बल गरौँ मेयरसाप
पोखरा–लेखनाथ (पोले) महानगरपालिका–२१ का वडाध्यक्षले गजबको घोषणा गरेछन्– तीन वर्षभित्र आफ्नो वडालाई एक हातमा बियर र अर्को हातमा गर्लफ्रेन्ड लिएर हिँड्न मिल्ने स्थल बनाउने ।

पोखरा–लेखनाथ (पोले) महानगरपालिका–२१ का वडाध्यक्षले गजबको घोषणा गरेछन्– तीन वर्षभित्र आफ्नो वडालाई एक हातमा बियर र अर्को हातमा गर्लफ्रेन्ड लिएर हिँड्न मिल्ने स्थल बनाउने । घरघरको धाराबाट खानेपानी झर्न थालेपछि ‘एक घर, एक जोडी पर्यटक’ बोलाउने । महोदयले सुझाएछन्, ‘डिग्री मात्रैले पुग्दैन, कहिलेकाहीँ गुप्तेश्वर, गलेश्वर डुल्नु । र, दैनिक एकाध घन्टा गुगलेश्वर पनि पस्नु ।’
नैतिक कवि लेखनाथको एरियाले वडाध्यक्षचाहिँ बडो विद्वान् पाएछ । उनले गुगल सर्च गर्दा युवती र बियर पो फेला पारेछन् । प्रेमपार्कका डिजाइनर केशव स्थापितकै पार्टीमा रहेर पनि कामनपाका मेयरले केही सिकेनन् । लौ न ! विद्या सर, काकाकुल काठमाडौँलाई बियरको सुन्दर रानीपोखरी बनाऔँ ।
यस्सो पोलेका वडाअध्यक्षहरूबाट पनि केही सिकौँ न, मेयरसाब !