ओलीको उखान नियोजन
देशभरि वाम एकताको ‘ह्याङओभर’ छ । तर, स्वयं एकताका अभियन्ता कमरेड केपी ओलीको उखान–तुक्का भने ‘महान्’ सकसमा छ । उनको तुक्का यति छुरा छ कि त्यसकै प्रचण्ड प्रशंसक छन् कि त्यसकै उग्र निन्दक ।

देशभरि वाम एकताको ‘ह्याङओभर’ छ । तर, स्वयं एकताका अभियन्ता कमरेड केपी ओलीको उखान–तुक्का भने ‘महान्’ सकसमा छ । उनको तुक्का यति छुरा छ कि त्यसकै प्रचण्ड प्रशंसक छन् कि त्यसकै उग्र निन्दक । आफैँले बनाएको एकअर्काको आलोचना नगर्ने आचारसंहिताले उनको हातखुट्टा मात्र होइन, मुखलाई पनि लगाम लगाइदियो । तित्राजस्तो उनको मुख यतिबेला खुला कारागारमा भएजस्तो छ । कुरा दुईतिहाइ बहुमतको छ, प्रधानमन्त्रीको कुर्सीको छ । नखाऊ दिनभरिको सिकार, खाऊ कान्छा बाबुको अनुहार । त्यस कारण उनको उखान र तुक्काको क्षेप्यास्त्र एकल रुपमा आफ्नो भागमा मात्र पर्दा अलिअलि खल्लोखल्लो मानेको छ, बबुरो कांग्रेसले । उखान न एमालेलाई ‘तेस्रो लिंगी’ नै करार गरेका बाबुराममाथि खनिन पायो, न आफ्नो ‘मानसिक स्वास्थ्य परीक्षण’को सिफारिस गरेका प्रचण्डकै छारो उडाउन पायो । यो जति महान् सकस के हुन सक्छ ? कमरेड ओलीको उखान–व्रत कहिलेसम्म कायम रहला ? कसैलाई थाहा छ ?