तुहिएको धर्म भकारी अभियान
किसान आन्दोलन चलिरहँदा त्यसमा केही व्यावहारकि कठिनाइ देखिए। किसानहरू नौ महिना हाम्रो झन्डा बोकेर हिँड्थे तर तीन महिना पुनः जमिनदारकै शरणमा पुग्थे।

हामीले सोचेजस्तो किसिमले सप्तरीको किसान आन्दोलन अघि बढ्न सकेन। यसपछि हामीले जिल्ला तहमा लामो छलफल गर्यौँ र समुदायमा आधारति सहकारी अर्थात् धर्म भकारी सुरु गर्ने र किसानलाई सुपथ दर -सवाइ)मा ऋण उपलब्ध गराउने निधो गर्यौँ। नेपालको इतिहासमै यो एउटा नौलो अवधारणा थियो।
त्यति बेलासम्म सरकारी तवरमा किसानलाई ऋण दिने भन्ने कुनै व्यवस्था थिएन। पुरानो मुलुकी ऐनमा 'जमिनदारहरूले खेतीबारी गर्नका निमित्त किसानलाई ऋण दिनुपर्ने, कुनै खेत बाँझो राख्न नपाइने' भन्ने उल्लेख थियो। तर, ऋण दिनैपर्ने बाध्यात्मक अवस्था थिएन। राणा सरकारका पालामा अनिकाल या कुनै दैवी विपत्ति आइलाग्यो भने किसानलाई निश्चित मात्रामा ऋण दिने चलन थियो। तर, त्यो कानुन या कुनै इस्तिहारमा उल्लेख थिएन।
किसानहरूलाई बाली लगाउने समयमा जमिनदारको घरदैलोसम्म पुग्नु नपरोस् र उनीहरूका गर्जो टार्ने हिसाबले सप्तरीका झन्डै २० गाउँमा हामीले धर्म भकारी स्थापना गर्यौँ। सामान्य किसान, जसको एक बिघा खेतीयोग्य जमिन छ, तिनीहरूदेखि ठूल्ठूला जमिनदारहरूबाट समेत स्वैच्छिक रूपमा धान उठायौँ। र, झन्डै २० हजार मन धान संकलन गर्यौँ।
यसरी संकलन गरएिको धान हामीले २० गाउँमा एक/एकवटा धर्म भकारी राखेर भण्डारण गर्न थाल्यौँ। ती गाउँमा थोरैमा तीन सय मनदेखि धेरैमा १ हजार ६ सय मनसम्मका भकारी खडा गर्यौँ। र, समस्यामा परेका किसानलाई त्यहीँबाट सुपथ ब्याजमा उक्त धान बाँड्ने काम गर्यौँ।
हामीले सवाइको ब्याजमा त्यो धान किसानहरूलाई बाँड्दा पाँच वर्षमा त्यो धानबराबरको थप धान जम्मा हुन्थ्यो। अनि, हरेक परविारबाट उठाएको त्यो धान फिर्ता गर्दा पनि हामीसँग त्यति नै अर्थात् २० हजार मन धान बाँकी हुन्थ्यो। त्यसपछि त्यो धान स्थिर पुँजीका रूपमा सञ्चालन गर्न पाइन्थ्यो। यसरी जम्मा भएको धान पाँच वर्षपछि अझ सस्तो वा समस्या हेरेर सित्तैँमा पनि किसानलाई बाँड्न सकिन्छ भन्ने हाम्रो धारणा थियो।
धर्म भकारीको स्थापनापछि हामी ज्यादै उत्साहित भयौँ। त्यति बेला हामीलाई पनि के लाग्यो भने किसानले लगेको धान सजिलै फिर्ता गर्छन् र कुनै समस्या या झन्झट बेहोर्नुपर्दैन।
