ढुकु अर्थात् कला र सीपको समायोजन
महिला उद्यमीलाई प्रवर्द्धन गर्ने ढुकु स्टोर

हिजोआज थुप्रै बैंक तथा सहकारी छन् । तैपनि इन्टरनेटबाट पैसा ह्याक गरेका समाचार आइरहन्छन् । प्राचीन कालमा ढुकु अर्थात् ढुकुटीमै बहुमूल्य सम्पत्ति राख्ने चलन थियो । नेवारी भाषामा ढुकुको अर्थ हुन्छ, सामान सुरक्षित राख्ने स्थान ।
ढुकुटीको यही महत्त्व बुझेर होला, लाजिम्पाटमा ढुकु खुलेको छ । परम्परागत ढुकुभन्दा फरक यसमा १० भन्दा बढी ब्रान्डका नेपालमै बनेका सामान पाइन्छन् । महिला उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले ढुकु स्टोर खुलेको हो । स्टोर सञ्चालक नीति जोशी भन्छिन्, “महिलाद्वारा उत्पादित सामान पाउने यो पहिलो कन्सेप्ट स्टोर हो । मैले कला र महिला उद्यमीको सीपलाई समायोजन गरेकी छु ।”
ढुकुमा गहना, सजावटका सामान, अल्लो र हेम्पबाट बनेका झोला तथा आयुर्वेदिक कस्मेटिक सामान पनि पाइन्छन् । नीति भन्छिन्, “हाम्रा उत्पादन चिनियाँ सामानभन्दा महँगा हुन् । तर विदेशी ब्रान्डका तुलनामा सस्तो र गुणस्तरीय छ ।”