शान्तिपूर्ण सत्याग्रह र बम विस्फोटन
विसं ०४२ मा प्रजातन्त्र पुन:स्थापनाका लागि नेपाली कांग्रेसको आह्वानमा शान्तिपूर्ण सत्याग्रह भइरहेको थियो।
वीरगन्जमा बम विस्फोटन गराउने क्रममा एक महिलाको मृत्यु भयो भने पोखरातर्फ पठाइएको बम मोर्चाकै कार्यकर्ता गजेन्द्रबहादुर गहतराजको हातमै पड्केर ज्यान गयो। अन्नपूर्ण होटलमा सुटकेसमा राखिएको बम होटलकै कर्मचारीले आफ्नै पाहुनाको भन्ठानेर स्वागत कक्षमा लैजाँदा त्यहीँ विस्फोटन भयो र एक महिला कर्मचारीको प्राणपखेरु उड्यो। बिदाको दिन पारेर राष्ट्रिय पञ्चायत भवनभित्र गमलामा राखिएको बम विस्फोटन हुँदा पानी पर्दा ओत लाग्न पुगेका लमजुङका राष्ट्रिय पञ्चायत सदस्य डम्बरजंग गुरुङसहित केहीको मृत्यु भयो।
तर, भैरहवालगायत मुलुकका अन्य ठाउँ र नारायणहिटी राजदरबारको ढोकामा पड्किएको बम उनका कार्यकर्ताले राखेका थिएनन्। आखिर ती बम कसले राख्यो त? रामराजालाई पूरा विश्वास थियो, आफ्नो क्याम्पमा सीआईडीको घूसपैठ छ। उनी ती व्यक्तिलाई अलग्गै पहिचान गर्थे। तर, सार्वजनिक रूपले केही भन्दै नथे। उनीहरूलाई हतियारलगायतको तालिम दिन पनि चुक्दैनथे। विशेष तालिम दिनुपर्यो भने आफ्ना खासखास कार्यकर्ता छुट्याएर तालिम दिन्थे। बमकाण्डपछि त्यसका अभियुक्तमाथि चलाइएको मुद्दाका क्रममा सोध्दा रामराजाले भनेका थिए, 'मेरो के जान्थ्यो ! केही हतियार र बम त खेर जाने हो। सीआईडी इमानदार निस्कियो भने हाम्रो पनि त काम हुन्थ्यो !'
उनको भनाइमा मुलुकका उच्च सुरक्षा अधिकारीहरू नै आतंक सिर्जना गरी आन्दोलन दबाउने नाममा राज्यस्रोतलाई दोहन गर्न लागिपरेका थिए। अझ भैरहवालगायत ठाउँमा पड्किएका बम तत्कालीन प्रहरी महानिरीक्षक डीबी लामा र उनका केही विश्वासपात्रहरूले राखेको उनको आशंका थियो। बमकाण्डमा पूवर् अधिराजकुमार धीरेन्द्रको संलग्नता भने उनले स्वीकार गरेनन्।
सशस्त्र क्रान्तिका निम्ति रामराजाले श्रीमतीका गरगहनासमेत बेचेर पैसा जोहो गरेका थिए। लगभग पाँच वर्ष हतियारकै चक्करमा लागे। दुई लाख रुपियाँको ट्राभलर्स चेक बोकेर उनी हतियार खरदिका लागि डकैतीका लागि कुख्याति कमाएको भारतको चम्बल घाँटीसम्म पुगेका थिए। हतियारकै खोजीमा श्रीलंकाका तमिल विद्रोही भेल्लुपिलाई प्रभाकरणसँग दिल्लीमा भेटेछन्। प्रभाकरणको हतियार उन्माद देखेर सिंह नै छक्क परे रे ! कुरैकुरामा आफ्ना सहयोगीलाई पेस्तोल ताकेपछि प्रभाकरणको हातलाई धक्का दिएर उक्त पेस्तोल भुइँमा खसालिदिएको रामराजाले मसँग बताएका थिए। त्यसपछि उनले प्रभाकरणसँग सहयोगको हात अघि बढाउने विचार नै त्यागिदिए।
चम्बल घाँटीकै डाँकाका परविारजनले दिएको सल्लाहबमोजिम रामराजा विस्फोटक पदार्थ संकलनतिर लागे। दिल्ली विश्वविद्यालयमा पढ्दाका साथी भारतीय सेनाका अवकाशप्राप्त श्रीदत्त भट्टले उनका कार्यकर्तालाई विस्फोटक पदार्थ बनाउने र हतियार चलाउने तालिम दिए। त्यस बेला उनका कार्यकर्तासँग हतियारका नाममा दुईनाले बन्दुक र केही थान राइफल मात्र थिए। विहारको ढुंगाखानीमा काम गर्ने साला रञ्जित सिंहले विस्फोटक पदार्थ र डेटोनेटर उपलब्ध गराएका थिए। यसरी विस्फोटक पदार्थ आदिको जोहो गरेपछि उनले काठमाडौँकै मुटु सिंहदरबारमा बम विस्फोटन गराएर शासकहरूको मुटु थर्काएका थिए।
