शान्तिपूर्ण संघर्ष नै कम्युनिस्ट मूल धार
वि सं २०४० मा सम्पन्न हाम्रो पार्टीको पाँचौँ महाधिवेशनपछि म महासचिवमा निर्वाचित भएँ।

मूलतः नेपालको कम्युनिस्ट आन्दोलनमा सुरुदेखि नै तीनवटा धार देखा परेका छन्। एउटा धारको नेतृत्व पुष्पलाल श्रेष्ठले, अर्काे धारको मनमोहन अधिकारी र तेस्रो धारको नेतृत्व माओवाद विचारधाराले लिइरहेको छ। तर, म सधैँ शान्तिपूर्ण र संयुक्त आन्दोलनकै पक्षमा रहेँ। मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी राज्यसत्ता कायम गर्ने लक्ष्यप्रति मेरो सदैव विमति रह्यो।
जब म महासचिवमा निर्वाचित भएँ, त्यस बेला हाम्रा अगाडि निर्दलीय पञ्चायती व्यवस्था समाप्त गरी प्रजातन्त्रको पुनःस्थापनाको संघर्षलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने गम्भीर प्रश्न थियो। पार्टीहरूले एक्लाएक्लै त्यो अभिभारा पूरा गर्न सम्भव थिएन। त्यसपूर्व नेपाली कांग्रेसले चलाएको हतियारबन्द आन्दोलन होस् या नेकपा मालेले सञ्चालन गरेको झापा विद्रोह, एकल प्रयासमा सञ्चालित यस्ता आन्दोलनका असफलता हाम्रा सामु थिए। अब कांग्रेससँग संयुक्त मोर्चाबन्दी गर्नुको विकल्प थिएन। तर, त्यसो गर्नुपूर्व विभिन्न समूहमा विभाजित हामी कम्युनिस्ट पार्टीहरूकै बीचमा कार्यगत एकता वा संयुक्त मोर्चा बन्नु जरुरी थियो। त्यसपछि मात्र कांग्रेससँग संयुक्त मोर्चा गठनका निम्ति दबाब सिर्जना गर्न सकिन्थ्यो।
यसैको प्रयासस्वरूप पाँचौँ महाधिवेशनलगत्तै मैले आफ्नै पार्टीबाट भर्खरै मात्र अलग भएका विष्णुबहादुर मानन्धरसँग एकताका निम्ति वार्ता चलाएँ। तर, उनले मानेनन्। त्यसपछि अन्य कम्युनिस्ट पार्टीबीचमा मोर्चा बनाएर कांग्रेससँग संयुक्त संघर्षमा आउन प्रयत्न गररिहेँ।
उता निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध ०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलनको घोषणा गर्यो। त्यो आन्दोलनलाई समर्थन गरेर अगाडि बढ्नुपर्छ भन्नेबारे हामी कम्युनिस्टहरूबीचमै मतैक्य हुन सकेन। त्यसलाई सक्रिय रूपमा समर्थन गर्नुपर्छ भन्नेमा नेकपा माक्र्सवादी, नेकपा अमात्य, नेमकिपा, जनमोर्चा र हाम्रो पार्टी गरी पाँच दलको संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने सहमति बन्यो। र, निःसर्त रूपमा कांग्रेसको सत्याग्रहलाई समर्थन गरेर सडकमा उत्रियौँ। त्यस क्रममा मनमोहन अधिकारी र मलगायत हाम्रा कैयाँै साथी जेल परे।
यसरी कांग्रेसको सत्याग्रहलाई निःसर्त समर्थन गर्दा कांग्रेसमाथि पनि ठूलो दबाब परेको थियो। हामी कम्युनिस्टहरू एउटै मञ्चमा आउन सके मात्र कांग्रेस पनि संयुक्त वाममोर्चासँग कार्यगत एकता गर्न बाध्य हुन्छ भन्ने सोच मेरो थियो। यही घटनापछि कांग्रेसका नेता गणेशमान सिंहले प्रजातान्त्रिक संघर्षका निम्ति संयुक्त मोर्चा बनाएर अगाडि बढ्न सकिने विचार प्रवाह गरेका थिए।
