खुट्टा ताछ्ने आइडिया
उहिल्यै–उहिल्यै हामीलाई आफ्नो खुट्टाकै नापोमा जुत्ता पाउन पसल–पसल चहार्नुपथ्र्यो । तर, अब हाम्रा दु:खलाई प्रधानमन्त्रीले दूरदूर गरिदिने भए ।

उहिल्यै–उहिल्यै हामीलाई आफ्नो खुट्टाकै नापोमा जुत्ता पाउन पसल–पसल चहार्नुपथ्र्यो । तर, अब हाम्रा दु:खलाई प्रधानमन्त्रीले दूरदूर गरिदिने भए । उनले जुत्ता अनुसार साइज मिलाउन खुट्टा ताछ्ने जुक्ति सुझाएका छन् । प्रधानमन्त्रीलाई यो आइडिया रातारात यस्सै फुरेको होइन । भारतका नामी विश्वविद्यालयले उनलाई डाक्टर बनाइदिएपछि जोसिलो विकल्प निकालेका हुन् । काटमारको मोर्चाबाट शान्तिपूर्ण मैदानमा उत्रिएका पार्टीको संगतका कारण पनि ओलीजीलाई चमत्कारी बुद्धि पलाउँछ बेला–कुबेला । भनिन्छ, ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ । कच्चा चिकित्सकले दाहिने खुट्टाको अप्रेसन गर्दा देब्रे खुट्टा चिरिदिए । अब नवजात डाक्टरले जुत्ताका लागि खुट्टा चिर्ने भए । एकताका लागि खुट्टा उचालिसकेका जुझारु कमरेडहरुसँग दुई विकल्प छन्– खुट्टा जोगाउने या जुत्ता ?