जथाभावी वृक्षरोपण
३६ वर्षअघि श्रीमतीका साथमा बुद्ध जन्मस्थल लुम्बिनी आएका श्रीलंकाका तत्कालीन राष्ट्रपति जेआर जयबर्द्धनेले मायादेवी मन्दिरदेखि करिब १ सय २५ मिटर उत्तरतर्फ एउटा आँपको बिरुवा रोपे ।
जयबर्द्धनेले रोपेको बिरुवा त हुक्र्यो र फल्यो पनि । तर, बुद्ध जन्मस्थल लुम्बिनीमा आफूले रोपेको बिरुवा हुर्केको, फले/फुलेको आफैँ वा आफ्ना सन्ततिले देख्ने सौभाग्य भने धेरैले पाउन सकेका छैनन् । किनभने, धेरैले रोपेका बिरुवा मरिसकेका छन् । बाँचेका पनि कसले रापेको हो भन्नेबारे केही लिखत छैन । न त रूखमा चिनारी राखेर व्यवस्थित गर्नेतर्फ कोषले नै चासो देखाएको छ ।
पहिलोपटक प्रमुख अतिथिका रूपमा लुम्बिनीमा श्रीलंकाली राष्ट्रपति जयबर्द्धनेले वृक्षरोपण गरेपछि धेरै स्वदेशी/विदेशी प्रमुख आगन्तुकले उक्त स्थानमा वृक्षरोपण गरेको रेकर्ड कोषको वनस्पति शाखामा सुरक्षित छ । यद्यपि, उनीहरूले रोपेका बिरुवा भने अधिकांश अस्तित्वमा छैनन् । विदेशी प्रमुख आगन्तुकले रोप्ने गरेको एउटा प्लटमा आठवटा र स्वदेशी विशेष आगन्तुकले रोप्ने गरेको प्लटमा पाँचवटा बिरुवा मात्र हुर्केका छन् । हुर्केका रूख पनि खासै सप्रेका छैनन् ।
शाखाको तथ्यांक अनुसार १८ कात्तिक ०३६ मा थाइल्यान्डकी तत्कालीन राजकुमारी भागिरन अंगकर्न, १८ माघ ०३६ मा संयुक्त राष्ट्र संघका महासचिव कुर्त वाल्डहाइम, २८ फागुन ०४३ मा जापानका युवराज नारोहितो, २७ चैत ०४४ मा श्रीलंकाका तत्कालीन प्रधानमन्त्री रणसिंघे प्रेमदासालगायत दर्जनौँ विदेशी विशे ष आगन्तुक र नेपालका शाही परिवारले वृक्षरोपण गरेका थिए । शाही परिवारमध्ये पूर्वराजा ज्ञानेन्द्रले रोपेको सालको रूख भने सपि्रएको छ ।
"तत्कालीन अवस्थामा स्वदेशी वा विदेशी भीभीआईपीको वृक्षरोपण स्थल भौगोलिक र पुरातात्त्विक महत्त्वले उपयुक्त नभएकाले अधिकांश बिरुवा मरेका हुन्," लुम्बिनी विकास कोषका वनस्पति शाखा प्रमुख शब्बिर भन्छन्, "त्यो स्थल पहिला पानी जम्ने खाल्टो थियो, अहिले डेढ फिट माटोले पुरिएपछि पनि धेरै बिरुवा नाश भए ।" यसबाहेक धेरै वर्षसम्म मायादेवी मन्दिर परिसर खुला गौचरका रूपमा रहनुले गाई, बाख्राले बिरुवा खाइदिए । सयौँको संख्यामा रहेका नीलगाईको समस्या पनि यहाँ उत्तिकै छ ।
प्रमुख आगन्तुकमध्ये तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टदेखि जेठ ०५२ मा मनमोहन अधिकारी, मन्त्री र विभिन्न मुलुकका राजदूत गरी सयौँले लुम्बिनीमा वृक्षरोपण गरेको रेकर्ड छ । विदेशी र स्वदेशी राष्ट्रप्रमुखको आगमनमा 'भीभीआईपी' र विदेशी राजदूत, मन्त्री र स्वदेशी मन्त्रीलाई 'भीआईपी' भनी वृक्षरोपण गराइन्थ्यो ।
कुनै पनि विदेशी राष्ट्र वा सरकारप्रमुखको भ्रमणलाई स्मरण गराउन र कालान्तरमा तिनका सन्तति उक्त स्थानमा आउँदा सम्झनाका लागि वृक्षरोपण गराउने प्रचलन विश्वव्यापी रूपमा रहेको छ । लुम्बिनी विकास कोषका पूर्ववरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी भन्छन्, "तर, लुम्बिनीमा गराइएको वृक्षरोपण त्यति व्यवस्थित र त्यस अनुरूप व्यवस्थापन भएन । रोप्नेले रोप्यो गयो, हुर्काउने/बढाउनेतर्फ कसैको ध्यानै गएन ।"
