महरा र बाँस्कोटा प्रकरणका समाचार ब्रेक गर्ने पत्रकारलाई ८ प्रश्न
महरा प्रकरण मेरो जीवनकै पहिलो चुनौतीपूर्ण काम भयो । बाँस्कोटा प्रकरणमा चाहिँ धम्कीको तह बढ्यो ।

दुई हाई प्रोफाइलका गलत काम बाहिर ल्याएपछिको अनुभव कस्तो रह्यो ?
दुवै राजनीतिका प्रभावशाली व्यक्ति थिए । महरा प्रकरण मेरो जीवनकै पहिलो चुनौतीपूर्ण काम भयो । त्यसमा त आकाशबाट हाम फाल्दा प्यारासुट खुल्छ/खुल्दैन, नखुलेमा डुबिन्छ भनेजस्तो डर र शंका थियो । अप्ठेरा स्थिति आए कानुनी बचाउ गर्न सकिने प्रमाण पाएपछि बाहिर ल्यायौँ । बाँस्कोटा प्रकरणमा चाहिँ धम्कीको तह बढ्यो । सायद प्रधानमन्त्रीको नजिकको व्यक्ति भएकाले होला ।
धम्की कहाँबाट आएको थियो ?
पहिलोमा नचिनेका मानिसले फोन गर्थे । पछिल्लोमा फोन गरेर धम्काउने भन्दा पनि सामाजिक सञ्जालमा तर्साउने गरे । पछिल्लो संगठित रुपमै लागेका थिए । अझै उनीहरुबाट खतरा देख्दै छु । राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडिया र त्यससम्बन्धी संघसंस्थाको साथले मलाई यस्ता काममा उत्साही बनाएको छ ।
प्रहरीमा सुरक्षा माग्नुभएको थियो, अब खतरामुक्त हो ?
पहिलो घटनापछि म आफैँले प्रहरीलाई सुरक्षाको आग्रह गरेको थिएँ, उहाँहरुको पृष्ठभूमि हिंसात्मक भएकाले । पछिल्लो प्रकरणपछि चाहिँ प्रहरीले नै घर तथा कार्यालयमा सुरक्षा निगरानी गरिरहेको छ ।
प्रमाणसहित आउँदा पनि प्रधानमन्त्रीले उक्त प्रकरणको प्रतिरक्षा गरे । मुद्दा स्थापित गर्न पत्रकारितामा सूचना दिएर मात्रै नहुने रहेछ, होइन ?
न्यायिक सम्पादनमा प्रवेश गर्ने हाम्रो काम होइन । हामीले सूचना ल्यायौँ । त्यसका आधारमा राज्यका निकायहरुले बाँकी खोजेर टुंगोमा पुर्याउनुपर्ने हो । तर ती निकाय शक्ति केन्द्रबाट प्रभावित हुन्छन् ।
तपाईंले अदालतमा ‘सफ्ट’ बयान दिएकाले महराको मुद्दा कमजोर बनेको आरोप छ । किन त्यस्तो गर्नुभयो ?
पीडित आफैँ प्रमाण हो भनेर उनको भनाइकै आधारमा भिडियोसहित समाचार लेखियो । अदालतमा मैले त्यही भनेँ । पीडित, प्रमाणको सुरक्षा मेरो क्षेत्राधिकार होइन । त्यसैले अदालतलाई मैले ‘मिसलिड’ गर्ने कुरै आउँदैन । बरु पीडित भोलिपल्टदेखि सामाजिक सञ्जाल र केही मिडियामा किन यु टर्न भइन्, राज्यले अनुसन्धान गर्नुपर्थ्यो । यसले पत्रकार नै पीडित भयो ।
त्यति नाम नचलेको मिडियामार्फत दुई प्रभावशाली व्यक्तिको पद ढालिदिनुभयो ।
कसैले लेखेको थियो, बिग न्युज कम्स फ्रम स्मल न्युजरुम । मिडिया ठूलो/सानोले तात्त्विक अर्थ नराख्ने रहेछ । अनुसन्धानमूलक गतिला सामग्री दिन सक्यो भने पुग्दो रहेछ ।
यो बदलाव प्रविधिले ल्याएको हो ?
ठूला मिडियाले जेलाई मूलधारको सामग्री होइन भन्छन्, वैकल्पिक मिडियाले त्यो कुरा उठान गरिरहेको छ । भाइरल बनेपछि मूलधारे मिडियाले कभर गर्नैपर्ने बाध्यता छ । नत्र पछि परिन्छ भन्ने सोच्छन् ।
तपाईंमाथि आफ्ना नेता (कांग्रेस) लाई जोगाएर नेकपाको मात्र खेदो खनेको आरोप छ नि ?
भोट हाल्दा त्यो विचार आउला तर लेख्दै गर्दा कुन पार्टीसँग छु भन्ने बिर्सन्छु । फेरि यस्ता ठूला काण्डबारे सूचना आउँदा पार्टी हेर्दैनौँ । भोलि जुनसुकै पक्ष, पार्टीको यस्ता प्रमाण भेटिए मोलाहिजा गर्दैनौँ ।
प्रस्तुतिः मनबहादुर बस्नेत