दक्षिणपन्थी धारका सूत्रधार
नेपाली कम्युनिस्ट आन्दोलन मूलतः उग्रपन्थी कम्युनिस्ट भड्काउबाट नै ग्रस्त रह्यो।

अर्कोतर्फ कम्युनिस्ट उग्रवादबाट मुक्तिका निम्ति अपनाइएको विधि अन्ततः दक्षिणपन्थी भड्काउमा गएर विसर्जन भयो। तर, त्यो समग्रमा कम्युनिस्ट आन्दोलनलाई प्रभावित र डोर्याउने किसिमले 'लिड रोल'मा भने कहिल्यै देखा परेन। उग्रवादी धारले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रभावित गर्यो। चाहे त्यो स्थापनाकालको एकीकृत कम्युनिस्ट पार्टी होस् या ०२५ सालपछि स्थापना भएका विभिन्न कम्युनिस्ट घटकहरू, कुनै न कुनै रूपमा उग्रवादी धारबाट प्रभावित भइरहे।
विसं ०१९ मा कम्युनिस्ट पार्टीमा आएको पहिलो विभाजनपछि नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी भड्काउ देखा पर्न सुरु भएको हो, जुन पछि कम्युनिस्ट आन्दोलनकै एउटा धारका रूपमा विकसित हुन पुग्यो। यसको नेतृत्व लामै समयसम्म केशरजंग रायमाझीले गरे।
विसं ०१४ देखि ०४० सम्मको झन्डै २६ वर्ष रायमाझीले कम्युनिस्ट पार्टीको मूल नेतृत्व र मातृ पार्टी पंक्तिको नेतृत्व गरे। त्यसबीचको उनको यात्रा उतारचढावपूर्ण रह्यो। संसदीय प्रजातन्त्र, पुँजीवादको विकास र शान्तिपूर्ण बाटोबाट संघर्षका कार्यक्रम सञ्चालन गर्नेजस्ता सैद्धान्तिक मान्यतालाई उनले '४० को दशकसम्मै कुनै न कनै रूपमा स्वीकार गररिहे। तर, व्यवहारमा लागू गर्ने सवालमा भने आनाकानी गरे। किनभने, ती कार्यक्रम उनको सोचका उपज थिएनन्। जस्तो ः तेस्रो सम्मेलनको कार्यक्रम मैले लेखेको हुँ भने तेस्रो महाधिवेशनको दस्तावेज कमर शाहले। चौथो र पाँचौँ महाधिवेशन तथा सम्मेलनका कार्यक्रम पनि रायमाझीले लेखेका होइनन्।
०१९ सालको पहिलोपटकको विभाजनपछि पनि रायमाझीले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई 'कन्ट्रोल डेमोक्रेसी'का नाममा बाँध्ने प्रयास गरे। भलै उनले 'कार्यक्रमद्वारा निर्देशित' भनेर त्यसको व्याख्या गरे। तर, राजा, नेपाली कांग्रेस र वाम-उग्रवादलाई मिलाएर लैजाने नाममा आएको उनको त्यो अवधारणाले पार्टीलाई नै आलोचित बनायो। पटक-पटक पार्टीलाई दक्षिणपन्थी भासमा पुर्याउने उनको प्रयास असफल भए पनि लामो समय पार्टी नेतृत्वमा बसेका कारण आफ्ना खिलाफमा केन्द्रीय कमिटीले गरेका निर्णयलाई कमजोर पार्ने, लागू नगर्ने र ढिलासुस्ती गर्ने रणनीति उनको थियो।
०३८ सालमा पुग्दा नपुग्दै रायमाझीमा रहेको दक्षिणपन्थी भड्काउको सुषुप्त अवस्था उम्लिएर आयो। माक्र्ससिस्ट रभ्ियु पत्रिकाले ५६ देशका विभिन्न कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूलाई बोलाएर बर्लिनमा अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो, जसमा नेपालका तर्फबाट रायमाझी सहभागी थिए। उनले त्यहाँ नेपालको अवस्थाबारे कार्यपत्र पेस गर्दै 