शंकालु सरकार
पूर्वमन्त्री विश्वेन्द्र पासवानले उपचारका क्रममा १८ लाखको त चिया–पाउरोटी मात्रै खाएको भनेर सरकारले जिब्रो टोकेछ । ७३ लाख रुपियाँ मागबमोजिमको जम्मा साढे ४३ लाख मात्र भुक्तानी दिएछ ।

पूर्वमन्त्री विश्वेन्द्र पासवानले उपचारका क्रममा १८ लाखको त चिया–पाउरोटी मात्रै खाएको भनेर सरकारले जिब्रो टोकेछ । ७३ लाख रुपियाँ मागबमोजिमको जम्मा साढे ४३ लाख मात्र भुक्तानी दिएछ । यसमा नपत्याउनुपर्ने के छ र ? कस्ता–कस्ता ऐरेगैरेले रोडा, बालुवा, सिमेन्ट, अलकत्राले बनेका कत्राकत्रा सडक, पुल पनि खान सक्छन् । अनि, पासवानले जाबो १८ लाखको चिया–पाउरोटी खाएको भन्दा नपत्याउने ? विचरा सोझा परे र त होटलमा बसेर रुखोसुखो चिया–पाउरोटी खाए । उस्तै छुल्याहा परेको भए कुखुराको साँप्रोसँग घुड्क्याएको जाँडको पनि पैसा जोडेर माग्थे । त्यसमाथि विचरालाई कत्रो आपत् परेको छ । उपचारका लागि भारत जाँदा भारु साट्न धौधौ परेर कालोबजारमा गएर साट्नु परेछ । त्यसमा लागेको कमिसन पनि आफँै तिर भनेर सरकार पन्छिन मिल्छ ?