ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य इतिहास हुँदाहुँदै किंवदन्तीहरू पछ्याउनेको धुइरो किन लाग्छ ?
जोभानसिं फागोको परिचय हज्सन पाण्डुलिपिको एक कलमीबाट सुरु हुन्छ । बेलायती नागरिक सर ब्रायन हटन हज्सन (१८०१–१८९४ ई.) ब्रिटिस–नेपालका लागि रेजिडेन्स (राजदूत) भएर १८२० ईस्वीमा नेपाल आएका थिए । उनले नेपाल र भारत (दार्जिलिङ) मा रहँदा १८४५–१८५८ ई. सम्म विभिन्न जातिका भाषा, संस्कृति, इतिहाससम्बन्धी सामग्री संकलन गरेका थिए ।
यी सामग्री अंग्रेजले भारत छाडेपछि ब्रिटिस लगियो र लाइब्रेरीमा सुरक्षित साथ राखिएपछि हज्सन पाण्डुलिपि भनेर चिनिन थालियो । सामग्रीमध्ये थुप्रै खण्ड लिम्बू भाषा, इतिहास र संस्कृतिका पाइएका छन् ।
लिम्बू सामग्रीका टिपोटकर्ता र कलमीका रूपमा जोभानसिं मुख्य देखिन्छन् । किनभने हज्सन पाण्डुलिपिको खण्ड ८५ को लिम्बूहरूको लक्ष्मी संवाद शीर्षकको २६/११ को पत्र १२७ मा ‘श्री जोभानसिं फागो । देउताको पुस्तक । राजाको पुस्तक । लैख्या है । उसै दोष नदेउ है’ भनेर स्पष्ट लेखिएको छ ।
फागो वनेम वंशावली (०७०) अनुसार जोभानसिं साङबोत्रेका नाति देखिन्छन् । हज्सन पाण्डुलिपि खण्ड ८५ को युद्ध वर्णन र फागो वनेम वंशावली दाँजेर हेर्दा साङबोत्रे गोर्खालीविरुद्ध लड्ने वीर योद्धा काङ्सोरेका सहयोद्धा हुन् । साङबोत्रेका छोरा जगजित्रे हुन् । जगजित्रेका माइला छोरा जोभानसिं फागो हुन् । जोभानसिं फागोको पुर्ख्यौली थलो ताप्लेजुङको ढुंगेसाँघु हो । उनका बाजे साङबोत्रे ढुंगेसाँघुबाट इलामको सोयाक, निन्दाखुमा गएका हुन् । लोकोक्तिअनुसार कलमी भएका कारण उनको परिवारले दु:ख पाउँथे । उनी ससुराल (इलामको एकतप्पा) जाने क्रममा दार्जिलिङ पुग्ने गर्थे । हाल उनका सन्तानहरू झापाको धाइजनमा रहेको थाहा भएको छ ।
यो लेख जोभानसिं फागोले टिपोट गरेर हज्सनलाई बुझाएको खण्ड ८५ मा खम्बु, लिम्बू र गोर्खाको युद्ध वर्णनसँग केन्द्रित छ । मैले गत वर्ष मात्र यसै खण्डको युद्ध वर्णनमा पाइएका पात्र, स्थान र घटनालाई पुष्टि गर्न भोजपुरको हतुवागढीदेखि संखुवासभाको बाह्रबिसे, जलजला, सिद्धपोखरी, चयनपुर, धनकुटाको छथर, चौबीस, सुनसरीको विजयपुर, पाँचथरको पञ्चमी हुँदै याङरुपसम्म पुगेर अनुसन्धान गरेको थिएँ ।
अनुसन्धानका क्रममा स्थानीय लोकोक्तिबाट पात्र र अप्रभंशित स्थानको पहिचान गरिएको थियो । अध्ययन–अनुसन्धानका क्रममा तिब्बती स्याहामोहर, सेनकालका स्याहामोहर, शाहकालका लालमोहर, सनद, रुक्का, वंशावली संकलनका साथै स्कटिस लेखक डा फ्रान्सिस बुकानन हामिल्टन (१७६२–१८२९ ई), ब्रिटिस लेखक सर हर्बट होप रिस्ले (१८५१–१९११ ई) ले लेखेका पुस्तकहरूको अध्ययन गरिएको थियो ।
