जिल्ला पञ्चायत सभापति भएपछि
वि सं २०१५ को निर्वाचनमा पराजित भएपछि म विराटनगर फर्किएँ। त्यस बेला बुबाले मलाई सान्त्वना दिनुभयो।
एकातिर बासो र अर्कोतिर चासो भनेजस्तो थियो। जग्गाजमिन र घरपरिवार सबै मोरङको विराटनगरमा र राजनीति भोजपुरमा गरेर सफलता पाइन्न भन्ने लागेरै मैले राजनीतिक क्षेत्र पनि आफ्नै जमिनदारी रहेको विराटनगरलाई बनाउने निधो गरेँ । अनि, पञ्चायतको तल्लो निकायबाट राजनीति थालेँ।
रंगेलीमा त्यस बेला दिनदयाल अग्रवाल भन्ने ठूला समाजसेवी थिए। उमेरले मभन्दा कान्छै थिए। तर, त्यस क्षेत्रमा साह्रै प्रख्यात थिए। उनका बुबालाई बेपत्ता पारिएको रहेछ। पछिसम्मै केही पत्तो लागेन। छोटो समयमै मेरो दिनदयालसँग दोस्ती भयो। उनी पनि स्वच्छ मनले मोरङका लागि काम गर्ने व्यक्तिको खोजीमा रहेछन्। मसँग कुरा हुनासाथ के के न भेटेजस्तो गरेर खुसी भए। त्यसपछि सामूहिक रूपमा केही काम गर्न सकिन्छ भन्ने मनमा लाग्यो र मोरङका प्रतिष्ठित मानिसलाई भेट्ने क्रमलाई तीव्र पारेँ।
यसबीचमा काठमाडौँको राजनीतिक परिदृश्यमा जस्तो छनक देखियो, त्यो निको थिएन। नभन्दै १ पुस ०१७ को घटना भयो। राजाले शासनसत्ता आफ्नो हातमा लिइहाले। राजाको सरकारले गराएको पहिलो निर्वाचनमा म पनि डाँगीहाट गाविस-८ बाट सदस्यमा निर्वाचित भएँ। ६१ गाविस र एक नगरपालिकाका पदाधिकारी पदेन जिल्ला सभाका सदस्य हुने प्रावधान थियो। वडा सदस्यमा विजयी भएकाले म पनि स्वतः जिल्ला सभाको सदस्य भएँ र सभापतिमा उठ्ने आकांक्षा राखेर शुभेच्छुकहरूसँग सल्लाह गरेँ।
प्रशासनका तर्फबाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका काका कृष्णबहादुर थापालाई उम्मेदवार बनाइयो। म र उनीबीच प्रतिस्पर्धा भयो। प्रशासन पूरै उनीतर्फ लागेको थियो। हरेक गाउँ पञ्चायतका प्रधानपञ्चलाई बोलाएर कृष्णबहादुरलाई भोट दिन उर्दी जारी गरिएको थियो। मेरो इलाकामा एक जना थारू समुदायका व्यक्तिलाई उनले 'डमी' उम्मेदवारका रूपमा चुनावी मैदानमा उतारेका थिए, मेरो भोट काटून् भनेर। पुराना र खास पञ्च भनेर कृष्णबहादुरको परिचय दिइएको थियो। प्रशासकका रूपमा दामोदरशमशेर राणा थिए। उनी पनि मेरो पक्षमा लाग्ने कुरै भएन। तर, स्थानीय भने मेरो पक्षमा खुलेर लागेका थिए।
दिनदयालसँग दामोदरशमशेरको पनि उत्तिकै सम्पर्क थियो। कुरैकुरामा एक दिन दामोदशरशमशेरले दिनदयाललाई सोधे, 'यो चुनावमा कृष्णबहादुरले हार्छ कि सुरेन्द्रबहादुरले ?' दिनदयालले मैले स्वतः जित्ने ठोकुवा नै गरिदिए। यसै विषयमा उनीहरूबीच बाजी नै पर्यो। चुनाव भयो। नभन्दै मैले जितेँ।
