हजार वर्षको राजधानी विशालनगर
किंवदन्तीका आधारमा चलेका कुरा झूटा पनि हुन सक्छन्। सायद त्यसै कारण केशर वंशावली, गोपाल वंशावली आदिका आधारमा नेपाली इतिहासको अध्ययन परम्परा बसेको हो।
खास गरी नेपालको इतिहास लेखनमा बालचन्द्र शर्मा, बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी आदिका इतिहासम्बन्धी पुस्तक वैज्ञानिक र आधिकारिक मानिन्छन्। इतिहास लेखनका क्रममा सिल्भाँ लेभीले पुरातात्त्विक प्रमाण-अभिलेखलाई ज्यादै महत्त्व दिएका छन्।
गोकुलचन्द्र मलहोत्राबाट संस्कृतिसम्बन्धी ज्ञान पाएकाले तत्कालीन युवराज वीरेन्द्र पुरातत्त्वका क्षेत्रमा विशेष रुचि लिनुहुन्थ्यो। पछि बाबुराम आचार्यलाई नै दरबार भित्र्याएर संस्कृतिसम्बन्धी ज्ञान लिन थाल्नुभयो। खास गरी पुरातात्त्विक अध्ययनका क्रममा वैज्ञानिक अध्ययन र ऐतिहासिक भौतिक वस्तुको उपस्थितिले तिनको पुष्टि गरिने हुनाले यसलाई वास्तविक अध्ययन मानिन्छ र प्रमाणित इतिहास पनि।
लिच्छविकालीन राजा मानदेवले आफ्नो प्रशासनिक कार्य काठमाडौँको विशालनगरस्थित टंगाल दरबारबाट सञ्चालन गर्थे भन्ने कुरा हाँडीगाउँको उत्खननका क्रममा प्राप्त दुई-तीनवटा अभिलेखपछि पत्ता लागेको हो। १६ भदौ २०२१ मा पहिलो प्रशिक्षित पुरातत्त्वविद्का रूपमा पुरातत्त्व विभागमा प्रवेश गरेपछि पत्ता लगाएको महत्त्वपूर्ण उपलब्धि थियो त्यो।
पोस्ट ग्य्राजुएट डिप्लोमा एन्ड आरकोलोजीमा बीए फस्र्ट ब्याच हो मेरो। एमए भने कोलम्बो प्लान अन्तर्गत पटनाबाट पूरा गरेको हुँ। यसपछि पुरातत्त्वको क्ष्ाेत्रमा सरिक भएको थिएँ।
अंशु वर्माले निर्माण गरेको कैलाशकुट भवन र राजा मानदेवले टंगालमा स्थापना गरेको मानेश्वर मन्दिर -अहिले मानेश्वरी) पनि हाम्रो टोलीले पत्ता लगाएको थियो। त्यही उत्खननपछि काठमाडौँको सांस्कृतिक बसोवासबारे थप अनुसन्धान सुरु भएको हो। जम्बुद्वीपका अनेक नगर कौशम्बी, श्राबस्ती, मालवा हस्तिनापुरसँग सम्बन्धित सामग्री यहाँ फेला परेका थिए। राजा मानदेवको त्यो दरबार ठूलो भू-भागमा फैलिएको थियो। सुरुमा टंगालको उत्खनन भारतीय प्रोफेसर एसबी देवको निर्देशनमा रहेर गरिएको थियो। हाँडीगाउँ उत्तरी क्षेत्रको धुम्बराहमा उत्खननका क्रममा लिच्छविकालीन अनेक मूर्ति, अभिलेखसमेतका मुद्रा र पहाडको टाकुराबाट पानी ल्याउन प्रयोग भएको पाको इँटको ढल पनि भेट्टाइएको थियो। डा एनआर बनर्जीसहितको हाम्रो टोलीले नै त्यो कुरा पत्ता लगाएको हो।
नेपालमा पुरातात्त्विक खोज, अनुसन्धान र उत्खननसम्बन्धी काम सन् १८९६ मै सुरु भए पनि प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा विसं ००९ मा हनुमानढोकाको एउटा कोठामा विधिवत् रूपमा पुरातत्त्व विभाग स्थापना भएको हो। यसको पहिलो डाइरे क्टर सरदार रुद्रराज पाण्डे हुनुभयो। विषय विशेषज्ञ नभएको र यस क्षेत्रमा खास रुचि पनि नभएकाले लामो समय उहाँ त्यहाँ रहनुभएन। सचिव पदबाट घटुवा गरेर उहाँलाई त्यहाँ नियुक्ति दिइएको रे !
