फुटको कारण पुष्पलाल
दरभंगा प्लेनमको आयोजना कम्युनिस्ट पार्टीलाई शक्तिशाली, सांगठनिक रूपमा एकताबद्ध बनाउने, विषम परिस्थितिसँग लड्न सक्षम

दरभंगा प्लेनमपछि पुष्पलाल केन्द्रीय कमिटीका मिटिङमा उपस्थित नहुने, पोलिटब्युरोका बैठकहरूमा नबस्ने र छुट्टै रूपमा समानान्तर कमिटीहरू बनाएर हिँड्ने गर्न थाले। खास गरी पुष्पलाल दरभंगा प्लेनमलाई प्रयोग गरेरै पार्टी टुक्र्याउन चाहन्थे तर त्यहाँ असफल भएपछि अर्को बाटो अख्तियार गरेका हुन्। जोनल कमिटीहरूको अन्तर जोनल कमिटी बनाएर समानान्तर पार्टी चलाउने प्रयास पनि उनले यसबीचमा गरे। तर, त्यसको आफ्नै समूहभित्रबाट पनि कटु आलोचना भयो। डीपी अधिकारी र शम्भुराम श्रेष्ठका तर्फबाट सर्कुलर जारी गरेर पुष्पलाललाई यस्ता कुरामा सचेत पार्ने र नसच्चिए कारबाही गर्नेर्सम्मका चेतावनी दिनुपर्यो।
तर, पुष्पलाल सच्चिएनन्। उनले ०१९ सालमा पुग्दा नपुग्दै पार्टीलाई संगठित गर्ने नाममा आफूइतरका सबैलाई कारबाही गरेर बनारसमा तेस्रो महाधिवेशन गरे र पार्टीलाई विधिवत् रूपमा विभाजनको तहमा पुर्याए। त्यसमा उनलाई सघाउनेमा तुलसीलाल, हिक्मतसिंह त थिए नै, भरतमोहन अधिकारी, भरतराज जोशी, पुण्यप्रताप रानाहरूको पनि भरपूर सहयोग रह्यो। तर, त्यही महाधिवेशनमा पनि पुष्पलालले प्रस्तुत गरेको संसद् पुनःस्थापनाको मौखिक प्रस्ताव हलले अस्वीकार गरिदियो। तुलसीलालको राजनीतिक प्रस्ताव सर्वसम्मतले पारति भयो र उनी नै विधिवत् रूपमा महासचिवमा निर्वाचित भए। पार्टी पुष्पलालले फुटाए, नेताचाहिँ तुलसीलाल भए।
दरभंगा प्लेनमबाट संयुक्त कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा रहेको मलाई बनारस महाधिवेशनले पनि पोलिटब्युरो सदस्यमा निर्वाचित गर्यो। यसैबीच म जेलबाट रिहा भएँ। पार्टी फुटको विषयलाई लिएर भेटघाट र छलफल चलाएँ। कसरी हुन्छ पार्टीलाई एक बनाएरै लैजाने अभियानमा लागेँ। विष्णुबहादुर मानन्धर, डीपी अधिकारी र म दिल्ली पुगेर भाकपाका तत्कालीन महासचिव श्रीपाद अमृत डाँगेलाई भेट्यौँ। पुष्पलाल र तुलसीलाल पनि त्यहीँ आए। लामो कुराकानी र छलफल भयो। तर, पुष्पलालहरू पार्टी एक गराउनमा सहमत भएनन्। निराश भएर हामी स्वदेश फर्कियौँ।
अर्कोतर्फ, तुलसीलालको नेतृत्वलाई मानेर पुष्पलाल लामो समयसम्म त्यहाँ पनि रहन सकेनन्। तुलसीलाललगायतलाई नवसंशोधनवादीको आरोप लगाउँदै ०२५ सालमा माओवादी विचारधारालाई अंगीकार गर्दै पुष्पलालले आफ्नै नेतृत्वमा गोरखपुरमा तेस्रो सम्मेलन गरे र महासचिव भए। त्यसपछि त्यो समूहको उनी निरन्तर महासचिव रहिरहे।
