अब फेसबुके क्रान्ति !
असार लागेपछि चटारो हुन्छ । केही न केही त गर्नैपर्छ । कम्युनिस्ट सरकारलाई पनि बहुत चटारो छ । कामको फेहरिस्त देखाउने हतारो छ । तर, गर्ने के ? मन्त्री स्वयं खेतबारीमा पस्नु भएन । काठमाडौँको सडकमा कोदाली लिएर हिलो सोहर्ने कुरा पनि आएन ।

असार लागेपछि चटारो हुन्छ । केही न केही त गर्नैपर्छ । कम्युनिस्ट सरकारलाई पनि बहुत चटारो छ । कामको फेहरिस्त देखाउने हतारो छ । तर, गर्ने के ? मन्त्री स्वयं खेतबारीमा पस्नु भएन । काठमाडौँको सडकमा कोदाली लिएर हिलो सोहर्ने कुरा पनि आएन । माननीय गृहमन्त्रीको खोपडीमा हठात् फुरौला फुर्यो । र, फरमान जारी गरे– निषेधाज्ञा ।
हाम्रा गृहमन्त्री गुरिल्ला युद्धबाट गद्दीमा पुगेको तथ्य बालकदेखि वृद्धसम्मलाई थाहा छ । अबको क्रान्ति सडकबाट हुने कुरामा विश्वास गर्नु आफैँमा घातक हुन्छ । सरकारले गाउँ र वनपाखामामा चाहिँ निषेधाज्ञा लगाएको छैन । गृहमन्त्रीको इतिहासलाई सम्मान गर्दै जंगलबाट विरोध प्रदर्शन गर्दा प्रतिपक्षको कद घटुवा पक्कै नहोला । जंगल जान झन्झट लागे वाईफाई जन्जालमा पस्न सकिन्छ । एक्काइसौँ शताब्दीको असली समाजवादी क्रान्ति फेसबुकबाटै गर्दा अझ वैज्ञानिक हुन सक्छ । यसो गर्दा न सवारी जाम हुन्छ, न त धूलोधुँवाको संक्रमणमा नै परिन्छ । हैन, निषेधाज्ञा तोड्न सडकमै गएर किन दु:ख गरेको होला कांग्रेसले ?