पुष्पलाललाई हटाउँदा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो सम्मेलन कोलकातामा हुँदा म त्यहीँ थिएँ तर सहभागी हुन पाइनँ।

भारतीय जनताले भर्खरै मात्र ब्रिटिस साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेका थिए। र, भारतीय स्वतन्त्रता संग्रामले संसारभर महत्त्व पाएका बेला भारतीय कम्युनिस्ट पार्टी (भाकपा)को नेतृत्वमा उग्र वाम विचारक बीटी रणदीवे र राजेश्वर रावहरूले त्यसलाई पूर्णत: अस्वीकार गरे र किसान आन्दोलनको बिगुल फुके। त्यसैको सिको गरेर नेपालका कम्युनिस्टहरूले पनि ००७ सालको क्रान्तिको विरोध गरे।
तत्कालीन भाकपाले भारतीय स्वतन्त्रता संग्रामबारे जुन बेहोरा र शैलीको वक्तव्य प्रकाशित गरेको थियो, ००७ सालमा निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदय हुँदा नेपालका कम्युनिस्टहरूले पनि ठीक त्यही शैलीको वक्तव्य प्रकाशित गरे। भारतीय कम्युनिस्टहरूको जस्तो 'समाजवादी क्रान्ति'को रट यहाँ पनि लगाइरहे र भारतीय उग्रपन्थी कम्युनिस्टहरूकै शब्द सापटी लिएर यहाँको क्रान्तिलाई सुशोभित गररिहे।
००७ सालको आन्दोलनलाई लिएर पुष्पलालजीले त 'असन्तुष्ट राणाहरूको विद्रोह' भन्नेसम्मको संज्ञा दिनुभयो। उहाँले प्रस्टै उल्लेख गर्नुभएको छ, '००७ सालको क्रान्ति मुलुकका असन्तुष्ट राणा र सामन्तीहरूको विद्रोह मात्र हो। साथै, दिल्ली सम्झौता एक धोका हो।' दुवै वक्तव्य अहिले पनि खोज र अध्ययनको विषय बन्न सक्छन्।
यसैबीच भाकपाको नेतृत्वमा अर्का उग्र वाम विचारक राजेश्वर राव आए। उनी चिनियाँ क्रान्तिका पिछलग्गूका रूपमा देखा परे। तेलंगना किसान विद्रोहका हिमायती उनले 'जेल तोडेर भाग, विद्रोह गर' भनेर उक्साउँदा भारतमा हजारौँ हजार कम्युनिस्टहरूले मृत्युवरण गर्नुपर्यो। त्यसपछि नेपालमा चिनियाँ प्रभाव बढ्यो। त्यसैको परिणाम अहिलेसम्म पनि यहाँका कम्युनिस्टहरूले भोग्दै छन्।
नेकपाको पहिलो सम्मेलनले रुस र चीनमा लगाइएका समाजवादी नाराको हुबहु 'कपीपेस्ट' गर्यो र आफ्ना कार्यक्रम भनी सार्वजनिक गर्यो। वास्तवमा त्यो सम्मेलनले अगाडि सारेका कार्यक्रम हाम्रो मुलुकको अवस्थासँग कुनै पनि मानेमा मेल खाने खालका थिएनन्। जस्तो कि, विदेशी पुँजीका साथै जग्गा-जमिनलाई सम्पूर्ण रूपमा राष्ट्रियकरण गर्ने, क्रान्तिका लागि सेनालाई आमन्त्रण गर्ने आदि रुसमा लेनिनले जेजे नारा लगाएका थिए, नेपालमा पनि त्यही त्यही गर्ने भनेर कार्यक्रम नै पारति गरियो।
यिनै घटनापछि पहिलो सम्मेलनले चयन गरेको नेतृत्वसँग बिस्तारै असमझदारी र मतभेद बढ्न थाल्यो। भारतीय कम्युनिस्टहरूको प्रभाव र विचारबाट हामी मुक्त हुन सकेनौँ। कतिसम्म भने भारतीय मूलकै अयोध्या सिंह भनिने व्यक्तिलाई हामीले पोलिटब्युरो सदस्य बनायौँ।
त्यतिबेला नेपालमा कांग्रेसविरोधी फोबिया यसरी विकसित गराइएको थियो कि उनीहरूलाई गाउँ छिरेर आफ्ना कुरा राख्नसमेत प्रतिबन्धजस्तै थियो। सप्तरीमा त झन् मातृकाप्रसाद कोइरालापछि कुनै पनि कांग्रेस नेतालाई पस्न दिइएन। लामो समयपछि कृष्णप्रसाद भट्टराई त्यहाँ पुगेर भाषण गरेका थिए। हामी बनिबनाउ प्रश्नावली तयार गरेर भाषणपूर्व जवाफ दिनुपर्ने सर्त-बन्देज राख्थ्यौँ, उनीहरू त्यो झन्झट बेहोर्नुभन्दा सभा-सम्मेलन नै गर्दैनथे।
