त्रिभुवन–महेन्द्र खटपट
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडिएको छ ।
कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ ।
सार्वजनिक आर्काइभमा भेटिने राजा त्रिभुवनको स्वीट्जरल्यान्डमा हृदय रोगको उपचार, त्यहाँ उनको निधन र जुरिचबाट नेपालसम्मको उनको पार्थिव शरीरको यात्राबारे तत्कालीन समयमा प्रकाशित एवं प्रसारित स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका छापा एवं भिडियो समाचारका आधारमा यो लेख तयार पारिएको छ ।
नेपालको शाह वंशीय राजतन्त्रको इतिहासमा सबैभन्दा लामो समय झन्डै साढे चार दशकसम्म नेपालका राजा रहेका त्रिभुवन विदेशी भूमिमा मृत्युुवरण गर्ने हालसम्मका एक मात्र राष्ट्राध्यक्ष हुन् ।
मुलुकको सम्पूर्ण शासन सत्ताको बागडोर आफ्नो हातमा लिएका राणा शासकबाट राजदरबारको संकुचित दायराभित्र सीमित गरिने व्यवस्था नेपालमा शताब्दीभन्दा लामो समयसम्म कायमै रह्यो । त्यसलाई तोड्न विसं ००७ मा उठाएको कदमका कारण पनि छोटो समयमै राणाको पतन र प्रजातन्त्र स्थापना भएकाले लोकतन्त्रप्रेमीका लागिसमेत नेपाली इतिहासमा उनको सम्मानजनक स्थान छ । संसारभर औपनिवेशिक शासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्थाको सुरुआत हुन लागेको समय सन् १९५० को दशकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट समेत नेपालमा प्रजातन्त्रको जग बसाल्ने श्रेय उनले प्राप्त गरे ।
राजा त्रिभुवनले सन् १९४४ को अन्त्यतिर जुद्धशमशेरका पालामा उनका छोरा बहादुरशमशेरको कडा निगरानीमा पहिलो पटक नेपालभन्दा बाहिर उपनिवेशकालीन भारतको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए । त्यसपछि पनि एकाध पटक उनी औषधोपचारका लागि भर्खरै स्वतन्त्र भएको भारतमा जाने गरेका थिए ।
राणाशासनविरुद्ध ००७ को आन्दोलन चल्दै गर्दा उनी सन् १९५० को नोभेम्बरमा पहिले काठमाडौँस्थित भारतीय दूतावासमा शरण लिएर अनि भारत सरकारको अतिथिका रूपमा करिब चार महिना दिल्लीमा बसेका थिए । दिल्लीमा अतिथि नै रहेकै बेला प्रथम गणतन्त्र दिवस समारोह सन् १९५१ को जनवरी २६ मा उनी त्यहाँ भारत सरकारको प्रमुख अतिथिका रूपमा समेत सहभागी भएका थिए । त्यतिबेला व्यक्तिगत रूपमा समेत राजा त्रिभुवन र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुबीचको सम्बन्ध प्रगाढ रहेको पाइन्छ ।
००७ को राजनीतिक परिवर्तनपछि पनि उनी बारम्बार भारत गइरहन्थे । कैयौँ पटक उनी लामो समयसम्म कलकत्ताको नाइटक्लबमा रमाइरहँदा प्रधानमन्त्री नेहरुले नेपालका प्रधानमन्त्रीलाई पत्र नै लेखेर त्रिभुवनको उक्त व्यवहारप्रति गुनासो गर्दै उनलाई सचेत गराउनसमेत सुझाउँथे ।
हृदय रोगको समस्या देखापरेपछि र भारतमा समेत उनको उपचार सम्भव नदेखिएपछि हावापानी पनि बदल्ने र आधुनिक पद्धतिबाट गुणस्तरीय उपचार गर्ने भन्दै उनले पहिलो पटक सन् १९५३ सेप्टेम्बरमा स्वीट्जरल्यान्डसम्मको यात्रा गरेका थिए । त्यहाँ केही समय बिताएपछि निको भएर नेपाल फर्किएका थिए (स्वीस अखबार ओबरल्याडर ट्यागब्ल्याट, १९, सेप्टेम्बर १९५३) ।