सर्वसाधारणको हत्या गर्ने र उनीहरूमाझ त्रास फैलाउने भन्दा पनि महत्त्वपूर्ण तर कम आवतजावत हुने ठाउँमा टाइम बम विस्फोटन गराई सांकेतिक हिसाबले क्रान्तिको शंखघोष गर्ने उद्देश्य थियोउनको। त्यही क्रममा उनले शनिबारको दिन रोजेका थिए। रामराजा, उनका भाइ लक्ष्मण, विश्वेश्वर मण्डल र प्रेमबहादुर विश्वकर्माले बमकाण्डकै अभियोगमा मृत्युदण्डको सजाय पाए। खेमराज भट्ट 'मायालु'लाई सर्वस्वसहित जन्मकैद र पवन साहलाई जन्मकैदको सजाय सुनाइएको थियो। रामराजाका छोरा मनोजलाई १० वर्षको कैद सजाय तोकियो भने बहुदलीय जनवादी मोर्चाका अन्य १३ जना कार्यकर्तालाई सजाय तोकिएको थियो। त्यति मात्र होइन, बमकाण्डको अभियोगमा मोर्चाका सदस्यका साथै गुप्तचर विभागका व्यक्तिहरूलाई पनि सजाय तोकिएको थियो। पक्राउ परेका युगलकिशोर, लक्ष्मीनारायण र एक जना मिश्र थरका व्यक्तिलाई मार्ने निश्चय गरी प्रशासनले प्रक्रिया अगाडि बढायो। युगलकिशोरलाई त पञ्चायती वकिल कुञ्जविहारीलालको सहयोगमा बचाउन सफल भइयो तर अन्य दुई जनालाई बचाउन सकिएन।
०४६ मा प्रजातन्त्रको उदयपछि मैले पटना पुगेर रामराजालाई स्वदेश फर्काउन भरमग्दुर प्रयास गरेँ। तर, उनी फर्किन हिचकिचाए। मेरी छोरी सविता भण्डारीसहितको एउटा प्रतिनिधिमण्डल अन्तरमि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकहाँ गई सिंहलाई स्वदेश फर्किने वातावरण बनाइदिन आग्रह गर्यौँ। तर, भट्टराईले विधिवत् रूपमा निशस्त्र भएको जनाउ दिँदै एउटा निवेदन दिन भने। यस क्रममा हाम्रो भनाभन पनि भयो। सशस्त्र आन्दोलन सञ्चालन गर्ने कुनै पार्टीले निवेदन दिएर मुलुकभित्र पस्ने कुरा राजनीतिक थिएन। त्यो कुरा यत्तिकै टरेर गयो। तर, पछि गिरजिाप्रसाद कोइराला शासनमा आएपछि उनले आममाफी दिएर रामराजालाई स्वदेश फर्किने मौका दिए।
सम्बन्धित
चिवाभन्ज्याङको बाटो भएर सिक्किम र दार्जिलिङको बाटो खुलाउने हो भने च्याङथापु पूर्वी पहाडकै ...
यी घटनाहरू छुटाए हाम्रो इतिहास अधुरो हुनेछ
जोभानसिंले कोरेका घटना, पात्र, युद्धस्थल, आज कहीँ–कतै पुष्टि भएरै छाड्छन् । यति ठूलो लेख्य...
ग्रिक मिथकजस्तै जोभानसिं फागोको युद्ध वर्णन
ईलेनोर रुजबेल्टसँग त्यतिबेला अमेरिकाको कुनै कार्यकारी भूमिकामा थिइनन् । तर अमेरिकासहित सिं...
ईलेनोर रुजबेल्टको त्यो नेपाल भ्रमण
२००७ सालको सशस्त्र क्रान्तिका एक कमाण्डर श्यामकुमार तामाङको ७ बैशाख बिहान निधन भयो । प्रजा...
२००७ सालको क्रान्तिका साक्षीको अवसान [नेपाल अर्काइभ]
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना...
बंगाल-बिहारमा अनिकाल लाग्दा नेपालले खाद्यान्न निर्यात गरेको त्यो बेला
नेपालको इतिहासमा त्रिभुवनको छवि धमिलै छ । तर प्रजातान्त्रिक इतिहाससँग भने उनको नसनाता जोडि...