०१५ सालको चुनाव लड्दा
भोजपुर उत्तरपूर्व क्षेत्र नम्बर २१ बाट ०१५ सालको संसदीय निर्वाचनमा उम्मेदवारी दिएँ।
तिब्बतबाट ६ सय रुपियाँ तिरेर किनेको सिलिङ घोडा चढेर चुनाव प्रचारमा गएँ। साथमा झन्डै ३० जनाको चुनावी टिम थियो। त्यहीबीचमा मलाई राजदरबारबाट सल्लाहकार सभामा मनोनीत गरिएछ। निर्वाचन अभियानमा खटिएकै समयमा मनोनीत भएको त्यस्तै २०/२२ दिनपछि आकाशवाणीबाट त्यो खबर पाएँ।
द्विविधामा परेँ, संसद् सदस्यका लागि निर्वाचन अभियानमै लाग्ने कि मनोनीतको टीका थाप्न काठमाडौँ फर्किने? ३५ दिनभित्र स्वयं उपस्थित भएर शपथ लिइएन भने सल्लाहकार सभाको सदस्यको पद स्वत: खारेज हुन्थ्यो। त्यस बेलासम्म आफ्नो निर्वाचन क्षेत्रको एक फन्को मारसिकेको थिएँ। आफ्ना हितैषी, कोर टिम र केही कार्यकर्तासँग सल्लाह गरेँ। उनीहरूले 'निर्वाचन हुन्जेलसम्मका लागि गरिएको अन्तरमि व्यवस्था हो, त्यसमा किन जानुहुन्छ, चुनाव जितेर सांसद भएरै फर्किनुहोला' भनेर सुझाए। 'हामीमाथि विश्वास गर्नूस्, हामी जिताउँछौँ,' उनीहरूको एकमुष्ट जवाफ थियो। मेरो पुर्खा फौद सिंहले खुवा प्रथा चलाएर फैलाएको कीर्ति र राजाले पनि पत्याएको व्यक्ति भन्दा थप आकर्षण हुन्थ्यो भन्ने कुरा पनि गरे। त्यसपछि म चुनावमै होमिएँ। मेरो आफ्नै साहिँला दाइ दीपबहादुर बस्नेत चुनावी अभियानको कमान्डरजस्तै भएर खटिनुभयो।
चुनावी प्रक्रियाका बारेमा केही कुरा थाहा नै थिएन। मतपत्र, स्वस्तिक चिह्न आदिका बारेमा त झन् थाहा हुने कुरै भएन। खालि मलाई मत दिनुहोला भन्ने ढंगले चुनाव प्रचारमै केन्दि्रत थियौँ हामी। ठूलो रेडियो सेट, जसमा ठूल्ठूला ब्याट्री लाग्थे र स्ट्यान्डसहितको माइक लिएर हामी हिँडेका थियौँ। रे डियो र माइक सुन्न र हेर्न मानिसको ताँती लाग्थ्यो।
यता नेपाली कांग्रेसले आफ्ना उम्मेदवार छनोट गर्ने क्रममा स्वतन्त्र पार्टीका २५ जना उम्मेदवारलाई सघाउने भन्ने सहमति मानेन, धोका दियो। बीपी कोइराला त्यस्तो गर्ने खालको व्यक्ति होइन, वचनमा उहाँ पक्का हो। तर, उहाँलाई सूर्यप्रसाद उपाध्यायहरूले प्रभावमा पारेर त्यसो गरे भन्ने कुरा पछि आएर मैले चाल पाएँ। सूर्यप्रसादजी त पहिले शिक्षा मन्त्रालयको इन्स्पेक्टर हो। बडो रकमी मान्छे हुनुहुन्थ्यो उहाँ। मेरा विरुद्ध भोजपुरका बडाहाकिम ध्यानबहादुर राईका छोरा देवानसिंह राईलाई उम्मेदवार बनाएर पठाइयो। बडाहाकिम हुनुपूर्व नै ध्यानबहादुर राईले त्यस क्षेत्रमा राम्रै काम गरेका थिए। ००७ सालको आन्दोलनताका र त्यसपछिको संक्रमणकालीन अवस्थामा भोजपुरका अड्डा-अदालतलाई क्षति हुनबाट बचाएका थिए।
एकातिर निर्वाचन हुँदै थियो, अर्कातिर निर्वाचन सम्पन्न भइसकेका क्षेत्रको मतगणना गरेर परिणाम घोषणा भइरहेको थियो। मेरो क्षेत्रको निर्वाचन हुँदा अगाडिका २० ठाउँको परिणाम घोषणा भइसकेको थियो, जसमध्ये अधिकांशमा नेपाली कांग्रेसले नै विजय हासिल गरेको थियो।
