रायमाझीको उदय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारीले चीन भ्रमणमा जाँदा कार्यवाहक महासचिवको जिम्मेवारी केशरजंग रायमाझीलाई दिनुभयो।

यसबीचमा काठमाडौँको फोहरा दरबारमा खुला रूपमा नेकपाको दोस्रो महाधिवेशन १५-२५ जेठ ०१४ मा गर्ने निर्णय भयो। दामोदरशमशेरको फोहरा दरबारमा महाधिवेशन आयोजना गरेकाले धेरै किसिमका टीका-टिप्पणी पनि सुनिए। राजा महेन्द्रले दरबारबाट दूरबिनद्वारा नेकपाको महाधिवेशन प्रत्यक्ष अवलोकन गररिहेको, दरबारका लागि टेप रेकर्डिङको व्यवस्था मिलाइएको, दरबारका एडीसीसँग रायमाझीको प्रत्यक्ष सम्पर्क रहेको जस्ता आरोप पनि लगाइए। म स्वयं केन्द्रीय सदस्य र दोस्रो महाधिवेशनको एक सक्रिय सहभागी भएका नाताले के दाबीका साथ भन्न सक्छु भने ती सबै कुरा हावादारी थिए।
पहिलो महाधिवेशनपूर्व कोलकातामा सम्पन्न पहिलो सम्मेलनले जुन नारा र कार्यक्रम तय गरेको थियो, त्यसले नेपालको विकासक्रम कता लैजाने भन्नेमा अन्योल नै थियो। पहिलो महाधिवेशनले त्यस्तो अन्योल केही चिर्ने काम त गर्यो तर पूर्णतः कार्यान्वयन गर्ने प्रक्रियामा लैजान सकेको थिएन। जस्तो कि, यातायात, बैंक, बिमा कम्पनी आदि सबै राष्ट्रियकरण गर्ने, उद्योगधन्दामा रहेको विदेशी पुँजी राष्ट्रियकरण गर्ने, न्यायाधीशहरू सबै निर्वाचित नै हुनुपर्ने, प्रहरीका ठाउँमा मिलिसियाको व्यवस्था हुनुपर्ने, सेना र पुलिसलाई क्रान्तिमा भाग लिन आह्वान गर्ने, जातीय आत्मनिर्णयको अधिकार, सबै भूमिपतिको जग्गा कब्जा गर्ने किसिमका नारा हाम्रो सामाजिक अवस्थासँग कुनै पनि मानेमा मेल खाँदैनथे। यस्ता कुराले हामी कता जान खोजिरहेका छौँ भन्ने स्पष्ट पादैर् नथ्यो। यी नारा र कार्यक्रमका साथै उग्रवाम विचारलाई दोस्रो महाधिवेशनले अस्वीकार गर्दै हाम्रो परििस्थति अनुकूल पुँजीवादी विकासको बाटोमा अग्रसर गराउने काम गर्यो।
राष्ट्रिय हितका निम्ति वैदेशिक पुँजीलाई भित्र्याउने कुरामा पनि खुकुलो नीति, भोलिको शासकीय स्वरूप र नेपाली कांग्रेसका साथै ००७ सालको क्रान्तिलाई हेर्ने सवालमा पहिलो महाधिवेशनले गरेको निर्णयलाई अझ विहंगम दृष्टिले हेर्ने काम पनि गर्यौँ। कांग्रेससँग मिलेर जाने सवालमा पनि महत्त्वपूर्ण निर्णयहरू गरेका थियौँ। यिनै कुरालाई ध्यानमा राखेर दोस्रो महाधिवेशनपूर्व नै हामीले डीपी अधिकारीको नेतृत्वमा 'पार्टी कार्यक्रममा परविर्तन किन?' भन्ने दस्तावेज तयार गर्न लगाएका थियौँ। तर, हामीले सो चेको स्पिरटि र लेखाइको स्पिरटि मिलेन। र, महाधिवेशनमा लैजाने भनेर तयार गर्न लगाएको दस्तावेजलाई महाधिवेशनपूर्व नै केन्द्रीय समितिको बैठकले अस्वीकृत गर्यो। महाधिवेशनमा लैजाने दस्तावेज केन्द्रीय समितिले खारेज गरििदएपछि अर्को दस्तावेज तत्काल निर्माण गर्नु सम्भव थिएन। र, हामी दस्तावेजविहीन नै दोस्रो महाधिवेशनमा जाने टुंगोमा पुग्यौँ।