नेपाल फर्किएको केही महिनालगत्तै उनलाई हृदय रोगले फेरि चाप्दै लगेपछि सन् १९५४ को अक्टोबरमा थप गुणस्तरीय औषधोपचारका लागि अमेरिका जान चाहेका थिए । तर सन् १९५२ मा जारी भएर लागू भएको अमेरिकी अध्यागमन कानुनअनुसार दुवै श्रीमतीका साथ जान चाहेका त्रिभुवनलाई बहुविवाहका कारण अमेरिकाले भिसा दिन अस्वीकार गर्यो । त्यसपछि उनी उपचारका लागि सोही नोभेम्बरमा पुन: स्वीट्जरल्यान्ड पुगे (द डेली स्पोक्समेन, १४, अक्टोबर १९५४) ।
यो पनि पढ्नुस
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडिएको छ ।
स्वीट्जरल्यान्डको जुरिचलाई स्थायी मुकाम बनाएर त्रिभुवनको उपचार चलिरहे पनि उनले इटाली र फ्रान्सजस्ता अन्य युरोपेली मुलुकसमेत भ्रमण गरेको देखिन्छ । उपचारका लागि विदेश उड्नुअघि उनले नेपालमा तत्कालीन युवराज महेन्द्रलाई राजकीय परिषद्का अध्यक्ष नियुक्त गरेका थिए । तर त्यसको केही महिनापछि नै युवराज महेन्द्र उतै पुगेर राजा त्रिभुवनबाट शासन सत्ताको अख्तियारनामा आफ्नो नाममा लिएर नेपाल फर्की राष्ट्रप्रमुखको हैसियतले कार्य गर्न थालिसकेका थिए ।
दोस्रो पटक उपचारका लागि युरोप पुगेको ६ महिनाभित्रै ४८ वर्षको उमेरमा हृदयाघातका कारण १३ मार्च, १९५५ (३० फागुन २०११) आइतबार अपराह्न ३ बजेर १५ मिनेटमा क्यान्टन्स अस्पतालमा उपचारकै क्रममा राजा त्रिभुवनको निधन भयो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले अर्को दिन १४ मार्चमा नेपाली दूतावास दिल्लीलाई स्रोत उद्धृत गर्दै राजा त्रिभुवनको निधनको खबर सार्वजनिक गर्यो । यता नेपालमा समेत नेपाली सेनाका ‘कमान्डर इन चीफ’ जनरल किरणशमशेर जबराले शाही वक्तव्यमार्फत रेडियो नेपालबाट राजा त्रिभुवनको निधनको घोषणा गरे ।
स्वीट्जरल्यान्डको स्थानीय अखबार ली जुराको १५ मार्च १९५५ को अंकमा छापिएको खबरअनुसार उनी पछिल्लो दुई महिनायता फ्रान्सको नाइसमा आराम गरिरहेका थिए । ११ मार्चमा मात्रै गम्भीर अवस्थामा रेलयात्रा गरी उपचार गरिरहेको जुरिच युनिभर्सिटीको उही क्यान्टन्स अस्पतालमा पुन: भर्ना भएका थिए । त्यहाँ उनको उपचारमा उक्त अस्पतालका निर्देशक प्राध्यापक डा विल्हेम लोफ्लर संलग्न थिए । साथै, उनको उपचारका लागि पहिलेदेखि नै दुई अन्य विशेषज्ञको समेत सहयोग लिइएको थियो । तीमध्ये लन्डनका एक प्रा पार्किनसन थिए भने अर्का भियनाका प्रा लउडेर थिए । निधन हुँदा अन्य नेपाली सहयोगीका साथमा त्यहाँ उनका दुई रानीसमेत थिए भने निधनलगत्तै नेपालबाट छोरा वसुन्धरा त्यहाँ पुगेका थिए ।
निधनको चार दिनपछि क्यान्टन्स अस्पतालबाट राजा त्रिभुवनको पार्थिव शरीरलाई सीधै जुरिचको क्यानटोनल विमानस्थल पुर्याइयो । नेपालका दिवंगत राष्ट्राध्यक्षलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि स्वीस सरकारको संघीय राजनीतिक मामिलामन्त्री मिचेलीका साथ जुरिच स्टेट काउन्सिलका अध्यक्ष डा पी मियरहान्ससमेत उपस्थित थिए । त्यस्तै, औपचारिक रूपमा राष्ट्रिय सम्मान प्रदान गर्नका लागि स्वीस सेनाको विशेष टुकडीसमेत विमानस्थलमा नै तैनाथ थियो ।
