‘त्यसैले गर्दा तारानाथ रानाभाटको राजनीतिक हत्या’
स्वार्थका निम्ति, पदका निम्ति हो भने त गिरिजाप्रसाद मभन्दा त हजारौँ गुणा राजानजिक हो ।
पूर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट अहिले पार्टीको महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि मात्रै हुन् । दस वर्षदेखि पदीय राजनीतिमा नरहेका उनी तत्कालीन पार्टी नेतृत्वले आफूजस्ता थुप्रै नेता–कार्यकर्तालाई बिनाकारण हैसियतविहीन बनाएको आरोप लगाउँछन् । उनै रानाभाटसँग नेपालको संवाद :
अहिले पार्टीमा के काम गरिरहनुभएको छ ?
म पदीय जिम्मेवारीमा छैन । गत महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिएँ, पत्याउने साथीहरूले पत्याउनुभयो, धेरैले पत्याउनुभएन । त्यसैले केन्द्रीय सदस्य हुन पाइनँ तर कुनै पनि केन्द्रीय सदस्य/केन्द्रीय पदाधिकारीभन्दा कम राजनीतिक सक्रियता छैन मेरो । देखिने पदीय जिम्मेवारीमा नभएको मात्रै हो ।
पार्टीको महामन्त्री, पटकपटक मन्त्री र सभामुखसम्म भएको मान्छेलाई केन्द्रीय सदस्यमा पनि जिताएनन् है ?
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले बनाएको बाटोमा हिँडेका हामी त्यो बाटोप्रति इमानदार भएकाले हारेका हौँ कि ? म भन्न सक्दिनँ । तर, हारेँ । यसमा मेरो कुनै गुनासो छैन ।
यत्रो वर्ष राजनीति गरेर पनि तपाईं किन ओझेल पर्नुभयो ? आफ्नो भूमिका कम हुँदा थकथकी लाग्दैन ?
तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले जुन आश्वासन दिएर मेरो सभामुख त्यागेर आन्दोलनमा सहभागी हुने दृढ इच्छाशक्तिलाई संसद् पुन:जीवित गर्ने काममा प्रयोग गर्नुभयो, पछि उहाँले त्यसलाई सार्वजनिक नगरिदिँदा यस्तो हुन गएको हो । त्यतिबेला उहाँले खटाएका करिब डेढ दर्जन तथाकथित नेता, जो सबै थाहा पाएर पनि बुझ पचाएर बसेका छन्, ले उजागर नगर्दा अहिलेको अवस्था सिर्जना भएको हो । गिरिजाप्रसाद कोइरालाले साँचो कुरा भन्न सक्नुभएन, त्यसैले गर्दा तारानाथ रानाभाटको राजनीतिक हत्या भयो ।
तर, त्यतिबेला त प्रधानमन्त्री बन्न लाग्नुभएको थियो, होइन र ?
१८ असोज ०५९ पछि लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा प्रधानमन्त्री भए । थापाको राजीनामापछि राजाले मलाई प्रधानमन्त्री हुन सल्लाह गर्न बोलाउनुभयो । प्रधानमन्त्रीले आफ्ना मन्त्री छान्न पाउनुपर्ने स्वतन्त्र अधिकार दिने हो भने ठीक छ भनेँ । सभामुखलाई प्रधानमन्त्री बनाउने कुरामा समेत सहमत भएर त्यसबेला मलाई प्रस्ताव गरिएको थियो । दिन पनि तोकियो, शुक्रबारको दिन पर्यो । दरबार र शुक्रबारबीचको अचम्मको संयोग भएकाले शुक्रबार नगरौँ भनेँ । र, राजाबाट पनि ‘हुन्छ’ भनियो ।
अर्को दिन प्रधानमन्त्री हुन सम्पूर्ण तयारी पूरा गरियो । दरबारबाट पशुपतिभक्त महर्जनको फोन आयो । उनी त सभामुखबाट राजीनामा दिएको पत्र लिएर आउनू पो भन्छन् । राजा र मबीच त्यस्तो कुरा भएको थिएन । सभामुख पदसहित प्रधानमन्त्री बनाउने सल्लाह भएको थियो । महर्जनको फोनपछि मैले आउँदिनँ भनिदिएँ । त्यसपछि तुरुन्तै दरबारमा बैठक बसेर शेरबहादुर देउवालाई बोलाइयो र उहाँ प्रधानमन्त्री हुनुभयो ।
सभामुखबाट राजीनामा दिएर किन प्रधानमन्त्री नभएको त ?