चुनावी अभियानका क्रममा हामी खार्ताम्छा भन्ने गाउँमा पुग्यौँ। रायमाझी र राईहरूको सामूहिक बस्ती थियो त्यहाँ। तल खोला बगेको थियो, माथि गाउँ। हामी त्यहाँ पुग्दा हामीले बोकेको पेट्रोम्याक्सको पनि जाली फुट्यो। एउटा अगुल्टोको सहायताले बल्लतल्ल त्यो गाउँमा पुग्यौँ। तर, त्यस गाउँका भद्रभलाद्मी बसेर कुनै पनि दल र स्वतन्त्र व्यक्तिलाई चुनाव प्रचारका क्रममा गाउँमा पस्न नदिने भन्ने निर्णय गरेका रहेछन्। गाउँ उक्लिँदा त्यो कुरा चाल पायौँ। हामीभन्दा पहिले बीपी कोइराला र भरतशमशेर राणाको टोली पुग्दा पनि उनीहरूले त्यस्तै व्यवहार गरेका रहेछन्।
गाउँको पुछारमा रहेको एउटा ब्राह्मणको घरमा हामी बास बस्यौँ। हामी बसेको त्यही घरमाथि भर्खरै मात्र शिवजीको मन्दिर बनेको रहेछ। पाटाभरि ढुंगा थिए। बिहान त्यस्तै ४ बजेको समयमा गाउँबाट एउटा हूल आएर मेराविरुद्ध नारा लगाउँदै ढुंगा बर्साउन थाल्यो र सूर्योदय नहुँदै गाउँ छोड्न उर्दी दिन थाल्यो। टन्न रक्सी खाएर मातेका थिए उनीहरू। डर पनि लाग्यो।
मेरो नजिकको एउटा साथीले लाइसेन्सबिनाको ६ राउन्ड गोली लाग्ने एउटा पेस्तोल दिएको थियो। आत्मसुरक्षाका लागि त्यो बोक्न ज्यादै कर गरेपछि मैले त्यसलाई कोटको भित्री गोजीमा बोकेको थिएँ। त्यो पेस्तोल भुइँमा राखेर पृथ्वी मातालाई ढोगेँ र कसम खाएँ, पेस्तोल चलाउनु नपरोस् भनेर। हुन पनि, मैले पेस्तोल चलाइनँ। जे हुनु भइहाल्छ, कुनै अधैर्य देखाउनु हुँदैन भनेर चुप लागेर बसेँ।
टाँडमाथि बसेको मलाई भर्याङ फालेर ओर्लिन भने। जसोतसो म तल झरेँ। मेरो टोलीका देवेन्द्रबहादुरबाहेक सबैलाई पिटपाट गरेर त्यहाँबाट लखे टिसकेका रहेछन्। सबै टन्न रक्सी खाएर आएका, कसैले घोडा छप्काइदे भन्छन्, कसैले के? एउटा युवक अगुल्टो लिएर मतिर आयो, एउटी महिलाले उसको हातबाट त्यो अगुल्टो खोसेर मलाई बचाइन्। अर्कोतर्फबाट लौरोभित्रबाट फलामको रड निकालेर मतर्फ आइलागेको केटालाई अर्की एक वृद्धाले खोसेर बचाइन्। त्यहाँ आएका महिलाहरूले घेरा हालेर मलाई बीचमा राखेका थिए। सायद यस्तो नगरेका भए म त्यहीँ मारनि पनि सक्थेँ। मैले बिस्तारै नम्र भएर आफ्ना कुरा राखेँ र उनीहरूको सुझाव अनुसार नै घाम नउदाउँदै आफ्नो घोडा लिएर तल खोलामा झरेँ। मेरा टोली सदस्यहरू सबै त्यही खोलामा बसेका रहेछन्।
यसरी चुनाव अभियानमा लाग्दा बालबाल बचेको त्यो मेरो जीवनमा ज्यादै सम्झिइरहने एउटा घटना हो।
त्यस निर्वाचनमा ३ हजार ३ सय १९ मत पाएर म पराजित भएँ। मेरो भन्दा झन्डै दोब्बर ६ हजार ३ सय १ मत ल्याएर देवानसिंहले चुनाव जिते। हारे पनि त्यस क्षेत्रका जनताले मप्रति देखाएको सदाशयता र हार्दिकताप्रति म सधैँ अनुगृहीत छु। अझ खार्ताम्छा गाउँका जनताप्रति म कहिल्यै आक्रोशित भइनँ। बरू, उल्टै शिक्षाको अभावमा यो सब भएको हो कि भन्ठानेर आफू शिक्षामन्त्री हुँदा सबैभन्दा पहिले त्यही गाउँलाई माध्यमिक विद्यालयको स्वीकृति दिएको थिएँ ।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...