पाण्डुलिपिको युद्ध वर्णनानुसार नेपाल उपत्यकामा नेवारको एवं चौदण्डी र विजयपुरमा सेनहरूको उपस्थिति देखिन्छ । स्थानीय तहमा राई (खम्बु), लिम्बू (याक्थुङहाङ), देवान, याख्खाहरू हर्ताकर्ता देखिन्छन् । भोटेहरूको भने व्यापारी र शासकको रूपमा दोहोरो उपस्थिति भेटिन्छ । गोर्खालीले अरुणवारिसम्म कब्जा गर्न थाल्दा सुरुमा भोटे, लिम्बू, याख्खा, देवान एक भएर तिनीहरूविरुद्ध सभाया घाटमा लड्छन् र लखेट्छन् । बाह्रबिसेको लडाइँमा काङ्सोरेको कायरतापूर्ण हत्या गरिएपछि रिसाएका फागो लिम्बूहरूलाई रामाभद्र मगरले अघिको भैयाद सम्बन्धलाई फेरि जोडेर गोर्खालीतिर लिम्बूहरूलाई जोड्छन् । लिम्बू गोर्खाली एक भएर देवान–याख्खा (खप्पने), सिक्किमे (भोटे–लाप्चा) हरूलाई चयनपुर सिद्धिपुरको लडाइँमा हराउँछन् ।
पाँचथर पञ्चमीको मिकआप्पाको लडाइँमा गोर्खाली र फागो लिम्बूको फौजले याङरुपका योङयाहाङ एवं सिक्किमका भोटेको गुटलाई हराएपछि गोर्खालीले उत्तरमा ताप्लेजुङको लेलेप, दक्षिणमा सुनसरीको चतरा, पूर्वमा पाँचथरको एक्तिनदेखि ओयामसम्म सिमाना तोकेका छन् ।
पाण्डुलिपिमा खम्बुका लालाबालाहरूलाई ढिकी, ओखलमा कुटेर मारिएको, दोजिया स्वास्नी मानिसका पेट चिरेर फालिएको कारुणिक चर्चा छ । फागो लिम्बूलाई गोर्खालीलाई दिइएको जागिर जग्गा युद्ध सकिएपछि खोसिएको छ । पाँचथरको फेदापा (अम्बरपुर र नागीको सिमाना) मा लिम्बूहरूलाई भेला गराएर तिनको कानमा पानी हालेर चलमल (तरिसुङ) गर्नेलाई हत्यासम्म गरेको उल्लेख गरिएको छ । अरुणवारि लिम्बुवानको युद्ध विसं १८३० देखि १८५२ सम्म देखिन्छ ।
पाण्डुलिपिमा खम्बुका लालाबालाहरूलाई ढिकी, ओखलमा कुटेर मारिएको, दोजिया स्वास्नी मानिसका पेट चिरेर फालिएको कारुणिक चर्चा छ ।
पाण्डुलिपिका युद्धपात्रहरू अरुणपार खम्बुवानका खम्बुहरू वलिङहाङ र उलिङहाङमध्ये वलिङहाङचाहिँ भोजपुर हतुवागढी (घोरेटार) का वालाहाङ राईका पुर्खा अटलसिं राई देखिन्छन् । उनी हतुवागढीका हर्ताकर्ता भेटिन्छन् । अटलसिं र बदलसिंका नाममा विसं १८४८ मा लिम्बुवानका सुब्बाहरूलाई पक्डन भनेर गोर्खालीहरूले पत्र पठाएको पाइएको छ ।
त्यस्तै, पाण्डुलिपिमा पाइएका अर्का खम्बु पात्र अगमसिं हामिल्टनका अनुसार चौदण्डीका राजा कर्णसेनका चौतारिया हुन् । अरुणवारि लिम्बुवानका पात्रहरू पुलुङहाङ संखुवासभा मादी रामवेनी पुत्लुङ देवानहरूका पुर्खा हुन् । इयकहाङ हाल संखुवासभा वानाका इयकहाङ याख्खाहरूका पुर्खा हुन् । उनलाई आशाकाजी खत्रीले चयनपुर ओयाकबाट युद्धताका लखेटेका थिए ।
पाण्डुलिपिमा पाइएका लिम्बू पात्रहरू काङ्सोरे, जयकर्ण, गंगारे, साङबोतरे, राजमोतरे, वीरजितरे, मन्जितरे, फागो वनेम वंशका लिम्बूहरू हुन् । वनेम वंशावलीमा उनीहरूको पुस्तैनी क्रम भेटिन्छ । चयनपुरका हर्ताकर्तामध्ये जयकर्णसँगै आउने चतुर भद्रको परिचय भेट्न सकिएको छैन । सिपा, फाक्ते र तेसाक्पा ताप्लेजुङका साँवा लिम्बू हुन् । साँवामा भेटिएको लोकोक्ति एवं टिपोटअनुसार गोर्खालीविरुद्ध लड्न मिवाखोला साँवाबाट सिपा, फाक्ते, तेसपोन्ना, युभारसिं र पालसिं चयनपुर गएका थिए । पाण्डुलिपिमा पाइएका गोर्खालीबाट लड्न खटाइएका पश्चिमका सिञ्जाली मगरद्वय रघु राना र रामाभद मगरमध्ये रामाभद्रको नाम आङदेम्बे वंशावली (विसं ०६६) मा उदयपुरको झाँगाझोलीमा लिम्बूसँग झगडा भएको विषयलाई लिएर भेटिएको छ ।