तर, कोषका सदस्य-सचिव अजितमान तामाङ भने लुम्बिनी गुरुयोजनामा भीभीआईपी र भीआईपी वृक्षरोपण स्थल भन्नेबारे कतै केही उल्लेख नभएको बताउँछन् । "गुरुयोजनाले मायादेवी मन्दिर परिसरमा कुनै असर पार्न नहुने उल्लेख छ," तामाङ भन्छन्, "पहिला भीभीआईपी भन्दै वृक्षरोपण गराउने गरिएको स्थल लुम्बिनीको गुरुयोजना र युनेस्कोको मापदण्ड अनुरूप उपयुक्त छैन ।"
उनका अनुसार कुनै पनि विदेशी राष्ट्र वा सरकारप्रमुख तथा विशिष्ट व्यक्ति र अन्य सर्वसाधारणका लागि समेत लुम्बिनी आगमन हुँदा भ्रमणलाई स्मरण गराउने गरी कोषले उत्तरतर्फ वृक्षरोपण स्थल भनी तोकेको छ । जहाँ बिरुवा रोप्नेले कोषलाई २ सय ५० अमेरिकी डलर तिर्नुपर्छ र बिरुवा हुर्काउने जिम्मेवारीचाहिँ कोषले लिने गरेको छ । यो विश्व वन्यजन्तु कोष र लुम्बिनी विकास कोषको पहलमा थालिएको योजना हो ।
यस क्षेत्रमा हालसम्म ६ जना विदेशीले मात्रै वृक्षरोपण गरेका छन् । यही स्थलमा २८ असार ०६९ मा लुम्बिनी विश्व शान्ति सहरका योजनाकार कोरियाली नागरिक क्वाक युंगहुनले बिरुवा रोपेका छन् । पछिल्लोपटक २० मंसिर ०७० मा थाइल्यान्डका रोसेसावन पेभालकले रोपेपछि थप वृक्षरोपण अगाडि बढेको छैन ।
"उक्त स्थानमा भन्दा अन्यत्र बिरुवा रोप्नु पुरातात्त्विक महत्त्व र युनेस्कोको मापदण्डले पनि मिल्दैन," तामाङ भन्छन्, "तर, के गर्ने ! कतिपयले मैले यहीँ रोप्छु भन्दै नेपाल सरकारकै चार-पाँचवटा पत्र बनाएर ल्याउने पनि छन् ।"
विवादमा राजदूत
युनेस्कोको मापदण्डविपरीत वृक्षरोपण गरिएको भन्दै पछिल्लोपटक २४ मंसिरमा भारतीय राजदूत रन्जित रेले रोपेको पीपलको बिरुवा विवादमा परेको थियो ।
१८औँ सार्क सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका बेला रोपिने भनिएको पीपलको बिरुवा मोदीको लुम्बिनी भ्रमण स्थगित भएकाले केही दिनपछि राजदूत रे लुम्बिनी आएर रोपेका थिए । मोदीले रोप्ने स्थल र रेले रोपेको स्थल फरक-फरक भए पनि मोदीका लागि रोप्न कोषले छुट्याएको स्थान पनि अहिले युनेस्कोको मापदण्ड अनुरूप नहुने भनिएको भीभीआईपी स्थानमै थियो । त्यहाँ रोप्न राजदूत रेले नमानेर मायादेवी मन्दिर परिसरमै रोप्ने अडान राखेका थिए । रेले भनेकै स्थानमा रोप्न नेपालको परराष्ट्र मन्त्रालयबाट कोषलाई पत्र आएको स्रोतले बताएको छ ।
सन् १९९७ मा लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि मायादेवी मन्दिर परिसर पुरातात्त्विक दृष्टिले निकै संवेदनशील क्षेत्र मानिन्छ । संवेदनशील क्षेत्रमा राजदूत रेले रोपेको वृक्षलाई उपयुक्त समयमा स्थानान्तरण गरी हुर्काउने निर्णय लुम्बिनी विकास कोषले गरेको सदस्य-सचिव अजितमान तामाङ बताउँछन् । भन्छन्, "गुरुयोजनाको भावना, मर्म र युनेस्कोको मापदण्ड अनुरूप लुम्बिनी विकास कोष चल्नुपर्छ ।"
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...