लगत्तै दार्जीलिङबाट सूर्यविक्रम ज्ञवालीलाई झिकाएर यसको डाइरेक्टर बनाइयो। पश्चिम बंगालको इन्स्पेक्टर अफ स्कुलको जागिर छाडेका उहाँ इतिहासविद्का रूपमा नेपाली समाजमा ज्यादै सम्मानित व्यक्तित्व हुुनुहुन्थ्यो। उहाँ पनि लामो समय त्यहाँ बस्नुभएन। यसपछि सत्यमोहन जोशीसँगै पुरातत्त्व विभागमा आधुनिकताले प्रवेश पायो।
वास्तवमा भारतीय पुरातत्त्व सर्वेका डाइरेक्टर ए घोषले नै पुरातत्त्व विभागको सांगठनिक संरचना कोरेका हुन्। तर, ०१७ सालमा नेपाली कांग्रेसको आरोपमा जोशीलाई बर्खास्त गरेपछि यो काम केही सुस्तायो। जोशीपछि यो लोकसेवा आयोग अन्तर्गत गयो। खुला प्रतिस्पर्धाबाट यस विभागको पहिलो डाइरेक्टर हुने सौभाग्य भने रमेशजंग थापालाई प्राप्त भयो।
हाँडीगाउँ र धुम्बराह क्षेत्रको उत्खननपछि हाम्रो टोली विराटनगरको रानी-भेरियाली क्षेत्रको उत्खननको काम फत्ते गर्न त्यसतर्फ लागेको थियो। चाँदीको पञ्चमार्ग मुद्रा त्यहाँ भेटिएकाले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले थप अनुसन्धान र उत्खननका लागि त्यसतर्फ हामीलाई पठाउनुभएको थियो। पुरातत्त्वका क्षेत्रमा कोइरालाको विशेष रुचि मात्र थिएन, त्यस क्षेत्रमा जानकार पनि हुनुहुन्थ्यो।
हाम्रै अध्ययनका आधारमा अण्डाकार गर्भगृह रहेको इसापूर्व पहिलो र दोस्रो शताब्दीको पाको इँटाको मन्दिरको भग्नावशेष त्यहाँ पत्ता लागेको थियो। त्यसै गरी नवलपरासीको डन्डा क्षेत्रको उत्खनन पनि हामीले नै पूरा गरेका थियौँ। इसापूर्व सात सय वर्षपूर्व डन्डामा एउटा सहर रहेको र ठूलै बस्ती बसेको उत्खननका क्रममा पत्ता लागेको थियो। त्यही सिलसिलामा कणर्ाली प्रदेशका मल्ल राजाहरूले निर्माण गरेका प्रतिहार शैलीका मूर्तिका भग्नावशेष त्यहाँ फेला परेका थिए। नेपाल, भारत, पाकिस्तान र श्रीलंका एउटै सांस्कृतिक क्षेत्र हुन्।
यसरी पुरातात्त्विक खोज-अनुसन्धान र उत्खननका क्रममा पत्ता लागेका कुराले हाम्रो ऐतिहासिक महत्त्व र सम्पदाको चिनारी दिलाउँछ। जस्तो ः विशालनगर क्षेत्रको हाँडीगाउँको उत्खननका क्रममा प्राप्त अभिलेखले नेपालको राजधानी विशालनगरबाट सञ्चालित भएको तथ्यप्रमाण हामीलाई उपलब्ध गराइदियो। नक्सालको हालको दूरसञ्चार भवनमुनि मानगृह दरबारको पर्खाल रहेको पनि हाम्रै अध्ययनले पुष्टि गरेको हो। तर, पछि जबरजस्ती त्यहाँ भवन बनाइयो। मानगृह पर्खालका केही अवशेष त्यस भवनको मुनि अद्यापि कायम छन्। ती ऐतिहासिक वस्तुको बेलैमा जगेर्ना गर्न सकिएन भने त्यसै बिलाएर जान्छन्।
१०औँ शताब्दीसम्म अर्थात् झन्डै एक हजार वर्ष नेपालको राजधानी विशालनगरबाटै सञ्चालित भएको उत्खननका क्रममा पत्ता लागेको छ। लिच्छविकालीन अनेक मूर्ति र अखिलेखले ती कुरा प्रमाणित गर्छन्। हामीसँग त्यस्ता तथ्यप्रमाण अद्यापि छन्, जसले झन्डै एक हजार वर्ष नेपालको राजधानी विशालनगरबाटै सञ्चालित भएको र त्यहीँ प्रशासनिक भवन रहेको पुष्टि गर्छन्।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...