त्रिभुवनको पार्थिव शरीरलाई बोकेर उड्नका लागि तम्तयार रहेको डगलस डीसी ०४ विमानको अगाडिको भागमा फहर्याइएको नेपाली राष्ट्रिय झन्डा आधा झुकाइएको थियो । नेपालको राष्ट्रिय झन्डामा बेरिएको उनको पार्थिव शरीरलाई सेनाका जवानहरूले बोकेर विमानस्थलको धावनमार्गमा तयारी अवस्थामा रहेको विमानसम्म ल्याउँदा त्यहाँ खटिएको स्वीस सेनाको टुकडीले शोक धुनका साथ राष्ट्रिय सलामी अर्पण गरेको थियो ।
स्वीस एयरलाइन्सको उक्त विमान राजा त्रिभुवनको पार्थिव शरीरलाई लिएर उनका दुई रानी कान्तिराज्यलक्ष्मी र ईश्वरीराज्यलक्ष्मी साथै सुपुत्र अधिराजकुमार वसुन्धरासहितका अन्य नेपाली सदस्यसहित १७ मार्चको बिहान स्थानीय समयअनुसार ०८:३० मा त्यहाँबाट उड्यो (स्वीस अखबार फ्रेबर्गर,१८ मार्च, १९५५) ।
त्रिभुवनलाई बहुविवाहका कारण अमेरिकाले भिसा दिन अस्वीकार गर्यो ।
त्यसबेला स्वीस एयरलाइन्सको डीसी ०४ विमान अवतरण हुन सक्ने विमानस्थल नेपालमा सञ्चालन नभएको र एक मात्र गौचर हवाईअड्डासँग त्यो क्षमता नभएकाले नै होला, सो विमान सीधा नेपाल नआएर दिल्लीलाई गन्तव्य बनाएर त्यतै मोडियो । जुरिचबाट करिब ६ हजार किलोमिटरभन्दा लामो हवाई दूरी पार गरेर अर्को दिन दिल्लीको पालम हवाईअड्डामा उत्रिएको विमानबाट राजा त्रिभुवनको पार्थिव शरीरलाई भारतीय वायुसेनाको विमानद्वारा काठमाडौँ ल्याउने तालिका थियो । लामो यात्राका दौरान बिसौनीझैँ भएको भारतीय भूमिमा छिमेकी राष्ट्राध्यक्षको पार्थिव शरीर आइपुग्दा भारतले राष्ट्रिय सम्मानका साथ आफ्नै भूमिमा उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न चाह्यो । त्यसका लागि करिब एक घन्टा छुट्याइयो र भारत सरकारले त्यसका निम्ति सबै तयारी पूरा गर्यो ।
दिल्लीको पालम हवाईअड्डामा दस मिनेट त्रिभुवनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भारतीय सेनाका ६ जना जनरलले भारतीय सेनाकै तोपगाडीमा राखे । उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ एक हजार जनाको भारतीय सैनिकको विशेष टुकडी उपस्थित थियो । त्यस्तै जल, वायु र स्थल गरी तीनै सेनाका प्रमुखहरूसमेत थिए । त्यहाँ उपस्थित सैनिक ब्यान्डले शोक गीत गाउनुका साथै शोक धुन बजाएर सलामी अर्पण गर्यो ।
औपचारिक रूपमा भारत सरकारले राष्ट्रिय शोकको घोषणा गरिसकेपछि त्यसअन्तर्गत नै पर्ने भारतीय सरकारी कार्यालयमा उक्त दिन सार्वजनिक बिदा दिइयो । त्यस्तै, शोक मनाउन भारतीय राष्ट्रिय झन्डालाई समेत आधा झुकाइयो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु आफैँ उपस्थित भएर भारतीय राष्ट्रपति डा राजेन्द्रप्रसाद एवं उपराष्ट्रपति डा सर्वपल्ली राधाकृष्णनका तर्फबाट समेत उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइए । पार्थिव शरीरका साथ आएका अधिराजकुमार वसुन्धरासँग पनि नेहरुले भेट गरे । त्यहाँ अन्तिम श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री नेहरुका साथमा उनका क्याबिनेटका कैयौँ केन्द्रीय मन्त्रीहरू, दिल्लीका मुख्यमन्त्री, रक्षा मन्त्रालयसहितका अन्य मन्त्रालयका विशिष्ट अधिकारीहरूसमेत सहभागी थिए । दिल्लीमा दूतावास र कूटनीतिक नियोग रहेका कैयौँ मुलुकका राजदूत, कूटनीतिक अधिकारीका साथ दिल्लीका हजारौँ जनतासमेत उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उपस्थित थिए ।
भारतीय सरकारी कार्यालयमा उक्त दिन सार्वजनिक बिदा दिइयो ।
