परिहास
११ श्रावण २०७५ शुक्रबार
काठमाडौं
आयो टप्प टिप्यो...
कवि पीएम केपी ओलीले चन्द्रागिरि चढेर धारा प्रवाह दसहरफे कविता फुर्याएपछि सहरका मै हुँ भन्ने कविहरु पनि जिल्ल छन् ।

कवि पीएम केपी ओलीले चन्द्रागिरि चढेर धारा प्रवाह दसहरफे कविता फुर्याएपछि सहरका मै हुँ भन्ने कविहरु पनि जिल्ल छन् ।
आयो सरकार टप्प टिपी लग्यो, टारेर टर्दैन त्यो
बहुमतको राज हो यो, कसैले दागा धरेर मर्दैन यो
डाक्टर टिपिन्छन् अस्पतालबाट, प्राध्यापक विमानबाटै
जो–जो कराउँछन् सबै टिपिन्छन् आइन्दा यसैगरी
समृद्ध नेपाल सुखी नेपाली बन्ने मार्ग कोरियो यसैगरी
गण्डक नदीमा पानीजहाज कुदेको,
हिमाल फोडी रेल गुडेको
यो जुनीमा त यत्तिकै जस्तो छ,
मरेपछि सपनीमा देख्न पाइयोस्
यति मीठो सपनाका बाधकहरुलाई
जेलनेल ठेक्न पाइयोस्
आयो सरकार टप्प टिपी लग्यो टारेर टर्दैन यो
नागरिक हित जेसुकै होस्, राष्ट्रवाद मरेर मर्दैन यो ।