मलाई दरबारबाट प्रधानमन्त्री प्रस्ताव गरेको कुरा गिरिजाप्रसाद कोइरालालाई पनि थाहा थियो । उहाँसित अघिल्लो दिन यस विषयमा कुरा भएको थियो । उहाँले ‘हाम्रो आन्दोलनको मुख्य एजेन्डा संसद् पुन:स्थापना हो, तपाईं प्रधानमन्त्री भएपछि के हुन्छ ?’ भनेर सोध्नुभयो । मैले सभाभुख छोडेर होइन बरू सभामुखसहितको प्रधानमन्त्री भएर जान लागेको भनेँ । क्याबिनेटको पहिलो बैठकबाट संसद् पुन:स्थापना गर्ने प्रस्ताव पारित गरेर राजाकहाँ पेस गर्छु, यो नै मेरो पहिलो एजेन्डा हो भनेँ । उहाँ रातो हुनुभयो । त्यसपछि धेरै कुरा गर्नुभएन अनि म बिदा हुन चाहेँ । म उठिसकेपछि उहाँले फेरि सोध्नुभयो, ‘हैन तपाईं हुने नै हो र ?’ यो बुझ्ने कुरा हो, उहाँलाई पनि प्रधानमन्त्री हुने इच्छा थियो । खासमा म नभइदिए राजाले आफूलाई बोलाउँछन् भन्ने धारणा गिरिजाप्रसाद कोइरालाले राख्नुभएको थियो । अर्कोतिर यस्तै धारणा माधव नेपालको पनि थियो ।
त्यसपछि उहाँले के भन्नुभयो ?
सभामुखको पदबाट राजीनामा दिएर आउन भनियो भने मात्र हो मैले प्रधानमन्त्री नखाने, अन्यथा वचन दिइसकेँ भनेँ । गिरिजाबाबुलाई यही कुरा काफी भयो । भरे त पशुपतिभक्त महर्जनले सभामुखबाट राजीनामा लिएर आउनुपर्छ भने । त्यसपछि राजीनामा दिएर प्रधानमन्त्री खान्नँ भनिदिएँ ।
कोइरालाले दरबारतिर त खेल्नुभएन नि ?
भगवान् जानोस्, उहाँले खेल्नुभयो कि भएन ? उहाँ सत्ताका निम्ति कृष्णप्रसाद भट्टराईलाई रुवाउने मान्छे पनि हो । मलाई लाग्दैन, उहाँले खेल्नुभएन । मेरो अडानबारे बीपी, किशुनजी, गणेशमानजी, गिरिजाबाबु सबै जानकार हुनुहुन्थ्यो, यसले बोलेपछि यताउति गर्दैन भनेर । त्यो मेरो शाख हो । राजीनामा दिँदैन भनेपछि दिँदैन, राजीनामा मागिदिएपछि जाँदैन ।
उहाँले सभामुख छोड्दै नछोड्नु भन्नुभएको त हो नि ?
प्रधानमन्त्रीमा प्रस्ताव आउनुपहिले पार्टीले आन्दोलन घोषणा गर्दा नै म सभामुखबाट राजीनामा दिएर आन्दोलनमा जान चाहन्थेँ । एकपटक मैले भित्री साथीहरू र परिवारसँग सल्लाह गरेर राजीनामा दिने र आन्दोलनमा जाने निधो गरेँ । त्यसबेलाका मेरा एक सहयोगी, जोसँग पनि यसबारे सल्लाह गरेको थिएँ, उनले तत्कालै गएर सभापति कोइरालालाई सुनाइदिएछन् । त्यसपछि भोलिपल्ट उहाँ मेरो निवासमै आएर भन्नुभयो– तपाईं संसद्को प्राण हो, त्यो ढुकढुकीका रूपमा रहनुपर्छ । मैले आफ्नो राजनीतिक भविष्य के हुन्छ भनेर सोध्दा उहाँको जवाफ थियो– यसको जिम्मेवार म छु, मैले जानेको छु ।
मलाई राजीनामा नदिन भनेर जानुभयो र भोलिपल्ट मेरै तहका करिब डेढ दर्जन साथीलाई पनि त्यही सन्देश दिएर मकहाँ पठाउनुभयो । मलाई संसद् छोड्न नदिनका लागि तपाईंहरू आएको कुरा बुझेँ तर परेका बेलामा कसैले पनि मलाई साथ दिने छैनन् भनेर पनि सुनाएँ । भएको यही हो ।
उहाँले तपाईंबारेका यी कुरा किन पार्टी पंक्तिलाई नभनिदिनुभएको त ?