पार्टी विभाजनपछि ०२३ सालमा हामीले पनि तेस्रो सम्मेलन गर्यौँ र केशरजंग रायमाझीकै नेतृत्वमा पार्टीलाई पुनःगठित गर्यौँ। यसै सम्मेलनमार्फत हामीले नीतिगत रूपमा देखिएका केही अस्पष्टताहरूलाई चिर्ने काम गर्यौँ। पार्टीभित्र रहेका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउने प्रयास गर्यौँ। त्यतिबेला रायमाझीले उठाइरहेको 'कन्ट्रोल डेमोक्रेसी' अर्थात् कार्यक्रमद्वारा नियन्त्रित प्रजातन्त्रको नारा हामीले परविर्तन गर्यौँ। किनभने, राजा महेन्द्रले पनि त्यसबेला 'देश सुहाउँदो प्रजातन्त्र'को नारा दिएका थिए। तेस्रो सम्मेलनबाट हामीले 'राष्ट्रिय प्रजातन्त्र'को कार्यक्रम अंगीकार गर्यौँ। जुन कार्यक्रम विकासोन्मुख देशहरूका निम्ति भनेर विश्व कम्युनिस्ट आन्दोलनको मस्को सम्मेलनले पारति गरेको थियो। साथसाथै, पार्टीलाई राजनीतिक संघर्षको दिशामा अघि बढाउनुका अतिरिक्त पञ्चायती निर्वाचनलाई उपयोग गरेर अघि बढ्ने निधो पनि गर्यौँ हामीले। पञ्चायती निर्वाचनलाई उपयोग गर्दा स्थानीय जनताका बीचमा पुग्ने एउटा माध्यम हुन सक्छ भन्ने हाम्रो ठहर थियो। पछि आएर त नेपाली कांग्रेस र अन्य कम्युनिस्ट घटकहरूले पनि यो नीतिलाई उपयोग गरे।
चीनसँगको सीमा सम्झौता र ल्हासा-कोदारी राजमार्ग निर्माणको प्रसंग आउँदा कांग्रेस मात्र होइन, भारतीय संस्थापन पक्ष र पुष्पलाललगायतको ठूलो पंक्ति हामीमाथि खनियो। भारत र नेपाली कांग्रेससँग स्वरमा स्वर मिलाएर पुष्पलालहरू हामीमाथि जाइलागे। राष्ट्रिय हितसँग जोडिएको ज्यादै गम्भीर प्रश्न भएकाले राजाले गरेको भए पनि त्यो सम्झौताको विरोध गर्नु हुँदैन भन्ने हाम्रो दृष्टिकोण थियो। राजाको आलोचना र विरोध गर्दा गर्दै पनि राष्ट्रिय सरोकार र हितसँग सम्बन्धित यस्ता कुराको समर्थन गर्नुपर्छ भन्ने हाम्रो जिकिर थियो। यसै सन्दर्भलाई लिएर हामीमाथि पुष्पलाल समूहद्वारा 'राजाका दलाल'सम्मको आरोप लगाइयो। तर, यो अवस्था धेरै लामो समयसम्म रहेन। पछि आएर पुष्पलाल स्वयंले अन्तरजोनल अपिलपत्र-२३ मा हाम्रै भनाइलाई समर्थन गरे, जुन उनको पुस्तक हाम्रो मूल बाटोको पृष्ठ संख्या ४४ मा पनि उल्लेख छ।
यसरी विषम परिस्थिति र अवस्थामा मुलुकमा कम्युनिस्ट पार्टी स्थापना गरेर पुष्पलालले जुन उचाइ र सम्मान प्राप्त गरेका थिए, आफैँ पार्टी टुक्र्याएर आफ्नो उचाइ घटाउने काम पनि उनैले गरे। रायमाझी प्रवृत्ति जन्मिनुमा पुष्पलालको ठूलो हात छ। रायमाझीलाई त्यो बाटो रोज्न बाध्य पार्ने पनि पुष्पलाल नै हुन्, उनको उग्र चरत्रि हो। र, पुष्पलालको उग्रवादी चरत्रिको विरोध रायमाझीले गर्दा नै पुष्पलाल दरलिो एवं प्रभावकारी रूपमा उदाउन सफल भएका हुन्। त्यसैले यी दुवैको एकअर्काको निर्माणमा महत्त्वपूर्ण भूमिका छ।
दुर्भाग्य ! आजसम्मको इतिहास यस रूपमा उल्लेख भएको पाइँदैन। किनभने, भारत प्रवासमा बसेर खुलापनको उपयोग गरेका पुष्पलालहरूले आफू अनुकूलकै प्रचार/प्रसार र प्रकाशन/प्रसारणको काम गरे। जसले गर्दा इतिहास एकतर्फी रूपमा लेखिन पुग्यो। पार्टी फुटाउने पुष्पलालहरू संस्थापक नै रहिरहे। तर, एकीकृत पार्टीका निम्ति जीवनभर संघर्ष गर्ने हामीजस्ताले चाहिँ पार्टी फुटाउने र नेतृत्व हत्याउने दोषभागी बन्नु पर्यो।