सम्झौताका लागि गए । र, जनवरी १६ को युद्धविराम घोषणा भयो ।
मलाई लाग्छ, त्यो काँग्रेसका लागि बाध्यता थियो । मोहनशम्सेरले हरिशम्सेरको एकल आयोगको सिफारिसमा गणेशमान सिंह, दिलमानसिंह थापा, केदारमान व्यथित लगायतका २४ जनालाई फाँसीको फैसला सुनाएको थियो । राजाको लालमोहर नलागेर मात्र त्यो अड्किएको थियो । उता, भारतले पनि साथ दिएन । बाहिर–बाहिर प्रजातन्त्रवादी देखिए पनि भारत, खासगरी जवाहरलाल नेहरु राणा शासनको अन्त्य भएको हेर्न चाहन्नथे । किनभने उनलाई थाह थियो, काँग्रेसको सरकार बन्यो भने त्यो राणाहरुको जस्तो ज्यू–हजुरी गर्न आउने छैन ।
घुम्दैफिर्दै नेपालको राजनीति अहिले ठिक त्यस्तै स्थिती आएको छ । माओवादीहरु १० बर्ष लामो संघर्षबाट शान्तिपूर्ण राजनीतिमा फर्केका छन् । धेरैले फेरी जंगल पस्छन कि भनेर शंका गर्छन् । तर, मलाई त्यस्तो लाग्दैन । एक किसिमले उनीहरुले लडाई जितीसकेका छन् । अब माओवादीलाई अराजक हुन र फेरी जंगल पस्न उनीहरुको जिम्मेवारीले पनि दिदैन ।
माओवादी सेना र तिनका हतियारको उचित व्यवस्थापनबारे छलफल शुरु भएको छ । विचारधारा फरक छ तैपनि माओवादी सेनाले देश र जनताकै लागि लडेको हो । त्यसका उपलब्धीको मूल्याँकन एउटा पाटो हो, तर उनीहरुको बलिदानी भावनाको सबैले कदर गर्नुपर्छ । म आफै पूर्वलडाकु भएकाले मलाई थाह छ– जनमुक्ति सेनाको दुःख । दिनरात भन्नुछैन । खानुबस्नुको ठेगान छैन । जे गर्छ, देश र जनताका नाममा गर्छ । सेनालाई कता लैजाने भन्ने निर्णय नेतृत्वकर्ता राजनीतिक दलको हो । त्यसैले क्रान्तिपछि सेनाको राम्रो व्यवस्थापनको जिम्मा पनि दलले लिनुपर्छ । बुद्धिमत्ता पूर्ण निर्णय हुनसकेन् भने माओवादी सेनाको हविगत पनि २००७ सालको जनमुक्ति सेनाको झै हुनेछ ।
काँग्रेसले त्यति ठूलो परिवर्तन गरेको जनमुक्ति सेनालाई नरसम्शेरको मुखमा राखेर छाड्यो र फर्केर हेरेन । एक ब्रिगेड ‘रक्षा दल’ले आफैले पराजित शक्तिबाट पेलिएर बस्नुपर्यो । तैपनि, जनमुक्ति सेनाले कुनै विद्रोह गरेन । अनुशासित भएर सेवा गर्यो । नेपाल प्रहरीको यो संरचनाको परिकल्पना रक्षा दलकै अगुवाले गरेका हुन् । जनमुक्ति सेनाका सह–कमाण्डर जीबी याक्थुम्बाले प्रहरी संगठनको खाका तयार पारेका थिए । तर, प्रहरी संगठनले जनमुक्ति सेनाको अपमान र बदनाम गर्ने ढंगले प्रचारप्रसार गर्ने गरेको छ । त्यो अपमानका लागि ईतिहासका ठूला–ठूला पण्डितहरु पनि प्रयोग भएका छन् ।
प्रहरी प्रधान कार्यालयले २०५२ सालमा प्रकाशन गरेको पुस्तकमा जनमुक्ति सेनाबारे थुप्रै आपत्तिजनक आरोप लगाईएका छन् । झण्डै ३४० पेजको पुस्तकमा जनमुक्ति सेनाबारे केही हरफ मात्र लेखिएको छ, त्यो पनि गलत र भ्रामक । ‘सच्चा प्रहरीका रुपमा प्रतिस्थापन हुन नसकेको, अधिकाँश सदस्य प्रवासी रहेकाले हेलमेल गर्न नसकेको, फाटो ल्याउन खोजेको’ जस्ता नकारात्मक टिप्पणी मात्र नभई ‘धेरैजसोको नैतिक आचरण त्यति असल मानिएको थिएन । उनीहरु बढी सुरा र सुन्दरीमा लागेका थिए ।
प्रवासी भएकाले सामाजिक बन्धन कम थियो । मान्छेहरु ‘राक्षस दल’ भन्थे’ जस्ता गलत, भ्रामक र अपमान गर्ने ढंगको विवरण छापिएको छ । यसले गौरबशाली ईतिहासमाथि धावा बोलेको छ । दुःख लाग्छ, त्यस्तो झुटो विवरणका लेखक ईतिहासका विद्वान मानिएका प्रो.डा. तुल्सीराम वैद्य, डा त्रिरत्न मानन्धर र सह–प्राध्यापक भद्ररत्न बज्रचार्य हुन । पुस्तक लेखनका सहयोगी अहिलेका डिआईजी दिनकर शम्सेर जबरा छन् ।
प्रस्तुतिः जनक नेपाल
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...