त्यो उहाँले जान्ने कुरा हो । म कृष्णप्रसाद भट्टराईहरूसँग लामो संगतमा बसेको निश्चितै हो तर शतप्रतिशत होइन । म गिरिजाप्रसाद कोइरालालाई नमान्ने मान्छे पनि होइन र असहयोग गर्ने मान्छे पनि होइन । किनभने, उहाँबाट महामन्त्रीको जिम्मेवारी पनि पाएको हो । तर, उहाँले कुन कारणले मलाई अगाडि बढ्न दिनुभएन र कुन कारणले आफूले गरेका कुरा पार्टीसामु खुलासा गर्नुभएन, त्यो अपराध त उहाँले बोकेरै जानुभएको छ ।
यसमा को–को साक्षी छन् त ?
अघि नै भनेँ, करिब डेढ दर्जन साथी थिए । अहिलेका पार्टी सभापति शेरबहादुर देउवाजी नै साक्षी हुनुहुन्छ । मैले छोडेपछि उहाँले नै त हो प्रधानमन्त्रीको जिम्मेवारी पाएको । आफूमाथि भएको अन्यायको कुरा सबैसामु राखेको छु, पार्टी सभापति देउवासमक्ष पनि राखेको छु । यस्तो अन्यायमा म मात्रै छैन, मजस्ता थुप्रै साथी छन् ।
कोइरालाले त तपाईं राजासँग नजिक भइसकेको भन्नुभएको थियो नि ?
उहाँ अहिले हुनुहुन्न, यदि उहाँले मलाई राजासँग नजिक भएको भन्नुभएको थियो भने उहाँ मभन्दा हजारौँ गुणा नजिक हुनुहुन्थ्यो । सभामुख भएर जिम्मेवारीमा राजाकहाँ जानुपर्ने, जुन अहिले ओनसरी घर्तीमगर पनि राष्ट्रपतिसमक्ष जानुहुन्छ, त्यो एउटा पदीय हैसियतले जाने हो । होइन, स्वार्थका निम्ति, पदका निम्ति हो भने त गिरिजाप्रसाद मभन्दा त हजारौँ गुणा राजानजिक हो ।
फरक प्रसंग, दरबार हत्याकाण्डको छानबिन गर्ने उच्चस्तरीय समिति, जसमा तपाईं पनि हुनुहुन्थ्यो, को प्रतिवेदन किन विवरणात्मक मात्र ?
कुनै फौजदारी अभियोगको अनुसन्धान गर्ने, मुद्दा चलाउने र फैसला गर्ने अधिकार त हाम्रो होइन । घटनास्थलको प्रकृति, विवरण र त्यहाँ रहेका मानिसको के भनाइ छ भन्ने कुरा बुझ्न बनेको थियो, त्यो आयोग । हामीलाई दिएको अधिकारपत्र हेर्यो भने त्यसभन्दा अर्को छैन । त्यो फौजदारी अभियोग कसले गर्यो, किन गर्यो, के उद्देश्यले गर्यो भनेर मुद्दा चलाउने जिम्मेवारी त राज्यको हो । प्रधानमन्त्री त गिरिजाप्रसाद कोइराला नै हुनुहुन्थ्यो । सरकारले किन गरेन, के कारणले गरेन, उसले जवाफ दिने कुरा हो ।
त्यसमा अगाडि बढ्नुपथ्र्यो नि, होइन ?
तुरुन्तै बढ्नुपथ्र्यो । जसरी कसैको हत्यापछि प्रहरी मुचुल्का, पोस्टमार्टम हुन्छ र प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाउँछ, त्यसै गरी तुरुन्तै गर्नुपर्ने काम थियो यो ।
के त्यो समय त्यस्तो शक्ति सरकारसँग थियो ?
किन थिएन ? त्यत्रो सर्वेसर्वा । त्यतिबेलाको संविधानमा राजा र प्रधानमन्त्रीमा थियो अधिकार । राजा नभएपछि पूरै अधिकार प्रधानमन्त्रीमा थियो । हत्याकाण्डपछि मैले प्रधानमन्त्रीलाई ‘तपाईं नै हो अब, संसद्को बैठक बोलाउनुहोस्’ भनेर साथीहरूबीच भनेको थिएँ । ‘होइन, यो झन्झटतिर नलागौँ’ भन्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हो ।
Follow Prashant Aryal on Twitter: @Prashant68
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...