यसैबीच हाम्रो यस कदमबाट सरकार तर्सियो र ठूलो कारबाहीमा उत्रियो। किसानहरूमाथि जमिनदार र धनी किसानहरूको धान जबरजस्ती लुटेको र मनपरी ढंगले उनीहरूका भकारी फोडेर कब्जामा लिएको आरोपमा झूट्टा मुद्दा लगाउन थालियो। धर्म भकारीमा जम्मा गरेको धान पनि प्रहरी/प्रशासनद्वारा जबरजस्ती जफत गरयिो। धनी किसान र जमिनदारहरूको मिलेमतोमा उनीहरूले आफ्नो हिस्साको धान लिए तर निमुखा किसान मर्कामा परे। आफ्नो हिस्साको धान त पाएनन्, पाएनन्, उल्टो मुद्दा-मामिला खेप्नुपर्ने अवस्था आयो।
यति नै बेला भोजपुरलगायतका पहाडी क्षेत्रमा तागाधारीविरोधी आन्दोलन चल्यो। सप्तरीमा पनि के हल्ला चलाइयो भने कम्युनिस्टहरूका पल्टनमा अब राई/लिम्बूहरू प्रवेश गर्दै छन्, तिनीहरूको खानपानका लागि धर्म भकारी सुरु गरेका हुन्। यति नै बेला सिराहादेखि सप्तरीसम्मका धनी किसान र जमिनदारहरू, जो भारतीय मूलका थिए, ले २१ हजार रुपियाँ खर्च गरेर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई टेलिग्राम पठाए। त्यसपछि भारतीय सीमा पुलिस नेपालभित्र प्रवेश गरेर तर्साउने र धम्क्याउने काम मात्र गरेन, यातनासमेत दिन थाल्यो। उसको जगजगी नेपालका गाउँगाउँसम्मै फैलियो।
यस्ता घटनापछि धर्म भकारी सञ्चालन गर्ने क्रममा हामीबाट भएका कमजोरीहरू पनि सार्वजनिक हुन थाले। जस्तो कि, हामीले धर्म भकारी सञ्चालनको जिम्मेवारी सुम्पिएका व्यक्तिहरू निरक्षर थिए। सादा कागजमा हातले लेखेर रसिद तयार पारेका थियौँ। घरमूलीको नामका साथै कति धान प्राप्त भयो भन्ने कुरा रसिदको पछाडिपट्ट िलेखिन्थ्यो। साथै, राखिएको धान पाँच वर्षपछि फिर्ता गर्ने वाचासमेत त्यहाँ हुन्थ्यो। त्यसका लागि लेखपढ गर्नेको सही र निरक्षरहरूको
औँठाछाप आवश्यक थियो।
समस्या त्यहीँनिर आयो। किसानहरूले पनि आफूले लगेको धान फर्काउने कुरामा आनाकानी गर्न थाले। कहिले गाउँ देवताको पूजा त कहिले के बहानामा धर्म भकारीबाटै खर्च गरौँ भन्न थाले। उनीहरूलाई रोक्ने को? लगेको ऋण असुलउपर गर्न कुनै बाध्यात्मक व्यवस्था गर्ने सोच हाम्रो थिएन। जस्तो ः ५०-६० मन धान दिने व्यक्ति पनि थिए त्यहाँ। सय मन धान दिने जमिनदार पनि थिए। हामीले पाँच वर्षपछि धान उनीहरूलाई फिर्ता गर्छौं भनेकै थियौँ। तर, पारदर्शी ढंगले लेखा राख्नमा हामी चुक्यौँ। सायद त्यसमा धनी किसानको पनि एक जना प्रतिनिधि राखेको भए यस्ता समस्या आउँदैनथे कि?
नहरा भगवानपुरको एउटा भकारी ०२३ सालसम्म कायम रहे पनि हामीले जुन अवधारणाका साथ धर्म भकारीको अभियान सुरु गरेका थियौँ, त्यो दुई वर्षभन्दा लामो समय चल्न सकेन। तर, अरूलाई दोष दिनुभन्दा त्यसमा हामीबाटै चूक भएको हो।
प्रस्तुति: ईश्वरी ज्ञवाली