यस्तो अवस्थामा मुलुकभित्र क्रान्ति गर्ने भनेर लागेपछि अवस्था कस्तो हुन्छ? हाम्राअगाडि कठिनाइका पहाडहरू देखिन थाले। आखिर कुन बाटो जाने? त्यसैले गाउँगाउँका किसानलाई संगठित गरेर अघि बढ्ने र क्रान्ति गर्ने बाटो तय गर्यौँ अर्थात् कृषि क्रान्तिको बाटो। राजनीतिक आन्दोलनतिर हाम्रो सोचाइ नै गएन।
००७ सालको क्रान्तिपछि हाम्राअगाडि एउटै बाटो थियो, निर्वाचित सरकारको स्थापना। तर, हामी कता लाग्यौँ भने गाउँगाउँमा किसानहरूलाई संगठित गर्ने र कृषि क्रान्ति गरेर समाजवाद स्थापना गर्ने। हामी यहीँनिर चुक्यौँ। यसैबीच भाकपाले सन् १९४७ पछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने अध्ययन गर्न डाग कमिसन गठन गर्यो। कमिसनले दिएको रिपोर्टपछि भाकपाले आफ्ना कार्यक्रममा निकै सुधार गर्यो । यसपछि भारतीय कम्युनिस्टहरूसँग सम्पर्क गर्न नेकपाका तर्फबाट शैलेन्द्रकुमार उपाध्याय जानुभयो। भाकपामा आएको यस परिवर्तनले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि प्रभाव पार्यो। क्रमश: हाम्रो राजनीतिमा पनि परविर्तन आउन थाल्यो। र, २००९ सालमा भएको नेकपाको पोलिटब्युरो बैठकले पुष्पलाललाई महासचिवबाट हटाउने निर्णय गर्यो। यसपछि मनमोहन अधिकारीलाई कार्यवाहक महासचिवको जिम्मेवारी सुम्पियो।
त्यसलाई हामीले भारतीय कम्युनिस्ट पार्टीभित्र रहेको उग्र वाम विचारको प्रभावबाट मुक्ति पाउनका निम्ति पुष्पलाललाई महासचिवबाट हटाइएको भन्ने ढंगले बुझ्यौँ। पुष्पलालले पनि मनमोहनका खिलाफमा एक शब्द बोल्नुभएन। उहाँहरू दुवै जना त्यसबेला एकै परिवारका दिदीबहिनी साधना र सहानासँगको सामीप्यमा हुनुहुन्थ्यो। सायद, त्यो प्रणय प्रसंगले पनि केही कुरा बोल्नमा बाधा उत्पन्न गरेको थियो कि !
पहिलो सम्मेलनपछि भएका यस्ता घटना कम्युनिस्ट पार्टीका दस्तावेजमा लिपिबद्ध भएको पाइँदैन। संस्थापक महासचिवका विरुद्ध भएकाले पनि त्यसो गरिएको होला। यसबारेमा मैले पछि सोधखोज गर्दा ०१५ सालको 'कू'पछि विकराल स्थितिमा ती सबै नष्ट गर्नुपरेको केशरजंग रायमाझीले बताउनुभएको थियो। तर, यही घटना मात्र गायब हुनु भने रहस्यमय छ।
यसपछि माघ ०१० सालमा पाटनमा सम्पन्न नेकपाको पहिलो भूमिगत महाधिवेशनले पुष्पलाललाई हटाउने निर्णयलाई सर्वसम्मत रूपमा पारति गर्दै अधिकारीलाई निर्वाचित महासचिव बनायो। १० संगठित सदस्य बराबर एक प्रतिनिधि रहेको उक्त महाधिवेशनमा ७८ प्रतिनिधि सहभागी थिए। म सप्तरीबाट महाधिवेशन प्रतिनिधि थिएँ। महाधिवेशनले १३ सदस्यीय केन्द्रीय कमिटीबाटै पाँच जनाको पोलिटब्युरो निर्माण गरेको थियो। त्यो महाधिवेशन के कारण पनि महत्त्वपूर्ण छ भने त्यसले पहिलोपटक ००७ सालको क्रान्तिलाई सकारात्मक ढंगले हेरेको थियोअनि नेपालको परिस्थिति र परिवेश अनुकूलका राजनीतिक प्रतिवेदन पारति गरेको थियो।