महाधिवेशनमा यस्ता विषयमा सिलसिलेवार बहस चल्ला भनेको त टेबुल नै हुन नपाउने अवस्था आयो। झन् अन्योलग्रस्त अवस्था बन्यो। महाधिवेशन सुरु भएको दोस्रो दिन पार्टी मुखपत्र मशालमा पुष्पलालजीको एउटा आलेख प्रकाशित भयो, जसमा पार्टी नेतृत्वमा रहँदा र त्यसयता आफूबाट भएका गल्तीको आत्मालोचना गरएिको थियो। हामीले जे जे कुरामा उहाँको विरोध गर्दै आएका थियौँ, ती सबै कुरालाई समेटेर उहाँले आत्मालोचनासहित मशालमा उक्त आलेख प्रकाशित गर्नुभएको थियो। हामीलाई लाग्यो, अब हाम्रा मतभेद पातलिएर जाने भए। बहस र छलफलका कुरा पनि मिल्ने दिशामा अघि बढ्ने भए। एक मतले नेतृत्व चयन हुने भयो।
तर, हामीले सोचेजस्तो भएन। महाधिवेशनको दोस्रो दिन तत्कालीन कार्यक्रम गणतन्त्र कि राजतन्त्र भन्ने सवाल एकाएक उठ्यो। हामीले त्यो कुरालाई स्पष्ट पार्न सकेनौँ। सहरी क्षेत्र र पढेलेखेका युवा-विद्यार्थी साथीहरूको प्रतिनिधित्व गरेका साथीहरूले गणतन्त्रको सवाललाई चर्को स्वरमा उचाले। त्यसपछि पुष्पलालजीले एउटा सानो कागजको टुक्रामा 'हाम्रो कार्यक्रम गणतन्त्र नै हुनुपर्छ' भनेर लेखेर बाँड्नुभयो। प्रथम महाधिवेशनबाट पारति भएका दस्तावेज र पार्टीलाई कानुनी मान्यता प्रदान गर्ने सिलसिलामा पार्टीले लिएको नीतिका विपरीत गणतन्त्रको नारा उठ्यो। यसरी प्रतिनिधिहरूको गणतन्त्रप्रतिको झुकाव देखेर त्यसलाई उहाँले क्यास गर्न खोज्नुभयो। त्यति मात्र होइन, उहाँ ज्यादै क्रान्तिकारी भएर देखा पर्नुभयो।
पुष्पलालजीको गणतन्त्रको कार्यक्रम हलबाट पारति भयो। यद्यपि, गणतन्त्रको नारा लक्ष्य हो कि तत्कालीन कार्यक्रम भन्ने विवाद चुलिएर गयो। तर, केन्द्रीय नेतृत्वका लागि भएको निर्वाचनमा भने अनौठो दृश्य देखियो। गणतन्त्र कार्यक्रम पुष्पलालजीको पारति गर्ने हलले नेतृत्वमा भने उहाँलाई अल्पमतमा पार्यो।
नेतृत्वका निम्ति निकै खिचातानी भयो। केन्द्रीय समितिका १७ स्थानका लागि ५४ जनाको उम्मेदवारी पर्यो। लामो रस्साकसीपछि केही उम्मेदवारले आफ्नो नाम फिर्ता लिए। २२ जनाबीच प्रतिस्पर्धा भयो। तीमध्ये केन्द्रीय सदस्यमा १७ जना छानिए, जसमा म पनि एक थिएँ। महासचिवमा केशरजंग रायमाझीले पुष्पलालजीलाई पाँच मतका विरुद्ध १२ मत प्राप्त गरेर पराजित गर्नुभयो। र, विधिवत् रूपमा कम्युनिस्ट आन्दोलनमा केशरजंग रायमाझीको उदय भयो।
प्रस्तुति: ईश्वरी ज्ञवाली