जिल्ला सभापतिमा निर्वाचित भएपछि मैले व्यक्तिगत रूपमा त्यस बेला ३६ हजार रुपियाँ मसलन्द र पेट्रोल खर्च भनेर जिविसलाई उपलब्ध गराएको थिएँ। अवस्था त्यस्तो थियो। अर्थात्, जिल्ला पञ्चायतको आर्थिक स्रोत केही थिएन। जिल्ला सभापतिका रूपमा काम गर्दा मोरङमा मैले केही सुधारका काम गरेँ। त्यसमध्ये एउटा हो, धर्म भकारी। जमिनदारहरूले ४० प्रतिशत ब्याजमा किसानलाई ऋण उपलब्ध गराउँथे। १० मन धान यदि किसानलाई दिइयो भने चार मन त ब्याजकै रूपमा तिर्नुपथ्र्यो। यस्तो अवस्थाबाट किसानलाई मुक्त गर्न मैले पहिलोपटक धर्मभकारीको सुरुआत गरेको हुँ। धर्मभकारी निर्माण गर्न जाजरकोटे राजाका छोरा वीरेन्द्रबहादुर शाहले मलाई निकै सहयोग पुर्याएका थिए। ग्रामीण सडकको अवधारणा ल्याएर गाउँगाउँलाई सडकले जोड्ने काम गरेँ। सामान्य सरकारी खर्चमा जनश्रमदानमै सबै काम हुन्थ्यो। जनता आफ्नो गाउँको विकासका लागि ज्यादै जागरुक थिए।
प्रशस्त मात्रामा खेत भए पनि सिँचाइको उचित व्यवस्था नहुँदा किसानलाई ठूलो समस्या थियो। खेतबाट कुलो लैजान किसानले नदिने। स्रोत छ तर उपयोगमा आएको छैन। ती किसानलाई सम्झाउने कोही छैनन्। त्यति सम्झाउने मान्छेको पनि कमी छ। यस कुरामा पनि मैले नै हात हालेँ र सफलता पाएँ। राम्रो काम गरेर देखायो भने किसानहरू आफैँ उत्साहित भएर गर्थे। किसानमा केवल त्यो भावना जगाइदिनुपथ्र्यो। मैले त्यति मात्र काम गरेको हुँ। पूर्व-पश्चिम राजमार्ग सुरु हुँदा हामीले जनश्रमदानबाटै आफ्नो क्षेत्रमा काम गर्ने घोषणा गर्यौँ। सरकारले पेट्रोम्याक्स उपलब्ध गराउँथ्यो, हामी जाली र तेल जोगाड गथ्र्यौं। लगातार १५ दिनसम्म श्रमदान गरेर खनेका हौँ, हाम्रो क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्ग।
त्यसै गरी जिल्ला सभापतिका रूपमा पहिलोपटक मोरङमा आँखा शिविर लिएर गएको थिएँ। युवराज वीरेन्द्र भर्खर दार्जीलिङबाट पढेर नेपाल फर्किएका थिए। उनलाई नेपाली पढ्न आउँदैनथ्यो। हामीले अंग्रेजी रोमनमा नेपाली भाषण लेखेर उपलब्ध गराएका थियौँ। त्यही पढेर उनले त्यो शिविरको उद्घाटन गरेका थिए। भारतको भेलोरबाट चिकित्सकहरू झिकाएर त्यो सेवा दिएका थियौँ। झन्डै तीन हजार जनताले त्यसबाट लाभ लिएका थिए। युवराज वीरेन्द्रको पहिलो सार्वजनिक कार्यक्रम त्यही थियो।
झन्डै दुई वर्ष जिल्ला पञ्चायतको सभापतिको जिम्मेवारी निर्वाह गरेपछि झापामा राजा महेन्द्रको सवारी थियो। त्यहीँ मातृका बाबु र मलाई दर्शन भेटका निम्ति बोलाइयो। झन्डै १५ मिनेट कुराकानी भयो। सभापतिका रूपमा मेरो कार्यकालको पनि चर्चा भयो। त्यसपछि राजा महेन्द्रबाट हुकुम भयो, "मैले तिमीलाई अन्य कुनै जिम्मेवारी दिएँ भने काम गर्छौ ?" मैले 'हुन्छ' भनेँ । यही घटनापछि मेरो राजनीतिक यात्राले अर्कै मोड लियो।
प्रस्तुति ः
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...