'सामन्तवादबाट पुँजीवादमा रूपान्तरण हुने क्रममा यस्तो पनि अवस्था आउँदो रहेछ, जहाँ समाजको विकासलाई निर्देशित गर्न सक्ने आधारभूत वर्ग कुन हो भन्ने छुट्याउन पनि नसक्ने अवस्था हुँदो रहेछ' भने। र, वर्गीय पक्षधरता अर्थात् वर्गसंघर्षको जुन सैद्धान्तिक मान्यता थियो, त्यसलाई पूर्णतः इन्कार गरे। अनि, अबको अन्तरद्वन्द्व भनेको शासक वर्गबीचको अन्तरद्वन्द्व हो भन्ने निष्कर्षमा पुगे।
उनको यस्तो सोचले अन्ततः उनलाई कम्युनिस्ट आन्दोलनबाटै अलग गरििदयो। किनभने, 'कम्युनिस्ट पार्टीको उपादेयता क्रान्ति, संघर्ष, वर्गसंघर्षभन्दा पनि समन्वयकारी भूमिकामा सीमित हुन पुगेको' उनको निष्कर्ष चरम दक्षिणपन्थी भासको एक उत्तम नमुना थियो।
यसरी क्रमशः दक्षिणपन्थी भासमा पलायन हुन पुगेका उनलाई पार्टी नेतृत्वबाट अलग्याउने र कम भूमिकामा बाँध्ने प्रयास हामीले पहिलेदेखि नै गरेका थियौँ। कम्युनिस्ट पार्टीका अध्यक्ष हुँदै पार्टीको पाँचौँ महाधिवेशनले कारबाही गरेपछि उनलाई पार्टीबाटै निष्कासित गर्ने अवस्था सिर्जना भएको थियो। पाँचौँ महाधिवेशनले रायमाझीलाई मात्र निष्कासित गरेन, अध्यक्ष पद नै खारेज गरििदयो।
०२४ सालमा जतिखेर म जेल परेको थिएँ, रायमाझीको नेतृत्वको हाम्रो पार्टीले अंगीकार गरेको कार्यक्रम र कार्यनीतिका बारेमा विस्तारमा चर्चा गरेर जेलबाट चिट्ठी पठाउँदै कम्युनिस्ट पार्टीमा सुवर्णशमशेर खडा नगर्न अर्थात् आर्थिक स्रोतको केन्द्र रायमाझीलाई मात्र बनाउँदा पार्टीमा अर्को सुवर्णशमशेरको जन्म हुने मेरो निक्र्योल थियो। तर, रायमाझीले मलाई उल्टै 'उग्रपन्थी भड्काउको सिकार' बनेको आरोप लगाए।
०३७ सालतिर पार्टीको सम्पत्ति सार्वजनिक गर्ने सवालमा पनि हामीले उनलाई दबाब दियौँ। तर, उनले पार्टीको सम्पत्ति सार्वजनिक गर्न मानेनन्। त्यसपछि पार्टी केन्द्रले गठन गरेको आर्थिक समिति नै भंग गर्नुपर्ने अवस्था आयो। त्यसपूर्व, ०३६ सालको जनमतसंग्रह र विद्यार्थी आन्दोलनको विषयलाई लिएर अध्यक्ष रायमाझीले एउटा वक्तव्य दिएका थिए। महासचिव विष्णुबहादुर मानन्धर र मैले त्यो वक्तव्य सच्याउन अनुरोध गर्यौँ। तर, रायमाझीले मानेनन्। हामीले 'महासचिवले अर्को वक्तव्य दिनुपर्ने अवस्था आउन सक्छ' भन्यौँ र अन्ततः विद्यार्थी आन्दोलनको स्वागत एवं जनमतसंग्रहमा सत्तापक्षबाट गरएिको धाँधलीको विरोध गर्दै वक्तव्य प्रकाशित गर्यौँ। रायमाझी असान्दर्भिक भए।
समग्रमा, रायमाझीले नेपालको सिंगो कम्युनिस्ट आन्दोलनलाई आफ्नो दक्षिणपन्थी धारबाट प्रभावित गर्न सकेनन्। भलै, क्रमशः उनी दक्षिणपन्थी हुँदै गए। र, अन्ततः राजपरष्िाद्का अध्यक्ष भएर कम्युनिस्ट आन्दोलनबाटै विचलित हुन पुगे। तर, ०१३ सालमा कार्यवाहक महासचिवको जिम्मेवारी पुष्पलालले ग्रहण गरििदएको भए सायद रायमाझीको यस किसिमको उदय र अवसान हुँदैन थियो कि ?