०४२ सालको सत्याग्रहलाई हाम्रो संयुक्त मोर्चाले दिएको समर्थनको विरोध गरे पनि ०४६ सालमा कांग्रेससँग संयुक्त वाम मोर्चा बनाएर अघि बढ्ने मुद्दामा तत्कालीन नेकपा मालेले देखाएको उदारता वास्तवमा सराहनीय थियो। निर्दलीय पञ्चायती व्यवस्थालाई समाप्त गरी पुनः प्रजातान्त्रिक व्यवस्था स्थापित गर्दै आफ्नो लक्ष्य प्राप्त गर्ने संघर्षभूमि नेपालको माटो नै हुनुपर्छ र यसको बाटो पनि शान्तिपूर्ण नै हुनुपर्छ भन्ने सन्देश तत्कालको मात्र थिएन। नेकपाले आफ्नो पहिलो महाधिवेशनदेखि नै यसको वकालत गर्दै आइरहेको थियो, जुन झन्डै ३६ वर्षपछि पूरा भएको थियो।
यसरी ०१७ सालमा विघटित संसद्को पुनःस्थापना र हतियारबन्दजस्ता दुवै सोच अतिवादी ठहरएि। संयुक्त जनआन्दोलनको विकल्प देखिएन र त्यसैको बलमा नेपालमा ०४६ सालको संयुक्त जनआन्दोलन सफल हुन पुग्यो। भारतीय भूमिलाई आधार बनाएर सशस्त्र संघर्षको बाटो र विघटित संसद् पुनःस्थापना गर्ने नाराका आधारमा संघर्ष गर्ने नेपाली कांग्रेसलगायत कम्युनिस्टहरू आखिरमा शान्तिपूर्ण संयुक्त जनआन्दोलनको अवधारणामा आउन बाध्य भए। यसले पनि देखाउँछ, नेकपाको पहिलो महाधिवेशनले लिएको नीति कति सही र दूरदर्शी थियो भन्ने कुरा। पुष्पलालको नेतृत्वमा त्यस बेलाको अधकल्चो ज्ञानका आधारमा आएको उग्रवादी सोच होस् या ०२५ सालपछि तुफानका रूपमा उठेको चिनियाँ मोडेलको माओवादी सोच, दुवै टिक्न सकेनन्।
००७ सालको क्रान्तिको सही मूल्यांकन गर्न नसक्दा जुन भड्काउ कम्युनिस्ट आन्दोलनमा देखिएको थियो, पहिलो र दोस्रो महाधिवेशनले त्यसलाई सच्याएपछि पुँजीवादी प्रजातन्त्रको विकासका साथै शान्तिपूर्ण आन्दोलनको कार्यदिशा अघि बढेको थियो। जुन आज पनि कम्युनिस्ट आन्दोलनको मूल धारका रूपमा स्थापित भइरहेको छ। नेपालका कम्युनिस्ट पार्टीहरू यस धारमा नआई सुखै छैन।
संयुक्त जनआन्दोलनपछिको पहिलो आमनिर्वाचनले धेरै कुरा प्रस्ट पारििदयो। दुई धारका दुई मुख्य पार्टीहरू अस्तित्वमा आएपछि तेस्रो धारका रूपमा स्थापित हुन सक्ने शक्तिको मात्र अस्तित्व रहन्थ्यो। स-साना कुटी बनाएर बसेका कम्युनिस्टहरूलाई त्यस निर्वाचनले ठूलै झट्का दियो। राष्ट्रिय पार्टीका रूपमा मान्यता पाउन न्यूनतम तीन प्रतिशत मत ल्याउनुपर्ने त्यस बेलाको 'थ्रेसहोल्ड'ले धेरै कम्युनिस्ट पार्टीजस्तै हाम्रो पार्टीलाई पनि ठूलै झट्का दियो। ०.२७ प्रतिशत मत ल्याएर हाम्रो पार्टी पनि राष्ट्रिय राजनीतिबाटै हरायो।
तर, महासचिवमा निर्वाचित भएलगत्तै अघि सारेको संयुक्त मोर्चाको अवधारणा ०४६ सालमा वाममोर्चा गठनसँगै ३० वर्षे पञ्चायती निरंकुशता ढाल्ने अस्त्र बनेकामा अहिले पनि गर्व महसुस हुन्छ। शान्तिपूर्ण आन्दोलन र संयुक्त संघर्ष आजको पनि साझा कार्यक्रम बनेकामा त्यत्तिकै खुसी छु ।
- प्रस्तुति: ईश्वरी ज्ञवाली