मोदी आऊ, देश बनाऊ
कुनै जमाना राजा मात्र होइन, राजपरिवारको कुनै सदस्य सवारी हुने बाटो रातारात टल्काइन्थ्यो । खाल्डाखुल्डी मजाले टालिन्थे, फोहर त के धूलोसमेतको नामोनिसान हटाइन्थे । कथंकदाचित यस्तो तयारीमा रत्तिभर कमजोरी देखिएमा वडाध्यक्ष वा अञ्चलाधीशको जागिर धरापमा पर्न सक्थ्यो ।

कुनै जमाना राजा मात्र होइन, राजपरिवारको कुनै सदस्य सवारी हुने बाटो रातारात टल्काइन्थ्यो । खाल्डाखुल्डी मजाले टालिन्थे, फोहर त के धूलोसमेतको नामोनिसान हटाइन्थे । कथंकदाचित यस्तो तयारीमा रत्तिभर कमजोरी देखिएमा वडाध्यक्ष वा अञ्चलाधीशको जागिर धरापमा पर्न सक्थ्यो । सवारीको निहुँमा हुने यस्ता ‘विकास’ राजसंस्थासँगै नामेट भयो । अचम्म के भयो भने छिमेकबाट स्पेसल पाहुनाको सवारी हुने खबर मात्रले देशमा विकासको लहर चल्न थाल्यो । उसबेला कुट्न, बिगार्न र आगो झोस्न पल्केका हातहरु अहिले सवारी मार्ग बढारिरहेका छन् । हिलोमा आफ्नो कोट फुकालेर ओछ्याउँदैछन् । बाटोका प्वाल टालिरहेका छन्, रंगरोगनमा व्यस्त छन् । नयाँ स्थानीय सरकारले वर्ष दिनमा गर्न नसकेका काम ‘प्रचण्ड प्रतापी भूपति’ प्रभुको सवारीको खबर मात्रले पनि क्षणभरमै सम्भव भए । अब सडकमा नारा लाग्न सक्छ– मोदी आऊ, देश बनाऊ ।