पाण्डुलिपिमा पाइएका भोटे पात्रहरू सिक्किमका साँवा राजा भनेर तत्कालीन राजापछि राजा बन्ने हैसियत राखेका राजकुमारको हैसियत बोकेकालाई सम्बोधन गरिएको देखिन्छ । पाण्डुलिपिमा पाइएको सिरिजिंगा लिपिमा ‘छ’ व्यञ्जन वर्ण भेटिँदैन । त्यसको ठाउँमा ‘स’ भेटिन्छ । त्यसैले ‘साँवा’ लाई ‘छावा’ पनि पढ्नुपर्ने हुन्छ ।
ह्यामिल्टनले १७८२ ईस्वीमा सिक्किममा छावा राजा रहेको चर्चा गरेका छन् । रिस्लेका अनुसार सन् १७८० मा सिक्किममा तेन्जिङ नाम्ग्याल राजा थिए । यी शासकको नाम र तिथिमितिले गोर्खा लिम्बुवानको युद्धकाल तोक्न सजिलो हुन्छ । अर्का मुख्य भोटे पात्र तेपु ताक्कालाई लोकोक्तिमा तेउताका भनेको पाइएको छ । यिनै पात्रलाई डा रमेश ढुंगेलले दिवुताका भनेर हज्सन पाण्डुलिपिकै खण्ड ५८ मा पढेका हुन् । बाँकी सम्भवत: लाप्चा पात्रहरू युक आदावा र थिते पुदाककको नाम पुष्टि हुन सकेको छैन ।
पाण्डुलिपिमा पाइएका युद्धस्थलमध्ये सभायाघाट अरुण नदी र सभायाखोलाको दोभानलाई भनिएको हो । पारापुक्सी संखुवासभाको बाह्रबिसे बजारलाई भनिएको हो । सियालाई हाल स्वाची र धापीलाई धुपु भनिन्छ । सभाया दोभान संखुवासभाको बाह्रबिसेस्थित लंखुवा र सभाखोला मिसिएपछि भोटीखोलाको संगमलाई भनिएको हो ।
हनुमानबिँडी, बुढीसेर, बगुवा, खोरिया, सुनखानी गोर्खालीले फागो लिम्बूलाई जागिर दिएका ठाउँ जलजला गाविसमा पर्छन् । सिद्धपोखरी र सिद्धकालीको चयनपुरमाथिको थुम्कोलाई सिद्धिपुर भनिएको हो । पाँचथर थर्पु गाविसको विशाल पोखरीको भग्नावशेषलाई याङवारक भनिएको हो । मिकआप्पा पञ्चमी गाविसको हिल्लीहाङको दरबार आसपासको खलंगा हो । खलंगा छेउको खोल्सीलाई फुगङवा भनिएको हुनुपर्छ । हक्सियकलाई हाल हस्तपुर भनिएको हो । अम्फायकलाई अम्बरपुर भनिएको हो ।
तुतिकुमाई एक्तिनको टुटी हो । फाक्लुङ ओयाममा पर्छ । लोक्फाकइङ ताप्लेजुङको लेलेपमा पर्छ । चिउरामाक्रा सुनसरी बराह क्षेत्रको चतरा हो ।
विजैपुर र चैनपुर पूर्वका ऐतिहासिक स्थल हुन् । पाण्डुलिपिमा पाइएका बाँकी थादापा, तुवा, तुम्लिङ, युरुम ठाउँ पत्ता लाग्न सकेका छैनन् ।
पाण्डुलिपिमा याक्थुङहाङ लेखिएको छ, लिम्बू, किरात लेखिएको छैन । त्यसैले लिम्बू, किरात शब्दप्रति त्यति घोरिनु जरुरी छैन । जस्तो, पर्वतेबाट आएका शब्दहरू गुहारी, घाट जस्ताको तस्तै राखिएको छ । लिम्बू भाषामा उल्था गर्न खोजिएको छैन । कारण बुझ्न सजिलो भएको छ । जोभानसिंको युद्ध वर्णन ग्रिसको हेरोडोटसको भन्दा कम छैन । उनले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । जोभानसिंले लेखेको यति ठूलो लेख्य इतिहास हुँदाहुँदै वित्यांस लेख्नेहरूको धुइरो किन लाग्छ ?
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...