परिहास
९ जेष्ठ २०७५ बुधबार
काठमाडौं
कमरेड कायापलट
स्थानीय चुनाव सकिएको एक वर्ष बित्यो । एक कार्यक्रममा मेयर विद्यासुन्दरजीले बडो उत्साहपूर्वक भन्नुभएछ, “एक वर्षमा काठमाडौँको कायापलट भएको छ ।”

स्थानीय चुनाव सकिएको एक वर्ष बित्यो । एक कार्यक्रममा मेयर विद्यासुन्दरजीले बडो उत्साहपूर्वक भन्नुभएछ, “एक वर्षमा काठमाडौँको कायापलट भएको छ ।” भएको होला, फूलको आँखामा फूलै संसार । सय दिनमै स्मार्ट सिटी बनाउने उनको घोषणालाई सयदिने उपलब्धि किताबमा बकाइदा कार्यान्वयन गरेकै हुन् नि ।
उनले जित्दा धुलो–हिलोले पुरिएको काठमाडौँलाई अहिले पनि बीसको उन्नाईस नदेख्ने हाम्रै आँखा फुटेका रै’छन् क्यार ! हामीले त चुनावअघि पूरै झुकेर नमस्ते ठोक्दै भोट मागेर जित्ने नेता मात्र कायापलट भएको देख्यौँ । तर, एक वर्षमा कायापलट भएको वक्तव्यसँगै सोच्न कर लाग्यो– कायापलट कसको ? मेयरको कि महानगरको ?