साँचो बुझाउने कला
जनकपुरधामबाट धूमधाम खबर आयो– भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई साँचो बुझाउने तयारी । राजर्षि जनकको पालाको धार्मिक एवं ऐतिहासिक सहरको विकासको जिम्मेवारी ढुक्कै मोदीजीलाई दिने मेयर लालकिशोर साहको आइडिया कमालकै हो ।

जनकपुरधामबाट धूमधाम खबर आयो– भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई साँचो बुझाउने तयारी । राजर्षि जनकको पालाको धार्मिक एवं ऐतिहासिक सहरको विकासको जिम्मेवारी ढुक्कै मोदीजीलाई दिने मेयर लालकिशोर साहको आइडिया कमालकै हो । नेपाल सरकार त ६–६ महिनामा बनेको बन्यै गर्ने तर विकासको योजना चुनावी घोषणापत्रमै अल्झिरहने । अब भारतीय सहयोग नलिई भयो ?
मेयरश्रीको आइडिया पाँचवर्षे नेपाल सरकारलाई पनि मन परेकै होला । किनभने, सरकारले क्रिकेट रंगशाला बनाउने जिम्मा धुर्मुस–सुन्तलीलाई दिएकै हो । जिम्मा नदिए पनि गिरानचौर र मुसहर बस्तीको घर बनाउने काम गरेकै थिए । साँचो बुझाउने कलामा नेपाल सरकार त उस्तादै हो । दिन–प्रतिदिन १८ सय युवक–युवतीलाई विदेशीकहाँ बुझाएकै छ । अब जनकपुरका मेयरको सिको गरी देशकै साँचो निर्धक्क बुझाइदिने दिन त नआउला नि ओलीज्यू ?