अहिलेसम्म त्यति सार्वजनिक जानकारीमा नआएको विषय हो, नेपाली राष्ट्रिय झन्डामा दिल्ली ओर्लिएका राजा त्रिभुवनको पार्थिव शरीर त्यहाँ अन्तिम श्रद्धाञ्जलीका लागि राख्दा भने नेपाली झन्डा छोप्ने गरी भारतीय राष्ट्रिय झन्डासमेत ओढाइएको थियो, जसलाई पछि नेपालका लागि प्रस्थान गर्ने डकोटा विमानमा राख्दा भने हटाइयो (अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको त्यही बेलाको भिडियो) ।
त्यतिबेला प्रकाशित लेखअनुसार त्यहाँ उनलाई भारतीय राष्ट्रिय सम्मान अर्पण गर्दा नेपाल–भारत दुवै मुलुकको राष्ट्रिय झन्डा ओढाइएको भनिए पनि नेपालको त्रिकोणात्मक झन्डामाथि भारतको चारपाटे झन्डा राख्दा त्यहाँ नेपालको झन्डालाई भारतीय झन्डाले पूरै ढाकेर भारतीय झन्डा मात्रै ओढाइएको हाल उपलब्ध भिडियोमा प्रस्ट देखिन्छ (आचार्य चतुरसेनको लेख ‘धर्म और पाप’) ।
छिमेकी मुलुकका राष्ट्राध्यक्ष तथा आफ्नो मुलुकका असल मित्रको निधनमा राष्ट्रिय सम्मानका साथ उनलाई अन्तिम श्रद्धाञ्जली दिनु स्वाभाविक नै हो । त्यस्तो अन्तर्राष्ट्रिय अभ्यास पनि व्याप्त छ । तापनि कुनै एक मुलुकको राष्ट्राध्यक्षको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका नाममा कुनै अर्को दोस्रो मुलुकको राष्ट्रिय झन्डा नै ओढाउनु भने विचित्र देखिन्छ । त्यस्तो अन्तर्राष्ट्रिय अभ्यास पनि सायदै कतै होला !
दिल्लीमा त्रिभुवनलाई श्रद्धाञ्जली अर्पण गरिसकेपछि भारतीय वायुसेनाको डकौटा विमानबाट उनको पार्थिव शरीरलाई काठमाडौँको गौचर हवाईअड्डामा ल्याइयो । त्यहाँ नेपाली सेनाले सलामी अर्पण गर्यो । हजारौँ हजार नेपाली जनताको उपस्थितिका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानसहित उनको अन्त्येष्टि गरियो । त्यहाँ भारत, अमेरिका, बेलायत, फ्रान्स, स्वीट्जरल्यान्डलगायत मुलुकका प्रतिनिधिको समेत उपस्थिति थियो ।
आफ्ना मुलुकमा तत्कालीन राष्ट्राध्यक्षको निधन भएको स्वीट्जरल्यान्डसँग नेपाल र नेपालीको अविस्मरणीय सम्बन्ध त उतिबेलैदेखि स्थापित भइसकेको थियो । तर औपचारिक रूपमा नेपाल–स्वीट्जरल्यान्ड सम्बन्ध भने त्यसको २ वर्षपछि सन् १९५७ मा मात्रै स्थापित भयो । त्रिभुवनको निधन भएको तीन वर्षपछि सन् १९५८ मा उनका छोरा तत्कालीन राजा महेन्द्रले युरोपको भ्रमण गरेका थिए । त्यसै क्रममा उनी रानी रत्नका साथ आफ्ना बाबुको निधन भएको जुरिच युनिभर्सिटीको क्यान्टन्स अस्पतालसमेत पुगेका थिए । त्यहाँ उनीहरूले त्रिभुवनको स्मृतिस्वरूप धातुमा अक्षर कुँदेर स्मृतिपत्रसमेत छाडेका थिए । त्रिभुवनको निधन भएको अस्पतालको कोठामा हाल स्मारक बनाएर राखिएको छ । धातुको स्मृतिपत्रमा राखिएको चिह्नमा यस्तो लेखिएको छ–
श्री ५ महाराजधिराज त्रिभुवनवीरविक्रम शाहदेव नेपाल ।
जन्म : आषाढ १७, विसं १९६३
स्वर्गारोहण : फागुन ३०, २०११
स्वीट्जरल्यान्डको यो सहर जुरिकको क्यान्टन्स अस्पतालमा आज आएको सम्झनामा मौसुफको दिवंगत अमर यशस्वी आत्माको पावन स्मरणका रूपमा यो चिह्न राख्न पाउँदा हामीलाई सन्तोष लागेको छ ।
श्री ५ महेन्द्र, श्री ५ रत्न राज्यलक्ष्मी नेपाल
श्रावण २, विसं २०१५
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...